Thursday, July 20, 2023

यसरी पन्छाइए देउवा, ओली र प्रचण्डका ‘सेकेन्ड म्यान’ - २०७४

 प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक हेभिवेटहरुको भिडन्त रोचक बन्यो। कतिपय हेभिवेटले हार व्यहोरे। 


यसमध्येमा पनि ठूला तीन पार्टीका ‘सेकेन्डम्यान’ले जित हासिल गर्न सकेनन्। जुन हारमा हरेकले चासो लिएका छन्। पार्टीमा मात्र नभर्इ जनतामाझसमेत लोकप्रिय रहेका यी सेकेन्ड म्यानहरु किन पन्छाइए त ? 


कांग्रेस वरिष्ठ नेता पौडेल पाखामा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त


नहुँ क्षेत्र नम्बर १ मा चुनावी प्रचारमा ‘भावी प्रधानमन्त्री’का रुपमा प्रस्तुत भएका थिए।


प्रधानमन्त्री बन्नका लागि १७ पटक मैदानमा उत्रेका नेताका रुपमा चर्चित पौडेलको एउटै चाहना प्रधानमन्त्री बन्ने रहेको त्यही बेलादेखिको उनको प्रयासले दर्शाउँथ्यो।


तनहुँलाई प्रधानमन्त्रीको जिल्ला बनाउने आकांक्षाकासाथ चुनावी मैदानमा उत्रेका पौडेल पार्टीको वागडोर सम्हाल्ने इच्छा पनि दबाएरै बसेका थिए। बेलाबेला पार्टी सभापति शेरबहादुर देउवालाई घुक्र्याउँथे । पार्टीका अन्य नेताहरु पनि पौडेललाई एकपटक ‘चान्स’ दिनुपर्ने पक्षमा थिए।


प्रधानमन्त्री बन्न निर्वाचन जित्नु आवश्यक थियो। तर, पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएसँगै पाँच वर्षसम्म उनको यो सपना थाती रहने भयो।


निर्वाचनमा पराजित भएसँगै पार्टीमा पनि ‘प्वाइन्ट’ घट्यो। यसले पार्टीमा बागडोर सम्हाल्ने ‘माइनस’ भइदियो। २०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतले पराजित गरेकाले अबका दिनमा पौडेलले पार्टीमा आफ्नो मतलाई जोडदारका साथ प्रस्तुत गर्न सक्ने छैनन्।


उम्मेदवारी दर्ताकै दिन गोविन्दराज जोशी तगारोका रुपमा प्रस्तुत भएका थिए उनीविरुद्ध। वैधानिक रुपमा जोशी कमजोर रहेकाले त्यतिबेला पौडेलविरुद्ध आइपरेको अनिष्ट टरेको थियो। तर, पनि पौडेलले आफूलाई पार लगाउन पाएनन्। पाखामै परे। पार्टी सभापतिका लागि किचकिच गरिरहने र भावी दिनमा प्रधानमन्त्रीमै पनि दाबी गर्न सक्ने सम्भावना देखेपछि पार्टीको माथिल्लो निकाय नै उनलाई हराउन लागेको कांग्रेस वृत्तमा चर्चा चल्न थालेको छ।


पौडेल पाखा लागेसँगै पार्टीमा देउवाको वर्चश्व बढ्ने देखिन्छ। पौडेलको घुर्कीलाई अब वेवास्ता गर्न चुनावमा हारेका नेता भनेर पन्छिन देउवालाई गतिलो हतियार बनेको छ।


यता नेपाली कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि पराजित भएका छन्। १३ औं महाधिवेशनमा सभापतिका दाबेदार रहेका सिटौला राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनसँग १३ हजार ४४३ मतान्तरले हारे।


 समानुपातिक सूचीमा नाम अटाइसकेका सिटौलालाई लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनाव लड्ने घोषणा गरिसकेका लिङ्देनसँग चुनावी मैदानमा लडाए। उनी निर्वाचनमा लड्दा पार्टीमा पनि उठ्न गाह्रै हुने गरी लडे। पार्टीमा अब उनको प्रभाव कमजोर हुने देखिन्छ।


यसपटक आफ्नो पक्षको भनिएका धेरैले न त प्रत्यक्षमा टिकट पाए न त समानुपातिक सूचीमा नै। समानुपातिकमा अटाएका आफैं पनि प्रत्यक्षमा भिडेर चोट खाए।


पौडेल र सिटौलाको हारले पार्टी सभापति शेरबहादुर देउवालाई बढार्नुपर्ने कसिङ्गर हावाले उडाएजस्तो भएको छ। आगामी दिनमा पार्टीमा नेतृत्व गर्छु भनेर अघि आउने नेता नभएकाले देउवालाई हाइसन्चो हुने पक्का भएको छ।

अाेलीले अाफ्नाे हाइटमा अाउनबाट राेके बामदेवलाई 

बामदेव गौतम एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य र उमेरलाई ख्याल गर्दै अब पार्टीमा उनको खाँचो रहेको धेरै नेताले चर्चा चलाउन थालेका थिए।


एमाले वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालले पार्टीको नेतृत्व गरिसके। प्रधानमन्त्री पनि भइसके। अध्यक्ष ओली पनि प्रधानमन्त्री भइसकेका छन्।


यस्तो अवस्थामा कम्युनिस्टहरु एक हुनुपर्छ भन्दै वामपन्थी गठबन्धन गराउन सक्रिय भएका बामदेव वामपन्थीको बहुमत आउँदा प्रधानमन्त्रीका बलिया दाबेदार हुने थिए। 


तर, निर्वाचनमा उनी सञ्चार राज्यमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भए। बार्दिया १ मा चुनावी मैदानमा रहेका बामदेवलाई ७५३ मतले पछि पार्दै सञ्जय विजयी भएका हुन्।


यसपटकको वाम गठबन्धनको वातावरण बामदेवकै नेतृत्वमा  तयार भएको थियो। उनी सुत्रधार बनेकै कारण अरु पार्टीका नेता दशैंको टीका थाप्दै गर्दा ‘सरप्राइज’ रुपमा वाम गठबन्धन भयो।


वाम गठबन्धनका नेताहरुको जित चूनौतीकै रुपमा लिइरहेको बेला निर्वाचन परिणाम वाम गठबन्धनकै पक्षमा आयो। हारको सूचीमा सुचिकृत रहेका कतिपय एमाले उम्मेदवार जित्दै गर्दा बामदेव आफैं भने बार्दियाबाट हारले शिर झुकाएर काठमाडौं फर्कनुपर्यो।


बामदेव विजयी भएका भए यसपटक सरकारमा मात्र हैन पार्टीकै नेतृत्वमा आउन सक्थे। प्रधानमन्त्री जो पनि हुनसक्ने एमाले र माओवादी शीर्ष नेताको अनुमानकै कारण वाम गठबन्धनले दुर्इ तिहाइ बहुमत ल्याउने दाबी गर्दै गर्दा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई प्रस्तुत गरेको थिएन।


एमालेका सेकेन्ड म्यान कसरी साइड लगाईए त ? पार्टीमै गम्भीर समीक्षा गरिनुपर्ने विषय भएको एमालेका नेताहरुले बताउन थालेका छन्। एमाले अध्यक्ष ओलीको नेक टु नेक आइपुगेका गौतमलाई कमान्डर हुनबाट रोक्न पार्टी हाइकमान्डले नै उनको जित रोकेको विश्लेषण धुम्बराहीदेखि पेरिसडाँडासम्म चल्न थालिसकेको छ।

धोबिघाट बैठकको बदला नारायणकाजीसँग

गोरखा २ मा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेपछि पहिलोपोस्टसँग कुराकानी गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले श्रेष्ठलाई पार्टीले बलीको बोको बनाएको बताएका थिए।


धोबिघाट बैठकमा बाबुराम र मोहन वैद्यसँग नजिकिएका नारायणकाजीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ झस्केका थिए। 


उक्त बैठकलाई धोबिघाट काण्डका रुपमा चिनिदैं आएको छ। माओवादीमा पद बाँडफाँट नभएपछि तीनै नेताले प्रचण्डको पद खोस्ने धम्की दिएका थिए। त्यसपछि डराएका प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए। यता बाबुराम प्रचण्डको काखमा पसेपछि मोहन वैद्यले विप्लवलगायतका नेता आफ्नो साथमा लगेर ड्यास माओवादी गठन गरे।


उक्त बैठकमा धम्की दिने तीन मध्ये दुर्इ नेता प्रचण्डको किचेनबाट आउट भइसकेका छन्। दोस्रो संविधानसभा सकिनै लाग्दा बाबुराम पेरिसडाँडा छाडेर बबरमहल पुगे र नयाँ शक्ति खोलेर राजनीतिको नयाँ अध्याय सुरु गरे। अब बाँकी रहे नारायणकाजी।


पछिल्लोपटक माओवादीमा ‘सेकेन्ड म्यान’का रुपमा हेरिएका उनै नारायणकाजी गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुरामविरुद्ध उठाएर माओवादी अध्यक्ष प्रचण्डले धोबिघाट बैठकको बदला लिएको हुनसक्ने माओवादीकै कार्यकर्ताहरु दाबी गर्छन्। 

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २५ मंसिर २०७४


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...