Sunday, July 16, 2023

अग्निको आरोप- मोहन 'गुण्डा' र 'कायर' हुन्, मोहन सोध्छन्- जातीय समानता भन्ने दाजुभाइ चुनावमा उठाउने?


मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमध्येको एक हो सिन्धुपाल्चोक। मतदान नजिकिँदै गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पार्टीहरु प्रचार प्रसारमा व्यस्त छन्। हाम्रा संवाददाता नेत्र तामाङले सिन्धुपाल्चोक पुगेर त्यहाँको वस्तुस्थितिबारे गरेको स्थलगत रिपोर्टिङ


सोमबार सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका मोहनबहादुर बस्नेतले सुनकोशी गाउँपालिकास्थित पाँग्रेटारमा चुनावी सभा राखे।


सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका बस्नेतको सभामा सहभागी हुनेको संख्या निकै कम थियो। कार्यक्रममा बस्नेतले यस क्षेत्रबाट एक भोट मात्र बढी दिन अनुरोध गर्दै विकासका कार्यक्रम ल्याउने वाचा गरे। 


त्यसपछि उनी चुनावी सम्बोधनका लागि लिसंखुपाखरको पेड्कु, सिलढुङ्गा र घ्याङडाँडामा उक्ले।


कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सोमबार सम्बोधन गरेका अधिकांश क्षेत्र एमालेको मतदाता बढी रहेको क्षेत्र रहेको स्थानीय रमेश श्रेष्ठले बताए।


‘पाँग्रेटारमा चुनावी सभा गरिएको ठाउँ एमालेबाट प्रदेशसभाका उम्मेदवार रहेका सरेश नेपाल र अरुण नेपालको गाउँ हो,’ श्रेष्ठले भने, ‘गत निर्वाचनमा यस वडामा एमालेका ईश्वर तिमल्सिनाले जित हात पारे।’


बस्नेत सहभागी अधिकांश स्थान एमालेको लालकिल्ला भनेर चिनिएको गाउँ भएपनि किन एमाले किल्लामा पुगिरहेका छन् बस्नेत ?

 

एमाले र माओवादीले पिस्करको नाम बेचेर राष्ट्रिय राजनीति गरिरहेको र यहाँका जनताको जीवनस्तर भने जस्ताको तस्तै रहेकाले जनताको स्तर उकास्न र उनीहरुको चाहना बुझ्न विपक्षी मतदाताको घरघर पुग्दै गरेको क्षेत्र नम्बर एक निर्वाचन प्रचार समितिका संयोजक बलदेव तिमल्सिनाले जानकारी दिए। 


‘सिन्धु क्षेत्र नम्बर एकमा कांग्रेसको माहोल बनिसकेको छ, विपक्षी मतदातासमेत कांग्रेसतिर आकर्षित भइरहेका छन्,’ संयोजक तिमल्सिनाले दावी गरे, ‘हामी विपक्षी मतदाता रहेको क्षेत्रमा पसिरहेका छौं, जनताले हामीलाई स्वागत गरिरहेका छन् । शनिबार हामी माओवादी पकड क्षेत्र कुविण्डेमा गयौं, सोमबार एमालेकै पकड क्षेत्रमा छौं, सोमबार पिस्कर, धुस्कुनमा पुग्दैछौं।’


सोही दिन वाम गठबन्धनले बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा शक्ति प्रदर्शन गरी आमसभा गर्‍यो। कार्यक्रममा जिल्लाभरका ८१ मतदान केन्द्रका युवा सहभागी थिए। जिल्लाका वाम युवाको अत्याधिक उपस्थिति थियो।


नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ को कार्यालय अगाडि गरिएको उक्त कार्यक्रम कांग्रेसमाथि धावा बोल्ने उद्देश्यले गरिएको वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका इन्चार्ज कमल नेपालले बताए। 


‘गठबन्धनका मतदातामा फुट ल्याउने प्रयत्न कांग्रेस उम्मेदवारले गरिरहेका छन्, हामी मजबुत् भएकाले पनि उनीहरु यस प्रयत्नमा लागेका हुन्, यसप्रति हामी सचेत र सजग छौं, यो क्षेत्र वाम गठबन्धनको पकड क्षेत्र हो, हामी कुनै पनि अवस्थामा मत किनेबेच गर्न दिनेछैनौं,’ इन्चार्ज नेपालले भने, ‘हामी ढुक्क छौं। जित हाम्रै पक्षमा छ। निर्वाचन प्रचार यही ढंगले अघि बढिरहेको छ।’


बाह्रबिसे नगरपालिकाको मेयरमा एमालेका निमफुन्जो शेर्पाले विजय हासिल गरेपनि वडा नम्बर ४ मा अवस्थित बजारमा भने कांग्रेसका ज्ञानेन्द्र श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए । ‘यो क्षेत्र कांग्रेसको पकड एरिया भएको र स्थानीय निर्वाचनमा विजयी भएपछि मेयरलाई विजयी र्‍याली गर्न नदिएको क्षेत्र हो, आज उनीहरुले नै विशाल सभा राखे,’ स्थानीय जीवन लामाले भने। बाह्रबिसेमा एमाले माओवादीले जतिसुकै ठूलो आमसभा राखेपनि यहाँको जनताको मत तलमाथि पार्न नसकिने उनको दाबी थियो।


वाम गठबन्धनबाट यस क्षेत्रबाट उम्मेदवार रहेका उम्मेदवार माओवादी नेता एवं पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले यस जिल्लालाई नमूना जिल्ला बनाउने र बाह्रबिसेलाई ट्रान्जिट नगर बनाउने वचन दिए। साथै उनले तातोपानी नाका जसरी पनि खोल्ने प्रतिबद्धता जाहेर गरे।


एमाले नेता एवं बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले कुनै पनि हालतमा यस क्षेत्रबाट सापकोटाको जित हुने दाबी गरे।


नरम बन्दै मोहन, गरम बन्दै अग्नि

उम्मेदवारी मनोनयनका दिन आफ्नो कार्यकर्ताको ह्याकुलो ठूलो रहेको र अन्य दलको कार्यकर्ताको ह्याकुलो सानो रहेको अभिव्यक्ति दिएका कांग्रेस उम्मेदवार बस्नेत पछिल्लो चुनावी कार्यक्रममा नरम बन्दै गएका देखिन्छन्। 


पाँग्रेटारको कार्यक्रममा विकासको ढोका खोलिदिने वाचा गर्दै बस्नेतले भने, यो वडाबाट जाहिले पनि कम्युनिस्टलाई भोट जान्छ, त्यही भएर विकासमा पछि रहेको छ, हामीलाई विकासका प्याकेज हाल्नै दिदैनन्, उनीहरुले ल्याएका विकास रातारात हराउँछन्, त्यसैले हामी विकास गछौं, एक भोट मात्र बढी कांग्रेसलाई दिनुस। दुईटै बाटोलाई करोडौं हाल्छौ, जनताले साथ दिएमा हामी नवै वडामा पुग्ने गरी खानेपानी ल्याईदिन्छौ।’

कार्यक्रममा उनले एमाले र माओवादी जातीय समानताको कुरा गरेपनि नेतृत्वमा दाजुभाइको दबदबा रहेको आरोप लगाए । ‘यहाँका प्रदेश उम्मेदवार दुबैजना दाजुभाइ हुन्, यसले कहाँ गयो जातीय समनताको कुरा, कहाँ गयो दलित उन्मुक्तिका कुरा?’ वाम गठबन्धनबाट प्रदेश सभा उम्मेदवार रहेको सरेश नेपाल र अरुण नेपालप्रति लक्षित गर्दै बस्नेतले भने ।


यता निर्वाचन प्रचार समितिका संयोजक तिमल्सिनाले हामी युवा जत्था बोकेर मतदातालाई आतंकित बनाउनुभन्दा जनता रिझाउन लागिपरेको उल्लेख गरे । उनले भने, ‘विभिन्न स्थानबाट लाखौं खर्चेर युवा शक्ति परिचालन गरी जनता तर्साउन खोज्नु कम्युनिस्टको शैली नै हो, हामीसँग त्यसो गर्ने पैसा छैन, हामी जनतासँग छलफल गरी दीर्घकालीन विकासका योजनाहरुको प्याकेज लाने प्रयासमा छौं।’

सिंह उठेको छ, अब होस गर–अग्नि सापकोटा

यता नरम स्वभावका मानिने पूर्वसञ्चारमन्त्रीसमेत रहेका अग्नि सापकोटा भने निर्वाचन नजिकिंदै गर्दा गरम बन्दै गएका छन्। उनले आफ्ना प्रतिस्पिर्धी बस्नेतलाई गुण्डा भन्नसमेत पछि परेनन्। बाह्रबिसेको सभालाई सम्बोधन गर्दै भने, ‘म मोहन बस्नेत जस्तै गुण्डा हैन, तैपनि निहूँ खोज्छ भने गुण्डालाई कसरी तह लगाउनु पर्छ त्यो मैले पनि जानेको छु।’ 


बस्नेतलाई गुण्डा भन्दै गर्दा उनी डरपोकसमेत भएको आरोप लगाए, भने, ‘बस्नेत हुतिहारा र डरपोक हुन्। कुविण्डेमा छिर्न दुई ट्रक प्रहरी बोकेर जाने मान्छे कायर हो। त्यस्तो कायरले जनताको पक्षमा वकालत गर्न सक्दैनन्, जनताको घरआँगन जान प्रहरी चाहिने मान्छे जनताको कसरी हितैषी हुने सक्छ?’ कुविण्डे माओवादीको पकड क्षेत्र मानिन्छ।


म वचनमा बाँच्छु र जे भन्छु त्यो पूरा गर्छु, मसँग इमान, स्वाभिमान मात्र छ र अहिलेसम्म मैले जे बोलेको छु त्यो पुरा गरेको छु सापकोटाले यसो भन्दै प्रतिज्ञा गर्दै भने तातोपानी नाका म कुनै पनि मूल्यमा खोल्छु, यो मेरो भीष्म प्रतिज्ञा हो। खबरदार मोहन बस्नेत अब सिंह उठिसकेको छ होस गर।’


बस्नेतलाई भ्रष्टाचारी खुमबहादुर खड्काको चेला भएको आरोप लगाउँदै सापकोटाले त्यतिखेर बस्नेत त्यही खुमबहादुरसँग भ्रष्टाचार र कमिशन खान लिप्त भएको जिकिर गरे। त्यही भ्रष्टाचार गरी कमाएको धनले जनताको मत खरिद गर्न खोज्छ भने एक्काइसौं शताव्दीका सचेत जतनाले बस्नेतलाई पाखा लगाइदिने सापकोटाको कथन थियो।


निर्वाचन परिचालन कमिटीका इन्चार्ज कमल नेपालले झिनामसिना बजेटको आश्वासन कांग्रेसले दिएको आरोप लगाउँदै प्रतिनिधिसभाका सदस्यले गाउँमा यस्ता विकास ल्याउनै नसक्ने र यस्ता विकास स्थानीय तहमा मात्र आउने भएकाले जनतामा भ्रम नछर्न चेतावनी दिए।


यस्तो छ अंकगणित

सापकोटा र बस्नेत भिड्ने भएपछि यस क्षेत्रलाई रोचक प्रतिस्पर्धी रहेको क्षेत्र मानिएको छ। त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाँउपालिका, बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा यस क्षेत्रमा पर्दछन्। 

यस निर्वाचन क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३  हजार ८ सय ६९ मत ल्याएको थियो। 


यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ। अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा वाम दलको १६ हजार ९ सय ७७ मत बढी छ। 


सिन्धुपाल्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा कूल २७ हजार ८ सय ५२ मतदाता थपिएका छन्। 

प्रकाशित मिति
लेखक नेत्र तामाङ

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...