Wednesday, October 19, 2016

म तामाङले मानेको दसैं

नेत्र तामाङ

पछिल्लोपटक दसैं र तिहारमाथि विभिन्न टीकाटिप्पणीसहितका विरोध आइरहेका छन् । बौद्धमार्गीहरुले पशुबलीको तीव्र विरोध गर्दै विरोध जनाउँदै आएका छन् भने विभिन्न जातिहरुले हिन्दुहरुले आफुहरुलाई हराएर जितेको खुसीयालीमा मनाइएको चाड भएकोले यस्तो चाड मानेर कुनै सार्थकता नहुने जिकिर गर्दै आएका छन् । म आफु तामाङ समुदायको भएको र तामाङ समुदायभित्र पनि दसैं मान्ने र मान्न नहुने तर्क दिदैं आएका दुईथरीबीचको विवाद देख्दै आएको छु । यसै सिलसिलामा मेरो गाउँमा हामीले मान्ने दसैंको तौरतरिकाबारे यहाँ उल्लेख गर्न चाहान्छु ।

मेरो घर सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविसस्थित वडा नम्बर–६ गैरीगाउँमा छ । यहाँ यही वडामा लगभग ९० घर तामाङ छन् । हामीलाई दसैंको मुख्य दिन भनेको फुलपातीदेखि टीकाको दिनसम्म हो । फुलपातीको अघिल्लो दिन घरलाई रातोमाटोले रंगाइन्छ । वर्षदिनमा एकचोटी घर सफा गरी चिटिक्क बनाउने दिन यही हो । यद्यपि भूकम्पपछि घरको पुर्ननिर्माण हुन सकेको छैन । त्यसैले रातोमाटोले रंगाएन । फुलपातीमा धेरैजसोले सामुहिक रुपमा पालिएको भैंसी काट्ने गरिन्छ । छदेखि आठ घरसम्म मिलेर एउटा भैंसी भदौदेखि नै पाल्ने गरिन्छ र त्यही भैंसी फुलपातीका दिन काट्ने गरिन्छ । कसैकसैले त्यही दिन बोका, कुखुरा, राँगा भीमसेनलाई बली चढाइन्छ । कतै पनि दूर्गालाई बली चढाएको अहिलेसम्म देखिएको छैन । अष्टमी र नवमीका दिन यस्तै मासु सुकुटी बनाउने, सुकाउने काम गरिन्छ । आफन्त, माइत जानका लागि बोकाबाख्राको फिला आवश्यक हुने भएकाले त्यो तयार पारिन्छ । रक्सी पारिन्छ ।

टीकाका दिन सबैभन्दा पाका उमेरका भएको घरमा टीका तयार गरिन्छ । दाजुभाइ अथवा उनको खलक जति एकै ठाउँमा भेला भएर टीका लगाउने गरिन्छ । प्रत्येक घरमा टीका लगाउने चलन छैन । जमरा राखिदैन । दहीमा चामल भिजाएर सेतो टीका लगाइन्छ । सयपत्रीको फुल कानमा सिउरिन्छ । दक्षिणा लिनेदिने चलन छैन । टीका लगाउने घरमै भोज हुन्छ । यसरी एउटा पृथक दसैं मनाउँदै आएका छन् यहाँका तामाङले ।

तामाङ भाषामा दसैंलाई म्हेनिङ भनिन्छ । कतिपयले म्हेनिङ भनेको असोज महिनालाई भन्दै आएको तर्क गर्दै आएका छन् । कतिपय म्हेनिङ तामाङकै चाड भएको र यसलाई हिन्दुकरण गरिएको बताएका छन् भने कतिपयले पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा तामाङ राजा ह्रिन्जेन दोर्जेलाई हत्या गरी विजय प्राप्त गरेको अवसरमा विजयोत्सव मनाउन दसैं मनाउन सुरु गरिएको दाबी गर्दै आएको छ । मैले भने यी कुरामा कुनै विश्वासपूर्ण तर्क भेटेन । दसैं असोजमा मात्र पर्दैन । कात्तिकमा पनि पर्छ । चैतमा पनि दसैं मनाइन्छ । कात्तिकमा मान्ने दसैंलाई पनि म्हेनिङ नै भनिन्छ । चैतमा मान्ने दसैंलाई पनि चैत म्हेनिङ भनिन्छ । त्यसैले यो तर्कमा सत्यता खोज्नुपर्ने देखिन्छ । अर्को कुरा राजा ह्रेन्जेन दोर्जेलाई हत्या गरी विजयोत्सव मनाउन दसैं मनाउन सुरु गरेको कुरामा पनि भरलाग्दो प्रमाण छैन । किनभने पृथ्वीनारायण शाहले बाइसेचौबीसे राज्य जित्न निकै मिहेनत गरेका थिए । विभिन्न मितिमा उनले आक्रमण गरी नेपाल विस्तार गरेका थिए । उनले १८०१ देखि १८३० सम्म झन्डै ३० वर्ष नेपाल एकीकरणमा आफ्नो जिन्दगी विताएका थिए । उनले यस्तै विजयोत्सव मनाउने हो भने कैयान मितिमा दसैं मनाउनुपर्ने हो ।

अर्को विषय तामाङहरु बौद्धमार्गी भएकोले दसैं पशुबली दिने चाड मनाउन ठिक छैन भन्ने तर्क पनि बहसमा आएको छ । यहाँनेर मेरो पहिलो प्रश्न हुनेगर्छः तामाङहरु बौद्धमार्गी हुन् भने हरेक वर्ष गाई बध गरेको अभियोगमा किन मुद्दा चलाइन्छ ? तामाङलाई बौद्ध धर्मका अनुयायी भएको बताउने बौद्धधर्मावलम्बीको छाता संगठनले तामाङको यो मुद्दालाई विल्कुलै वास्ता गर्दैन । एउटा प्रसिद्ध भनाइ छ–मानिस जन्मदैंमा कुनै धर्मको भएर आउँदैन । बुझ्ने भएपछि उसले अँगाल्ने धर्मको आधारमा उसको धर्म निर्धारण हुन्छ । त्यसैले तामाङहरु बौद्धमार्गी हुन् कि होइनन्, दसैं तामाङहरुले विगतदेखि नै मनाउँदै आएको चाड हो कि होइन भन्नेबारेमा बृहत बहस र अनुसन्धान गर्नुपर्ने देखिन्छ । तामाङलगायत अरु जनजातिका विशिष्ट र अग्रजहरुले अहिलेसम्म यसबारेमा मुख खोलेका छैनन् । केही अधिकारवादी, राजनीतिमा होमिएका नेताहरु र जातीय अतिवादी समूहले दसैं बाहिस्कारसम्मको कुराहरु गर्दै आएका छन् । यसैले अग्रज, पाका र विद्वानहरुले यसबारे मुख खोल्नैपर्छ–दसैं तामाङको पर्व पनि हो अथवा हिन्दुहरुको मात्र भनेर ।

अन्त्यमा, दसैंमा पशुबली दिइन्छ । जुन मानिसहरु आफै खानका लागि हो । पशुबली दिनु हरेक मानिसलाई नराम्रो लाग्छ होला नै । तर मासुमा गएर मानिसको मनले पशुबली रोक्न दिदैन । देवीदेवताको नाम गरी मानिसहरु आफैं खानका लागि यो सबै जोरजाम गरेका हुन् जस्तो मलाई लाग्छ । मानिसको लागि स्वास्थ्य सबैभन्दा ठुलो धन हो । मासु मानिसको स्वास्थ्यको लागि एकदम हानिकारक छ । जुन कुरा विभिन्न अध्ययनअनुसन्धानले देखाइसकेको छ । यसैले स्वास्थ्यको लागि हानिकारक यस्तो चीजबाट टाढा बनाउने खालको चेतना फैलाउने गरेमा अझ उत्तम हुने थियो । नत्र एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई गाली गर्दै विरोध गर्ने हो भने कदापि साहिष्णुता कायम हुदैन ।
via-http://www.ratopati.com/85570/

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...