Wednesday, July 19, 2023

गगन थापाको म्याराथन घरदैलो - २०७४


 काठमाडौं
: आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठको वडा ११ मा गगन थापाले चुनावी घरदैलो सूरु गरे।

 

रुद्राक्षको माला लगाएका थापाले कपनको ह्यन्डबल ग्राउन्डबाटबाट सुरु गरेको घरदैलोको सुरुवाती गतिको नै तीव्र बन्यो। साथमा थिए उक्त क्षेत्रका ख का कांग्रेस उम्मेदवार साधुराम खड्का र कार्यकर्ताको टोली।


'वडाका कुनै घर छुट्नु हुँदैन,' काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका पूर्व मन्त्री एवं कांग्रेस नेता स्थानीयसँग भन्दै थिए। त्यसपछि घरदैलोको गति अझ बढ्यो।


घरदैलोमा युवाहरुमात्र हैन वृद्धवृद्धाको पनि उतिकै सहभागिता थियो।


एकैछिनको दौडधुपमा केही वृद्धवृद्धा धपेडीमा पनि परे। यसमध्ये एक थिइन ६४ वर्षीया मिश्रीमाया श्रेष्ठ।


श्रेष्ठ भन्दैथिइन्, 'दौडधुप त अलि चर्कै छ, कति दौडन सकेका? तैपनि हामी पनि सँगै दौडिरहेकै छौ। केही गाह्रो भइरहेको छ।' 


बुढानिलकण्ठ आउनुअघि उम्मेदवार थापा बिहानै मैजुबहाल पुगेर आएका थिए।


घरदैलोमा मतदान गर्ने तरिका सिकाउन आइपुगेका भोजकुमार दाहालले पनि धपेडी महसुस गरेछन्। ५८ वर्षे दाहाल भन्दैथिए, 'वडै ठूलो छ। यसैले पनि दौडधुप बढेको छ। गगनको दौड एकदम ठिक छ। यो बेलामा हामी पनि दौडनै पर्यो नि।'



विभिन्न जिल्लाका चुनावी आमसभामा पनि सम्बोधन गर्न जानुपरेकाले थापाको घरदैलो बाँकी बसेको रहेछ। थापा दौडधुपमा भन्दैथिए, 'हिजोअस्ति नै यसरी दौडेको भए आजभोलि त आराम गर्न पाउने रहेछ।'


चुनावी प्रचारमा भेटिइन् वडा १० की महालक्ष्मी अधिकारी। ५७ वर्षीया अधिकारी भन्दैथिइन्, 'यसरी दौडन थालेको तीनचार दिन भइसक्यो। अब प्रचार गर्ने दिन पनि त्यति धेरै छैन। यतिको दौडधुपमा त्यति गाह्रो मानेर पनि भएन।'


दस बज्न लाग्दा घाम पनि चर्कदो थियो। गगन थापा आफै असिनपसिन बनेका थिए। त्यसपछि भने उनले ज्याकेट फुकाले। र, घरदैलोको रफ्तार अझै बढाउन थाले। 


एकैछिनपछि एउटा उकालोमा हस्याङफस्याङ गर्दै भेटिइन् किस्ट मेडिकल कलेजकी प्राध्यापक आरती कार्की। उनी भन्दैथिइन्, 'स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्यमा ख्याल राखेकैले होला। गगनले घरदैलोमा पनि दौडधुप गर्न सकेका छन्। हामीलाई भने अलि गाह्रै भइरहेको छ।'


घरघरमा स्वागत गर्दै चियापानको अफर गर्ने कार्यकर्ता प्रशस्तै भेटिए। उम्मेदवार थापा भने ढिला हुन्छ भन्दै दौडिहाल्थे।


यसरी उनले वडा ११ मा दिउँसो साढे १ बजेसम्म घरदैलो जारी राखे।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : १७ मंसिर २०७४

मोटरसाइकलमा माधव नेपाल




काठमाडौं
: शनिबार बिहान ७:३० बजे नै काठमाडौं महानगरको वडा नम्बर ३२ को जडीबुटीमा पूर्व प्रधानमन्त्री माधव नेपाल घरदैलो कार्यक्रममा उपस्थित भइसकेका थिए।


क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री नेपालसँगै प्रदेशतर्फ ‘क’ का उम्मेदवार सानुकुमार श्रेष्ठ, समानुपातिक उम्मेद्वारहरू कमला पराजुली, रञ्जना पौडेल, माओवादी केन्द्रका क्षेत्र नम्बर २ का इन्चार्ज प्रकाश गौतमलगायत उपस्थिति भइसकेका थिए।


सात बजे सुरु हुने भनिएको कार्यक्रम ढिला हुँदै थियो। साढे सात हुँदा पनि घरदैलोका लागि निम्त्याइएका कार्याकर्ता नआइपुगेपछि उम्मेदवारको टोली एकैछिन सडक पार गरी मनोहरा खोलातिरको बस्तीमा पस्यो।

 


एकैछिन् घुमेपछि उम्मेदवारसहित घरदैलो टोली सडक पार गरी पहिलेकै ठाउँमा आइपुग्यो। अनि सुरु भयो घरदैलोको औपचारिक कार्यक्रम।


वडा नम्बर ३२ को सम्पर्क कार्यालय नजिकैको घरमा उम्मेदवार नेपालसहितको टोलीलाई स्वागत गरियो। सयपत्री फूलको माला लगाइदिए उम्मेदवारहरूलाई।

 

चुनावी र्‍याली अघि बढ्दै छाप्रोसम्म पुग्यो। यतिखेर पुग्दा ८ बजिसकेको थियो। 


बाटोमा घाम तापेर बसेका वृद्धवृद्धालाई पूर्व प्रधानमन्त्री नेपालले आफ्नो गलाको खादा निकालेर लगाइदिए। आशीर्वाद मागे। आफूलाई जिताउन आग्रह गरे।


त्यसपछि चुनावी र्‍याली पुनः मुल सडकमा आइपुग्यो।


घरदैलोमा सुरक्षाकर्मी, अन्य उम्मेदवार, स्थानीय नेता र सुरक्षाकर्मीको घेरामा रहेका नेपाललाई कहिले यता कहिले उताको घच्चाघच्चीले मुस्किल परिरहेको थियो।


मुल सडक पार गरेकैबेला उनको अगाडि होन्डा साइन बाइक आइपुग्यो। भिडको घच्चाघच्चीमा परेका नेपाल फुत्त मोटरसाइकल चढे र हात हल्लाउँदै अगाडि बढे। त्यसपछि भने सुरक्षाकर्मी मोटरसाइकलसँगै दौडन पर्‍यो।


झन्डै तीन सय मिटर बाइकबाट पार गर्दा ८:३० भएको थियो। 


अगाडि चुनावी अभियानकै लागि तयार पारिएको टाटा मोबाइल रहेछ। उम्मेदवार नेपाल त्यही टाटा मोबाइलको पछाडिपट्टि चढे। साथमा उम्मेदवारहरू पनि। त्यसपछि भने चुनावी र्‍यालीको गति बढ्न थाल्यो। 

भित्रभित्रैको सडकमा पुग्दा उम्मेदवार नेपाललाई स्वागत गर्दै रसबरी पनि खुवाए। नेपालले पनि गाडीबाटै हात हल्लाए। नमस्कार साटासाट गरे।


झन्डै तीस मिनेट टाटा मोबाइल यात्रा पछि पेप्सीकोला चोकमा पुगे उम्मेदवारहरू।


पेप्सीकोला चोकमा सूर्य चिन्हको ठूलो रंगौली तयार पारिएको थियो। वाम गठबन्धनका कार्याकर्ताले उम्मेद्वारहरूलाई त्यही स्वागत गर्दै फूलमाला र खादा लगाइदिए। कोही गीतसँगै नाचे।


त्यसपछि मदरल्यान्ड अस्पताल नजिकै कार्यक्रम आयोजना भयो।


कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुगे। कार्यक्रममा आइपुग्नसाथ तीन मिनेट सम्बोधन गरे उनले। त्यसपछि उम्मेदवार नेपालले प्रचण्डलाई धन्यवाद दिँदै सभा टुंगिएको घोषणा गरे। 

सभा सकेपछि माओवादी अध्यक्ष प्रचण्ड र उम्मेदवार नेपाल हातमा हात मिलाएर पेप्सीकोला चोक हुँदै टाउन प्लानिङभित्र पसे।


शीर्ष दुई नेताको हिडाइ रफ्तार बढेपछि सुरक्षाकर्मीलाई पनि चटारो परेको थियो। करिब १० मिनेटको सँगैको यात्रापछि भने प्रचण्ड चितवन जानुपर्ने भन्दै छुट्टिए र नेपाल टोली टाउन प्लानिङमै घुम्न थाले।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : १६ मंसिर २०७४

मेरोविरुद्ध दुष्प्रचार गर्नेलाई नै घाटा : दमननाथ ढुंगाना


दमननाथ ढुंगाना भक्तपुर क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धीमा छन्। पूर्व सभामुखसमेत रहेका ढुंगानासँग वाम गठबन्धनबाट एमालेका पूर्वमन्त्री महेश बस्नेत र नेमाकिपाबाट पूर्व सांसद अनुराधा थापामगर प्रतिस्पर्धामा छन्।


लामो समय सक्रिय राजनीतिमा नदेखिएका उनी चुनावी मैदानमा देखिँदा धेरैले अप्रत्यासित पनि मानेका छन्। यद्यपी भक्तपुरको चुनावी मैदानमा ढुंगाना बलिया खेलाडीका रुपमा उत्रिएका छन्। प्रचारका लागि घरदैलो कार्यक्रम पूरा गरिसकेका छन् उनले। अहिले आफ्ना 'कोर' मतदातासमक्ष पुगिरहेका छन् ढुंगाना।


चुनावी प्रतिस्पर्धामा उत्रेका उनीमाथि प्रतिद्वन्द्वी भने खनिएका छन्। विभिन्न आरोपहरु लगाइरहेका छन् उनीमाथि। यसै विषयमा ढुंगानासँग गरिएको कुराकानी :


चिसो बढिरहेको छ, यस्तो चिसोमा बिहानै मतदाताकहाँ?

निर्वाचन नजिक छ। यसले माहोल तातो बनाएको छ भनौं। अहिले यस्तो चिसोको ख्याल गरेर पनि भएन। बिहान ६ बजे उठ्ने राति ११ बजेपछि सुत्ने। अझ हिजो त राति १२ बजेमात्र घर आइपुगेँ।


तपाईँ छिमेकी जिल्लाको चुनावी मैदानमा हुनुहुन्छ। यहाँका स्थानीय कांग्रेस कार्यकर्ताको सहयोग कस्तो पाउनुभएको छ?

नेपाली कांग्रेसले जुन उम्मेदवार खटाएको छ, कार्यकर्ताले उसलाई सहर्ष स्वीकार गरी उसको पक्षमा लागेको पाएको छु। उहाँहरुबाट पर्याप्त सहयोग पाएको छु। पार्टीको अनुशासनको कुरा पनि हो यो। अपूर्व एकताको प्रदर्शन भएको छ। मलाई जिताउन यहाँका स्थानियदेखि केन्द्रसम्मका कांग्रेस नेताहरु लागिरहनु भएको छ।


यति धेरै राजनीतिक 'ग्याप'पछि तपाईँको उम्मेदवारी आयो नि?

यो देशमा पटकपटक प्रजातन्त्रका लागि संघर्ष भयो, ठुलो बलिदान भयो। तै पनि प्रजातन्त्रलाई, लोकतन्त्रलाई स्थायित्व दिन सकेनम्। यो निर्वाचनपछि पूर्ण अवधिको सरकार बनाएर जनताप्रति विल्कुलै जवाफदेही बनाएर चल्नुपर्छ। सत्ता भनेको जनताप्रति जवाफदेही हुनुपर्छ। निर्वाचित सरकारले कहिले आफ्नो अवधी पूरा गर्न पाएन नेपालमा। धेरैजसो त बहुमत नपुगेका कारण। त्यसैले यसपटक मलाई मतदान गर्नुस् भनिरहेको छु। स्थायित्वका लागि म निर्वाचनमा आएको हुँ।


घरदैलो, भेटघाटका क्रममा जनताका अपेक्षा के पाउनुभो?

विकास जनताको पहिलो अपेक्षा हुनेरहेछ। विकासको अपेक्षा स्वभाविक हो। अहिले तीन तहको सरकार गठन भएको छ। स्थानीय सरकारले पनि विकासको काम गर्छ। प्रदेश सरकारले बजेट छुट्याउने काम गर्छ। विकासको बाँडफाँट गर्छ। केन्द्रीय प्रतिनिधिले पनि केन्द्रीय बजेट बनाएर बाँड्ने काम गर्छ। सहयोग गर्ने हो। विकासको काम स्थानिय सरकारदेखि उठेर र माथि केन्द्रीय सरकारसम्म हुन्छ। म तीनै तहलाई मिलाएर समन्वय गरेर विकासमा प्राथमिकता दिन्छु।

यो भन्दा ठुलो बेरोजगारी समस्या छ।

यो कृषिप्रधान जिल्ला हो। यहाँको उत्पादनबाटै काठमाडौंसमेत पोषित भइरहेको छ। परम्परागत कृषिलाई आधुनिक बनाउन नसक्दा बेरोजगार बढेको छ। यसैलाई पहिलो प्राथमिकतामा राखेको छु। यहाँ अन्य परम्परागत सीपहरु पनि काममा आएका छैनन्। सम्पदाले सम्पन्न जिल्ला हो। सांस्कतिक हिसाबले पनि धनी नै हो। कला कौशलमा पनि धनी छ। पर्यटन र संस्कृतिक राजधानी बन्ने देखिन्छ। यी विषयमा म प्रथामिकताका साथ लाग्नेछु।


गठबन्धनमा अरु दलबाट कतिको सहयोग पाउने आशा गर्नुभएको छ?

राप्रपा प्रजातान्त्रिकले सक्रिय सहयोग गर्ने भएको छ। यो गठबन्धनलाई सफल बनाउन उसले आफ्नो कर्तव्य सम्झेर खटिरहेको हामीले पाएका छौं। राप्रपाले पनि सहयोग गर्नेछ भन्नेमा हामी ढुक्क छौं।


केही समयअघि नेमाकिपाले पनि सघाउने कुरा थियो, अहिले त आफ्नै उम्मेदवार मैदानमा देखिए नि?

नेमाकिपाले आफ्नो उम्मेदवार बनाएको छ। पार्टीगत रुपमा जे मनासिव लाग्छ उहाँहरुले गर्नुहुन्छ। म यसमा केही भन्दिनँ।


तपाईँका प्रतिद्वन्द्वीले तपाईँलाई 'भारतीय दलाल' भनेर आरोप लगाइरहेका छन्, यसले तपाईँलाई अप्ठेरो पार्दैन?

कसैले आक्षेप लगाउछन् भने मुख थुन्न सकिन्न। यसको कुनै आधार छैन। निराधार कुरा जनताले पत्याउँदैनन्। मेरा बारेमा लागेका आरोपहरु कसैले पत्याइरहेका छैनन् पनि। साँचो भए पो पत्याउनु। जनताले इन्कार गरिसकेका छन्। चुनावका बेला बढाइचढाइ बढी नै हुन्छ। यस्तो दुस्प्रचार गर्नेहरु आफैलाई घाटा हुन्छ।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : १४ मंसिर २०७४

Monday, July 17, 2023

बाबुको निर्वाचन क्षेत्रमा मुस्काउँदै देवयानीको नमस्कार

सिन्धुपाल्चोक : भारतमा बस्दै आएकी देवयानी राणा आजको चुनावमा सक्रिय देखिइन्। पशुपतिशम्शेर राणाकी छोरी देवयानी यसपाला बाबुलाई जिताउने उद्देश्यका साथ सिन्धुपाल्चोक पुगेकी थिइन्। सिन्धुपाल्चोक र काठमाडौंका चुनावी अभियानमा समेत उनको सक्रियता थियो।


आज सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा भएको मतदान हेर्न पनि उनी बाबु पशुपतिशम्शेरसँगै पुगेकी थिइन्। मतदातासँग नबोले पनि मुस्काउँदै उनले नमस्कार गरेकी थिइन्। पछिल्ला दुई निर्वाचनमा पशुपतिशम्शेर सिन्धुपाल्चोकको चुनावी परिणाममा कमजोर सावित भइसकेका छन्। यसपाला उनले जित्न सकेनन् भने यो उनको हारको ह्र्याट्रिक हुनेछ। 


दरवार हत्याकाण्डपछि लामो समय नदेखिएकी देवयानीले पछि भारतमै घरजम गरेकी हुन्। यसपाला चुनाव प्रचारदेखि मतदानको दिनसम्म उनी बाबुसँगै देखिएकी छिन्।


प्रकाशित मिति १० मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

Sunday, July 16, 2023

बम डाडुले उठाएर निस्क्रिय बनाउँदाको क्षण


बिहीबार रसुवाको राम्चे सोझिएको मोटरबाइकलाई नुवाकोटको विदुरस्थित निर्वाचन कार्यालय पुग्नै लाग्दा प्रहरीले  'लेफ्ट' मोड्न निर्देशन दिए।

हामीले सोध्यौ, 'किन? हामी त रसुवा जाने।'

 

पहिलोपटक रसुवा जाँदै थियौ। हामीलाई बाटो पनि थाहा थिएन। प्रहरीलाई हामी सीधै जान पाउँ भन्ने लाइनमै बाइक अलि अगाडि बढाएँ।


'अगाडि बम छ,' प्रहरीले रोक्न खोजे, 'तपाईकै सुरक्षाका लागि भनेको।'


देब्रेतिरबाट सवारी निस्किरहेकै थियो। जान मात्र नदिएको रहेछ।


'हेर्न जाउँ बम,' पछाडि बसेका फोटोपत्रकार चन्द्र आले बाइक साइड लगाउन नपाउँदै ओर्लिहाले। बाइकलाई लेफ्टतिरैको कुलोतिर तेर्स्याउँदै म पनि बम हेर्न हिडें।


निर्वाचन कार्यालय विदुरमा मतदानका लागि धमाधम सामान लिँदै थिए कर्मचारी। सडकमा सवारी रोकिरहेका थिए प्रहरी। चुनावी गीत बजाएर झन्डा फहराउँदै स्कारपियो जिप दौडिरहेको थियो। 


बिहान ८ः४५ बजेको रहेछ।

 

निर्वाचन कार्यालयभित्र रहेका कर्मचारीलाई सक्दो चाँडो निस्कन आग्रह गर्दै थिए प्रहरी। प्रहरीले आयोग अगाडि रहेको कार्टुनलाई दुईवटा फलामे बारले घेरे।

 

त्यतिबेला सम्म धेरैले बम कहाँ छ भनेर सोधिरहेका थिए। कतिपयले निर्वाचन सामग्रीभित्रै बम राखिएको भन्दै थिए। मैले पनि त्यही सोचेँ, असरल्ल निर्वाचन सामग्रीमा बम कहिले भेट्ने? मैले जस्तै अरुले पनि प्रश्न गरेका थिए। जब कार्टुनलाई फलामे बारले घेरियो, तब बम निर्वाचन सामग्रीभन्दा बाहिर रहेको पत्तो लाग्यो।


'बिहान ६ बजे बम राखेको हल्ला चलेको भर्खर डिस्पोज गर्न खोजिएको छ। यो बम नै होइन होला, ' एकजना रमितेले भने।


नजिकै पत्रकारहरु पनि त्यही विषयमा कुराकानी गर्दै थिए। कोही लाइभ रिपोर्टिङमा व्यस्त थिए।


केहीबेरमै सेनाको टोली आइपुग्यो। त्यसपछि प्रहरीले रमितेलाई हटाउन थाले। रमिते सडकभन्दा माथिको डिलमा जम्मा भए। त्यहाँबाट पनि अन्तै जान प्रहरीको निर्देशन आयो।


निर्वाचन कार्यालयको ठिक अगाडि बन्दै गरेको भवन सञ्चारकर्मीको रोजाइ बन्यो। भिडियो र फोटो लिन सजिलो देखेर सञ्चारकर्मी त्यो भवनमा उक्लिन थालेपछि अरु रमिते पनि त्यही उक्ले। प्रहरीले एकैक्षणमा त्यहाँबाट पनि सबैलाई हट्न निर्देशन दिए। कतिले मानेनन्।


'बम पड्कदाँ छर्रा आउँछ, लाग्न सक्छ। तपाईहरुकै सुरक्षाका लागि भनेको, ' प्रहरी बम हेर्न आएकालाई भन्दै थिए। नजिकै भेटिइन् बिबिसी नेपाली सेवाकी संवाददाता शक्तिमाया तामाङ। उनी भन्दै थिइन्, 'अर्को ठाउँमा पनि बम राखेको खबर आएको छ।'


झन्डै आधा घन्टाको अलमलमा पनि सेना कार्टुनले छोपेको बम भएको ठाउँ गएनन्। सडक खाली थियो। त्यही बेला नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव आइपुगे। उनी प्रहरीसँग कुराकानी गर्दै निर्वाचन कार्यालय अगाडिको दैलोमा उभिए।


बम कतिबेला पड्काइने हो भनेर सर्वसाधारण त्यही कार्टुनतिर नजर लगाइरहेका थिए। नुवाकोटमा केही दिन अघिमात्र पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार डा रामशरण महतलाई लक्षित गर्दै बम प्रहार गरिएको थियो। घटनामा पाँच जना घाइते भएका थिए।

 

निर्वाचन नजिकिदै गर्दा सदरमुकाम विदुरमा बम देखिँदा खासै आतंकित भने देखिएनन्। बम भएपनि बम वरपर निर्वाचन सामग्री लिने कर्मचारी र सर्वसाधारण त्यहीँ नजिकबाट हिँडिरहेका थिए। बिहान धेरैले उक्त बमको फोटो नजिकैबाट खिचेको एक प्रहरी बताउँदै थिए। धेरैले फोटो खिचेपछि बमलाई कार्टुनले छोपेको ती प्रहरी जानकारी दिदैं थिए। सेनाले बम डिस्पोजको प्रक्रिया थाल्दा ती प्रहरीले बमको फोटो मोबाइलबाट जुम गरी देखाउँदै थिए। अरु आतंकित नदेखेर होला मलाई पनि खासै डर लागेन।

 

झन्डै आधा घन्टापछि सेनाले लामो लौरोमा तार जोडेर कार्टुन पन्छाए। सकेट बम रहेछ। हुक लगाउँदै बम उचाल्ने प्रयास गरे। तर प्रयास सफल भएन।  त्यसलगत्तै एकजना सेना डाडु खोज्न निस्किए। निर्वाचन कार्यालयको ठीक अगाडि रहेको घरबाट डाडु लिएर निस्के प्रहरी। उनी भन्दै थिए 'यो डाडु पनि भाग्यमानी रहेछ। बम बोक्न पाउने भयो।'


त्यसपछि उक्त डाडुलाई लामो लौरोमा बाँधेर डाडुमा उठाएर बमलाई भवनभन्दा करिब सय मिटर पर केराघारी पुर्‍याइयो। केराघरी छेवैको झाडीमा सानो ठाउँ बनाए सेनाले।  डिस्पोजल टोलीले एकैक्षणमा बम पड्काउने तयारी गरे। एक जवानले चुरोट सल्काए। अनि, बम पड्कने बेला भएको भन्दै सबैलाई बस्न आग्रह गर्दै सेना सडकतिर कान छोप्दै दौडे। 


त्यतिबेला बिदुरको सडकमा बम हेर्न बसेका रमितेहरु सडकमा एकैपटक थचक्कै बसे। ड्याम्म.. त्यसपछि केराघारीबाट आवाज आयो। आवाजसँगै धुँवाको मुस्लो पनि उड्यो। बम डिस्पोज हुनासाथ अधीर भएर सडकमा रोकिएका सवारीहरु हर्न बजाउँदै ‌ओहोरदोहोर गर्न थाले। हामी पनि कुलोमा साइड लगाएको बाइक हुइक्याउँदै रसुवाको धुन्चेतिर उक्ल्यौँ।

प्रकाशित मिति ८ मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

फोटो लेखक

पशुपति शम्शेरलाई तेस्रो पटक हराउँदैछु : शेरबहादुर तामाङ


पहिलो चरणमा चुनावी प्रचारको आज अन्तिम दिन। सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट दुई पटक सांसद रहिसकेका शेरबहादुर तामाङ यसपालाको निर्वाचनमा जितेर ह्याट्रिक गर्ने होडमा छन्। पशुपति शम्शेर राणा उनका प्रतिद्वन्दी उम्मेदवार। राणालाई दुई पटक पराजित गराएका उनको चुनावी अभियानबारे पहिलोपोस्टका लागि नेत्र तामाङले दुई दिनअघि गरेको कुराकानी :  

सबै गाउँ घुमिसक्नुभयो? 

अब केही वडा मात्र बाँकी छन्। एकसरो सबै गाउँ पुगे। कुनैकुनैमा मात्र दुई तीन पटक पुग्ने मौका मिल्यो।

दिनमा कति खटिरहनुभएको छ ? 

यसपटक क्षेत्र थपिएको हुनाले कुदाकुद नै भएको छ। राम्रोसँग सुत्न पाएको छैन। ४९ वटा वडामा पुग्नुपर्ने भएकोले यसपटक अलि दौडधुप नै भयो। ४९ वडा भनेको पहिलेको ४९ गाविस हो। दिनमा २४ घन्टा मात्र हुन्छ। बढी घन्टा भए त २५ घन्टै खट्थेँ। 

पशुपति शम्शेर चुनावमा उठेका छन्। त्यही भएर यस्तो चुनौती आइलाग्यो?

पशुपति शम्शेरलाई हराउनु चुनौतीको विषय नै रहेन। हामी सजिलै जित्छौ। मतान्तरको हिसाबमा पनि लोकतान्त्रिक गठबन्धन २० हजारले पछाडि छ। उहाँहरु निर्वाचनको मैदानमा पनि धेरै पछाडि हुनुहुन्छ।

केही स्थान थपिएका छन् नि पहिलेभन्दा। यसले मतान्तरलाई असर गर्ला नि?


हो केही स्थान थपिएका छन्। तर थपिएका ठाउँका युवा त झन् वाम गठबन्धन मनपराउने धेरै हुनुहुन्छ। यसमा कुनै शंकै छैन। हामीलाई विश्वास छ उहाँहरुकै सहयोगमा हामी जित्दैछौं।

धन शक्तिका हिसाबले त उहाँ नै बलियो हुनुहुन्छ नि?


वाम पन्थीसँग के कमी छ र? जनतासँग पैसा हुँदैन र। जनताले सहयोग गरेका छन्। जनताले मन दिएका छन्। त्यसैले उहाँहरुको धन र शक्ति जनताको मन अगाडि केही हैन। जनताले सहयोग गरेका कारण उहाँहरुले जति खर्च पनि गर्नुपरेको छैन।

निर्वाचनमा पैसाका खेल हुन्छ भन्ने स्थानीय तहकोमा देखिएकै हो। यसपाला पनि त्यस्तै नहोला त?


हो। स्थानीय तहमा केही त्यस्तो भएको देखियो। मानिसहरु बिकेको देखियो। तर यो राष्ट्रिय निर्वाचन हो नि। यसमा यस्तो हुँदैन। पक्कै पनि जनता बिक्ने छैनन्। हामीलाई विश्वास छ- जनताको मन पैसाले जित्न सकिँदैन।

राणाले यस क्षेत्रमा लामो समय काम गर्नुभएको छ। जनताले मत देलान नि?


राणाले २०५६ सालसम्म शासन गरे। केही विकास गरेनन्। त्यसैले त जनताले मलाई रोजे एमाले पार्टी रोज्यो। विकास नगरेकै कारण २०६४ सालदेखि मैले हराउँदै आएको छु। यसपटक पनि हराउँछु। यो तेस्रो पटक हो म उहाँलाई हराउँदै छु।

ढुक्क देखिनुहुन्छ। तपाईँको चुनाव जित्ने मुख्य आधार के त?


राजनीतिक समृद्धिका कुरा पूरा भइसक्यो। अब हामी आर्थिक परिवर्तन, समृद्धि, युवाहरुको आर्थिक विकासका लागि लाग्ने हो। देशको विकासका आधार तयार पार्ने हो। त्यसका लागि नीतिनियम बनाउने हो।

तपाईँको क्षेत्रका लागि चाहिँ के छन् त्यस्ता समृद्धिका योजना?   


राजधानीमा लाने पानीको मेलम्चीको मुख्य मुहान हाम्रो जिल्ला हो। याङरी र लार्चाबाट पनि पानी लगिँदैछ। काठमाडौमा पानी लाँदै गर्दा एमालेकै पहलमा २५ प्रतिशत स्थानीयलाई दिनुपर्ने प्रावधान राखिएको छ। यही स्रोत यहाँका साधन प्रयोग गरी विकास गर्ने।

मध्य पहाडी पुष्पलाल लोकमार्गले क्रस गर्दा इन्द्रावती, मेलम्ची उपत्यका नयाँ सहरका रुपमा विकसित हुँदैछ। इन्द्रावती नदी वनदेउमा थुनेर फेवातालभन्दा तीन गुणा ठूलो ताल बनाउने हो। जुगल हिमाल यहीँ पर्छ। हिमालय रेन्जलाई उपयोग गरी पर्यटनलाई व्यवस्थित गराउने। ३० हजारलाई रोजगारी दिन सकिन्छ। जीवनस्तर उकासिने छ।

सांसदको काम कानुन बनाउने हो कि यस्तै विषयमा हराउने?


अहिले तातो परिणाम जनताले खोज्छन्। बाटो चाँडै बनोस्। पिच होस भन्ने चाहना गर्ने रहेछन्। २७ हजार किलोमिटर बाटो खनेका छन्। स्थानीय जनता यहीको विकास चाहने रहेछन्। 

त्यसैले म बाटो विकासमा लागेको छु। ट्रयाक खोलेको ठाउँमा पिच गर्ने।

खेतीयोग्य जमिनमा सिचाइँ पुराउने योजना बनाएको छु।

यहाँ कतिपय ठाउँमा खानेपानीकै अभाव छ भन्छन् नि?


कतिपय ठाउँमा खानेपानीको समस्या पनि छन्। त्यस्ता ठाउँमा २ वर्षमा पानी पुराउँछौं। डाँडामा ठुलो पोखरी खन्ने हाम्रो योजना छ। यसले वर्खाको पानी जम्मा हुनेछ र पानी नभएको ठाउँमा मुल रसाउने छ भन्ने हामीले सोचेका छौं।

प्रकाशित मिति ७ मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

फोटो : लेखक


सिन्धुपाल्चोक : पूर्व सञ्चार मन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धी हुन्। मंसिर १० अर्थात् मतदानको दिन नजिकिंदै गर्दा उक्त क्षेत्रमा चुनावी माहोल तातिएको देखिन्छ। साेमबार यही मेसोमा हामी पुग्दा उक्त क्षेत्रमा देखिएका पाँच रोचक दृश्यः


बाह्रबिसेमा वामपन्थी युवा फोर्स

नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने विषय निकै चर्चित रह्यो। यस क्षेत्रमा पनि वामपन्थी तालमेलबाटै प्रतिनिधि सभामा माओवादीबाट अग्नि सापकोटा र प्रदेश सभामा दुवै एमालेका उम्मेदवार रहेका छन्। 


बाह्रबिसेमा वामपन्थीको आमसभा राखिएको थियो। उक्त कार्यक्रमका लागि वामपन्थी कार्यक्रममा पहिलोपल्ट वामपन्थी युवा फोर्स लेखिएको ट्रयाक लगाएका राता युवकहरुको फोर्स देखिए। वाइसिएलको कडा विरोधमा उत्रेर युथ फोर्स निर्माण गरेका एमाले अहिले संयुक्त फोर्स बनाएको देखियो। 


कांग्रेसको गढमा वामपन्थीको शक्ति प्रदर्शन


बाह्रबिसे बजारलाई कांग्रेसको गढ मानिन्छ। उक्त क्षेत्रमा वाम गठबन्धनले कार्यक्रम राखी कांग्रेसविरुद्ध धावा बोलेको दृश्य रोचक देखिन्थ्यो। कांग्रेसको निर्वाचन क्षेत्र नम्बर १ कार्यालय अगाडि नै उक्त कार्यक्रम राखिएको थियो। कार्यक्रममा वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटाले कांग्रेसका उम्मेदवार मोहन बस्नेतलाई ‘गुण्डा’को आरोप लगाइरहँदा कांग्रेस कार्यालयमा रहेकाहरु भने हाँसिरहेका देखिन्थे।

जुरे पहिरोले पुरिएका घरमा कांग्रेसको झन्डा


जुरे पहिरोले गर्दा यस क्षेत्रका केही घर नष्ट भएका थिए। पहिरोले बनाएको कृत्रिम ताल खुलेपछि ती घर नदी छेवैमा जीर्ण अवस्थामा देखिन्छन्। ती घरहरुमा कांग्रेसका झन्डा फरफराइरहेको थियो। यस्तै प्रदेश सभाका उम्मेदवार राजेन्द्र श्रेष्ठको घरमा पनि पहिरोले क्षति पुर्‍याएको थियो। क्षति पुगेको उनको घरमा पनि कांग्रेसको झन्डाले झकिझकाउ पारिएको छ।

एमाले उम्मेदवारको घर अगाडि कांग्रेसको चुनावी सभा


सुनकोशीस्थित पाँग्रेटारमा रहेको सुनकोशी क्याम्पसमा कांग्रेसले चुनावी सभा राख्यो। एमालेले प्रदेश सभाको उम्मेदवार बनाएका दुबै नेता सरेश नेपाल र अरुण नेपालको घर यही नजिकै रहेको छ। सोही क्षेत्रका मतदाता रिझाउन कांग्रेसले उक्त क्याम्पसमा कार्यक्रम आयोजना गरेको जानकारी दियो। सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतले सम्बोधन गरेको यो कार्यक्रममा गाउँका भने थोरैमात्र सहभागी थिए। 

बाह्रबिसेमा ट्राफिक जाम

तातोपानी नाका बन्द भएयता सामान्यतया बाह्रबिसेमा ट्राफिक जाम हुँदैन। तर, आइतबार भने ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे परेको थियो। वामपन्थीको आमसभामा शक्ति प्रदर्शनका लागि विभिन्न स्थानबाट आइपुगेका बस, मोटरबाइक व्यवस्थापनका लागि प्रहरी खटिएका थिए। 

प्रकाशित मिति २८ कात्तिक २०७४
लेखक नेत्र तामाङ

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...