Sunday, July 16, 2023

पशुपति शम्शेरलाई तेस्रो पटक हराउँदैछु : शेरबहादुर तामाङ


पहिलो चरणमा चुनावी प्रचारको आज अन्तिम दिन। सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट दुई पटक सांसद रहिसकेका शेरबहादुर तामाङ यसपालाको निर्वाचनमा जितेर ह्याट्रिक गर्ने होडमा छन्। पशुपति शम्शेर राणा उनका प्रतिद्वन्दी उम्मेदवार। राणालाई दुई पटक पराजित गराएका उनको चुनावी अभियानबारे पहिलोपोस्टका लागि नेत्र तामाङले दुई दिनअघि गरेको कुराकानी :  

सबै गाउँ घुमिसक्नुभयो? 

अब केही वडा मात्र बाँकी छन्। एकसरो सबै गाउँ पुगे। कुनैकुनैमा मात्र दुई तीन पटक पुग्ने मौका मिल्यो।

दिनमा कति खटिरहनुभएको छ ? 

यसपटक क्षेत्र थपिएको हुनाले कुदाकुद नै भएको छ। राम्रोसँग सुत्न पाएको छैन। ४९ वटा वडामा पुग्नुपर्ने भएकोले यसपटक अलि दौडधुप नै भयो। ४९ वडा भनेको पहिलेको ४९ गाविस हो। दिनमा २४ घन्टा मात्र हुन्छ। बढी घन्टा भए त २५ घन्टै खट्थेँ। 

पशुपति शम्शेर चुनावमा उठेका छन्। त्यही भएर यस्तो चुनौती आइलाग्यो?

पशुपति शम्शेरलाई हराउनु चुनौतीको विषय नै रहेन। हामी सजिलै जित्छौ। मतान्तरको हिसाबमा पनि लोकतान्त्रिक गठबन्धन २० हजारले पछाडि छ। उहाँहरु निर्वाचनको मैदानमा पनि धेरै पछाडि हुनुहुन्छ।

केही स्थान थपिएका छन् नि पहिलेभन्दा। यसले मतान्तरलाई असर गर्ला नि?


हो केही स्थान थपिएका छन्। तर थपिएका ठाउँका युवा त झन् वाम गठबन्धन मनपराउने धेरै हुनुहुन्छ। यसमा कुनै शंकै छैन। हामीलाई विश्वास छ उहाँहरुकै सहयोगमा हामी जित्दैछौं।

धन शक्तिका हिसाबले त उहाँ नै बलियो हुनुहुन्छ नि?


वाम पन्थीसँग के कमी छ र? जनतासँग पैसा हुँदैन र। जनताले सहयोग गरेका छन्। जनताले मन दिएका छन्। त्यसैले उहाँहरुको धन र शक्ति जनताको मन अगाडि केही हैन। जनताले सहयोग गरेका कारण उहाँहरुले जति खर्च पनि गर्नुपरेको छैन।

निर्वाचनमा पैसाका खेल हुन्छ भन्ने स्थानीय तहकोमा देखिएकै हो। यसपाला पनि त्यस्तै नहोला त?


हो। स्थानीय तहमा केही त्यस्तो भएको देखियो। मानिसहरु बिकेको देखियो। तर यो राष्ट्रिय निर्वाचन हो नि। यसमा यस्तो हुँदैन। पक्कै पनि जनता बिक्ने छैनन्। हामीलाई विश्वास छ- जनताको मन पैसाले जित्न सकिँदैन।

राणाले यस क्षेत्रमा लामो समय काम गर्नुभएको छ। जनताले मत देलान नि?


राणाले २०५६ सालसम्म शासन गरे। केही विकास गरेनन्। त्यसैले त जनताले मलाई रोजे एमाले पार्टी रोज्यो। विकास नगरेकै कारण २०६४ सालदेखि मैले हराउँदै आएको छु। यसपटक पनि हराउँछु। यो तेस्रो पटक हो म उहाँलाई हराउँदै छु।

ढुक्क देखिनुहुन्छ। तपाईँको चुनाव जित्ने मुख्य आधार के त?


राजनीतिक समृद्धिका कुरा पूरा भइसक्यो। अब हामी आर्थिक परिवर्तन, समृद्धि, युवाहरुको आर्थिक विकासका लागि लाग्ने हो। देशको विकासका आधार तयार पार्ने हो। त्यसका लागि नीतिनियम बनाउने हो।

तपाईँको क्षेत्रका लागि चाहिँ के छन् त्यस्ता समृद्धिका योजना?   


राजधानीमा लाने पानीको मेलम्चीको मुख्य मुहान हाम्रो जिल्ला हो। याङरी र लार्चाबाट पनि पानी लगिँदैछ। काठमाडौमा पानी लाँदै गर्दा एमालेकै पहलमा २५ प्रतिशत स्थानीयलाई दिनुपर्ने प्रावधान राखिएको छ। यही स्रोत यहाँका साधन प्रयोग गरी विकास गर्ने।

मध्य पहाडी पुष्पलाल लोकमार्गले क्रस गर्दा इन्द्रावती, मेलम्ची उपत्यका नयाँ सहरका रुपमा विकसित हुँदैछ। इन्द्रावती नदी वनदेउमा थुनेर फेवातालभन्दा तीन गुणा ठूलो ताल बनाउने हो। जुगल हिमाल यहीँ पर्छ। हिमालय रेन्जलाई उपयोग गरी पर्यटनलाई व्यवस्थित गराउने। ३० हजारलाई रोजगारी दिन सकिन्छ। जीवनस्तर उकासिने छ।

सांसदको काम कानुन बनाउने हो कि यस्तै विषयमा हराउने?


अहिले तातो परिणाम जनताले खोज्छन्। बाटो चाँडै बनोस्। पिच होस भन्ने चाहना गर्ने रहेछन्। २७ हजार किलोमिटर बाटो खनेका छन्। स्थानीय जनता यहीको विकास चाहने रहेछन्। 

त्यसैले म बाटो विकासमा लागेको छु। ट्रयाक खोलेको ठाउँमा पिच गर्ने।

खेतीयोग्य जमिनमा सिचाइँ पुराउने योजना बनाएको छु।

यहाँ कतिपय ठाउँमा खानेपानीकै अभाव छ भन्छन् नि?


कतिपय ठाउँमा खानेपानीको समस्या पनि छन्। त्यस्ता ठाउँमा २ वर्षमा पानी पुराउँछौं। डाँडामा ठुलो पोखरी खन्ने हाम्रो योजना छ। यसले वर्खाको पानी जम्मा हुनेछ र पानी नभएको ठाउँमा मुल रसाउने छ भन्ने हामीले सोचेका छौं।

प्रकाशित मिति ७ मंसिर २०७४

लेखक नेत्र तामाङ

स्रोत पहिलोपोस्ट

फोटो : लेखक

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...