Sunday, July 16, 2023


सिन्धुपाल्चोक : पूर्व सञ्चार मन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धी हुन्। मंसिर १० अर्थात् मतदानको दिन नजिकिंदै गर्दा उक्त क्षेत्रमा चुनावी माहोल तातिएको देखिन्छ। साेमबार यही मेसोमा हामी पुग्दा उक्त क्षेत्रमा देखिएका पाँच रोचक दृश्यः


बाह्रबिसेमा वामपन्थी युवा फोर्स

नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने विषय निकै चर्चित रह्यो। यस क्षेत्रमा पनि वामपन्थी तालमेलबाटै प्रतिनिधि सभामा माओवादीबाट अग्नि सापकोटा र प्रदेश सभामा दुवै एमालेका उम्मेदवार रहेका छन्। 


बाह्रबिसेमा वामपन्थीको आमसभा राखिएको थियो। उक्त कार्यक्रमका लागि वामपन्थी कार्यक्रममा पहिलोपल्ट वामपन्थी युवा फोर्स लेखिएको ट्रयाक लगाएका राता युवकहरुको फोर्स देखिए। वाइसिएलको कडा विरोधमा उत्रेर युथ फोर्स निर्माण गरेका एमाले अहिले संयुक्त फोर्स बनाएको देखियो। 


कांग्रेसको गढमा वामपन्थीको शक्ति प्रदर्शन


बाह्रबिसे बजारलाई कांग्रेसको गढ मानिन्छ। उक्त क्षेत्रमा वाम गठबन्धनले कार्यक्रम राखी कांग्रेसविरुद्ध धावा बोलेको दृश्य रोचक देखिन्थ्यो। कांग्रेसको निर्वाचन क्षेत्र नम्बर १ कार्यालय अगाडि नै उक्त कार्यक्रम राखिएको थियो। कार्यक्रममा वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटाले कांग्रेसका उम्मेदवार मोहन बस्नेतलाई ‘गुण्डा’को आरोप लगाइरहँदा कांग्रेस कार्यालयमा रहेकाहरु भने हाँसिरहेका देखिन्थे।

जुरे पहिरोले पुरिएका घरमा कांग्रेसको झन्डा


जुरे पहिरोले गर्दा यस क्षेत्रका केही घर नष्ट भएका थिए। पहिरोले बनाएको कृत्रिम ताल खुलेपछि ती घर नदी छेवैमा जीर्ण अवस्थामा देखिन्छन्। ती घरहरुमा कांग्रेसका झन्डा फरफराइरहेको थियो। यस्तै प्रदेश सभाका उम्मेदवार राजेन्द्र श्रेष्ठको घरमा पनि पहिरोले क्षति पुर्‍याएको थियो। क्षति पुगेको उनको घरमा पनि कांग्रेसको झन्डाले झकिझकाउ पारिएको छ।

एमाले उम्मेदवारको घर अगाडि कांग्रेसको चुनावी सभा


सुनकोशीस्थित पाँग्रेटारमा रहेको सुनकोशी क्याम्पसमा कांग्रेसले चुनावी सभा राख्यो। एमालेले प्रदेश सभाको उम्मेदवार बनाएका दुबै नेता सरेश नेपाल र अरुण नेपालको घर यही नजिकै रहेको छ। सोही क्षेत्रका मतदाता रिझाउन कांग्रेसले उक्त क्याम्पसमा कार्यक्रम आयोजना गरेको जानकारी दियो। सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतले सम्बोधन गरेको यो कार्यक्रममा गाउँका भने थोरैमात्र सहभागी थिए। 

बाह्रबिसेमा ट्राफिक जाम

तातोपानी नाका बन्द भएयता सामान्यतया बाह्रबिसेमा ट्राफिक जाम हुँदैन। तर, आइतबार भने ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे परेको थियो। वामपन्थीको आमसभामा शक्ति प्रदर्शनका लागि विभिन्न स्थानबाट आइपुगेका बस, मोटरबाइक व्यवस्थापनका लागि प्रहरी खटिएका थिए। 

प्रकाशित मिति २८ कात्तिक २०७४
लेखक नेत्र तामाङ

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...