Thursday, July 20, 2023

प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

काठमाडौं : प्रदेश नम्बर ३ तामाङ जातिको बाहुल्यता रहेको प्रदेश। जातीय बाहुल्यताकै कारण प्रदेशको नाम नै ताम्सालिङ राख्नुपर्ने माग पुरानै हो। माओवादीले सुरुदेखि नै प्रदेशको नाममा जातीय पहिचान खोजेपछि चर्केको विवादले अहिलेसम्म कुनै पनि प्रदेशको नामाकरण हुन सकेको छैन। प्रदेशको नाम निर्वाचित प्रदेश सभाले नै गर्नेछ।


अहिले भने निर्वाचनबाट चुनिएका तामाङ प्रतिनिधिबारे चर्चा गरौं। प्रदेश ३ को जनसंख्या हेरौं, तामाङको उपस्थिति अन्य जातिको भन्दा बाक्लो रहेको छ। यही प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य भने तामाङ प्रतिनिधि कम मात्रमा निर्वाचित भए। 


प्रदेश ३ मा प्रतिनिधि सभामा प्रत्यक्षबाट ३३ र प्रदेश सभामा ६६ जना सदस्य निर्वाचित भइसकेका छन्। यसमध्येमा प्रतिनिधि सभामा  ३ जना र प्रदेश सभामा ७ सदस्य मात्र तामाङ निर्वाचित भएका छन्।


प्रदेश ३ मा तामाङको उपस्थिति कति?

प्रदेश ३ मा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर रहेको छ। चितवन, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा तामाङहरूको बाक्लो बसोबास रहेको छ।


२०६८ को जनगणनाअनुसार रसुवामा ६८.७८, मकवानपुर ४७.८, नुवाकोट ४२.८४, सिन्धुपाल्चोक ३४.४२, काभ्रे ३४.०१, सिन्धुलीमा २६.९, धादिङमा २२.०९, दोलखामा १८.८ र रामेछापमा १९.२ प्रतिशत तामाङ बसोबास गर्छन्। 


काठमाडौंमा ११, भक्तपुरमा १४.२ र ललितपुरमा १३.१ प्रतिशत तामाङ छन्। 


जनगणनाअनुसार प्रदेश नम्बर ३ मा तामाङको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ रहेको छ। यहाँ तामाङ जातिको उपस्थिति २०.४२ प्रतिशत रहेको छ। दोस्रोमा पहाडी बाहुन १८.२८ प्रतिशत, तेस्रोमा क्षेत्री १७.२८ र चौथोमा नेवार १६.९२ रहेका छन्। 


यसरी हेर्दा यो निर्वाचनबाट प्रतिनिधि सभामा ९ प्रतिशत र प्रदेश सभामा १० प्रतिशतमात्र तामाङ प्रतिनिधित्व भएको देखिन्छ।

कुन जिल्लाबाट को आए?

३४ प्रतिशत तामाङ रहेको काभ्रेबाट प्रतिनिधि सभामा काभ्रे १ बाट माओवादी केन्द्रका गंगाबहादुर तामाङ निर्वाचित भएका छन्। उनले कांग्रेसबाट तामाङ नै प्रतिद्वन्द्वी पाएका थिए।  कांग्रेसका तीर्थबहादुर तामाङलाई पराजित गर्दै गंगाबहादुर निर्वाचित भएका हुन्। २ क्षेत्र यस जिल्लाबाट क्षेत्र नं १ को प्रदेश सभा १ बाट एमालेका चन्द्र लामा निर्वाचित भएका छन्। उनले कांग्रेसबाट गणेश लामा प्रतिद्वन्द्वी पाएका थिए।


सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका शेरबहादुर तामाङ निर्वाचित भएका छन्। लोकतान्त्रिक गठबन्धनबाट हेभिवेट मानिएका राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई पराजित गर्दै तामाङ विजयी हुन् । क्षेत्र २ रहेको यस जिल्लामा ३४.४२ प्रतिशत तामाङ छन्। यद्यापि प्रदेशमा भने कुनै सदस्य तामाङको पक्षमा आएन।


झन्डै ४३ प्रतिशत तामाङ रहेको नुवाकोटमा २ क्षेत्र रहेको छ। यहाँको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र हितबहादुर तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। तामाङले कांग्रेसका डा रामशरण महतलाई पराजित गरेका हुन्। चारवटा प्रदेशसभा रहेको यस जिल्लाको क्षेत्र नं १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकी राधिका तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन्।


मकवानपुरमा ४७.८ प्रतिशत तामाङ बसोबास गर्छन्। यहाँबाट २ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकी कुमारी मोक्तान प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन्।


६८ प्रतिशत तामाङ रहेको रसुवाबाट प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। प्रदेशतर्फ प्रदेश सभा १ बाट कांग्रेसका प्रभात तामाङ, प्रदेश सभा २ बाट नयाँ शक्तिका प्रेमबहादुर तामाङ निर्वाचित भएका छन्।

यसैगरी चितवन क्षेत्र नं १ को प्रदेश सभा १ बाट एमालेका दावादोर्जे लामा र काठमाडौं क्षेत्र नं ३ को प्रदेश सभा १ बाट कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित भए।

उम्मेदवारीमै कमजोर उपस्थिति

जातीय उपस्थितिको आधारमा प्रतिनिधि सभामा कम्तीमा पनि ६ जनाले प्रत्यक्षमा जित हासिल गर्नुपर्ने हो। तर यस प्रदेशमा ६ जनाले मात्र उम्मेदवारी दिए। निर्वाचित बाहेक रामेछापबाट पूर्ण तामाङ, काभ्रे १ बाट तीर्थबहादुर तामाङ र धादिङ १ बाट दिलमान पाख्रिन तामाङले उमेदवारी दिएका थिए। तीनै जना कांग्रेसका उमेदवार पराजित भए। 


प्रदेश सभामा कम्तिमा पनि १३ जना आउनुपर्ने थियो। प्रदेश सभामा १९ जनाको मात्र उम्मेदवारी परेको थियो। प्रदेशमा ७ जना निर्वाचित भए। यसरी निर्वाचित हुनेमा माओवादीबाट २, एमालेबाट २, कांग्रेसबाट २ र नयाँ शक्तिबाट एक जना रहेका छन्।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २९ मंसिर २०७४

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...