Thursday, July 20, 2023

यी हुन् ह्याट्रिक जित गर्ने ११ नेता - २०७४

 काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने  क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्। 


क–कसले गरे त ह्याट्रिक ?


१. शेरबहादुर देउवा

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ह्याट्रिकको ईतिहास पहिले नै बनाइसकेका थिए। यसपटक देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन्। 


देउवा डडेल्धुरामा विसं २०४८ यताका सबै चुनाव जित्दै आएका छन्। देउवाले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जितेका थिए। 

२. डा.बाबुराम भट्टराई

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई पराजित गरे।


पूर्वप्रधानमन्त्री भट्टराई २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए भने दोस्रो संविधानसभाको निर्वाचनमा पनि यहीँबाट निर्वाचित भएका थिए।

३. झलनाथ खनाल

प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन्। 


खनालको यो पाँचौ जित हो। २०४८ देखि लगातार यस क्षेत्रबाट विजयी हुँदै आएका खनालले २०५६ मा भने ब्रेक पाएका थिए। पहिलो संविधानसभा र दोस्रो संविधानसभामा पनि खनाल यही क्षेत्रबाट विजयी भएका थिए।

४. प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह विजयी भए। यो उनको ह्याट्रिक जित हो। 


यसपटकको निर्वाचनमा सिंह प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट विजयी हुने पहिलो नेता बने। सिंह पहिलो संविधानसभाको निर्वाचनबाट लगातार विजयी हुदै आएका छन्।

५. सुवास नेम्वाङ

इलाम क्षेत्र नं २ मा पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ विजयी भएका छन्। २०५६ देखि नेम्वाङ यसक्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। 

६. कृष्णबहादुर महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा दाङ २ बाट निर्वाचित भएका छन्। महरा २०४८ मा रोल्पा २ बाट, २०६४ मा दाङ ३ बाट र २०७० मा रोल्पा १ बाट विजयी भएका थिए।

७. जनार्दन शर्मा

पश्चिम रुकुममा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भए। शर्मा २०६४ र २०७० मा पनि सांसद बनेका थिए।

८. उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। यादव पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट निर्वाचित भएका थिए भने दोस्रो संविधानसभामा सुनसरीबाट निर्वाचित भएका थिए।

९. रविन्द्र अधिकारी


कास्की क्षेत्र नं २ मा नेकपा एमालेका रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी भए। अधिकारीको यो विजय तेस्रोपटक हो । 

उनी यसै क्षेत्रबाट २०६४ मा र २०७० मा पनि विजयी भएका थिए।

१०. अभिशेकप्रताप शाह

नेपाली कांग्रेसका कपिलवस्तु ३ बाट अभिशेकप्रताप शाह निर्वाचित भएका छन्। शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २३ वर्षकै उमेरमा निर्वाचित भएका थिए। २०७० सालमा पनि फोरम नेपालबाटै निर्वाचित भएका शाह २०७४ सालमा फोरम नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

११. वृजेशकुमार गुप्ता

बृजेशकुमार गुप्ता कपिलवस्तु २ बाट निर्वाचित भएका छन्। ०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट जितेका गुप्ता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट सद्भावना पार्टीबाट जितेका थिए। यसपटक भने उनी एमालेको चिन्ह लिएर निर्वाचित भएका हुन्।

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २४ मंसिर २०७४

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...