Thursday, July 20, 2023

बधाई कार्यक्रममा आएनन् प्रचण्ड, पठाए पराजित नेता नारायणकाजी


काठमाडौं :  बुधबार काठमाडौंबाट विजयी भएका वाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने जानकारी गराइएको थियो।


प्रमुख अतिथि एमाले अध्यक्ष ओली र विशेष अतिथि माओवादी अध्यक्ष प्रचण्ड हुने आयोजकले कार्यक्रम सुरु हुनसाथ जनाएको थियो।


तर, कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड भने आइपुगेनन्। कार्यक्रममा उनको सट्टा नारायणकाजी श्रेष्ठ आइपुगेको घोषणा गरियो।

किन आइपुगेनन् त प्रचण्ड ? कार्यकर्तामाझ खासखुस चल्यो।


‘माओवादीले एक सिट पनि नजितेको ठाउँमा कहाँ आउँछन् प्रचण्ड?, बरु नारायणकाजी पठाएर ठिकै गरेछन्। हारेको ठाउँमा हारेकै नेता,’ एक कार्यकर्ताले  त्यति खुसुक्क के भनेका थिए। एकैछिन हाँसो फैलियो।


काठमाडौंका १० क्षेत्रमध्ये एमालेले ६ क्षेत्र र २० प्रदेशमध्ये १६ प्रदेशमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बाँकी सबैमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। माओवादीले भने कुनै सिट जित्न सकेन।


कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत भनाइ रखेपछि पालो माओवादी नेता श्रेष्ठले नै पाए।


श्रेष्ठले जनमत वाम गठबन्धनकै पक्षमा आएकोले वैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीलाई नेपाल फर्काउन सकेमात्र वाम गठबन्धनको विजयी सार्थक हुने बताए।


त्यसैगरी उनले तीन विषयमा वाम गठबन्धन चुक्न नहुने र चाँडै एकीकृत कम्युनिस्ट पार्टीको ब्यानरमा कार्यक्रम आयोजना गर्नुपर्ने राय राखे।

भने,‘हामीले तीन कुरामा चुक्नै हुँदैन, राष्ट्रिय स्वाधीनताका विषयमा चुक्न हुदैन। नेपालमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ। नयाँ नेपाल बनाउन घोषणापत्र अनुसार काम गर्नुपर्छ।’


कार्यक्रमको अन्त्यमा एमाले अध्यक्ष ओलीले प्रचण्ड धुलिखेलमा नगर्इ नहुने भएकाले यस कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराए। 

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :५ पुष २०७४

अरु नेता छैनन्, अब कांग्रेसमा मेरो नेतृत्व : प्रकाशमान

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष नतिजामा नेपाली कांग्रेस कमजोर सावित भएको छ। प्रत्यक्षतर्फ ७० सिटको दावी गरेको कांग्रेस २३ सिटमा समेटियो। कांग्रेसका हस्तीहरु पनि चुनावमा हारे। कांग्रेस किन यति कमजोर भयो त? कांग्रेस के मा चुक्यो? कांग्रेस नेता प्रकाशमान सिंहसँग नेत्र तामाङले गरेको कुराकानीः 

जनमत तपाईको पक्षमा छैनन् भन्ने समीक्षा थियो। तर, मुस्किलले भए पनि जित निकाल्नु भयो होइन?

समीक्षकहरुले चुनावको प्रचारमा समयमा जुन किसिमले कभरेज गरे, त्यो ‘ग्राउन्ड रियालिटी’भन्दा टाढा बसेर गरेका थिए। यसबारे मैले निर्वाचन अघि नै पटक पटक भनेकै थिएँ। लामखुट्टे झुलबाहिर बसेर कराएर झुल भित्रको मान्छेलाई टोक्न सक्छ? झुलबाहिर बसेर कराएर के काम? समीक्षकहरु त्यस्तै भए। प्रलोभनमा लागेर, हाहामा लागेर लेखेर कहाँ हुन्छ? जतिसुकै शक्ति लागे पनि त्यसरी कराएर केही भयो त? सत्यको जित त भयो नि। कांग्रेसको पक्षमा, प्रकाशमानको पक्षमा मान्छे रहेछ भन्ने देखियो नि। दुई दुईवटा निर्वाचनमा त्यसै जिताएको होइन रहेछ नि जनताले। यो कुरा त प्रमाणित भयो नि।

तर, तपाईंलाई नयाँ पार्टीले नै अाच्छुअाच्छु बनाइदियो त?

त्यसै चुनिनुभन्दा प्रतिस्पर्धा गरेर जित्नुमा बेग्लै मजा हुन्छ। कोही कम्पिटिसनमा नआए त मजै आउँदैन नि त। नयाँ पार्टीसँग पनि प्रतिस्पर्धा रोचक रह्यो। त्यसैमा यसपालि मलाई एकदम मजा आयो।  ग्राउन्ड रियालिटीमा त मन पराउने हामीलाई नै रहेछ। सामाजिक सञ्जालमा झ्याली पिट्दैमा केही नहुने रहेछ।

यसपटक पनि आफूले आफैलाई भोट हाल्न पाउनुभएन। कस्तो लाग्दोरहेछ?

मैले यसअघि पनि आफू जन्मेको ठाउँबाट भोट हाल्दै आएको छु। आफ्नो भोट, परिवारको भोटको आधारमा राजनीति गरेको छैन मैले। परिवारको भोटले जित्छ भन्ने छैन। गएको दुईवटा निर्वाचनमा पनि मैले आफूलाई भोट हालिनँ। संविधानको पालना गर्नुपर्छ, आफूलाई भोट हाल्न नपाएकोमा केही छैन। 

तपाईं जित्दै गर्दा कांग्रेस त हार्‍यो नि?

कांग्रेस अनपपुलर पार्टी हैन। पार्टीलाई जुन तवरले हाँकिरहेको छ, सरकारमा रहँदा जनभावना अनुसार काम गर्नुपर्ने थियो, त्यो नगरेकोले यस्तो भएको हो।  


पार्टीमा विशेष गरी १३ औं महाधिवेशनमा आएका नेताहरु, विशेष गरी पदाधिकारीले पार्टीलाई जुन रुपमा सांगठानिक रुपमा र वैचारिक रुपमा जनमानसमा लोकप्रिय हुने गरी हाँक्नुपर्ने हो, त्यो गर्न सकेनन्। १३ औं महाधिवेशन भएको दुई वर्ष हुन लागिसक्यो। न पार्टी नेतृत्वले महासमिति बोलाएको छ, न केन्द्रीय कार्यसमिति पदपूर्ति हुन सकेको छ। न कुनै विभाग बनाएको छ। पार्टीलाई त टोटल्ली गतिहीन अवस्थामा छाडिएको छ। न संरचना पूरा गरेको छ। न संगठनका गतिविधि अगाडि बढेको छ। केही नगरिकन त्यसै बसेको छ। 


उम्मेदवार चयनमा पनि प्रजातान्त्रिक विधिलाई ख्याल नगरी, स्थानीय लोकप्रियता र आम कार्यकर्ताको भावनालाई ख्याल नगरेकाले प्रत्यक्षमा नतिजा यस्तो भयो। 

कांग्रेसको पराजयमा जिम्मेवार को त?

यसको नैतिक जस अपजस पार्टी सभापतिले लिनुपर्छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार जसको नेतृत्वमा चुनावमा जाँदा निर्वाचनमा हार हुन्छ, उनीहरुले राजीनामा गर्ने चलन छ। गर्ने नगर्ने उहाँको कुरा हो। 

देउवाले छाडेमा सभापतिको दाबेदार को त? पौडेल र सिटौला पनि पराजित हुनुभयो?

म पनि उप-सभापतिसम्म भएसकेकै मान्छे हुँ। महामन्त्रीमा पनि निर्वाचित भइसकेको मान्छे। वर्किङ कमिटीमा बसेको मान्छेमध्ये सबैभन्दा पुरानो पनि मै हुँ। संसदमा उपनेता भइसकेँ, उपप्रधानमन्त्री पनि भइसकेँ,अरु नेता पनि छैनन् नि हैन? हुने को त? अरु खोई?

त्यसो भए चाँडै नै विशेष महाधिवेशन हुन्छ?

विशेष महाधिवेशन आवश्यक छ। निर्वाचनले रिफर्मको आदेश दिएको छ। कार्यकर्ताले चाहेअनुसार अघि बढ्नुपर्छ। पार्टीलाई सुधार गर्नुपर्छ। नेतृत्व परिवर्तन आवश्यक देखिसक्यो। प्रजातान्त्रिक अभ्यासबाटै हामी पार्टीलाई सुधारेर व्यक्ति इन्ट्रेस्ट भन्दा पार्टी र प्रजातन्त्रको इन्ट्रेस्टअनुसार अघि बढ्नुपर्छ।

वाम गठबन्धनको बहुमत आइसकेको छ, देउवाले राजीनामा दिन्न भन्नुहुन्छ?

म्यान्डेटमा कांग्रेसलाई अपोजिसनमा बस भनेको छ। संविधानअनुसार ह्यान्डओभर गरिहाल्छ नि। निर्वाचन त कांग्रेसले नै सम्पन्न गरेकै हो। सत्तामै बसिरहन्छ भन्ने कुरा छैन नि। टेकओभर हैन ह्यान्डओभर गर्ने हो नि। संविधानत: ह्यान्डओभर गरिहाल्छ। अहिले नै सरकार छाड्नुपर्ने कुरामा कांग्रेसलाई हतारो छैन।

अब त कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भयो, यो अवधिमा के गर्छ त कांग्रेसले?

पाँच वर्षमा पार्टीलाई सांगठनिक तवरले सुधार गरी सशक्त बनाउन लाग्नुपर्छ। लोकप्रिय पार्टी हो, जेठो पार्टी पनि हो। हामी नम्बर वान पार्टी बनाउन लाग्छौं। अरु कुरा जिम्मेवार प्रतिपक्षमा बनेर जनताको सेवामा लाग्छ।


जनता सुशासन चाहन्छन्। ढिलासुस्ती, भ्रष्टाचार बढेको छ। नेताहरुमा आचरण, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्यो। नयाँ संवधिानअनुसार मौलिक अधिकारहरु चाँडोभन्दा चाँडो जनतासम्म पुर्याउनुपर्यो। विकास निर्माणको काम सीमित व्यक्तिमा मात्र राख्नुभएन। यस्ता विषयमा हामी एकदम चनाखो भई सरकालाई झक्झकाउने काम गर्छौ।

एमालेको पनि बहुमत त पुगेको छैन। यस्तो अवस्थामा कांग्रेसले सरकारको नेतृत्व पनि दाबी गर्छ कि?

अहिले अपोजिसनमै बस्नुपर्छ। जनताको मत नै यही छ। सरकारले राम्रो काम गर्दै गएमा हामी समर्थन गर्छौ। जिम्मेवार प्रतिपक्षमा बस्छौं। संविधानविपरित काम गर्न खोजेमा हामी आफ्नो आफ्नो धर्म निभाउनै पर्छ। त्यो भनेको आन्दोलनसम्मका कुराहरु हुनसक्छ।

पार्टी पुनर्संरचनाको कुरा छ। नयाँ पुस्तालाई कसरी समेट्नुहुन्छ?

कांग्रेस सबैभन्दा पुरानो पार्टी हो। त्यसैले यहाँ पुराना पुस्ता पनि छन्। नयाँ पुस्ता पनि आइरहेकै छन्। नयाँ पुस्ता आएकाले पार्टी जिवन्त भएको हो। नयाँ पुस्तालाई ठाउँ दिन नेतृत्वमा विकास गर्नुपर्ने हुन्छ। नेतालाई रिझाउने तर जनता र मतदातामाझ चै केही नगन्ने ट्रेन्ड पार्टीमा आएको छ। नेतालाई मात्र मान्ने लाइन पार्टीमा चलेको छ। यो ज्यादै नै नराम्रो ट्रेन्ड हो। यसले गर्दा शर्मानक हार हुने नेताहरु देखिए। यस्ता नक्कली नेताहरु छन् यहाँ। यसमा ध्यान दिनुपर्ने हुन्छ। करेक्सन गर्नुपर्छ। जनतामाझ लोकप्रिय काम गर्ने नेता छान्नुपर्‍यो।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :३ पुष २०७४

प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

काठमाडौं : प्रदेश नम्बर ३ तामाङ जातिको बाहुल्यता रहेको प्रदेश। जातीय बाहुल्यताकै कारण प्रदेशको नाम नै ताम्सालिङ राख्नुपर्ने माग पुरानै हो। माओवादीले सुरुदेखि नै प्रदेशको नाममा जातीय पहिचान खोजेपछि चर्केको विवादले अहिलेसम्म कुनै पनि प्रदेशको नामाकरण हुन सकेको छैन। प्रदेशको नाम निर्वाचित प्रदेश सभाले नै गर्नेछ।


अहिले भने निर्वाचनबाट चुनिएका तामाङ प्रतिनिधिबारे चर्चा गरौं। प्रदेश ३ को जनसंख्या हेरौं, तामाङको उपस्थिति अन्य जातिको भन्दा बाक्लो रहेको छ। यही प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य भने तामाङ प्रतिनिधि कम मात्रमा निर्वाचित भए। 


प्रदेश ३ मा प्रतिनिधि सभामा प्रत्यक्षबाट ३३ र प्रदेश सभामा ६६ जना सदस्य निर्वाचित भइसकेका छन्। यसमध्येमा प्रतिनिधि सभामा  ३ जना र प्रदेश सभामा ७ सदस्य मात्र तामाङ निर्वाचित भएका छन्।


प्रदेश ३ मा तामाङको उपस्थिति कति?

प्रदेश ३ मा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर रहेको छ। चितवन, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा तामाङहरूको बाक्लो बसोबास रहेको छ।


२०६८ को जनगणनाअनुसार रसुवामा ६८.७८, मकवानपुर ४७.८, नुवाकोट ४२.८४, सिन्धुपाल्चोक ३४.४२, काभ्रे ३४.०१, सिन्धुलीमा २६.९, धादिङमा २२.०९, दोलखामा १८.८ र रामेछापमा १९.२ प्रतिशत तामाङ बसोबास गर्छन्। 


काठमाडौंमा ११, भक्तपुरमा १४.२ र ललितपुरमा १३.१ प्रतिशत तामाङ छन्। 


जनगणनाअनुसार प्रदेश नम्बर ३ मा तामाङको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ रहेको छ। यहाँ तामाङ जातिको उपस्थिति २०.४२ प्रतिशत रहेको छ। दोस्रोमा पहाडी बाहुन १८.२८ प्रतिशत, तेस्रोमा क्षेत्री १७.२८ र चौथोमा नेवार १६.९२ रहेका छन्। 


यसरी हेर्दा यो निर्वाचनबाट प्रतिनिधि सभामा ९ प्रतिशत र प्रदेश सभामा १० प्रतिशतमात्र तामाङ प्रतिनिधित्व भएको देखिन्छ।

कुन जिल्लाबाट को आए?

३४ प्रतिशत तामाङ रहेको काभ्रेबाट प्रतिनिधि सभामा काभ्रे १ बाट माओवादी केन्द्रका गंगाबहादुर तामाङ निर्वाचित भएका छन्। उनले कांग्रेसबाट तामाङ नै प्रतिद्वन्द्वी पाएका थिए।  कांग्रेसका तीर्थबहादुर तामाङलाई पराजित गर्दै गंगाबहादुर निर्वाचित भएका हुन्। २ क्षेत्र यस जिल्लाबाट क्षेत्र नं १ को प्रदेश सभा १ बाट एमालेका चन्द्र लामा निर्वाचित भएका छन्। उनले कांग्रेसबाट गणेश लामा प्रतिद्वन्द्वी पाएका थिए।


सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका शेरबहादुर तामाङ निर्वाचित भएका छन्। लोकतान्त्रिक गठबन्धनबाट हेभिवेट मानिएका राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई पराजित गर्दै तामाङ विजयी हुन् । क्षेत्र २ रहेको यस जिल्लामा ३४.४२ प्रतिशत तामाङ छन्। यद्यापि प्रदेशमा भने कुनै सदस्य तामाङको पक्षमा आएन।


झन्डै ४३ प्रतिशत तामाङ रहेको नुवाकोटमा २ क्षेत्र रहेको छ। यहाँको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र हितबहादुर तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। तामाङले कांग्रेसका डा रामशरण महतलाई पराजित गरेका हुन्। चारवटा प्रदेशसभा रहेको यस जिल्लाको क्षेत्र नं १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकी राधिका तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन्।


मकवानपुरमा ४७.८ प्रतिशत तामाङ बसोबास गर्छन्। यहाँबाट २ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकी कुमारी मोक्तान प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन्।


६८ प्रतिशत तामाङ रहेको रसुवाबाट प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। प्रदेशतर्फ प्रदेश सभा १ बाट कांग्रेसका प्रभात तामाङ, प्रदेश सभा २ बाट नयाँ शक्तिका प्रेमबहादुर तामाङ निर्वाचित भएका छन्।

यसैगरी चितवन क्षेत्र नं १ को प्रदेश सभा १ बाट एमालेका दावादोर्जे लामा र काठमाडौं क्षेत्र नं ३ को प्रदेश सभा १ बाट कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित भए।

उम्मेदवारीमै कमजोर उपस्थिति

जातीय उपस्थितिको आधारमा प्रतिनिधि सभामा कम्तीमा पनि ६ जनाले प्रत्यक्षमा जित हासिल गर्नुपर्ने हो। तर यस प्रदेशमा ६ जनाले मात्र उम्मेदवारी दिए। निर्वाचित बाहेक रामेछापबाट पूर्ण तामाङ, काभ्रे १ बाट तीर्थबहादुर तामाङ र धादिङ १ बाट दिलमान पाख्रिन तामाङले उमेदवारी दिएका थिए। तीनै जना कांग्रेसका उमेदवार पराजित भए। 


प्रदेश सभामा कम्तिमा पनि १३ जना आउनुपर्ने थियो। प्रदेश सभामा १९ जनाको मात्र उम्मेदवारी परेको थियो। प्रदेशमा ७ जना निर्वाचित भए। यसरी निर्वाचित हुनेमा माओवादीबाट २, एमालेबाट २, कांग्रेसबाट २ र नयाँ शक्तिबाट एक जना रहेका छन्।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २९ मंसिर २०७४

देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट


काठमाडौं:
प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा ७० सिटसहित  बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। सवैभन्दा रोचक पक्ष त के रह्यो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन।


अनौपचारिक रुपमा धनुषाको जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका थिए देउवाले। धनुषामा विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई जिताउन उनी त्यता पुगेका थिए। तर निर्वाचन परिणाम निधिको पक्षमा आएन।


औपचारक रुपमा चुनावी सभालाई सम्वोधन गर्न कात्तिक २५ गते शनिबार देउवा पूर्वी जिल्ला ताप्लेजुङ पुगे। त्यही ताप्लेजुङमा केशवप्रसाद दाहाल एमालेका योगेश भट्टराईसँग झन्डै दोब्बर मतले पराजित भए।


सोही दिन पाँचथर र सोलुखुम्बु पनि पुगेका थिए देउवा। दुवै क्षेत्रमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका सवै सिट गुमायो।


पूर्वबाट देउवा लागे पश्चिम। कातिक २८ मा उनी पत्नी आरजुको चुनावी मैदानमा पुगे। आरजु पनि एमालेका नारदमुनि रानासँग पराजित भइसकेकी छन्। जुन क्षेत्र यसअघि देउवाले जित्दै आएका थिए। तुलनात्मक रुपमा सुरक्षित सिट पनि कांग्रेसले जोगाउन सकेन।


त्यसपछि देउवा कात्तिक ३० गते गृह जिल्ला डडेलधुरा पुगे। चुनावी सभामा सहभागी भए। प्रदेश ७ मा एकमात्र प्रतिनिधिसभाको सिट डडेलधुरा मात्र हो। प्रदेश ६ मा हुम्ला प्रदेशसभा ख'मा बाहेक अन्यत्र कांग्रेसमुक्त क्षेत्र बनेको छ।


मंसिर १ मा उनी बैतडीको मेलौली र दार्चुलाको लाटीनाथ पुगे। दुवै जिल्लाबाट कुनै सिट आएन कांग्रेसलाई।


मंसिर २ मा देउवा गृहजिल्लामै फर्के। डडेलधुराकै नवदुर्गा गाउँपालिकामा सभापछि बाजुराको गन्यापधुरा पुगे। बाजुरामा पनि कांग्रेसलाई हात लाग्यो शुन्य मात्र भयो।


त्यसपछि देउवा मंसिर ७ गते रोल्पाको लिवाङ, रुकुमको टक्सेरा र कालिकोट पुगे। तीनै जिल्लाको नतिजा कांग्रेसको पक्षमा आएन।


मंसिर ९ मा देउवा पाल्पाको रामपुर पुगे। मुजुङ पनि पुगे। रुपेन्देहीको देवदह, बुटवल पुगे। पाल्पा, रुपेन्देहीले पनि देउवालाई पत्याएन। त्यही दिन नवलपरासीको सुनुवाल पुगे। उक्त क्षेत्रमा नवलपरासी पश्चिम २ बाट भने कांग्रेसका देवेन्द्रराज कँडेल विजयी भए। प्रदेश २ को २ बाट कांग्रेसकै वैजनाथ कलवर विजयी भए।


मंसिर ११ मा सप्तरी पुगे। ४ क्षेत्र रहेको सप्तरीमा कांग्रेसका उमेदवार तेजुलाल चौधरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भए।


मंसिर ११ मै देउवा झापाको गौरादह र तेह्रथुमको म्याङलुङ पुगेका थिए। दुवै जिल्लाबाट कांग्रेसको पक्षमा निराशाजनक नतिजा आयो। झापाबाट कृष्णप्रसाद सिटौलासमेत निर्वाचित भएनन् भने तेह्रथुमबाट राज्यमन्त्री सीता गुरुङ पनि पराजित भइन्।


मंसिर १२ मा देउवा दाङको तुलसीपुर पुगे। दाङले पनि कांग्रेसलाई पत्याएन। उक्त दिन तनहुँको मिर्लुङ पुगे देउवा। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यही चुनावी मैदानमा थिए। पौडेल यसपटक सांसद बन्न सकेनन्। देउवा सोही दिन रुपेन्देहीमा पुगे। उक्त जिल्लाबाट पनि कांग्रेसको पक्षमा नतिजा आउन सकेन। त्यही दिन देउवा कपिलवस्तु पनि पुगे। कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी भए।


मंसिर १२ मा कास्कीको पोखरा पुगे। ३ क्षेत्र रहेको कास्कीबाट एउटा प्रदेश सभा सदस्यबाहेक कुनै पनि पद कांग्रेसले जित्न सकेन। सोही दिन स्याङ्जाको वालिङ पुगे देउवा। सोही क्षेत्रको मैदानमा उपप्रधानमन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ थिए। श्रेष्ठलाई एमालेकी पद्मकुमारी अर्यालले तीन हजारभन्दा बढी मतले पराजित गरिदिइन्।


देउवा मंसिर १४ मा पर्साको वीरगन्ज पुगे। पर्साबाट पनि कांग्रेसको पक्षमा कुनै सिट आएन।  उनी सोही दिन सर्लाही, सप्तरी, सिराहा र मकवानपुरको थाहा नगर पुगे। सर्लाही, सप्तरी, सिराहाबाट एक/एक सिट प्रतिनिधिसभा सदस्यमा विजयी भए।


मकवानपुर १ मा कांग्रेसले राप्रपा अध्यक्ष कमल थापालाई लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनाएको थियो भने २ मा महालक्ष्मी उपाध्याय डिना। दुवै पराजित भए। पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ प्रदेशसभा सदस्यमा विजयी भए। यतिमै चित्त बुझाउनुपर्‍यो मकवानपुरमा।


मंसिर १५ मा देउवा फेरि कैलाली पुगे। ५ क्षेत्र रहेको कैलालीबाट प्रदेश सभामा २ सदस्यमात्र कांग्रेसको भागमा आयो।


देउवा डोटी र अछाम पनि पुगे। नतिजा पराजयकै आयो।


देउवा मंसिर १६ मा कञ्चनपुरको भीमदत्त नगर पुगे। तीन क्षेत्र रहेको यस जिल्लामा रमेश लेखकजस्ता चर्चित नेता पनि निर्वाचित हुन सकेनन्। प्रदेशसभामा पनि कुनै सदस्य कांग्रेसबाट विजयी भएनन्।


मंसिर १७ र १८ मा डडेलधुरामै खटे। आफ्नो चुनावी माहोल बनाए। चुनावी अभियानमा देउवा गृह जिल्लाबाहेक ३० जिल्ला पुगे। गृह जिल्लामा झन्डै एकहप्ता विताएर आफ्नो जित सुनिश्चित गरे। परिणाम उनको पक्षमा आयो पनि। 


तर, अन्य जिल्लाका मतदाता देउवाप्रति आकर्षित भएनन्। गृह जिल्लाबाहेक देउवा पुगेका पाँच जिल्लाबाट १-१ सिटमात्र कांग्रेसको पक्षमा आयो।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :२७ मंसिर २०७४

यसरी पन्छाइए देउवा, ओली र प्रचण्डका ‘सेकेन्ड म्यान’ - २०७४

 प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक हेभिवेटहरुको भिडन्त रोचक बन्यो। कतिपय हेभिवेटले हार व्यहोरे। 


यसमध्येमा पनि ठूला तीन पार्टीका ‘सेकेन्डम्यान’ले जित हासिल गर्न सकेनन्। जुन हारमा हरेकले चासो लिएका छन्। पार्टीमा मात्र नभर्इ जनतामाझसमेत लोकप्रिय रहेका यी सेकेन्ड म्यानहरु किन पन्छाइए त ? 


कांग्रेस वरिष्ठ नेता पौडेल पाखामा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त


नहुँ क्षेत्र नम्बर १ मा चुनावी प्रचारमा ‘भावी प्रधानमन्त्री’का रुपमा प्रस्तुत भएका थिए।


प्रधानमन्त्री बन्नका लागि १७ पटक मैदानमा उत्रेका नेताका रुपमा चर्चित पौडेलको एउटै चाहना प्रधानमन्त्री बन्ने रहेको त्यही बेलादेखिको उनको प्रयासले दर्शाउँथ्यो।


तनहुँलाई प्रधानमन्त्रीको जिल्ला बनाउने आकांक्षाकासाथ चुनावी मैदानमा उत्रेका पौडेल पार्टीको वागडोर सम्हाल्ने इच्छा पनि दबाएरै बसेका थिए। बेलाबेला पार्टी सभापति शेरबहादुर देउवालाई घुक्र्याउँथे । पार्टीका अन्य नेताहरु पनि पौडेललाई एकपटक ‘चान्स’ दिनुपर्ने पक्षमा थिए।


प्रधानमन्त्री बन्न निर्वाचन जित्नु आवश्यक थियो। तर, पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएसँगै पाँच वर्षसम्म उनको यो सपना थाती रहने भयो।


निर्वाचनमा पराजित भएसँगै पार्टीमा पनि ‘प्वाइन्ट’ घट्यो। यसले पार्टीमा बागडोर सम्हाल्ने ‘माइनस’ भइदियो। २०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतले पराजित गरेकाले अबका दिनमा पौडेलले पार्टीमा आफ्नो मतलाई जोडदारका साथ प्रस्तुत गर्न सक्ने छैनन्।


उम्मेदवारी दर्ताकै दिन गोविन्दराज जोशी तगारोका रुपमा प्रस्तुत भएका थिए उनीविरुद्ध। वैधानिक रुपमा जोशी कमजोर रहेकाले त्यतिबेला पौडेलविरुद्ध आइपरेको अनिष्ट टरेको थियो। तर, पनि पौडेलले आफूलाई पार लगाउन पाएनन्। पाखामै परे। पार्टी सभापतिका लागि किचकिच गरिरहने र भावी दिनमा प्रधानमन्त्रीमै पनि दाबी गर्न सक्ने सम्भावना देखेपछि पार्टीको माथिल्लो निकाय नै उनलाई हराउन लागेको कांग्रेस वृत्तमा चर्चा चल्न थालेको छ।


पौडेल पाखा लागेसँगै पार्टीमा देउवाको वर्चश्व बढ्ने देखिन्छ। पौडेलको घुर्कीलाई अब वेवास्ता गर्न चुनावमा हारेका नेता भनेर पन्छिन देउवालाई गतिलो हतियार बनेको छ।


यता नेपाली कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि पराजित भएका छन्। १३ औं महाधिवेशनमा सभापतिका दाबेदार रहेका सिटौला राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनसँग १३ हजार ४४३ मतान्तरले हारे।


 समानुपातिक सूचीमा नाम अटाइसकेका सिटौलालाई लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनाव लड्ने घोषणा गरिसकेका लिङ्देनसँग चुनावी मैदानमा लडाए। उनी निर्वाचनमा लड्दा पार्टीमा पनि उठ्न गाह्रै हुने गरी लडे। पार्टीमा अब उनको प्रभाव कमजोर हुने देखिन्छ।


यसपटक आफ्नो पक्षको भनिएका धेरैले न त प्रत्यक्षमा टिकट पाए न त समानुपातिक सूचीमा नै। समानुपातिकमा अटाएका आफैं पनि प्रत्यक्षमा भिडेर चोट खाए।


पौडेल र सिटौलाको हारले पार्टी सभापति शेरबहादुर देउवालाई बढार्नुपर्ने कसिङ्गर हावाले उडाएजस्तो भएको छ। आगामी दिनमा पार्टीमा नेतृत्व गर्छु भनेर अघि आउने नेता नभएकाले देउवालाई हाइसन्चो हुने पक्का भएको छ।

अाेलीले अाफ्नाे हाइटमा अाउनबाट राेके बामदेवलाई 

बामदेव गौतम एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य र उमेरलाई ख्याल गर्दै अब पार्टीमा उनको खाँचो रहेको धेरै नेताले चर्चा चलाउन थालेका थिए।


एमाले वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालले पार्टीको नेतृत्व गरिसके। प्रधानमन्त्री पनि भइसके। अध्यक्ष ओली पनि प्रधानमन्त्री भइसकेका छन्।


यस्तो अवस्थामा कम्युनिस्टहरु एक हुनुपर्छ भन्दै वामपन्थी गठबन्धन गराउन सक्रिय भएका बामदेव वामपन्थीको बहुमत आउँदा प्रधानमन्त्रीका बलिया दाबेदार हुने थिए। 


तर, निर्वाचनमा उनी सञ्चार राज्यमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भए। बार्दिया १ मा चुनावी मैदानमा रहेका बामदेवलाई ७५३ मतले पछि पार्दै सञ्जय विजयी भएका हुन्।


यसपटकको वाम गठबन्धनको वातावरण बामदेवकै नेतृत्वमा  तयार भएको थियो। उनी सुत्रधार बनेकै कारण अरु पार्टीका नेता दशैंको टीका थाप्दै गर्दा ‘सरप्राइज’ रुपमा वाम गठबन्धन भयो।


वाम गठबन्धनका नेताहरुको जित चूनौतीकै रुपमा लिइरहेको बेला निर्वाचन परिणाम वाम गठबन्धनकै पक्षमा आयो। हारको सूचीमा सुचिकृत रहेका कतिपय एमाले उम्मेदवार जित्दै गर्दा बामदेव आफैं भने बार्दियाबाट हारले शिर झुकाएर काठमाडौं फर्कनुपर्यो।


बामदेव विजयी भएका भए यसपटक सरकारमा मात्र हैन पार्टीकै नेतृत्वमा आउन सक्थे। प्रधानमन्त्री जो पनि हुनसक्ने एमाले र माओवादी शीर्ष नेताको अनुमानकै कारण वाम गठबन्धनले दुर्इ तिहाइ बहुमत ल्याउने दाबी गर्दै गर्दा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई प्रस्तुत गरेको थिएन।


एमालेका सेकेन्ड म्यान कसरी साइड लगाईए त ? पार्टीमै गम्भीर समीक्षा गरिनुपर्ने विषय भएको एमालेका नेताहरुले बताउन थालेका छन्। एमाले अध्यक्ष ओलीको नेक टु नेक आइपुगेका गौतमलाई कमान्डर हुनबाट रोक्न पार्टी हाइकमान्डले नै उनको जित रोकेको विश्लेषण धुम्बराहीदेखि पेरिसडाँडासम्म चल्न थालिसकेको छ।

धोबिघाट बैठकको बदला नारायणकाजीसँग

गोरखा २ मा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेपछि पहिलोपोस्टसँग कुराकानी गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले श्रेष्ठलाई पार्टीले बलीको बोको बनाएको बताएका थिए।


धोबिघाट बैठकमा बाबुराम र मोहन वैद्यसँग नजिकिएका नारायणकाजीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ झस्केका थिए। 


उक्त बैठकलाई धोबिघाट काण्डका रुपमा चिनिदैं आएको छ। माओवादीमा पद बाँडफाँट नभएपछि तीनै नेताले प्रचण्डको पद खोस्ने धम्की दिएका थिए। त्यसपछि डराएका प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए। यता बाबुराम प्रचण्डको काखमा पसेपछि मोहन वैद्यले विप्लवलगायतका नेता आफ्नो साथमा लगेर ड्यास माओवादी गठन गरे।


उक्त बैठकमा धम्की दिने तीन मध्ये दुर्इ नेता प्रचण्डको किचेनबाट आउट भइसकेका छन्। दोस्रो संविधानसभा सकिनै लाग्दा बाबुराम पेरिसडाँडा छाडेर बबरमहल पुगे र नयाँ शक्ति खोलेर राजनीतिको नयाँ अध्याय सुरु गरे। अब बाँकी रहे नारायणकाजी।


पछिल्लोपटक माओवादीमा ‘सेकेन्ड म्यान’का रुपमा हेरिएका उनै नारायणकाजी गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुरामविरुद्ध उठाएर माओवादी अध्यक्ष प्रचण्डले धोबिघाट बैठकको बदला लिएको हुनसक्ने माओवादीकै कार्यकर्ताहरु दाबी गर्छन्। 

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २५ मंसिर २०७४


यी हुन् ह्याट्रिक जित गर्ने ११ नेता - २०७४

 काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने  क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्। 


क–कसले गरे त ह्याट्रिक ?


१. शेरबहादुर देउवा

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ह्याट्रिकको ईतिहास पहिले नै बनाइसकेका थिए। यसपटक देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन्। 


देउवा डडेल्धुरामा विसं २०४८ यताका सबै चुनाव जित्दै आएका छन्। देउवाले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जितेका थिए। 

२. डा.बाबुराम भट्टराई

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई पराजित गरे।


पूर्वप्रधानमन्त्री भट्टराई २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए भने दोस्रो संविधानसभाको निर्वाचनमा पनि यहीँबाट निर्वाचित भएका थिए।

३. झलनाथ खनाल

प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन्। 


खनालको यो पाँचौ जित हो। २०४८ देखि लगातार यस क्षेत्रबाट विजयी हुँदै आएका खनालले २०५६ मा भने ब्रेक पाएका थिए। पहिलो संविधानसभा र दोस्रो संविधानसभामा पनि खनाल यही क्षेत्रबाट विजयी भएका थिए।

४. प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह विजयी भए। यो उनको ह्याट्रिक जित हो। 


यसपटकको निर्वाचनमा सिंह प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट विजयी हुने पहिलो नेता बने। सिंह पहिलो संविधानसभाको निर्वाचनबाट लगातार विजयी हुदै आएका छन्।

५. सुवास नेम्वाङ

इलाम क्षेत्र नं २ मा पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ विजयी भएका छन्। २०५६ देखि नेम्वाङ यसक्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। 

६. कृष्णबहादुर महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा दाङ २ बाट निर्वाचित भएका छन्। महरा २०४८ मा रोल्पा २ बाट, २०६४ मा दाङ ३ बाट र २०७० मा रोल्पा १ बाट विजयी भएका थिए।

७. जनार्दन शर्मा

पश्चिम रुकुममा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भए। शर्मा २०६४ र २०७० मा पनि सांसद बनेका थिए।

८. उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। यादव पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट निर्वाचित भएका थिए भने दोस्रो संविधानसभामा सुनसरीबाट निर्वाचित भएका थिए।

९. रविन्द्र अधिकारी


कास्की क्षेत्र नं २ मा नेकपा एमालेका रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी भए। अधिकारीको यो विजय तेस्रोपटक हो । 

उनी यसै क्षेत्रबाट २०६४ मा र २०७० मा पनि विजयी भएका थिए।

१०. अभिशेकप्रताप शाह

नेपाली कांग्रेसका कपिलवस्तु ३ बाट अभिशेकप्रताप शाह निर्वाचित भएका छन्। शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २३ वर्षकै उमेरमा निर्वाचित भएका थिए। २०७० सालमा पनि फोरम नेपालबाटै निर्वाचित भएका शाह २०७४ सालमा फोरम नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

११. वृजेशकुमार गुप्ता

बृजेशकुमार गुप्ता कपिलवस्तु २ बाट निर्वाचित भएका छन्। ०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट जितेका गुप्ता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट सद्भावना पार्टीबाट जितेका थिए। यसपटक भने उनी एमालेको चिन्ह लिएर निर्वाचित भएका हुन्।

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २४ मंसिर २०७४

पशुपतिशमशेर किन पराजित? यस्ता छन् ह्याट्रिक हारका सात कारण


काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का केन्द्रीय अध्यक्ष पशुपतिशमशेर राणा ह्याट्रिक हारको पीडामा छन्। सिन्धुपाल्चोकमा राजनीतिक शरण लिन पुगेका राणाले झन्डै ३५ वर्ष हालीमुहाली गरेपनि गणतन्त्रपछि भने उनलाई पीडामाथि पीडा थपिएको छ।


धन, जन र मन लगाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राणालाई जिताउन यसपटक यहाँका कांग्रेसीले पनि काँध थापेकै हुन्। तर नतिजा चमत्कारिक हुन सकेन। ८ हजार २ सय मत अन्तरले राणालाई शेरबहादुर तामाङले हराए। 

मतका हिसाबले कमजोर भएपनि  राणाका सैद्धान्तिक कमजोरी पनि थिए। हेर्नुस् काठमाडौं बसेर सिन्धुपाल्चोकको राजनीति : पशुपति शम्शेर किन कमजोर?।  ती यसअघि राणालाई थाहै थियो। सायद ती कमजोरी सच्याउन राणालाई निर्वाचन आचारसंहिताले नदिएको हुनसक्छ अथवा उनले ती बुँदालाई बेवास्ता गरेका हुन सक्छ। आखिर उनी सुध्रेनन्। जनताले उनलाई धेरै अघिदेखि छामेका थिए। 

पैताला खियाउँदै महाराजगन्जको विजयवास धाएका जनता उनका मुटु र मगजसम्म पसेका थिए। विजयवासमा 'राजा सा'ब' र 'बाबु सा'ब' भन्दै ओइरिनेको संख्या बढ्दा पनि किन चुनाव हारे त राणाले?


यस्ता छन् कारण:


१)    चुनावका क्रममा राणाविरुद्ध फैलिएका अफवाह


यसपटक चुनावी प्रचारका क्रममा राणाविरुद्ध विभिन्न अफवाह फैलाइए। राणा आफै पनि सर्वसाधारणसँग घुलमिल हुन नसक्दा यस्ता आरोपलाई थप मलजल मिल्यो। 


राणाले हत्तपत्त सर्वसाधारणसँग हात मिलाउँदैनन्। यो उनको पुर्ख्यौली बानी हुन सक्छ। यद्यपि विपक्षीले भने राणा ग्लोब्स् अर्थात पन्जा लाएकासँग मात्र हात मिलाउँछन्। रोग संक्रमण र फोहोरबाट बच्न उनले यस्तो उपाय अपनाएको अफवाह फैलाउनेहरुको तर्क थियो।


उनीमाथि लागेको अर्को आरोप हो राणा जनताले दिएको पानी पिउँदैनन्। खाना खाँदैनन्। जनताले दिएको खानापानी नछुने नेता भनिदिएपछि उनीप्रति नकरात्मक भावना झन् बढ्यो।


खानामा मुटुकलेजो मात्र खान्छन्- यो उनीविरुद्ध फैलिएको अर्को अफवाह। राणा खानका सौखिन भएको र जुनसुकै मासु नखाने बरु मुटुकलेजो मात्र भुटभाट पारी खाने गर्छन् भन्ने अफवाह चलाइयो। यस्तै अफवाहले उनको केही मत घट्यो।

२)    पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई बेवास्ता

निर्वाचनका क्रममा धेरै वामपन्थी कार्यकर्ता राणासँग आकर्षित भएका थिए। त्यसैले धेरै कार्यकर्ताले राणाको हातबाट खादा र माला पनि लगाए। तर, कार्यकर्तालाई खादा र माला लगाउने राणाको शैली भने अस्वभाविक भेटिएको थियो। उनी पार्टी प्रवेश गर्ने कार्यकर्तालाई माला लगाउँदा टाढैबाट रिङ फाले झैँ फालेर लगाइदिन्थे। पार्टीमा आएका कार्यकर्तासँग हात मिलाउँदैन थिए। यसले आत्मीयता घटेर धेरैले उनलाई मत नदिएका हुनसक्छन्।

३)    छैनन् 'सक्सेसर'

राणा ठूलो पार्टीमध्ये एकका अध्यक्ष हुन्। सिन्धुपाल्चोक मात्र हैन देशकै चर्चित नेता हुन्। तर राणाका 'सक्सेसर' छैनन्। 'सक्सेसर' न त पार्टीमा छन् न जिल्लामा। आफूलाई सत्य सूचना उपलब्ध गराउने र कार्यकर्तासँग हरदम सम्पर्कमा रहने पुलको काम गर्ने 'सक्सेसर' वा सेकेन्डमेन खाँचो हुन्छ। त्यो नहुँदा राणाले चुनावी दौरानमै पनि सास्ती खेप्नुपर्‍यो। अफवाह त्यसै फैलियो। जसले गर्दा चुनावी परिणाम उनको पक्षमा आएन।


४)    आफ्नै नेताको असहयोग

यसपटक राप्रपाकै पूर्व जिल्ला अध्यक्ष दइन्द्रबहादुर ठकुरी स्वतन्त्रमा उठे। जिप चिन्ह लिएर यसै क्षेत्रको प्रदेश क मा चुनावी मैदानमा उत्रेका उनको सहयोग पाउन सकेनन् राणाले। ठकुरीले वाम गठबन्धनकै उम्मेदवारलाई सहयोग गरेको चर्चा चल्न थालेको छ।

५)    मतपत्रमा चुनाव चिह्नको अलमल

राप्रपाको चुनाव चिह्न हलो थियो। तर राप्रपा नेपालसित पार्टी एकीकरण भएपछि यो चिह्न कसैले पाएन। एकीकरण भइसकेको पार्टी राप्रपालाई फुटाएर राप्रपा प्रजातान्त्रिक भएपछि यसले गोलाकारभित्रको हलो चुनाव चिह्न पायो। राप्रपाबाटै प्रकाशचन्द्र लोहनीको नेतृत्वमा टुक्रिएको अर्को पार्टी राप्रपा राष्ट्रवादीले चारपटेभित्रको हलो चिह्न पायो। गोलाकार हलोकै ठिक मुनि यो चिन्ह राखेर विपक्षीले फाइदा उठाए।  यसबाट उम्मेदवार बनेका चन्द्रदत्त खतिवडाले कूल १३०८ मत पाए। उसो त खतिवडा राप्रपा राष्ट्रवादीका उम्मेदवार हुन्।  तर एमाले कार्यकर्ता भएको र राणाको भोट काट्न राष्ट्रवादी बनेर उम्मेदवारी दिएको एमालेकै कार्यकर्ता सुनाउँछन्। 

६)    युवालाई विश्वासमा लिन नसक्नु

सिन्धुपाल्चोकको २ र ३ क्षेत्रबाट कांग्रेसले कहिल्यै प्रतिनिधित्व गर्न पाएको छैन। यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसको मत सुधारोन्मुख थियो। हेलम्बु गाउँपालिका र ईन्द्रावती गाउँपालिकामा स्थानीय निर्वाचनमा कांग्रेसले प्रमुख लगायत धेरै पद हात पारेको थियो। फुटले गर्दा राप्रपाका धेरै कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेका थिए। 


यता वाम गठबन्धनलाई पनि कोदो र तोरीसँग तुलना गरिएको थियो। यी दुई मिसाउँदा न त पिठो राम्रो बन्थ्यो, न त तेल राम्रो। यसले कांग्रेसलाई फाइदा नै हुने थियो। प्रदेश उम्मेदवार चयन गर्दा पनि राणाकै दबाबमा काममा खटेका नेताहरु पन्छाइयो जसले गर्दा राणालाई ‘आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ जस्तै भइदियो।


राणाले हराउँदै आएका कान्छा लामा आफ्ना नातेदार निमा लामा (सिन्धुपाल्चोक २ प्रदेश खका उम्मेदवार) जिताउनका लागि भएपनि पशुपतिका नजिक भइदिए। राणाका लागि यो नै घात भइदियो। 

७)    थापाकाजीहरुको चलखेल

राणालाई विजेता हुन नदिनुको अर्को कारण रह्यो राप्रपा प्रजातान्त्रिककै थापाकाजी खलकको चलखेल। गृह राज्यमन्त्रीसमेत भइसकेका विष्णुविक्रम थापालाई पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा विजयी हुनबाट छेकेका थिए राणाले। 

त्यतिबेला राणाले माओवादीका अग्नि सापकोटालाई सहयोग गरे। उनी विजयी भए। दोस्रो संविधानमा पनि त्यस्तै भयो। 


त्यसैको बदला दोस्रो संविधानसभाको चुनावमा थापाले भाइ शम्भुविक्रम थापासँगै मिलेर लिए। राणा चुनाव हारे। यसपटक भने राणाले आफ्ना धेरै विपक्षीसित गला मिलाए। उनीहरुको काँध थापे। चुनावी योद्धाका रुपमा थापा खलकलाई आफ्नो विश्वासी चुने राणाले। यसले अरु कार्यकर्ता बिच्किए भने थापा खलकले भने पुरानो बदला लिन अझै बाँकी थियो। उनीहरु राणासँग रुष्ट थिए। र, हराउने अभियानमा सक्रिय भइदिए। 

जसअनुसार थापाले राणाको चुनावी ठेक्का लिए पनि युवा परिचालन नगरेको राप्रपाकै एक चुनावी संयोजकले थापामाथि आरोप लगाएका छन्। उनका अनुसार राणाबाट सहयोग पाउँदै आएको माओवादी पार्टीलाई यसपटक थापाहरुले सहयोग गरे जसका कारण राणा पराजयको सिकार बने।  

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २३ मंसिर २०७४

Wednesday, July 19, 2023

घाइते गगनको गर्जन : ‘तपाईँहरुले तर्साउन खोज्नुभएको? सक्नुहुन्न’


काठमाडौँ : दिउँसो चुनावी घरदैलोको क्रममा चपलीमा भएको बम आक्रमणमा घाइते भएका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कांग्रेस नेता गगन थापाले उपचार गरेलगत्तै राजधानीको सिफलमा आयोजित चुनावी सभामा सम्बोधन गरेका छन्। 


माइकमा गर्जिँदै टाउकोमा ब्यान्डेज बाँधेका थापाले भने, ‘तपाईँहरुले गर्न के खोज्नुभएको? तपाईहरुले तर्साउन खोज्नुभएको? तपाईँले हामीलाई तर्साउन सक्नुहुन्न।’


घाइते थापा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारपछि साँझ ६ बजे कार्यक्रमस्थल पुगेका थिए।


जनयुद्धता कार्यक्रममा निस्कदा आमाले सोधेको प्रश्न स्मरण गर्दै उनले भने, ‘सेना र माओवादीबीच भिडन्त हुँदा म सानो झोला बोकेर विभिन्न जिल्ला जान्थेँ। आमाले भन्नुभएको थियो, 'तँलाई केही भए के होला?'


मैले भन्थेँ, 'मलाई केही भयो भने आमा नरुनुहोला। किनकि मेरो शिर कुनै खाली मैदानमा ढल्ने छैन। कुनै न कुनै आमाको शिरमा ढल्छ। जसको नेपालभरि लाखौ आमाहरु छन्, तपाईले हामीलाई तर्साउन सक्नुहुन्न।’


उनले भने, ‘बम पड्काउनेहरु कायर हुन्। चुनाव पद्धतिसँग विमति छ होला। विमिति राख्ने आफ्नो तरिका हुन्छ। माओवादीहरुले पनि बाँच्नुपर्छ भनेर भन्ने हामी हौँ।’


कार्यक्रममा उनले काठमाडौंजस्तो ठाउँमा दिनदहाडै भएको बम आक्रमणको जवाफ सरकारले दिनुपर्ने बताए। थापाले भने, ‘मध्यदिनमा १२ बजे बुढानिलकण्ठजस्तो ठाउँमा नियोजित रुपमा आनन्दले खुल्ला ठाउँबाट रिमोट कन्ट्रोल बम हानेको छ। सुरक्षाको संवेदनशीलताप्रति गम्भीर प्रश्न उठेको छ। सरकारले यसको जवाफ दिनुपर्छ। सरकारले सबै नागरिकप्रति सुरक्षाको आश्वस्त पार्न सक्नुपर्छ।’


उनले हिजो रातिमात्र सेट गरेको कार्यक्रममा नियोजित रुपले विस्फोट गरेको आरोप लगाए।


बम आक्रमणबारे उल्लेख गर्दै उनले भने, ‘कपनमा कार्यक्रम सकेर ११ बजे हामी पुग्यौँ। हामी कपनबाट जान ढिला भयो। हामी ५ मिनेटमा स्पिड स्लो भएको भन्दै बुलेट जस्तो भएर १० कदम अगाडि बढ्दा संयोगवश बाँचे। धेरै साथीहरु घाइते हुनुभयो। दुईजना गम्भीर घाइते हुनुहुन्छ। पशुपतिनाथले हात थाप्नुभयो।’ 


आफ्ना प्रतिद्वन्द्वी डा राजन भट्टराई भेट्न अस्पतालमा भेट्न आएकोमा उनले सम्मान र धन्यवादसमेत व्यक्त गरेको थिए।


अन्तिम चुनावी प्रचारका दिन धेरै कार्यक्रमहरु तय भएपनि आक्रमणमा पर्दा धेरै कार्यक्रम छुटेको थापाले बताए। सिफलको कार्यक्रममा पनि केही साथीहरुले नजान सल्लाह दिएको उल्लेख गर्दै उनले यस्तो अन्तिम कार्यक्रममा आतंकविरुद्ध आवाज उठाउन भएपनि आफू कार्यक्रममा आएको उनले बताए।

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : १८ मंसिर २०७४

गगन थापाको म्याराथन घरदैलो - २०७४


 काठमाडौं
: आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठको वडा ११ मा गगन थापाले चुनावी घरदैलो सूरु गरे।

 

रुद्राक्षको माला लगाएका थापाले कपनको ह्यन्डबल ग्राउन्डबाटबाट सुरु गरेको घरदैलोको सुरुवाती गतिको नै तीव्र बन्यो। साथमा थिए उक्त क्षेत्रका ख का कांग्रेस उम्मेदवार साधुराम खड्का र कार्यकर्ताको टोली।


'वडाका कुनै घर छुट्नु हुँदैन,' काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका पूर्व मन्त्री एवं कांग्रेस नेता स्थानीयसँग भन्दै थिए। त्यसपछि घरदैलोको गति अझ बढ्यो।


घरदैलोमा युवाहरुमात्र हैन वृद्धवृद्धाको पनि उतिकै सहभागिता थियो।


एकैछिनको दौडधुपमा केही वृद्धवृद्धा धपेडीमा पनि परे। यसमध्ये एक थिइन ६४ वर्षीया मिश्रीमाया श्रेष्ठ।


श्रेष्ठ भन्दैथिइन्, 'दौडधुप त अलि चर्कै छ, कति दौडन सकेका? तैपनि हामी पनि सँगै दौडिरहेकै छौ। केही गाह्रो भइरहेको छ।' 


बुढानिलकण्ठ आउनुअघि उम्मेदवार थापा बिहानै मैजुबहाल पुगेर आएका थिए।


घरदैलोमा मतदान गर्ने तरिका सिकाउन आइपुगेका भोजकुमार दाहालले पनि धपेडी महसुस गरेछन्। ५८ वर्षे दाहाल भन्दैथिए, 'वडै ठूलो छ। यसैले पनि दौडधुप बढेको छ। गगनको दौड एकदम ठिक छ। यो बेलामा हामी पनि दौडनै पर्यो नि।'



विभिन्न जिल्लाका चुनावी आमसभामा पनि सम्बोधन गर्न जानुपरेकाले थापाको घरदैलो बाँकी बसेको रहेछ। थापा दौडधुपमा भन्दैथिए, 'हिजोअस्ति नै यसरी दौडेको भए आजभोलि त आराम गर्न पाउने रहेछ।'


चुनावी प्रचारमा भेटिइन् वडा १० की महालक्ष्मी अधिकारी। ५७ वर्षीया अधिकारी भन्दैथिइन्, 'यसरी दौडन थालेको तीनचार दिन भइसक्यो। अब प्रचार गर्ने दिन पनि त्यति धेरै छैन। यतिको दौडधुपमा त्यति गाह्रो मानेर पनि भएन।'


दस बज्न लाग्दा घाम पनि चर्कदो थियो। गगन थापा आफै असिनपसिन बनेका थिए। त्यसपछि भने उनले ज्याकेट फुकाले। र, घरदैलोको रफ्तार अझै बढाउन थाले। 


एकैछिनपछि एउटा उकालोमा हस्याङफस्याङ गर्दै भेटिइन् किस्ट मेडिकल कलेजकी प्राध्यापक आरती कार्की। उनी भन्दैथिइन्, 'स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्यमा ख्याल राखेकैले होला। गगनले घरदैलोमा पनि दौडधुप गर्न सकेका छन्। हामीलाई भने अलि गाह्रै भइरहेको छ।'


घरघरमा स्वागत गर्दै चियापानको अफर गर्ने कार्यकर्ता प्रशस्तै भेटिए। उम्मेदवार थापा भने ढिला हुन्छ भन्दै दौडिहाल्थे।


यसरी उनले वडा ११ मा दिउँसो साढे १ बजेसम्म घरदैलो जारी राखे।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : ७ मंसिर २०७४

मोटरसाइकलमा माधव नेपाल




काठमाडौं
: शनिबार बिहान ७:३० बजे नै काठमाडौं महानगरको वडा नम्बर ३२ को जडीबुटीमा पूर्व प्रधानमन्त्री माधव नेपाल घरदैलो कार्यक्रममा उपस्थित भइसकेका थिए।


क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री नेपालसँगै प्रदेशतर्फ ‘क’ का उम्मेदवार सानुकुमार श्रेष्ठ, समानुपातिक उम्मेद्वारहरू कमला पराजुली, रञ्जना पौडेल, माओवादी केन्द्रका क्षेत्र नम्बर २ का इन्चार्ज प्रकाश गौतमलगायत उपस्थिति भइसकेका थिए।


सात बजे सुरु हुने भनिएको कार्यक्रम ढिला हुँदै थियो। साढे सात हुँदा पनि घरदैलोका लागि निम्त्याइएका कार्याकर्ता नआइपुगेपछि उम्मेदवारको टोली एकैछिन सडक पार गरी मनोहरा खोलातिरको बस्तीमा पस्यो।

 


एकैछिन् घुमेपछि उम्मेदवारसहित घरदैलो टोली सडक पार गरी पहिलेकै ठाउँमा आइपुग्यो। अनि सुरु भयो घरदैलोको औपचारिक कार्यक्रम।


वडा नम्बर ३२ को सम्पर्क कार्यालय नजिकैको घरमा उम्मेदवार नेपालसहितको टोलीलाई स्वागत गरियो। सयपत्री फूलको माला लगाइदिए उम्मेदवारहरूलाई।

 

चुनावी र्‍याली अघि बढ्दै छाप्रोसम्म पुग्यो। यतिखेर पुग्दा ८ बजिसकेको थियो। 


बाटोमा घाम तापेर बसेका वृद्धवृद्धालाई पूर्व प्रधानमन्त्री नेपालले आफ्नो गलाको खादा निकालेर लगाइदिए। आशीर्वाद मागे। आफूलाई जिताउन आग्रह गरे।


त्यसपछि चुनावी र्‍याली पुनः मुल सडकमा आइपुग्यो।


घरदैलोमा सुरक्षाकर्मी, अन्य उम्मेदवार, स्थानीय नेता र सुरक्षाकर्मीको घेरामा रहेका नेपाललाई कहिले यता कहिले उताको घच्चाघच्चीले मुस्किल परिरहेको थियो।


मुल सडक पार गरेकैबेला उनको अगाडि होन्डा साइन बाइक आइपुग्यो। भिडको घच्चाघच्चीमा परेका नेपाल फुत्त मोटरसाइकल चढे र हात हल्लाउँदै अगाडि बढे। त्यसपछि भने सुरक्षाकर्मी मोटरसाइकलसँगै दौडन पर्‍यो।


झन्डै तीन सय मिटर बाइकबाट पार गर्दा ८:३० भएको थियो। 


अगाडि चुनावी अभियानकै लागि तयार पारिएको टाटा मोबाइल रहेछ। उम्मेदवार नेपाल त्यही टाटा मोबाइलको पछाडिपट्टि चढे। साथमा उम्मेदवारहरू पनि। त्यसपछि भने चुनावी र्‍यालीको गति बढ्न थाल्यो। 

भित्रभित्रैको सडकमा पुग्दा उम्मेदवार नेपाललाई स्वागत गर्दै रसबरी पनि खुवाए। नेपालले पनि गाडीबाटै हात हल्लाए। नमस्कार साटासाट गरे।


झन्डै तीस मिनेट टाटा मोबाइल यात्रा पछि पेप्सीकोला चोकमा पुगे उम्मेदवारहरू।


पेप्सीकोला चोकमा सूर्य चिन्हको ठूलो रंगौली तयार पारिएको थियो। वाम गठबन्धनका कार्याकर्ताले उम्मेद्वारहरूलाई त्यही स्वागत गर्दै फूलमाला र खादा लगाइदिए। कोही गीतसँगै नाचे।


त्यसपछि मदरल्यान्ड अस्पताल नजिकै कार्यक्रम आयोजना भयो।


कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुगे। कार्यक्रममा आइपुग्नसाथ तीन मिनेट सम्बोधन गरे उनले। त्यसपछि उम्मेदवार नेपालले प्रचण्डलाई धन्यवाद दिँदै सभा टुंगिएको घोषणा गरे। 

सभा सकेपछि माओवादी अध्यक्ष प्रचण्ड र उम्मेदवार नेपाल हातमा हात मिलाएर पेप्सीकोला चोक हुँदै टाउन प्लानिङभित्र पसे।


शीर्ष दुई नेताको हिडाइ रफ्तार बढेपछि सुरक्षाकर्मीलाई पनि चटारो परेको थियो। करिब १० मिनेटको सँगैको यात्रापछि भने प्रचण्ड चितवन जानुपर्ने भन्दै छुट्टिए र नेपाल टोली टाउन प्लानिङमै घुम्न थाले।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : १६ मंसिर २०७४

मेरोविरुद्ध दुष्प्रचार गर्नेलाई नै घाटा : दमननाथ ढुंगाना


दमननाथ ढुंगाना भक्तपुर क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धीमा छन्। पूर्व सभामुखसमेत रहेका ढुंगानासँग वाम गठबन्धनबाट एमालेका पूर्वमन्त्री महेश बस्नेत र नेमाकिपाबाट पूर्व सांसद अनुराधा थापामगर प्रतिस्पर्धामा छन्।


लामो समय सक्रिय राजनीतिमा नदेखिएका उनी चुनावी मैदानमा देखिँदा धेरैले अप्रत्यासित पनि मानेका छन्। यद्यपी भक्तपुरको चुनावी मैदानमा ढुंगाना बलिया खेलाडीका रुपमा उत्रिएका छन्। प्रचारका लागि घरदैलो कार्यक्रम पूरा गरिसकेका छन् उनले। अहिले आफ्ना 'कोर' मतदातासमक्ष पुगिरहेका छन् ढुंगाना।


चुनावी प्रतिस्पर्धामा उत्रेका उनीमाथि प्रतिद्वन्द्वी भने खनिएका छन्। विभिन्न आरोपहरु लगाइरहेका छन् उनीमाथि। यसै विषयमा ढुंगानासँग गरिएको कुराकानी :


चिसो बढिरहेको छ, यस्तो चिसोमा बिहानै मतदाताकहाँ?

निर्वाचन नजिक छ। यसले माहोल तातो बनाएको छ भनौं। अहिले यस्तो चिसोको ख्याल गरेर पनि भएन। बिहान ६ बजे उठ्ने राति ११ बजेपछि सुत्ने। अझ हिजो त राति १२ बजेमात्र घर आइपुगेँ।


तपाईँ छिमेकी जिल्लाको चुनावी मैदानमा हुनुहुन्छ। यहाँका स्थानीय कांग्रेस कार्यकर्ताको सहयोग कस्तो पाउनुभएको छ?

नेपाली कांग्रेसले जुन उम्मेदवार खटाएको छ, कार्यकर्ताले उसलाई सहर्ष स्वीकार गरी उसको पक्षमा लागेको पाएको छु। उहाँहरुबाट पर्याप्त सहयोग पाएको छु। पार्टीको अनुशासनको कुरा पनि हो यो। अपूर्व एकताको प्रदर्शन भएको छ। मलाई जिताउन यहाँका स्थानियदेखि केन्द्रसम्मका कांग्रेस नेताहरु लागिरहनु भएको छ।


यति धेरै राजनीतिक 'ग्याप'पछि तपाईँको उम्मेदवारी आयो नि?

यो देशमा पटकपटक प्रजातन्त्रका लागि संघर्ष भयो, ठुलो बलिदान भयो। तै पनि प्रजातन्त्रलाई, लोकतन्त्रलाई स्थायित्व दिन सकेनम्। यो निर्वाचनपछि पूर्ण अवधिको सरकार बनाएर जनताप्रति विल्कुलै जवाफदेही बनाएर चल्नुपर्छ। सत्ता भनेको जनताप्रति जवाफदेही हुनुपर्छ। निर्वाचित सरकारले कहिले आफ्नो अवधी पूरा गर्न पाएन नेपालमा। धेरैजसो त बहुमत नपुगेका कारण। त्यसैले यसपटक मलाई मतदान गर्नुस् भनिरहेको छु। स्थायित्वका लागि म निर्वाचनमा आएको हुँ।


घरदैलो, भेटघाटका क्रममा जनताका अपेक्षा के पाउनुभो?

विकास जनताको पहिलो अपेक्षा हुनेरहेछ। विकासको अपेक्षा स्वभाविक हो। अहिले तीन तहको सरकार गठन भएको छ। स्थानीय सरकारले पनि विकासको काम गर्छ। प्रदेश सरकारले बजेट छुट्याउने काम गर्छ। विकासको बाँडफाँट गर्छ। केन्द्रीय प्रतिनिधिले पनि केन्द्रीय बजेट बनाएर बाँड्ने काम गर्छ। सहयोग गर्ने हो। विकासको काम स्थानिय सरकारदेखि उठेर र माथि केन्द्रीय सरकारसम्म हुन्छ। म तीनै तहलाई मिलाएर समन्वय गरेर विकासमा प्राथमिकता दिन्छु।

यो भन्दा ठुलो बेरोजगारी समस्या छ।

यो कृषिप्रधान जिल्ला हो। यहाँको उत्पादनबाटै काठमाडौंसमेत पोषित भइरहेको छ। परम्परागत कृषिलाई आधुनिक बनाउन नसक्दा बेरोजगार बढेको छ। यसैलाई पहिलो प्राथमिकतामा राखेको छु। यहाँ अन्य परम्परागत सीपहरु पनि काममा आएका छैनन्। सम्पदाले सम्पन्न जिल्ला हो। सांस्कतिक हिसाबले पनि धनी नै हो। कला कौशलमा पनि धनी छ। पर्यटन र संस्कृतिक राजधानी बन्ने देखिन्छ। यी विषयमा म प्रथामिकताका साथ लाग्नेछु।


गठबन्धनमा अरु दलबाट कतिको सहयोग पाउने आशा गर्नुभएको छ?

राप्रपा प्रजातान्त्रिकले सक्रिय सहयोग गर्ने भएको छ। यो गठबन्धनलाई सफल बनाउन उसले आफ्नो कर्तव्य सम्झेर खटिरहेको हामीले पाएका छौं। राप्रपाले पनि सहयोग गर्नेछ भन्नेमा हामी ढुक्क छौं।


केही समयअघि नेमाकिपाले पनि सघाउने कुरा थियो, अहिले त आफ्नै उम्मेदवार मैदानमा देखिए नि?

नेमाकिपाले आफ्नो उम्मेदवार बनाएको छ। पार्टीगत रुपमा जे मनासिव लाग्छ उहाँहरुले गर्नुहुन्छ। म यसमा केही भन्दिनँ।


तपाईँका प्रतिद्वन्द्वीले तपाईँलाई 'भारतीय दलाल' भनेर आरोप लगाइरहेका छन्, यसले तपाईँलाई अप्ठेरो पार्दैन?

कसैले आक्षेप लगाउछन् भने मुख थुन्न सकिन्न। यसको कुनै आधार छैन। निराधार कुरा जनताले पत्याउँदैनन्। मेरा बारेमा लागेका आरोपहरु कसैले पत्याइरहेका छैनन् पनि। साँचो भए पो पत्याउनु। जनताले इन्कार गरिसकेका छन्। चुनावका बेला बढाइचढाइ बढी नै हुन्छ। यस्तो दुस्प्रचार गर्नेहरु आफैलाई घाटा हुन्छ।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : १४ मंसिर २०७४

Monday, July 17, 2023

बाबुको निर्वाचन क्षेत्रमा मुस्काउँदै देवयानीको नमस्कार

सिन्धुपाल्चोक : भारतमा बस्दै आएकी देवयानी राणा आजको चुनावमा सक्रिय देखिइन्। पशुपतिशम्शेर राणाकी छोरी देवयानी यसपाला बाबुलाई जिताउने उद्देश्यका साथ सिन्धुपाल्चोक पुगेकी थिइन्। सिन्धुपाल्चोक र काठमाडौंका चुनावी अभियानमा समेत उनको सक्रियता थियो।


आज सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा भएको मतदान हेर्न पनि उनी बाबु पशुपतिशम्शेरसँगै पुगेकी थिइन्। मतदातासँग नबोले पनि मुस्काउँदै उनले नमस्कार गरेकी थिइन्। पछिल्ला दुई निर्वाचनमा पशुपतिशम्शेर सिन्धुपाल्चोकको चुनावी परिणाममा कमजोर सावित भइसकेका छन्। यसपाला उनले जित्न सकेनन् भने यो उनको हारको ह्र्याट्रिक हुनेछ। 


दरवार हत्याकाण्डपछि लामो समय नदेखिएकी देवयानीले पछि भारतमै घरजम गरेकी हुन्। यसपाला चुनाव प्रचारदेखि मतदानको दिनसम्म उनी बाबुसँगै देखिएकी छिन्।


प्रकाशित मिति १० मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

Sunday, July 16, 2023

बम डाडुले उठाएर निस्क्रिय बनाउँदाको क्षण


बिहीबार रसुवाको राम्चे सोझिएको मोटरबाइकलाई नुवाकोटको विदुरस्थित निर्वाचन कार्यालय पुग्नै लाग्दा प्रहरीले  'लेफ्ट' मोड्न निर्देशन दिए।

हामीले सोध्यौ, 'किन? हामी त रसुवा जाने।'

 

पहिलोपटक रसुवा जाँदै थियौ। हामीलाई बाटो पनि थाहा थिएन। प्रहरीलाई हामी सीधै जान पाउँ भन्ने लाइनमै बाइक अलि अगाडि बढाएँ।


'अगाडि बम छ,' प्रहरीले रोक्न खोजे, 'तपाईकै सुरक्षाका लागि भनेको।'


देब्रेतिरबाट सवारी निस्किरहेकै थियो। जान मात्र नदिएको रहेछ।


'हेर्न जाउँ बम,' पछाडि बसेका फोटोपत्रकार चन्द्र आले बाइक साइड लगाउन नपाउँदै ओर्लिहाले। बाइकलाई लेफ्टतिरैको कुलोतिर तेर्स्याउँदै म पनि बम हेर्न हिडें।


निर्वाचन कार्यालय विदुरमा मतदानका लागि धमाधम सामान लिँदै थिए कर्मचारी। सडकमा सवारी रोकिरहेका थिए प्रहरी। चुनावी गीत बजाएर झन्डा फहराउँदै स्कारपियो जिप दौडिरहेको थियो। 


बिहान ८ः४५ बजेको रहेछ।

 

निर्वाचन कार्यालयभित्र रहेका कर्मचारीलाई सक्दो चाँडो निस्कन आग्रह गर्दै थिए प्रहरी। प्रहरीले आयोग अगाडि रहेको कार्टुनलाई दुईवटा फलामे बारले घेरे।

 

त्यतिबेला सम्म धेरैले बम कहाँ छ भनेर सोधिरहेका थिए। कतिपयले निर्वाचन सामग्रीभित्रै बम राखिएको भन्दै थिए। मैले पनि त्यही सोचेँ, असरल्ल निर्वाचन सामग्रीमा बम कहिले भेट्ने? मैले जस्तै अरुले पनि प्रश्न गरेका थिए। जब कार्टुनलाई फलामे बारले घेरियो, तब बम निर्वाचन सामग्रीभन्दा बाहिर रहेको पत्तो लाग्यो।


'बिहान ६ बजे बम राखेको हल्ला चलेको भर्खर डिस्पोज गर्न खोजिएको छ। यो बम नै होइन होला, ' एकजना रमितेले भने।


नजिकै पत्रकारहरु पनि त्यही विषयमा कुराकानी गर्दै थिए। कोही लाइभ रिपोर्टिङमा व्यस्त थिए।


केहीबेरमै सेनाको टोली आइपुग्यो। त्यसपछि प्रहरीले रमितेलाई हटाउन थाले। रमिते सडकभन्दा माथिको डिलमा जम्मा भए। त्यहाँबाट पनि अन्तै जान प्रहरीको निर्देशन आयो।


निर्वाचन कार्यालयको ठिक अगाडि बन्दै गरेको भवन सञ्चारकर्मीको रोजाइ बन्यो। भिडियो र फोटो लिन सजिलो देखेर सञ्चारकर्मी त्यो भवनमा उक्लिन थालेपछि अरु रमिते पनि त्यही उक्ले। प्रहरीले एकैक्षणमा त्यहाँबाट पनि सबैलाई हट्न निर्देशन दिए। कतिले मानेनन्।


'बम पड्कदाँ छर्रा आउँछ, लाग्न सक्छ। तपाईहरुकै सुरक्षाका लागि भनेको, ' प्रहरी बम हेर्न आएकालाई भन्दै थिए। नजिकै भेटिइन् बिबिसी नेपाली सेवाकी संवाददाता शक्तिमाया तामाङ। उनी भन्दै थिइन्, 'अर्को ठाउँमा पनि बम राखेको खबर आएको छ।'


झन्डै आधा घन्टाको अलमलमा पनि सेना कार्टुनले छोपेको बम भएको ठाउँ गएनन्। सडक खाली थियो। त्यही बेला नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव आइपुगे। उनी प्रहरीसँग कुराकानी गर्दै निर्वाचन कार्यालय अगाडिको दैलोमा उभिए।


बम कतिबेला पड्काइने हो भनेर सर्वसाधारण त्यही कार्टुनतिर नजर लगाइरहेका थिए। नुवाकोटमा केही दिन अघिमात्र पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार डा रामशरण महतलाई लक्षित गर्दै बम प्रहार गरिएको थियो। घटनामा पाँच जना घाइते भएका थिए।

 

निर्वाचन नजिकिदै गर्दा सदरमुकाम विदुरमा बम देखिँदा खासै आतंकित भने देखिएनन्। बम भएपनि बम वरपर निर्वाचन सामग्री लिने कर्मचारी र सर्वसाधारण त्यहीँ नजिकबाट हिँडिरहेका थिए। बिहान धेरैले उक्त बमको फोटो नजिकैबाट खिचेको एक प्रहरी बताउँदै थिए। धेरैले फोटो खिचेपछि बमलाई कार्टुनले छोपेको ती प्रहरी जानकारी दिदैं थिए। सेनाले बम डिस्पोजको प्रक्रिया थाल्दा ती प्रहरीले बमको फोटो मोबाइलबाट जुम गरी देखाउँदै थिए। अरु आतंकित नदेखेर होला मलाई पनि खासै डर लागेन।

 

झन्डै आधा घन्टापछि सेनाले लामो लौरोमा तार जोडेर कार्टुन पन्छाए। सकेट बम रहेछ। हुक लगाउँदै बम उचाल्ने प्रयास गरे। तर प्रयास सफल भएन।  त्यसलगत्तै एकजना सेना डाडु खोज्न निस्किए। निर्वाचन कार्यालयको ठीक अगाडि रहेको घरबाट डाडु लिएर निस्के प्रहरी। उनी भन्दै थिए 'यो डाडु पनि भाग्यमानी रहेछ। बम बोक्न पाउने भयो।'


त्यसपछि उक्त डाडुलाई लामो लौरोमा बाँधेर डाडुमा उठाएर बमलाई भवनभन्दा करिब सय मिटर पर केराघारी पुर्‍याइयो। केराघरी छेवैको झाडीमा सानो ठाउँ बनाए सेनाले।  डिस्पोजल टोलीले एकैक्षणमा बम पड्काउने तयारी गरे। एक जवानले चुरोट सल्काए। अनि, बम पड्कने बेला भएको भन्दै सबैलाई बस्न आग्रह गर्दै सेना सडकतिर कान छोप्दै दौडे। 


त्यतिबेला बिदुरको सडकमा बम हेर्न बसेका रमितेहरु सडकमा एकैपटक थचक्कै बसे। ड्याम्म.. त्यसपछि केराघारीबाट आवाज आयो। आवाजसँगै धुँवाको मुस्लो पनि उड्यो। बम डिस्पोज हुनासाथ अधीर भएर सडकमा रोकिएका सवारीहरु हर्न बजाउँदै ‌ओहोरदोहोर गर्न थाले। हामी पनि कुलोमा साइड लगाएको बाइक हुइक्याउँदै रसुवाको धुन्चेतिर उक्ल्यौँ।

प्रकाशित मिति ८ मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

फोटो लेखक

पशुपति शम्शेरलाई तेस्रो पटक हराउँदैछु : शेरबहादुर तामाङ


पहिलो चरणमा चुनावी प्रचारको आज अन्तिम दिन। सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट दुई पटक सांसद रहिसकेका शेरबहादुर तामाङ यसपालाको निर्वाचनमा जितेर ह्याट्रिक गर्ने होडमा छन्। पशुपति शम्शेर राणा उनका प्रतिद्वन्दी उम्मेदवार। राणालाई दुई पटक पराजित गराएका उनको चुनावी अभियानबारे पहिलोपोस्टका लागि नेत्र तामाङले दुई दिनअघि गरेको कुराकानी :  

सबै गाउँ घुमिसक्नुभयो? 

अब केही वडा मात्र बाँकी छन्। एकसरो सबै गाउँ पुगे। कुनैकुनैमा मात्र दुई तीन पटक पुग्ने मौका मिल्यो।

दिनमा कति खटिरहनुभएको छ ? 

यसपटक क्षेत्र थपिएको हुनाले कुदाकुद नै भएको छ। राम्रोसँग सुत्न पाएको छैन। ४९ वटा वडामा पुग्नुपर्ने भएकोले यसपटक अलि दौडधुप नै भयो। ४९ वडा भनेको पहिलेको ४९ गाविस हो। दिनमा २४ घन्टा मात्र हुन्छ। बढी घन्टा भए त २५ घन्टै खट्थेँ। 

पशुपति शम्शेर चुनावमा उठेका छन्। त्यही भएर यस्तो चुनौती आइलाग्यो?

पशुपति शम्शेरलाई हराउनु चुनौतीको विषय नै रहेन। हामी सजिलै जित्छौ। मतान्तरको हिसाबमा पनि लोकतान्त्रिक गठबन्धन २० हजारले पछाडि छ। उहाँहरु निर्वाचनको मैदानमा पनि धेरै पछाडि हुनुहुन्छ।

केही स्थान थपिएका छन् नि पहिलेभन्दा। यसले मतान्तरलाई असर गर्ला नि?


हो केही स्थान थपिएका छन्। तर थपिएका ठाउँका युवा त झन् वाम गठबन्धन मनपराउने धेरै हुनुहुन्छ। यसमा कुनै शंकै छैन। हामीलाई विश्वास छ उहाँहरुकै सहयोगमा हामी जित्दैछौं।

धन शक्तिका हिसाबले त उहाँ नै बलियो हुनुहुन्छ नि?


वाम पन्थीसँग के कमी छ र? जनतासँग पैसा हुँदैन र। जनताले सहयोग गरेका छन्। जनताले मन दिएका छन्। त्यसैले उहाँहरुको धन र शक्ति जनताको मन अगाडि केही हैन। जनताले सहयोग गरेका कारण उहाँहरुले जति खर्च पनि गर्नुपरेको छैन।

निर्वाचनमा पैसाका खेल हुन्छ भन्ने स्थानीय तहकोमा देखिएकै हो। यसपाला पनि त्यस्तै नहोला त?


हो। स्थानीय तहमा केही त्यस्तो भएको देखियो। मानिसहरु बिकेको देखियो। तर यो राष्ट्रिय निर्वाचन हो नि। यसमा यस्तो हुँदैन। पक्कै पनि जनता बिक्ने छैनन्। हामीलाई विश्वास छ- जनताको मन पैसाले जित्न सकिँदैन।

राणाले यस क्षेत्रमा लामो समय काम गर्नुभएको छ। जनताले मत देलान नि?


राणाले २०५६ सालसम्म शासन गरे। केही विकास गरेनन्। त्यसैले त जनताले मलाई रोजे एमाले पार्टी रोज्यो। विकास नगरेकै कारण २०६४ सालदेखि मैले हराउँदै आएको छु। यसपटक पनि हराउँछु। यो तेस्रो पटक हो म उहाँलाई हराउँदै छु।

ढुक्क देखिनुहुन्छ। तपाईँको चुनाव जित्ने मुख्य आधार के त?


राजनीतिक समृद्धिका कुरा पूरा भइसक्यो। अब हामी आर्थिक परिवर्तन, समृद्धि, युवाहरुको आर्थिक विकासका लागि लाग्ने हो। देशको विकासका आधार तयार पार्ने हो। त्यसका लागि नीतिनियम बनाउने हो।

तपाईँको क्षेत्रका लागि चाहिँ के छन् त्यस्ता समृद्धिका योजना?   


राजधानीमा लाने पानीको मेलम्चीको मुख्य मुहान हाम्रो जिल्ला हो। याङरी र लार्चाबाट पनि पानी लगिँदैछ। काठमाडौमा पानी लाँदै गर्दा एमालेकै पहलमा २५ प्रतिशत स्थानीयलाई दिनुपर्ने प्रावधान राखिएको छ। यही स्रोत यहाँका साधन प्रयोग गरी विकास गर्ने।

मध्य पहाडी पुष्पलाल लोकमार्गले क्रस गर्दा इन्द्रावती, मेलम्ची उपत्यका नयाँ सहरका रुपमा विकसित हुँदैछ। इन्द्रावती नदी वनदेउमा थुनेर फेवातालभन्दा तीन गुणा ठूलो ताल बनाउने हो। जुगल हिमाल यहीँ पर्छ। हिमालय रेन्जलाई उपयोग गरी पर्यटनलाई व्यवस्थित गराउने। ३० हजारलाई रोजगारी दिन सकिन्छ। जीवनस्तर उकासिने छ।

सांसदको काम कानुन बनाउने हो कि यस्तै विषयमा हराउने?


अहिले तातो परिणाम जनताले खोज्छन्। बाटो चाँडै बनोस्। पिच होस भन्ने चाहना गर्ने रहेछन्। २७ हजार किलोमिटर बाटो खनेका छन्। स्थानीय जनता यहीको विकास चाहने रहेछन्। 

त्यसैले म बाटो विकासमा लागेको छु। ट्रयाक खोलेको ठाउँमा पिच गर्ने।

खेतीयोग्य जमिनमा सिचाइँ पुराउने योजना बनाएको छु।

यहाँ कतिपय ठाउँमा खानेपानीकै अभाव छ भन्छन् नि?


कतिपय ठाउँमा खानेपानीको समस्या पनि छन्। त्यस्ता ठाउँमा २ वर्षमा पानी पुराउँछौं। डाँडामा ठुलो पोखरी खन्ने हाम्रो योजना छ। यसले वर्खाको पानी जम्मा हुनेछ र पानी नभएको ठाउँमा मुल रसाउने छ भन्ने हामीले सोचेका छौं।

प्रकाशित मिति ७ मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

फोटो : लेखक


सिन्धुपाल्चोक : पूर्व सञ्चार मन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धी हुन्। मंसिर १० अर्थात् मतदानको दिन नजिकिंदै गर्दा उक्त क्षेत्रमा चुनावी माहोल तातिएको देखिन्छ। साेमबार यही मेसोमा हामी पुग्दा उक्त क्षेत्रमा देखिएका पाँच रोचक दृश्यः


बाह्रबिसेमा वामपन्थी युवा फोर्स

नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने विषय निकै चर्चित रह्यो। यस क्षेत्रमा पनि वामपन्थी तालमेलबाटै प्रतिनिधि सभामा माओवादीबाट अग्नि सापकोटा र प्रदेश सभामा दुवै एमालेका उम्मेदवार रहेका छन्। 


बाह्रबिसेमा वामपन्थीको आमसभा राखिएको थियो। उक्त कार्यक्रमका लागि वामपन्थी कार्यक्रममा पहिलोपल्ट वामपन्थी युवा फोर्स लेखिएको ट्रयाक लगाएका राता युवकहरुको फोर्स देखिए। वाइसिएलको कडा विरोधमा उत्रेर युथ फोर्स निर्माण गरेका एमाले अहिले संयुक्त फोर्स बनाएको देखियो। 


कांग्रेसको गढमा वामपन्थीको शक्ति प्रदर्शन


बाह्रबिसे बजारलाई कांग्रेसको गढ मानिन्छ। उक्त क्षेत्रमा वाम गठबन्धनले कार्यक्रम राखी कांग्रेसविरुद्ध धावा बोलेको दृश्य रोचक देखिन्थ्यो। कांग्रेसको निर्वाचन क्षेत्र नम्बर १ कार्यालय अगाडि नै उक्त कार्यक्रम राखिएको थियो। कार्यक्रममा वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटाले कांग्रेसका उम्मेदवार मोहन बस्नेतलाई ‘गुण्डा’को आरोप लगाइरहँदा कांग्रेस कार्यालयमा रहेकाहरु भने हाँसिरहेका देखिन्थे।

जुरे पहिरोले पुरिएका घरमा कांग्रेसको झन्डा


जुरे पहिरोले गर्दा यस क्षेत्रका केही घर नष्ट भएका थिए। पहिरोले बनाएको कृत्रिम ताल खुलेपछि ती घर नदी छेवैमा जीर्ण अवस्थामा देखिन्छन्। ती घरहरुमा कांग्रेसका झन्डा फरफराइरहेको थियो। यस्तै प्रदेश सभाका उम्मेदवार राजेन्द्र श्रेष्ठको घरमा पनि पहिरोले क्षति पुर्‍याएको थियो। क्षति पुगेको उनको घरमा पनि कांग्रेसको झन्डाले झकिझकाउ पारिएको छ।

एमाले उम्मेदवारको घर अगाडि कांग्रेसको चुनावी सभा


सुनकोशीस्थित पाँग्रेटारमा रहेको सुनकोशी क्याम्पसमा कांग्रेसले चुनावी सभा राख्यो। एमालेले प्रदेश सभाको उम्मेदवार बनाएका दुबै नेता सरेश नेपाल र अरुण नेपालको घर यही नजिकै रहेको छ। सोही क्षेत्रका मतदाता रिझाउन कांग्रेसले उक्त क्याम्पसमा कार्यक्रम आयोजना गरेको जानकारी दियो। सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतले सम्बोधन गरेको यो कार्यक्रममा गाउँका भने थोरैमात्र सहभागी थिए। 

बाह्रबिसेमा ट्राफिक जाम

तातोपानी नाका बन्द भएयता सामान्यतया बाह्रबिसेमा ट्राफिक जाम हुँदैन। तर, आइतबार भने ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे परेको थियो। वामपन्थीको आमसभामा शक्ति प्रदर्शनका लागि विभिन्न स्थानबाट आइपुगेका बस, मोटरबाइक व्यवस्थापनका लागि प्रहरी खटिएका थिए। 

प्रकाशित मिति २८ कात्तिक २०७४
लेखक नेत्र तामाङ

अग्निको आरोप- मोहन 'गुण्डा' र 'कायर' हुन्, मोहन सोध्छन्- जातीय समानता भन्ने दाजुभाइ चुनावमा उठाउने?


मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमध्येको एक हो सिन्धुपाल्चोक। मतदान नजिकिँदै गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पार्टीहरु प्रचार प्रसारमा व्यस्त छन्। हाम्रा संवाददाता नेत्र तामाङले सिन्धुपाल्चोक पुगेर त्यहाँको वस्तुस्थितिबारे गरेको स्थलगत रिपोर्टिङ


सोमबार सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका मोहनबहादुर बस्नेतले सुनकोशी गाउँपालिकास्थित पाँग्रेटारमा चुनावी सभा राखे।


सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका बस्नेतको सभामा सहभागी हुनेको संख्या निकै कम थियो। कार्यक्रममा बस्नेतले यस क्षेत्रबाट एक भोट मात्र बढी दिन अनुरोध गर्दै विकासका कार्यक्रम ल्याउने वाचा गरे। 


त्यसपछि उनी चुनावी सम्बोधनका लागि लिसंखुपाखरको पेड्कु, सिलढुङ्गा र घ्याङडाँडामा उक्ले।


कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सोमबार सम्बोधन गरेका अधिकांश क्षेत्र एमालेको मतदाता बढी रहेको क्षेत्र रहेको स्थानीय रमेश श्रेष्ठले बताए।


‘पाँग्रेटारमा चुनावी सभा गरिएको ठाउँ एमालेबाट प्रदेशसभाका उम्मेदवार रहेका सरेश नेपाल र अरुण नेपालको गाउँ हो,’ श्रेष्ठले भने, ‘गत निर्वाचनमा यस वडामा एमालेका ईश्वर तिमल्सिनाले जित हात पारे।’


बस्नेत सहभागी अधिकांश स्थान एमालेको लालकिल्ला भनेर चिनिएको गाउँ भएपनि किन एमाले किल्लामा पुगिरहेका छन् बस्नेत ?

 

एमाले र माओवादीले पिस्करको नाम बेचेर राष्ट्रिय राजनीति गरिरहेको र यहाँका जनताको जीवनस्तर भने जस्ताको तस्तै रहेकाले जनताको स्तर उकास्न र उनीहरुको चाहना बुझ्न विपक्षी मतदाताको घरघर पुग्दै गरेको क्षेत्र नम्बर एक निर्वाचन प्रचार समितिका संयोजक बलदेव तिमल्सिनाले जानकारी दिए। 


‘सिन्धु क्षेत्र नम्बर एकमा कांग्रेसको माहोल बनिसकेको छ, विपक्षी मतदातासमेत कांग्रेसतिर आकर्षित भइरहेका छन्,’ संयोजक तिमल्सिनाले दावी गरे, ‘हामी विपक्षी मतदाता रहेको क्षेत्रमा पसिरहेका छौं, जनताले हामीलाई स्वागत गरिरहेका छन् । शनिबार हामी माओवादी पकड क्षेत्र कुविण्डेमा गयौं, सोमबार एमालेकै पकड क्षेत्रमा छौं, सोमबार पिस्कर, धुस्कुनमा पुग्दैछौं।’


सोही दिन वाम गठबन्धनले बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा शक्ति प्रदर्शन गरी आमसभा गर्‍यो। कार्यक्रममा जिल्लाभरका ८१ मतदान केन्द्रका युवा सहभागी थिए। जिल्लाका वाम युवाको अत्याधिक उपस्थिति थियो।


नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ को कार्यालय अगाडि गरिएको उक्त कार्यक्रम कांग्रेसमाथि धावा बोल्ने उद्देश्यले गरिएको वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका इन्चार्ज कमल नेपालले बताए। 


‘गठबन्धनका मतदातामा फुट ल्याउने प्रयत्न कांग्रेस उम्मेदवारले गरिरहेका छन्, हामी मजबुत् भएकाले पनि उनीहरु यस प्रयत्नमा लागेका हुन्, यसप्रति हामी सचेत र सजग छौं, यो क्षेत्र वाम गठबन्धनको पकड क्षेत्र हो, हामी कुनै पनि अवस्थामा मत किनेबेच गर्न दिनेछैनौं,’ इन्चार्ज नेपालले भने, ‘हामी ढुक्क छौं। जित हाम्रै पक्षमा छ। निर्वाचन प्रचार यही ढंगले अघि बढिरहेको छ।’


बाह्रबिसे नगरपालिकाको मेयरमा एमालेका निमफुन्जो शेर्पाले विजय हासिल गरेपनि वडा नम्बर ४ मा अवस्थित बजारमा भने कांग्रेसका ज्ञानेन्द्र श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए । ‘यो क्षेत्र कांग्रेसको पकड एरिया भएको र स्थानीय निर्वाचनमा विजयी भएपछि मेयरलाई विजयी र्‍याली गर्न नदिएको क्षेत्र हो, आज उनीहरुले नै विशाल सभा राखे,’ स्थानीय जीवन लामाले भने। बाह्रबिसेमा एमाले माओवादीले जतिसुकै ठूलो आमसभा राखेपनि यहाँको जनताको मत तलमाथि पार्न नसकिने उनको दाबी थियो।


वाम गठबन्धनबाट यस क्षेत्रबाट उम्मेदवार रहेका उम्मेदवार माओवादी नेता एवं पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले यस जिल्लालाई नमूना जिल्ला बनाउने र बाह्रबिसेलाई ट्रान्जिट नगर बनाउने वचन दिए। साथै उनले तातोपानी नाका जसरी पनि खोल्ने प्रतिबद्धता जाहेर गरे।


एमाले नेता एवं बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले कुनै पनि हालतमा यस क्षेत्रबाट सापकोटाको जित हुने दाबी गरे।


नरम बन्दै मोहन, गरम बन्दै अग्नि

उम्मेदवारी मनोनयनका दिन आफ्नो कार्यकर्ताको ह्याकुलो ठूलो रहेको र अन्य दलको कार्यकर्ताको ह्याकुलो सानो रहेको अभिव्यक्ति दिएका कांग्रेस उम्मेदवार बस्नेत पछिल्लो चुनावी कार्यक्रममा नरम बन्दै गएका देखिन्छन्। 


पाँग्रेटारको कार्यक्रममा विकासको ढोका खोलिदिने वाचा गर्दै बस्नेतले भने, यो वडाबाट जाहिले पनि कम्युनिस्टलाई भोट जान्छ, त्यही भएर विकासमा पछि रहेको छ, हामीलाई विकासका प्याकेज हाल्नै दिदैनन्, उनीहरुले ल्याएका विकास रातारात हराउँछन्, त्यसैले हामी विकास गछौं, एक भोट मात्र बढी कांग्रेसलाई दिनुस। दुईटै बाटोलाई करोडौं हाल्छौ, जनताले साथ दिएमा हामी नवै वडामा पुग्ने गरी खानेपानी ल्याईदिन्छौ।’

कार्यक्रममा उनले एमाले र माओवादी जातीय समानताको कुरा गरेपनि नेतृत्वमा दाजुभाइको दबदबा रहेको आरोप लगाए । ‘यहाँका प्रदेश उम्मेदवार दुबैजना दाजुभाइ हुन्, यसले कहाँ गयो जातीय समनताको कुरा, कहाँ गयो दलित उन्मुक्तिका कुरा?’ वाम गठबन्धनबाट प्रदेश सभा उम्मेदवार रहेको सरेश नेपाल र अरुण नेपालप्रति लक्षित गर्दै बस्नेतले भने ।


यता निर्वाचन प्रचार समितिका संयोजक तिमल्सिनाले हामी युवा जत्था बोकेर मतदातालाई आतंकित बनाउनुभन्दा जनता रिझाउन लागिपरेको उल्लेख गरे । उनले भने, ‘विभिन्न स्थानबाट लाखौं खर्चेर युवा शक्ति परिचालन गरी जनता तर्साउन खोज्नु कम्युनिस्टको शैली नै हो, हामीसँग त्यसो गर्ने पैसा छैन, हामी जनतासँग छलफल गरी दीर्घकालीन विकासका योजनाहरुको प्याकेज लाने प्रयासमा छौं।’

सिंह उठेको छ, अब होस गर–अग्नि सापकोटा

यता नरम स्वभावका मानिने पूर्वसञ्चारमन्त्रीसमेत रहेका अग्नि सापकोटा भने निर्वाचन नजिकिंदै गर्दा गरम बन्दै गएका छन्। उनले आफ्ना प्रतिस्पिर्धी बस्नेतलाई गुण्डा भन्नसमेत पछि परेनन्। बाह्रबिसेको सभालाई सम्बोधन गर्दै भने, ‘म मोहन बस्नेत जस्तै गुण्डा हैन, तैपनि निहूँ खोज्छ भने गुण्डालाई कसरी तह लगाउनु पर्छ त्यो मैले पनि जानेको छु।’ 


बस्नेतलाई गुण्डा भन्दै गर्दा उनी डरपोकसमेत भएको आरोप लगाए, भने, ‘बस्नेत हुतिहारा र डरपोक हुन्। कुविण्डेमा छिर्न दुई ट्रक प्रहरी बोकेर जाने मान्छे कायर हो। त्यस्तो कायरले जनताको पक्षमा वकालत गर्न सक्दैनन्, जनताको घरआँगन जान प्रहरी चाहिने मान्छे जनताको कसरी हितैषी हुने सक्छ?’ कुविण्डे माओवादीको पकड क्षेत्र मानिन्छ।


म वचनमा बाँच्छु र जे भन्छु त्यो पूरा गर्छु, मसँग इमान, स्वाभिमान मात्र छ र अहिलेसम्म मैले जे बोलेको छु त्यो पुरा गरेको छु सापकोटाले यसो भन्दै प्रतिज्ञा गर्दै भने तातोपानी नाका म कुनै पनि मूल्यमा खोल्छु, यो मेरो भीष्म प्रतिज्ञा हो। खबरदार मोहन बस्नेत अब सिंह उठिसकेको छ होस गर।’


बस्नेतलाई भ्रष्टाचारी खुमबहादुर खड्काको चेला भएको आरोप लगाउँदै सापकोटाले त्यतिखेर बस्नेत त्यही खुमबहादुरसँग भ्रष्टाचार र कमिशन खान लिप्त भएको जिकिर गरे। त्यही भ्रष्टाचार गरी कमाएको धनले जनताको मत खरिद गर्न खोज्छ भने एक्काइसौं शताव्दीका सचेत जतनाले बस्नेतलाई पाखा लगाइदिने सापकोटाको कथन थियो।


निर्वाचन परिचालन कमिटीका इन्चार्ज कमल नेपालले झिनामसिना बजेटको आश्वासन कांग्रेसले दिएको आरोप लगाउँदै प्रतिनिधिसभाका सदस्यले गाउँमा यस्ता विकास ल्याउनै नसक्ने र यस्ता विकास स्थानीय तहमा मात्र आउने भएकाले जनतामा भ्रम नछर्न चेतावनी दिए।


यस्तो छ अंकगणित

सापकोटा र बस्नेत भिड्ने भएपछि यस क्षेत्रलाई रोचक प्रतिस्पर्धी रहेको क्षेत्र मानिएको छ। त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाँउपालिका, बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा यस क्षेत्रमा पर्दछन्। 

यस निर्वाचन क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३  हजार ८ सय ६९ मत ल्याएको थियो। 


यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ। अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा वाम दलको १६ हजार ९ सय ७७ मत बढी छ। 


सिन्धुपाल्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा कूल २७ हजार ८ सय ५२ मतदाता थपिएका छन्। 

प्रकाशित मिति
लेखक नेत्र तामाङ

थपिएका १४ लाख युवा मतदाता हुँदैछन् 'निर्णायक शक्ति', सरप्राइज हुनसक्छ मतपरिणाम

काठमाडौँ : यतिबेला वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु स्थानीय तहमा खसेको मतको आधारलाई मानेर सम्भावित चुनावी परिणाम जोडघटाउ गरिरहेका छन्। अधिकांश स्थानमा वाम गठबन्धन अगाडि देखिएको तथ्याङ्कले देखाएको छ। यही आधारमा कतिपय उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित हुने दाबी गरिरहेका छन् भने कतिपय उम्मेदवार अत्तिएका देखिन्छन्।


तर स्थानीय निर्वाचनपछि झन्डै १४ लाख नयाँ मतदाता थपिएका छन्। ती मतदाता नै निर्णायक हुने कारण आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम सरप्राइज हुनसक्ने विज्ञहरुले आंकलन गरेका छन्।

कहाँ कति थपिए मतदाता?

सि.नं जिल्ला थपिएका मतदाता

1 ताप्लेजुङ 7633

2 पाँचथर 8596

3 ईलाम 14776

4 झापा 75012

5 संखुवासभा 8404

6 तेह्रथुम 6037

7 भोजपुर 8343

8 धनकुटा 9832

9 मोरङ 80915

10 सुनसरी 53141

11 सोलुखुम्बु 7676

12 खोटाङ 9534

13 ओखलढुङ्गा 10755

14 उदयपुर 18452

15 सप्तरी 14749

16 सिराहा 12775

17 दोलखा 14396

18 रामेछाप 17941

19 सिन्धुली 13274

20 धनुषा 15283

21 महोत्तरी 9287

22 सर्लाही 18965

23 रसुवा 4566

24 धादिङ 27473

25 नुवाकोट 22392

26 काठमाडौँ 44220

27 भक्तपुर 16568

28 ललितपुर 15243

29 काभ्रेपलान्चोक 41438

30 सिन्धुपाल्चोक 27852

31 मकवानपुर 27834

32 रौतहट 6411

33 बारा 16269

34 पर्सा 8838

35 चितवन 41033

36 गोरखा 20392

37 मनाङ्ग 785

38 लम्जुङ्ग 9464

39 कास्की 30670

40 तनहुँ 16785

41 स्याङ्जा 18805

42 गुल्मी 15562

43 पाल्पा 18993

44 अर्घाखाँची 11628

45 नवलपरासी 60059

46 रुपन्देही 63980

47 कपिलवस्तु 25214

48 मुस्ताङ्ग 1164

49 म्याग्दी 4075

50 बाग्लुङ 10480

51 पर्वत 8055

52 रुकुम 10026

53 रोल्पा 13425

54 प्युठान 11192

55 सल्यान 8956

56 दाङ 47764

57 डोल्पा 2064

58 मुगु 2580

59 जुम्ला 4381

60 कालिकोट 3933

61 हुम्ला 2873

62 जाजरकोट 4989

63 दैलेख 6979

64 सुर्खेत 20176

65 बाँके 30637

66 बर्दिया 19293

67 बाजुरा 4884

68 अछाम 9161

69 बझाङ्ग 6665

70 डोटी 5656

71 कैलाली 57300

72 दार्चुला 2606

73 बैतडी 7493

74 डडेलधुरा 5952

75 कन्चनपुर 29240

कुल जम्मा 1370249

 

थपिएका मतदाता कस्ता ? 

स्थानीय निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार थियो। निर्वाचन सकिएलगत्तै आयोगले पुनः स्थानीय स्तरमै मतदाता नामावली संकलन गरेको थियो। त्यसपछि झन्डै १४ लाख नयाँ मतदाता थपिए। आयोगको आँकडाअनुसार स्थानीय निर्वाचनपछि १३ लाख ७० हजार २४९ नयाँ मतदाता थपिएका छन्। अहिले कूल १ करोड ५४ लाख २४ हजार ७,३१ मतदाता रहेका छन्।


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार थपिएका अधिकांश मतदाता युवा हुन् भने बाँकी पहिले नामावली संकलनमा छुटेकाहरु हुन्।


‘स्थानीय निर्वाचनपछि भदौसम्म १८ वर्ष पूरा भएकाहरु मतदाता सूचीमा थपेका छन्, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यी मतदाताहरुले सक्रिया सहभागिता जनाउने निर्वाचन आयोगको विश्वास रहेको छ,’ ढकालले पहिलोपोस्टलाई भने। 


थपिएका मतदाता अघिल्ला पटक मतदाता सूचीमा नाम भर्ना नपाएकाहरु पनि होलान् नि भन्ने प्रश्नमा उनले भने, ‘एकदमै कम छन्, किन भने निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि नै पटकपटक मतदाता नामावली संकलन गरेको थियो। त्यसैले यसपटक थपिएका अधिकांश मतदाता युवा नै हुन्।’


युवाहरु मतदान प्रक्रियामा सक्रिया सहभागी नहुने विगतका तथ्यांकले देखाए पनि यो पटकको निर्वानमा सक्रिय सहभागी हुने ढकालले बताए।

युवाको मत कसलाई?

सामाजिक विज्ञानका विश्लेषक उद्धव सिग्देलका अनुसार ‘राजनीतिको घेराभित्र प्रवेश नपाएकाले स्थानीय निर्वाचनमा धेरै युवा मतदान प्रक्रियामा सहभागी भएनन्।’ 


प्रमुख राजनीतिक शक्तिको नेतृत्वमा र उम्मेदवारमा पुरानै अनुहार हाबी भएकाले युवाहरु नयाँ शक्तितिर ढल्किन सक्ने खतरा रहेको सिग्देलले उल्लेख गरे। उनले भने, ‘पुराना राजनीतिक दलले केन्द्रीय राजनीतिमा युवालाई स्थान नै दिएका छैनन्, त्यसैले युवा पुरानो अनुहार हेरेर वाक्क भएका छन्, विश्वमा दुई कार्यकाल अर्थात आठ वर्षभन्दा बढी अवधि पदमा नबस्ने परम्परा रहेपनि हाम्रोमा उही व्यक्ति दोहोरिरहन्छ।’

४० प्रतिशत युवाको आकर्षण नयाँ दलतिर

प्रमुख दलहरूमा युवा उम्मेदवारले अझै ठाउँ नपाएकाले युवा नयाँ दलतिर आकार्षित भएको देखिन्छ। सिग्देलका अनुसार ४० प्रतिशत युवा वैकल्पिक शक्तितिर आकार्षित हुने सम्भावना छ। उनी थप्छन्, ‘कतिपय युवाहरुमा पुरानै शक्तिको प्रभाव रहेपनि नयाँ मतदातामध्ये ४० प्रतिशत नयाँ दलतिर ढल्कने देखिन्छ । नयाँ दलहरु सोसल मिडियामा अपडेट भइरहने भएकोले पनि नयाँ दलहरुले युवाको मन तान्ने देखिन्छ।’

वाम गठबन्धनका कारण कांग्रेसलाई राहत

नयाँ दलले देशभर उम्मेदवारी दिन नसकेका कारण कांग्रेसलाई राहत मिल्ने सिग्देलले बताए । यसपटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा विशेषगरी कांग्रेसले प्रदेश सभामा युवा उम्मेदवारहरुलाइ मौका दिएकाले पनि युवाहरुको मत उसले तान्ने सम्भावना रहेको उनको प्रक्षेपण छ।


विश्लेषक सिग्देलले भने, ‘युवा लोकतन्त्र मनपराउँछन्, स्वतन्त्रता मनपराउँछन्, अहिले सोसल मिडियामा हेर्नुहोस, उनीहरु आफुलाई मनपरेको कुरा व्यक्त गरिरहेका छन्, जुन कुरा लोकतन्त्रले मात्र उपलब्ध गराउन सक्छ, त्यसैले पनि युवाहरुको आकर्षण लोकतान्त्रिक गठबन्धनले तान्न सक्छ। अर्को कुरा यसपटक कांग्रेसले अधिकांश प्रदेशमा युवालाई टिकट दिएको छ, यसले युवाले सक्रिया सहभागिता जनाउनेछन्।’

वाम गठबन्धनमा टिकटको रस्सकस्सीले धेरै युवाहरु राजनीतिक रिङ बाहिर परेकाले वाम गठबन्धनका समर्थकहरू मतदानमासमेत भाग नलिने उनको आकलन छ।

 

कांग्रेसको दाबी, बहुमत हाम्रै पक्षमा आउनेछ

कांग्रेस केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले स्थानीय निर्वाचणमा जति ठुलो आँकडा देखाएपनि कांग्रेसलाई कुनै असर नपर्ने दाबी गरेका छन्। 


खाँणले भने, ‘एमाले र माओवादीले जतिसुकै ठुलो स्थानीय निर्वाचनको आँकडा देखाएपनि कांग्रेसलाई फरक पर्दैन, नेपाली जनताले देखेकै भोगेकै कुरा हो, नेपालमा जनमत बदलिदैं आएको छ।’ 


खाँणले थपे, ‘०३६ सालमा घोषित जनमत संग्रहमा निर्दलीय २४ लाख बहुदललाई २० लाख आयो। तर ४७ सालमा बहुदल ४० लाख भयो। पञ्चायत १२ लाखमा झर्‍यो। ०६४ को निर्वाचनमा माओवादीले बहुमत ल्याएको थियो। तर, त्यही पार्टी ७० मा तेस्रो भयो। त्यसैले पुराना पुस्ताको निर्देशनमा नयाँ पुस्ताको साथ र सहयोगमा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउने छ।’ 


यसपटक कांग्रेसले युवाहरुको सहभागिता बढाएको उल्लेख गर्दै खाँणले समानुपातिकमा ४५ प्रतिशत र प्रत्यक्षमा ५५ प्रतिशत मत पाएर ८० सिट भन्दा बढी कांग्रेसले जित्ने सुनिश्चित भइसकेको दाबी गरे । 

दुई तिहाई ल्याउने वाम गठबन्धनको दाबी

वाम गठबन्धनमा जम्म १ सय ५८ स्थानमा उम्मेदवारी दिएको छ। जसमा एमालेले ९६ सिटका लागि उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले ६२ सिटका लागि उम्मेदवारी दिएको छ। 


एमाले र माओवादी केन्द्रका नेताहरुले वाम गठबन्धन दुई तिहाइ बहुमतका लागि भएको दाबी गर्दै आएका छन्।


साझा घोषणापत्र सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वाम गठबन्धनले बहुमत ल्याउने र त्यही सरकारले राजनीतिक स्थायित्व कायम गर्ने दाबी गरेका छन् । उनले भने, ‘वाम गठबन्धन राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिका लागि हो। ७० वर्षयता अल्मलिएको राजनीतिलाई भूमरीलाई अन्त्य गर्ने जमर्को हाम्रो हो।’


सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन दुई तिहाईको लागि भएको बताए । यद्यपि एमाले र माओवादीका नेताहरुले यति नै सिट जित्छ भनेर दाबी अहिलेसम्म गरेका छैनन् । दुई तिहाईका लागि १ सय ८ सिट आवश्यक रहन्छ।


तर, टिकट वितरण र अस्वभाविक गठबन्धनका कारण एमाले र माओवादी कार्यकर्तामाझ भित्रभित्रै असन्तुष्टि चुलिदैं गएकोले दुई तिहाई वाम गठबन्धनका लागि मुश्किल हुने कतिपयको विश्लेषण रहेको छ । 

प्रकाशित मिति : २४ कात्तिक २०७४ पहिलोपोस्ट

'हामी मिल्दा कांग्रेसले पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?'


काठमाडौं
: प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई केन्द्रित गर्दै नेकपा एमाले र माओवादी केन्द्रले साझा घोषणापत्र सार्वजनिक गरेको छ।


काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्र संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।


घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले यो घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी गरे। उनले भने, ‘यो सर्वोत्कृष्ट घोषणापत्र हो, यो चुनावी घोषणापत्रमात्र नभएर देशको विकासको प्रतिबद्धतापत्र हो, ग्यारेन्टी जस्तै हो।’


यस घोषणापत्रमा ग्यारेन्टीका पाँचवटा विषय रहेको उनले बताए । भने, ‘राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा, राष्ट्रिय एकताको सवालमा, शान्तिको सवालमा र विकासको सवालमा यो ग्यारेन्टी पत्र हो ।’


माओवादी र एमालेले पटकपटक सरकारमा बसेर मिलेको उदाहरण प्रस्तुत गरिसकेको अवस्थामा कुनै शक्ति अहिलेको मिलनले आत्तिन नहुने ओलीको भनाई थियो । कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने, ‘एमाले र माओवादी मिलेर पटकपटक सरकार चलाएकै हो, अहिले चुनावमा मिल्दा कसैले खुट्टा बजार्ने, कसैले कपाल लुछ्ने जस्ता काम गर्न थालेका छन् ।’


ओलीले प्रत्यक्ष राष्ट्रपति शासनको विरोध गर्न नहुने बताए । उनले भने, ‘एमाले तानाशाहीको मात्र विरोध गर्छ, कुनै पनि लोकतान्त्रिक पद्दतिको विरोध गर्दैन, अमेरिकामा राष्ट्रपति शासन छ, त्यहाँ लोकतन्त्र छ, त्यसैले हामी अमेरिकाको विरोध गर्दैनौं ।


करिब आधा घन्टा घोषणापत्रको व्याख्यामा बिताएका ओलीले वाम गठबन्धनको जितले स्थायी सरकार आउने र विकासको लहर आउने प्रतिबद्धता जनाए ।


ओलीभन्दा पहिले बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणपत्र केही ढिला भएको उल्लेख गर्दै घोषणापत्र दुई विषयमा केन्द्रित रहेको बताए । उनले भने, ‘घोषणापत्र तयारीका क्रममा केही ढिला भएको हो, हाम्रो घोषणापत्रमा राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिमा केन्द्रित छ ।’  

एमाले र माओवादीको मिलने ७० वर्षदेखिको राजनीतिक भुमरीको अन्त्य हुने प्रचण्डको दाबी थियो । प्रचण्डले घोषणापत्रको मुख्य बुँदाहरुबारे मात्र चर्चा गर्दै विचार मिल्ने शक्तिहरु वाम गठबन्धनमा अझै आउन सक्ने बताए ।


४८ पृष्ठ लामो घोषणापत्रमा ८ विभिन्न शीर्षक उल्लेख गरिएको घोषणापत्रमा लोकतन्त्रको रक्षा, वामपन्थी तालमेलको आवश्यकता, शान्ति, समता, स्वच्छ निर्वाचन, सामाजिक आर्थिक रुपान्तरणका नीति, समृद्धिका कार्यक्रम, अन्य राजनीतिक पार्टीप्रतिको धारण अदिलाई महत्वका साथ प्रस्तुत गरिएको छ।

दुई वाम पार्टीका अध्यक्ष भएको कार्यक्रमको अध्यक्षता गर्ने कोही भएन


काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संयुक्त रुपमा साझा घोषणापत्र जारी गरे। कार्यक्रमका पाँच रोचक दृश्य

१) प्रचण्डलाई जबर्जस्ती उठाएर बोल्न लगाइयो

घोषणापत्र जारी हुनासाथ एमालेको महासचिव ईश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डलाई घोषणापत्रबारे बोल्न अनुरोध गरे। आसनमा बसिरहेका प्रचण्ड अगाडि माइकको व्यवस्था थियो। त्यसैले उनले नउठिकनै त्यहीँबाट आफ्नो भनाई राख्ने कोशिश गरे। यता मञ्चमा टेलिभिजनका माइक (बुम) हरु राखिएकोले सञ्चारकर्मीहरु कराउन थाले। यता कार्यक्रम सञ्चालक पोखरेलले पनि उनलाई मञ्चमै आएर बोल्न अनुरोध गरे। त्यसपछि भने प्रचण्ड मञ्चमै पुगेर आफ्नो भनाई राख्न बाध्य भए। प्रचण्ड पोडियममा पुगेपछि सुरक्षाकर्मीले टेलिभिजनका बुमहरु होचो बनाउने क्रममा सबै बुमका लोगो नदेखिने बनेको थियो।

 

२) ओली उठ्न मानेनन्, बसेरै बोले


प्रचण्डको पालो सकेपछि एमाले अध्यक्ष ओलीको पालो आयो। उनलाई पनि मञ्चमै गएर बोल्न अनुरोध गरियो। तर, ओलीले भने कसैको कुरा सुनेनन्। कुनै माइक ल्याउनु छ भन्दै उनले आसनस्थलबाटै घोषणापत्रबारे आफ्नो भनाई सुरु गरे। ओलीले आसनस्थलबाटै बोल्न थालेपछि टेलिभिजनका बुम र रेकर्डिङ डिभाइसहरु ओली आसनअघिकै टेबलमा राख्न केही समय लागेको थियो।


३) ओलीभन्दा प्रचण्ड १० मिनेट ढिला

साझा घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो १ बजे गरिने कार्यक्रम थियो। तोकिएकै समयमा मञ्च भरिभराउ हुँदै थियो। १ बजेर १० मिनेटमा एमाले अध्यक्ष ओली कार्यक्रमस्थलमा आइपुगे। उनीअघि एमालेका भरतमोहन अधिकारी, विजय सुब्बा, केशव बडालहरु आइपुगिसकेका थिए।

ओली आइपुगेको १० मिनेटपछि मात्र १ बजेर २० मिनेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रमस्थल आइपुगे। उनीसँग माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, लीलामणि पोखरेलहरु आइपुगे। 

४) कार्यक्रमको अध्यक्षता कसैले गरेनन्

सामान्यतया सार्वजनिक कार्यक्रममा कार्यक्रममा अध्यक्ष तोकिन्छन्। कार्यक्रममा सहभागीहरुले कसलाई अध्यक्ष बनाउलान् भनेर जिज्ञासा राखिरहेका थिए। मञ्चमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र माओवादी नेता रामबहादुर थापा ‘बादल’ थिए।


यता, कार्यक्रम सुरु गर्नुअघि कार्यक्रम सञ्चालक एमालेका महासचिव पोखरेलले ‘अध्यक्षता कोही हुँदैनन् हैन?’ भनेर प्रश्न गरे। सँगै पोखरेलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई साझा घोषणापत्र सार्वजनिक गर्न आग्रह गरे। 


५) कार्यक्रम सकिँदा माधव नेपालको प्रवेश, बोलेनन् नेपाल

एमाले अध्यक्ष ओली आफ्नो भनाई बिट मार्ने सिलसिलामा थिए। २ बजेर २० मिनेटमा ओलीले कार्यक्रममा आइपुगेका सबैलाई धन्यवाद दिएर आफ्नो भनाईको बिट मारे। त्यसको केही समयअघि २ बजेर १४ मिनेटमा एमाले वरिष्ठ नेता माधव नेपाल कार्यक्रमस्थल आइपुगे।

 

ओलीले आफ्नो भनाई टुङ्ग्याउनसाथ पोखरेलले नेपाललाई घोषणापत्रमाथि उठेका प्रश्नको उत्तर दिन आग्रह गरेका थिए। तर, नेपालले समय दिएनन् र कार्यक्रम सम्पन्न भएको उद्घोष गरियो । त्यसपछि घोषणापत्रमाथि सञ्चारकर्मीले प्रश्न गर्न पाएनन्। 

६) नेताहरुको उपस्थिति न्यून

रोयल ब्याङ्क्वेटको हल भरिभराउ थियो। तर, एमाले र माओवादी केन्द्रीय नेताहरुको उपस्थिति निकै कम थियो। एमालेबाट भरतमोहन अधिकारी, शान्ता मानवी, डा विजय सुब्बा, केशव बडाललगायतको उपस्थिति थियो भने माओवादीबाट रामबहादुर थापा बादल, पम्फा भुसाल, लीलामणि पोखरेललगायतको उपस्थिति देखिएको थियो ।

प्रकाशित : २१ कात्तिक २०७४  पहिलोपोस्ट

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...