Thursday, July 20, 2023

देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट


काठमाडौं:
प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा ७० सिटसहित  बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। सवैभन्दा रोचक पक्ष त के रह्यो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन।


अनौपचारिक रुपमा धनुषाको जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका थिए देउवाले। धनुषामा विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई जिताउन उनी त्यता पुगेका थिए। तर निर्वाचन परिणाम निधिको पक्षमा आएन।


औपचारक रुपमा चुनावी सभालाई सम्वोधन गर्न कात्तिक २५ गते शनिबार देउवा पूर्वी जिल्ला ताप्लेजुङ पुगे। त्यही ताप्लेजुङमा केशवप्रसाद दाहाल एमालेका योगेश भट्टराईसँग झन्डै दोब्बर मतले पराजित भए।


सोही दिन पाँचथर र सोलुखुम्बु पनि पुगेका थिए देउवा। दुवै क्षेत्रमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका सवै सिट गुमायो।


पूर्वबाट देउवा लागे पश्चिम। कातिक २८ मा उनी पत्नी आरजुको चुनावी मैदानमा पुगे। आरजु पनि एमालेका नारदमुनि रानासँग पराजित भइसकेकी छन्। जुन क्षेत्र यसअघि देउवाले जित्दै आएका थिए। तुलनात्मक रुपमा सुरक्षित सिट पनि कांग्रेसले जोगाउन सकेन।


त्यसपछि देउवा कात्तिक ३० गते गृह जिल्ला डडेलधुरा पुगे। चुनावी सभामा सहभागी भए। प्रदेश ७ मा एकमात्र प्रतिनिधिसभाको सिट डडेलधुरा मात्र हो। प्रदेश ६ मा हुम्ला प्रदेशसभा ख'मा बाहेक अन्यत्र कांग्रेसमुक्त क्षेत्र बनेको छ।


मंसिर १ मा उनी बैतडीको मेलौली र दार्चुलाको लाटीनाथ पुगे। दुवै जिल्लाबाट कुनै सिट आएन कांग्रेसलाई।


मंसिर २ मा देउवा गृहजिल्लामै फर्के। डडेलधुराकै नवदुर्गा गाउँपालिकामा सभापछि बाजुराको गन्यापधुरा पुगे। बाजुरामा पनि कांग्रेसलाई हात लाग्यो शुन्य मात्र भयो।


त्यसपछि देउवा मंसिर ७ गते रोल्पाको लिवाङ, रुकुमको टक्सेरा र कालिकोट पुगे। तीनै जिल्लाको नतिजा कांग्रेसको पक्षमा आएन।


मंसिर ९ मा देउवा पाल्पाको रामपुर पुगे। मुजुङ पनि पुगे। रुपेन्देहीको देवदह, बुटवल पुगे। पाल्पा, रुपेन्देहीले पनि देउवालाई पत्याएन। त्यही दिन नवलपरासीको सुनुवाल पुगे। उक्त क्षेत्रमा नवलपरासी पश्चिम २ बाट भने कांग्रेसका देवेन्द्रराज कँडेल विजयी भए। प्रदेश २ को २ बाट कांग्रेसकै वैजनाथ कलवर विजयी भए।


मंसिर ११ मा सप्तरी पुगे। ४ क्षेत्र रहेको सप्तरीमा कांग्रेसका उमेदवार तेजुलाल चौधरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भए।


मंसिर ११ मै देउवा झापाको गौरादह र तेह्रथुमको म्याङलुङ पुगेका थिए। दुवै जिल्लाबाट कांग्रेसको पक्षमा निराशाजनक नतिजा आयो। झापाबाट कृष्णप्रसाद सिटौलासमेत निर्वाचित भएनन् भने तेह्रथुमबाट राज्यमन्त्री सीता गुरुङ पनि पराजित भइन्।


मंसिर १२ मा देउवा दाङको तुलसीपुर पुगे। दाङले पनि कांग्रेसलाई पत्याएन। उक्त दिन तनहुँको मिर्लुङ पुगे देउवा। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यही चुनावी मैदानमा थिए। पौडेल यसपटक सांसद बन्न सकेनन्। देउवा सोही दिन रुपेन्देहीमा पुगे। उक्त जिल्लाबाट पनि कांग्रेसको पक्षमा नतिजा आउन सकेन। त्यही दिन देउवा कपिलवस्तु पनि पुगे। कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी भए।


मंसिर १२ मा कास्कीको पोखरा पुगे। ३ क्षेत्र रहेको कास्कीबाट एउटा प्रदेश सभा सदस्यबाहेक कुनै पनि पद कांग्रेसले जित्न सकेन। सोही दिन स्याङ्जाको वालिङ पुगे देउवा। सोही क्षेत्रको मैदानमा उपप्रधानमन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ थिए। श्रेष्ठलाई एमालेकी पद्मकुमारी अर्यालले तीन हजारभन्दा बढी मतले पराजित गरिदिइन्।


देउवा मंसिर १४ मा पर्साको वीरगन्ज पुगे। पर्साबाट पनि कांग्रेसको पक्षमा कुनै सिट आएन।  उनी सोही दिन सर्लाही, सप्तरी, सिराहा र मकवानपुरको थाहा नगर पुगे। सर्लाही, सप्तरी, सिराहाबाट एक/एक सिट प्रतिनिधिसभा सदस्यमा विजयी भए।


मकवानपुर १ मा कांग्रेसले राप्रपा अध्यक्ष कमल थापालाई लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनाएको थियो भने २ मा महालक्ष्मी उपाध्याय डिना। दुवै पराजित भए। पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ प्रदेशसभा सदस्यमा विजयी भए। यतिमै चित्त बुझाउनुपर्‍यो मकवानपुरमा।


मंसिर १५ मा देउवा फेरि कैलाली पुगे। ५ क्षेत्र रहेको कैलालीबाट प्रदेश सभामा २ सदस्यमात्र कांग्रेसको भागमा आयो।


देउवा डोटी र अछाम पनि पुगे। नतिजा पराजयकै आयो।


देउवा मंसिर १६ मा कञ्चनपुरको भीमदत्त नगर पुगे। तीन क्षेत्र रहेको यस जिल्लामा रमेश लेखकजस्ता चर्चित नेता पनि निर्वाचित हुन सकेनन्। प्रदेशसभामा पनि कुनै सदस्य कांग्रेसबाट विजयी भएनन्।


मंसिर १७ र १८ मा डडेलधुरामै खटे। आफ्नो चुनावी माहोल बनाए। चुनावी अभियानमा देउवा गृह जिल्लाबाहेक ३० जिल्ला पुगे। गृह जिल्लामा झन्डै एकहप्ता विताएर आफ्नो जित सुनिश्चित गरे। परिणाम उनको पक्षमा आयो पनि। 


तर, अन्य जिल्लाका मतदाता देउवाप्रति आकर्षित भएनन्। गृह जिल्लाबाहेक देउवा पुगेका पाँच जिल्लाबाट १-१ सिटमात्र कांग्रेसको पक्षमा आयो।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :२७ मंसिर २०७४

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...