Thursday, July 20, 2023

बधाई कार्यक्रममा आएनन् प्रचण्ड, पठाए पराजित नेता नारायणकाजी


काठमाडौं :  बुधबार काठमाडौंबाट विजयी भएका वाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने जानकारी गराइएको थियो।


प्रमुख अतिथि एमाले अध्यक्ष ओली र विशेष अतिथि माओवादी अध्यक्ष प्रचण्ड हुने आयोजकले कार्यक्रम सुरु हुनसाथ जनाएको थियो।


तर, कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड भने आइपुगेनन्। कार्यक्रममा उनको सट्टा नारायणकाजी श्रेष्ठ आइपुगेको घोषणा गरियो।

किन आइपुगेनन् त प्रचण्ड ? कार्यकर्तामाझ खासखुस चल्यो।


‘माओवादीले एक सिट पनि नजितेको ठाउँमा कहाँ आउँछन् प्रचण्ड?, बरु नारायणकाजी पठाएर ठिकै गरेछन्। हारेको ठाउँमा हारेकै नेता,’ एक कार्यकर्ताले  त्यति खुसुक्क के भनेका थिए। एकैछिन हाँसो फैलियो।


काठमाडौंका १० क्षेत्रमध्ये एमालेले ६ क्षेत्र र २० प्रदेशमध्ये १६ प्रदेशमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बाँकी सबैमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। माओवादीले भने कुनै सिट जित्न सकेन।


कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत भनाइ रखेपछि पालो माओवादी नेता श्रेष्ठले नै पाए।


श्रेष्ठले जनमत वाम गठबन्धनकै पक्षमा आएकोले वैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीलाई नेपाल फर्काउन सकेमात्र वाम गठबन्धनको विजयी सार्थक हुने बताए।


त्यसैगरी उनले तीन विषयमा वाम गठबन्धन चुक्न नहुने र चाँडै एकीकृत कम्युनिस्ट पार्टीको ब्यानरमा कार्यक्रम आयोजना गर्नुपर्ने राय राखे।

भने,‘हामीले तीन कुरामा चुक्नै हुँदैन, राष्ट्रिय स्वाधीनताका विषयमा चुक्न हुदैन। नेपालमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ। नयाँ नेपाल बनाउन घोषणापत्र अनुसार काम गर्नुपर्छ।’


कार्यक्रमको अन्त्यमा एमाले अध्यक्ष ओलीले प्रचण्ड धुलिखेलमा नगर्इ नहुने भएकाले यस कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराए। 

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :५ पुष २०७४

अरु नेता छैनन्, अब कांग्रेसमा मेरो नेतृत्व : प्रकाशमान

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष नतिजामा नेपाली कांग्रेस कमजोर सावित भएको छ। प्रत्यक्षतर्फ ७० सिटको दावी गरेको कांग्रेस २३ सिटमा समेटियो। कांग्रेसका हस्तीहरु पनि चुनावमा हारे। कांग्रेस किन यति कमजोर भयो त? कांग्रेस के मा चुक्यो? कांग्रेस नेता प्रकाशमान सिंहसँग नेत्र तामाङले गरेको कुराकानीः 

जनमत तपाईको पक्षमा छैनन् भन्ने समीक्षा थियो। तर, मुस्किलले भए पनि जित निकाल्नु भयो होइन?

समीक्षकहरुले चुनावको प्रचारमा समयमा जुन किसिमले कभरेज गरे, त्यो ‘ग्राउन्ड रियालिटी’भन्दा टाढा बसेर गरेका थिए। यसबारे मैले निर्वाचन अघि नै पटक पटक भनेकै थिएँ। लामखुट्टे झुलबाहिर बसेर कराएर झुल भित्रको मान्छेलाई टोक्न सक्छ? झुलबाहिर बसेर कराएर के काम? समीक्षकहरु त्यस्तै भए। प्रलोभनमा लागेर, हाहामा लागेर लेखेर कहाँ हुन्छ? जतिसुकै शक्ति लागे पनि त्यसरी कराएर केही भयो त? सत्यको जित त भयो नि। कांग्रेसको पक्षमा, प्रकाशमानको पक्षमा मान्छे रहेछ भन्ने देखियो नि। दुई दुईवटा निर्वाचनमा त्यसै जिताएको होइन रहेछ नि जनताले। यो कुरा त प्रमाणित भयो नि।

तर, तपाईंलाई नयाँ पार्टीले नै अाच्छुअाच्छु बनाइदियो त?

त्यसै चुनिनुभन्दा प्रतिस्पर्धा गरेर जित्नुमा बेग्लै मजा हुन्छ। कोही कम्पिटिसनमा नआए त मजै आउँदैन नि त। नयाँ पार्टीसँग पनि प्रतिस्पर्धा रोचक रह्यो। त्यसैमा यसपालि मलाई एकदम मजा आयो।  ग्राउन्ड रियालिटीमा त मन पराउने हामीलाई नै रहेछ। सामाजिक सञ्जालमा झ्याली पिट्दैमा केही नहुने रहेछ।

यसपटक पनि आफूले आफैलाई भोट हाल्न पाउनुभएन। कस्तो लाग्दोरहेछ?

मैले यसअघि पनि आफू जन्मेको ठाउँबाट भोट हाल्दै आएको छु। आफ्नो भोट, परिवारको भोटको आधारमा राजनीति गरेको छैन मैले। परिवारको भोटले जित्छ भन्ने छैन। गएको दुईवटा निर्वाचनमा पनि मैले आफूलाई भोट हालिनँ। संविधानको पालना गर्नुपर्छ, आफूलाई भोट हाल्न नपाएकोमा केही छैन। 

तपाईं जित्दै गर्दा कांग्रेस त हार्‍यो नि?

कांग्रेस अनपपुलर पार्टी हैन। पार्टीलाई जुन तवरले हाँकिरहेको छ, सरकारमा रहँदा जनभावना अनुसार काम गर्नुपर्ने थियो, त्यो नगरेकोले यस्तो भएको हो।  


पार्टीमा विशेष गरी १३ औं महाधिवेशनमा आएका नेताहरु, विशेष गरी पदाधिकारीले पार्टीलाई जुन रुपमा सांगठानिक रुपमा र वैचारिक रुपमा जनमानसमा लोकप्रिय हुने गरी हाँक्नुपर्ने हो, त्यो गर्न सकेनन्। १३ औं महाधिवेशन भएको दुई वर्ष हुन लागिसक्यो। न पार्टी नेतृत्वले महासमिति बोलाएको छ, न केन्द्रीय कार्यसमिति पदपूर्ति हुन सकेको छ। न कुनै विभाग बनाएको छ। पार्टीलाई त टोटल्ली गतिहीन अवस्थामा छाडिएको छ। न संरचना पूरा गरेको छ। न संगठनका गतिविधि अगाडि बढेको छ। केही नगरिकन त्यसै बसेको छ। 


उम्मेदवार चयनमा पनि प्रजातान्त्रिक विधिलाई ख्याल नगरी, स्थानीय लोकप्रियता र आम कार्यकर्ताको भावनालाई ख्याल नगरेकाले प्रत्यक्षमा नतिजा यस्तो भयो। 

कांग्रेसको पराजयमा जिम्मेवार को त?

यसको नैतिक जस अपजस पार्टी सभापतिले लिनुपर्छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार जसको नेतृत्वमा चुनावमा जाँदा निर्वाचनमा हार हुन्छ, उनीहरुले राजीनामा गर्ने चलन छ। गर्ने नगर्ने उहाँको कुरा हो। 

देउवाले छाडेमा सभापतिको दाबेदार को त? पौडेल र सिटौला पनि पराजित हुनुभयो?

म पनि उप-सभापतिसम्म भएसकेकै मान्छे हुँ। महामन्त्रीमा पनि निर्वाचित भइसकेको मान्छे। वर्किङ कमिटीमा बसेको मान्छेमध्ये सबैभन्दा पुरानो पनि मै हुँ। संसदमा उपनेता भइसकेँ, उपप्रधानमन्त्री पनि भइसकेँ,अरु नेता पनि छैनन् नि हैन? हुने को त? अरु खोई?

त्यसो भए चाँडै नै विशेष महाधिवेशन हुन्छ?

विशेष महाधिवेशन आवश्यक छ। निर्वाचनले रिफर्मको आदेश दिएको छ। कार्यकर्ताले चाहेअनुसार अघि बढ्नुपर्छ। पार्टीलाई सुधार गर्नुपर्छ। नेतृत्व परिवर्तन आवश्यक देखिसक्यो। प्रजातान्त्रिक अभ्यासबाटै हामी पार्टीलाई सुधारेर व्यक्ति इन्ट्रेस्ट भन्दा पार्टी र प्रजातन्त्रको इन्ट्रेस्टअनुसार अघि बढ्नुपर्छ।

वाम गठबन्धनको बहुमत आइसकेको छ, देउवाले राजीनामा दिन्न भन्नुहुन्छ?

म्यान्डेटमा कांग्रेसलाई अपोजिसनमा बस भनेको छ। संविधानअनुसार ह्यान्डओभर गरिहाल्छ नि। निर्वाचन त कांग्रेसले नै सम्पन्न गरेकै हो। सत्तामै बसिरहन्छ भन्ने कुरा छैन नि। टेकओभर हैन ह्यान्डओभर गर्ने हो नि। संविधानत: ह्यान्डओभर गरिहाल्छ। अहिले नै सरकार छाड्नुपर्ने कुरामा कांग्रेसलाई हतारो छैन।

अब त कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भयो, यो अवधिमा के गर्छ त कांग्रेसले?

पाँच वर्षमा पार्टीलाई सांगठनिक तवरले सुधार गरी सशक्त बनाउन लाग्नुपर्छ। लोकप्रिय पार्टी हो, जेठो पार्टी पनि हो। हामी नम्बर वान पार्टी बनाउन लाग्छौं। अरु कुरा जिम्मेवार प्रतिपक्षमा बनेर जनताको सेवामा लाग्छ।


जनता सुशासन चाहन्छन्। ढिलासुस्ती, भ्रष्टाचार बढेको छ। नेताहरुमा आचरण, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्यो। नयाँ संवधिानअनुसार मौलिक अधिकारहरु चाँडोभन्दा चाँडो जनतासम्म पुर्याउनुपर्यो। विकास निर्माणको काम सीमित व्यक्तिमा मात्र राख्नुभएन। यस्ता विषयमा हामी एकदम चनाखो भई सरकालाई झक्झकाउने काम गर्छौ।

एमालेको पनि बहुमत त पुगेको छैन। यस्तो अवस्थामा कांग्रेसले सरकारको नेतृत्व पनि दाबी गर्छ कि?

अहिले अपोजिसनमै बस्नुपर्छ। जनताको मत नै यही छ। सरकारले राम्रो काम गर्दै गएमा हामी समर्थन गर्छौ। जिम्मेवार प्रतिपक्षमा बस्छौं। संविधानविपरित काम गर्न खोजेमा हामी आफ्नो आफ्नो धर्म निभाउनै पर्छ। त्यो भनेको आन्दोलनसम्मका कुराहरु हुनसक्छ।

पार्टी पुनर्संरचनाको कुरा छ। नयाँ पुस्तालाई कसरी समेट्नुहुन्छ?

कांग्रेस सबैभन्दा पुरानो पार्टी हो। त्यसैले यहाँ पुराना पुस्ता पनि छन्। नयाँ पुस्ता पनि आइरहेकै छन्। नयाँ पुस्ता आएकाले पार्टी जिवन्त भएको हो। नयाँ पुस्तालाई ठाउँ दिन नेतृत्वमा विकास गर्नुपर्ने हुन्छ। नेतालाई रिझाउने तर जनता र मतदातामाझ चै केही नगन्ने ट्रेन्ड पार्टीमा आएको छ। नेतालाई मात्र मान्ने लाइन पार्टीमा चलेको छ। यो ज्यादै नै नराम्रो ट्रेन्ड हो। यसले गर्दा शर्मानक हार हुने नेताहरु देखिए। यस्ता नक्कली नेताहरु छन् यहाँ। यसमा ध्यान दिनुपर्ने हुन्छ। करेक्सन गर्नुपर्छ। जनतामाझ लोकप्रिय काम गर्ने नेता छान्नुपर्‍यो।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :३ पुष २०७४

प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

काठमाडौं : प्रदेश नम्बर ३ तामाङ जातिको बाहुल्यता रहेको प्रदेश। जातीय बाहुल्यताकै कारण प्रदेशको नाम नै ताम्सालिङ राख्नुपर्ने माग पुरानै हो। माओवादीले सुरुदेखि नै प्रदेशको नाममा जातीय पहिचान खोजेपछि चर्केको विवादले अहिलेसम्म कुनै पनि प्रदेशको नामाकरण हुन सकेको छैन। प्रदेशको नाम निर्वाचित प्रदेश सभाले नै गर्नेछ।


अहिले भने निर्वाचनबाट चुनिएका तामाङ प्रतिनिधिबारे चर्चा गरौं। प्रदेश ३ को जनसंख्या हेरौं, तामाङको उपस्थिति अन्य जातिको भन्दा बाक्लो रहेको छ। यही प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य भने तामाङ प्रतिनिधि कम मात्रमा निर्वाचित भए। 


प्रदेश ३ मा प्रतिनिधि सभामा प्रत्यक्षबाट ३३ र प्रदेश सभामा ६६ जना सदस्य निर्वाचित भइसकेका छन्। यसमध्येमा प्रतिनिधि सभामा  ३ जना र प्रदेश सभामा ७ सदस्य मात्र तामाङ निर्वाचित भएका छन्।


प्रदेश ३ मा तामाङको उपस्थिति कति?

प्रदेश ३ मा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर रहेको छ। चितवन, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा तामाङहरूको बाक्लो बसोबास रहेको छ।


२०६८ को जनगणनाअनुसार रसुवामा ६८.७८, मकवानपुर ४७.८, नुवाकोट ४२.८४, सिन्धुपाल्चोक ३४.४२, काभ्रे ३४.०१, सिन्धुलीमा २६.९, धादिङमा २२.०९, दोलखामा १८.८ र रामेछापमा १९.२ प्रतिशत तामाङ बसोबास गर्छन्। 


काठमाडौंमा ११, भक्तपुरमा १४.२ र ललितपुरमा १३.१ प्रतिशत तामाङ छन्। 


जनगणनाअनुसार प्रदेश नम्बर ३ मा तामाङको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ रहेको छ। यहाँ तामाङ जातिको उपस्थिति २०.४२ प्रतिशत रहेको छ। दोस्रोमा पहाडी बाहुन १८.२८ प्रतिशत, तेस्रोमा क्षेत्री १७.२८ र चौथोमा नेवार १६.९२ रहेका छन्। 


यसरी हेर्दा यो निर्वाचनबाट प्रतिनिधि सभामा ९ प्रतिशत र प्रदेश सभामा १० प्रतिशतमात्र तामाङ प्रतिनिधित्व भएको देखिन्छ।

कुन जिल्लाबाट को आए?

३४ प्रतिशत तामाङ रहेको काभ्रेबाट प्रतिनिधि सभामा काभ्रे १ बाट माओवादी केन्द्रका गंगाबहादुर तामाङ निर्वाचित भएका छन्। उनले कांग्रेसबाट तामाङ नै प्रतिद्वन्द्वी पाएका थिए।  कांग्रेसका तीर्थबहादुर तामाङलाई पराजित गर्दै गंगाबहादुर निर्वाचित भएका हुन्। २ क्षेत्र यस जिल्लाबाट क्षेत्र नं १ को प्रदेश सभा १ बाट एमालेका चन्द्र लामा निर्वाचित भएका छन्। उनले कांग्रेसबाट गणेश लामा प्रतिद्वन्द्वी पाएका थिए।


सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका शेरबहादुर तामाङ निर्वाचित भएका छन्। लोकतान्त्रिक गठबन्धनबाट हेभिवेट मानिएका राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई पराजित गर्दै तामाङ विजयी हुन् । क्षेत्र २ रहेको यस जिल्लामा ३४.४२ प्रतिशत तामाङ छन्। यद्यापि प्रदेशमा भने कुनै सदस्य तामाङको पक्षमा आएन।


झन्डै ४३ प्रतिशत तामाङ रहेको नुवाकोटमा २ क्षेत्र रहेको छ। यहाँको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र हितबहादुर तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। तामाङले कांग्रेसका डा रामशरण महतलाई पराजित गरेका हुन्। चारवटा प्रदेशसभा रहेको यस जिल्लाको क्षेत्र नं १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकी राधिका तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन्।


मकवानपुरमा ४७.८ प्रतिशत तामाङ बसोबास गर्छन्। यहाँबाट २ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकी कुमारी मोक्तान प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन्।


६८ प्रतिशत तामाङ रहेको रसुवाबाट प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। प्रदेशतर्फ प्रदेश सभा १ बाट कांग्रेसका प्रभात तामाङ, प्रदेश सभा २ बाट नयाँ शक्तिका प्रेमबहादुर तामाङ निर्वाचित भएका छन्।

यसैगरी चितवन क्षेत्र नं १ को प्रदेश सभा १ बाट एमालेका दावादोर्जे लामा र काठमाडौं क्षेत्र नं ३ को प्रदेश सभा १ बाट कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित भए।

उम्मेदवारीमै कमजोर उपस्थिति

जातीय उपस्थितिको आधारमा प्रतिनिधि सभामा कम्तीमा पनि ६ जनाले प्रत्यक्षमा जित हासिल गर्नुपर्ने हो। तर यस प्रदेशमा ६ जनाले मात्र उम्मेदवारी दिए। निर्वाचित बाहेक रामेछापबाट पूर्ण तामाङ, काभ्रे १ बाट तीर्थबहादुर तामाङ र धादिङ १ बाट दिलमान पाख्रिन तामाङले उमेदवारी दिएका थिए। तीनै जना कांग्रेसका उमेदवार पराजित भए। 


प्रदेश सभामा कम्तिमा पनि १३ जना आउनुपर्ने थियो। प्रदेश सभामा १९ जनाको मात्र उम्मेदवारी परेको थियो। प्रदेशमा ७ जना निर्वाचित भए। यसरी निर्वाचित हुनेमा माओवादीबाट २, एमालेबाट २, कांग्रेसबाट २ र नयाँ शक्तिबाट एक जना रहेका छन्।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २९ मंसिर २०७४

देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट


काठमाडौं:
प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा ७० सिटसहित  बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। सवैभन्दा रोचक पक्ष त के रह्यो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन।


अनौपचारिक रुपमा धनुषाको जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका थिए देउवाले। धनुषामा विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई जिताउन उनी त्यता पुगेका थिए। तर निर्वाचन परिणाम निधिको पक्षमा आएन।


औपचारक रुपमा चुनावी सभालाई सम्वोधन गर्न कात्तिक २५ गते शनिबार देउवा पूर्वी जिल्ला ताप्लेजुङ पुगे। त्यही ताप्लेजुङमा केशवप्रसाद दाहाल एमालेका योगेश भट्टराईसँग झन्डै दोब्बर मतले पराजित भए।


सोही दिन पाँचथर र सोलुखुम्बु पनि पुगेका थिए देउवा। दुवै क्षेत्रमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका सवै सिट गुमायो।


पूर्वबाट देउवा लागे पश्चिम। कातिक २८ मा उनी पत्नी आरजुको चुनावी मैदानमा पुगे। आरजु पनि एमालेका नारदमुनि रानासँग पराजित भइसकेकी छन्। जुन क्षेत्र यसअघि देउवाले जित्दै आएका थिए। तुलनात्मक रुपमा सुरक्षित सिट पनि कांग्रेसले जोगाउन सकेन।


त्यसपछि देउवा कात्तिक ३० गते गृह जिल्ला डडेलधुरा पुगे। चुनावी सभामा सहभागी भए। प्रदेश ७ मा एकमात्र प्रतिनिधिसभाको सिट डडेलधुरा मात्र हो। प्रदेश ६ मा हुम्ला प्रदेशसभा ख'मा बाहेक अन्यत्र कांग्रेसमुक्त क्षेत्र बनेको छ।


मंसिर १ मा उनी बैतडीको मेलौली र दार्चुलाको लाटीनाथ पुगे। दुवै जिल्लाबाट कुनै सिट आएन कांग्रेसलाई।


मंसिर २ मा देउवा गृहजिल्लामै फर्के। डडेलधुराकै नवदुर्गा गाउँपालिकामा सभापछि बाजुराको गन्यापधुरा पुगे। बाजुरामा पनि कांग्रेसलाई हात लाग्यो शुन्य मात्र भयो।


त्यसपछि देउवा मंसिर ७ गते रोल्पाको लिवाङ, रुकुमको टक्सेरा र कालिकोट पुगे। तीनै जिल्लाको नतिजा कांग्रेसको पक्षमा आएन।


मंसिर ९ मा देउवा पाल्पाको रामपुर पुगे। मुजुङ पनि पुगे। रुपेन्देहीको देवदह, बुटवल पुगे। पाल्पा, रुपेन्देहीले पनि देउवालाई पत्याएन। त्यही दिन नवलपरासीको सुनुवाल पुगे। उक्त क्षेत्रमा नवलपरासी पश्चिम २ बाट भने कांग्रेसका देवेन्द्रराज कँडेल विजयी भए। प्रदेश २ को २ बाट कांग्रेसकै वैजनाथ कलवर विजयी भए।


मंसिर ११ मा सप्तरी पुगे। ४ क्षेत्र रहेको सप्तरीमा कांग्रेसका उमेदवार तेजुलाल चौधरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भए।


मंसिर ११ मै देउवा झापाको गौरादह र तेह्रथुमको म्याङलुङ पुगेका थिए। दुवै जिल्लाबाट कांग्रेसको पक्षमा निराशाजनक नतिजा आयो। झापाबाट कृष्णप्रसाद सिटौलासमेत निर्वाचित भएनन् भने तेह्रथुमबाट राज्यमन्त्री सीता गुरुङ पनि पराजित भइन्।


मंसिर १२ मा देउवा दाङको तुलसीपुर पुगे। दाङले पनि कांग्रेसलाई पत्याएन। उक्त दिन तनहुँको मिर्लुङ पुगे देउवा। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यही चुनावी मैदानमा थिए। पौडेल यसपटक सांसद बन्न सकेनन्। देउवा सोही दिन रुपेन्देहीमा पुगे। उक्त जिल्लाबाट पनि कांग्रेसको पक्षमा नतिजा आउन सकेन। त्यही दिन देउवा कपिलवस्तु पनि पुगे। कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी भए।


मंसिर १२ मा कास्कीको पोखरा पुगे। ३ क्षेत्र रहेको कास्कीबाट एउटा प्रदेश सभा सदस्यबाहेक कुनै पनि पद कांग्रेसले जित्न सकेन। सोही दिन स्याङ्जाको वालिङ पुगे देउवा। सोही क्षेत्रको मैदानमा उपप्रधानमन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ थिए। श्रेष्ठलाई एमालेकी पद्मकुमारी अर्यालले तीन हजारभन्दा बढी मतले पराजित गरिदिइन्।


देउवा मंसिर १४ मा पर्साको वीरगन्ज पुगे। पर्साबाट पनि कांग्रेसको पक्षमा कुनै सिट आएन।  उनी सोही दिन सर्लाही, सप्तरी, सिराहा र मकवानपुरको थाहा नगर पुगे। सर्लाही, सप्तरी, सिराहाबाट एक/एक सिट प्रतिनिधिसभा सदस्यमा विजयी भए।


मकवानपुर १ मा कांग्रेसले राप्रपा अध्यक्ष कमल थापालाई लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनाएको थियो भने २ मा महालक्ष्मी उपाध्याय डिना। दुवै पराजित भए। पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ प्रदेशसभा सदस्यमा विजयी भए। यतिमै चित्त बुझाउनुपर्‍यो मकवानपुरमा।


मंसिर १५ मा देउवा फेरि कैलाली पुगे। ५ क्षेत्र रहेको कैलालीबाट प्रदेश सभामा २ सदस्यमात्र कांग्रेसको भागमा आयो।


देउवा डोटी र अछाम पनि पुगे। नतिजा पराजयकै आयो।


देउवा मंसिर १६ मा कञ्चनपुरको भीमदत्त नगर पुगे। तीन क्षेत्र रहेको यस जिल्लामा रमेश लेखकजस्ता चर्चित नेता पनि निर्वाचित हुन सकेनन्। प्रदेशसभामा पनि कुनै सदस्य कांग्रेसबाट विजयी भएनन्।


मंसिर १७ र १८ मा डडेलधुरामै खटे। आफ्नो चुनावी माहोल बनाए। चुनावी अभियानमा देउवा गृह जिल्लाबाहेक ३० जिल्ला पुगे। गृह जिल्लामा झन्डै एकहप्ता विताएर आफ्नो जित सुनिश्चित गरे। परिणाम उनको पक्षमा आयो पनि। 


तर, अन्य जिल्लाका मतदाता देउवाप्रति आकर्षित भएनन्। गृह जिल्लाबाहेक देउवा पुगेका पाँच जिल्लाबाट १-१ सिटमात्र कांग्रेसको पक्षमा आयो।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :२७ मंसिर २०७४

यसरी पन्छाइए देउवा, ओली र प्रचण्डका ‘सेकेन्ड म्यान’ - २०७४

 प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक हेभिवेटहरुको भिडन्त रोचक बन्यो। कतिपय हेभिवेटले हार व्यहोरे। 


यसमध्येमा पनि ठूला तीन पार्टीका ‘सेकेन्डम्यान’ले जित हासिल गर्न सकेनन्। जुन हारमा हरेकले चासो लिएका छन्। पार्टीमा मात्र नभर्इ जनतामाझसमेत लोकप्रिय रहेका यी सेकेन्ड म्यानहरु किन पन्छाइए त ? 


कांग्रेस वरिष्ठ नेता पौडेल पाखामा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त


नहुँ क्षेत्र नम्बर १ मा चुनावी प्रचारमा ‘भावी प्रधानमन्त्री’का रुपमा प्रस्तुत भएका थिए।


प्रधानमन्त्री बन्नका लागि १७ पटक मैदानमा उत्रेका नेताका रुपमा चर्चित पौडेलको एउटै चाहना प्रधानमन्त्री बन्ने रहेको त्यही बेलादेखिको उनको प्रयासले दर्शाउँथ्यो।


तनहुँलाई प्रधानमन्त्रीको जिल्ला बनाउने आकांक्षाकासाथ चुनावी मैदानमा उत्रेका पौडेल पार्टीको वागडोर सम्हाल्ने इच्छा पनि दबाएरै बसेका थिए। बेलाबेला पार्टी सभापति शेरबहादुर देउवालाई घुक्र्याउँथे । पार्टीका अन्य नेताहरु पनि पौडेललाई एकपटक ‘चान्स’ दिनुपर्ने पक्षमा थिए।


प्रधानमन्त्री बन्न निर्वाचन जित्नु आवश्यक थियो। तर, पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएसँगै पाँच वर्षसम्म उनको यो सपना थाती रहने भयो।


निर्वाचनमा पराजित भएसँगै पार्टीमा पनि ‘प्वाइन्ट’ घट्यो। यसले पार्टीमा बागडोर सम्हाल्ने ‘माइनस’ भइदियो। २०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतले पराजित गरेकाले अबका दिनमा पौडेलले पार्टीमा आफ्नो मतलाई जोडदारका साथ प्रस्तुत गर्न सक्ने छैनन्।


उम्मेदवारी दर्ताकै दिन गोविन्दराज जोशी तगारोका रुपमा प्रस्तुत भएका थिए उनीविरुद्ध। वैधानिक रुपमा जोशी कमजोर रहेकाले त्यतिबेला पौडेलविरुद्ध आइपरेको अनिष्ट टरेको थियो। तर, पनि पौडेलले आफूलाई पार लगाउन पाएनन्। पाखामै परे। पार्टी सभापतिका लागि किचकिच गरिरहने र भावी दिनमा प्रधानमन्त्रीमै पनि दाबी गर्न सक्ने सम्भावना देखेपछि पार्टीको माथिल्लो निकाय नै उनलाई हराउन लागेको कांग्रेस वृत्तमा चर्चा चल्न थालेको छ।


पौडेल पाखा लागेसँगै पार्टीमा देउवाको वर्चश्व बढ्ने देखिन्छ। पौडेलको घुर्कीलाई अब वेवास्ता गर्न चुनावमा हारेका नेता भनेर पन्छिन देउवालाई गतिलो हतियार बनेको छ।


यता नेपाली कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि पराजित भएका छन्। १३ औं महाधिवेशनमा सभापतिका दाबेदार रहेका सिटौला राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनसँग १३ हजार ४४३ मतान्तरले हारे।


 समानुपातिक सूचीमा नाम अटाइसकेका सिटौलालाई लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनाव लड्ने घोषणा गरिसकेका लिङ्देनसँग चुनावी मैदानमा लडाए। उनी निर्वाचनमा लड्दा पार्टीमा पनि उठ्न गाह्रै हुने गरी लडे। पार्टीमा अब उनको प्रभाव कमजोर हुने देखिन्छ।


यसपटक आफ्नो पक्षको भनिएका धेरैले न त प्रत्यक्षमा टिकट पाए न त समानुपातिक सूचीमा नै। समानुपातिकमा अटाएका आफैं पनि प्रत्यक्षमा भिडेर चोट खाए।


पौडेल र सिटौलाको हारले पार्टी सभापति शेरबहादुर देउवालाई बढार्नुपर्ने कसिङ्गर हावाले उडाएजस्तो भएको छ। आगामी दिनमा पार्टीमा नेतृत्व गर्छु भनेर अघि आउने नेता नभएकाले देउवालाई हाइसन्चो हुने पक्का भएको छ।

अाेलीले अाफ्नाे हाइटमा अाउनबाट राेके बामदेवलाई 

बामदेव गौतम एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य र उमेरलाई ख्याल गर्दै अब पार्टीमा उनको खाँचो रहेको धेरै नेताले चर्चा चलाउन थालेका थिए।


एमाले वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालले पार्टीको नेतृत्व गरिसके। प्रधानमन्त्री पनि भइसके। अध्यक्ष ओली पनि प्रधानमन्त्री भइसकेका छन्।


यस्तो अवस्थामा कम्युनिस्टहरु एक हुनुपर्छ भन्दै वामपन्थी गठबन्धन गराउन सक्रिय भएका बामदेव वामपन्थीको बहुमत आउँदा प्रधानमन्त्रीका बलिया दाबेदार हुने थिए। 


तर, निर्वाचनमा उनी सञ्चार राज्यमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भए। बार्दिया १ मा चुनावी मैदानमा रहेका बामदेवलाई ७५३ मतले पछि पार्दै सञ्जय विजयी भएका हुन्।


यसपटकको वाम गठबन्धनको वातावरण बामदेवकै नेतृत्वमा  तयार भएको थियो। उनी सुत्रधार बनेकै कारण अरु पार्टीका नेता दशैंको टीका थाप्दै गर्दा ‘सरप्राइज’ रुपमा वाम गठबन्धन भयो।


वाम गठबन्धनका नेताहरुको जित चूनौतीकै रुपमा लिइरहेको बेला निर्वाचन परिणाम वाम गठबन्धनकै पक्षमा आयो। हारको सूचीमा सुचिकृत रहेका कतिपय एमाले उम्मेदवार जित्दै गर्दा बामदेव आफैं भने बार्दियाबाट हारले शिर झुकाएर काठमाडौं फर्कनुपर्यो।


बामदेव विजयी भएका भए यसपटक सरकारमा मात्र हैन पार्टीकै नेतृत्वमा आउन सक्थे। प्रधानमन्त्री जो पनि हुनसक्ने एमाले र माओवादी शीर्ष नेताको अनुमानकै कारण वाम गठबन्धनले दुर्इ तिहाइ बहुमत ल्याउने दाबी गर्दै गर्दा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई प्रस्तुत गरेको थिएन।


एमालेका सेकेन्ड म्यान कसरी साइड लगाईए त ? पार्टीमै गम्भीर समीक्षा गरिनुपर्ने विषय भएको एमालेका नेताहरुले बताउन थालेका छन्। एमाले अध्यक्ष ओलीको नेक टु नेक आइपुगेका गौतमलाई कमान्डर हुनबाट रोक्न पार्टी हाइकमान्डले नै उनको जित रोकेको विश्लेषण धुम्बराहीदेखि पेरिसडाँडासम्म चल्न थालिसकेको छ।

धोबिघाट बैठकको बदला नारायणकाजीसँग

गोरखा २ मा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेपछि पहिलोपोस्टसँग कुराकानी गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले श्रेष्ठलाई पार्टीले बलीको बोको बनाएको बताएका थिए।


धोबिघाट बैठकमा बाबुराम र मोहन वैद्यसँग नजिकिएका नारायणकाजीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ झस्केका थिए। 


उक्त बैठकलाई धोबिघाट काण्डका रुपमा चिनिदैं आएको छ। माओवादीमा पद बाँडफाँट नभएपछि तीनै नेताले प्रचण्डको पद खोस्ने धम्की दिएका थिए। त्यसपछि डराएका प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए। यता बाबुराम प्रचण्डको काखमा पसेपछि मोहन वैद्यले विप्लवलगायतका नेता आफ्नो साथमा लगेर ड्यास माओवादी गठन गरे।


उक्त बैठकमा धम्की दिने तीन मध्ये दुर्इ नेता प्रचण्डको किचेनबाट आउट भइसकेका छन्। दोस्रो संविधानसभा सकिनै लाग्दा बाबुराम पेरिसडाँडा छाडेर बबरमहल पुगे र नयाँ शक्ति खोलेर राजनीतिको नयाँ अध्याय सुरु गरे। अब बाँकी रहे नारायणकाजी।


पछिल्लोपटक माओवादीमा ‘सेकेन्ड म्यान’का रुपमा हेरिएका उनै नारायणकाजी गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुरामविरुद्ध उठाएर माओवादी अध्यक्ष प्रचण्डले धोबिघाट बैठकको बदला लिएको हुनसक्ने माओवादीकै कार्यकर्ताहरु दाबी गर्छन्। 

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २५ मंसिर २०७४


यी हुन् ह्याट्रिक जित गर्ने ११ नेता - २०७४

 काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने  क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्। 


क–कसले गरे त ह्याट्रिक ?


१. शेरबहादुर देउवा

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ह्याट्रिकको ईतिहास पहिले नै बनाइसकेका थिए। यसपटक देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन्। 


देउवा डडेल्धुरामा विसं २०४८ यताका सबै चुनाव जित्दै आएका छन्। देउवाले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जितेका थिए। 

२. डा.बाबुराम भट्टराई

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई पराजित गरे।


पूर्वप्रधानमन्त्री भट्टराई २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए भने दोस्रो संविधानसभाको निर्वाचनमा पनि यहीँबाट निर्वाचित भएका थिए।

३. झलनाथ खनाल

प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन्। 


खनालको यो पाँचौ जित हो। २०४८ देखि लगातार यस क्षेत्रबाट विजयी हुँदै आएका खनालले २०५६ मा भने ब्रेक पाएका थिए। पहिलो संविधानसभा र दोस्रो संविधानसभामा पनि खनाल यही क्षेत्रबाट विजयी भएका थिए।

४. प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह विजयी भए। यो उनको ह्याट्रिक जित हो। 


यसपटकको निर्वाचनमा सिंह प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट विजयी हुने पहिलो नेता बने। सिंह पहिलो संविधानसभाको निर्वाचनबाट लगातार विजयी हुदै आएका छन्।

५. सुवास नेम्वाङ

इलाम क्षेत्र नं २ मा पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ विजयी भएका छन्। २०५६ देखि नेम्वाङ यसक्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। 

६. कृष्णबहादुर महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा दाङ २ बाट निर्वाचित भएका छन्। महरा २०४८ मा रोल्पा २ बाट, २०६४ मा दाङ ३ बाट र २०७० मा रोल्पा १ बाट विजयी भएका थिए।

७. जनार्दन शर्मा

पश्चिम रुकुममा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भए। शर्मा २०६४ र २०७० मा पनि सांसद बनेका थिए।

८. उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। यादव पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट निर्वाचित भएका थिए भने दोस्रो संविधानसभामा सुनसरीबाट निर्वाचित भएका थिए।

९. रविन्द्र अधिकारी


कास्की क्षेत्र नं २ मा नेकपा एमालेका रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी भए। अधिकारीको यो विजय तेस्रोपटक हो । 

उनी यसै क्षेत्रबाट २०६४ मा र २०७० मा पनि विजयी भएका थिए।

१०. अभिशेकप्रताप शाह

नेपाली कांग्रेसका कपिलवस्तु ३ बाट अभिशेकप्रताप शाह निर्वाचित भएका छन्। शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २३ वर्षकै उमेरमा निर्वाचित भएका थिए। २०७० सालमा पनि फोरम नेपालबाटै निर्वाचित भएका शाह २०७४ सालमा फोरम नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

११. वृजेशकुमार गुप्ता

बृजेशकुमार गुप्ता कपिलवस्तु २ बाट निर्वाचित भएका छन्। ०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट जितेका गुप्ता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट सद्भावना पार्टीबाट जितेका थिए। यसपटक भने उनी एमालेको चिन्ह लिएर निर्वाचित भएका हुन्।

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २४ मंसिर २०७४

पशुपतिशमशेर किन पराजित? यस्ता छन् ह्याट्रिक हारका सात कारण


काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का केन्द्रीय अध्यक्ष पशुपतिशमशेर राणा ह्याट्रिक हारको पीडामा छन्। सिन्धुपाल्चोकमा राजनीतिक शरण लिन पुगेका राणाले झन्डै ३५ वर्ष हालीमुहाली गरेपनि गणतन्त्रपछि भने उनलाई पीडामाथि पीडा थपिएको छ।


धन, जन र मन लगाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राणालाई जिताउन यसपटक यहाँका कांग्रेसीले पनि काँध थापेकै हुन्। तर नतिजा चमत्कारिक हुन सकेन। ८ हजार २ सय मत अन्तरले राणालाई शेरबहादुर तामाङले हराए। 

मतका हिसाबले कमजोर भएपनि  राणाका सैद्धान्तिक कमजोरी पनि थिए। हेर्नुस् काठमाडौं बसेर सिन्धुपाल्चोकको राजनीति : पशुपति शम्शेर किन कमजोर?।  ती यसअघि राणालाई थाहै थियो। सायद ती कमजोरी सच्याउन राणालाई निर्वाचन आचारसंहिताले नदिएको हुनसक्छ अथवा उनले ती बुँदालाई बेवास्ता गरेका हुन सक्छ। आखिर उनी सुध्रेनन्। जनताले उनलाई धेरै अघिदेखि छामेका थिए। 

पैताला खियाउँदै महाराजगन्जको विजयवास धाएका जनता उनका मुटु र मगजसम्म पसेका थिए। विजयवासमा 'राजा सा'ब' र 'बाबु सा'ब' भन्दै ओइरिनेको संख्या बढ्दा पनि किन चुनाव हारे त राणाले?


यस्ता छन् कारण:


१)    चुनावका क्रममा राणाविरुद्ध फैलिएका अफवाह


यसपटक चुनावी प्रचारका क्रममा राणाविरुद्ध विभिन्न अफवाह फैलाइए। राणा आफै पनि सर्वसाधारणसँग घुलमिल हुन नसक्दा यस्ता आरोपलाई थप मलजल मिल्यो। 


राणाले हत्तपत्त सर्वसाधारणसँग हात मिलाउँदैनन्। यो उनको पुर्ख्यौली बानी हुन सक्छ। यद्यपि विपक्षीले भने राणा ग्लोब्स् अर्थात पन्जा लाएकासँग मात्र हात मिलाउँछन्। रोग संक्रमण र फोहोरबाट बच्न उनले यस्तो उपाय अपनाएको अफवाह फैलाउनेहरुको तर्क थियो।


उनीमाथि लागेको अर्को आरोप हो राणा जनताले दिएको पानी पिउँदैनन्। खाना खाँदैनन्। जनताले दिएको खानापानी नछुने नेता भनिदिएपछि उनीप्रति नकरात्मक भावना झन् बढ्यो।


खानामा मुटुकलेजो मात्र खान्छन्- यो उनीविरुद्ध फैलिएको अर्को अफवाह। राणा खानका सौखिन भएको र जुनसुकै मासु नखाने बरु मुटुकलेजो मात्र भुटभाट पारी खाने गर्छन् भन्ने अफवाह चलाइयो। यस्तै अफवाहले उनको केही मत घट्यो।

२)    पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई बेवास्ता

निर्वाचनका क्रममा धेरै वामपन्थी कार्यकर्ता राणासँग आकर्षित भएका थिए। त्यसैले धेरै कार्यकर्ताले राणाको हातबाट खादा र माला पनि लगाए। तर, कार्यकर्तालाई खादा र माला लगाउने राणाको शैली भने अस्वभाविक भेटिएको थियो। उनी पार्टी प्रवेश गर्ने कार्यकर्तालाई माला लगाउँदा टाढैबाट रिङ फाले झैँ फालेर लगाइदिन्थे। पार्टीमा आएका कार्यकर्तासँग हात मिलाउँदैन थिए। यसले आत्मीयता घटेर धेरैले उनलाई मत नदिएका हुनसक्छन्।

३)    छैनन् 'सक्सेसर'

राणा ठूलो पार्टीमध्ये एकका अध्यक्ष हुन्। सिन्धुपाल्चोक मात्र हैन देशकै चर्चित नेता हुन्। तर राणाका 'सक्सेसर' छैनन्। 'सक्सेसर' न त पार्टीमा छन् न जिल्लामा। आफूलाई सत्य सूचना उपलब्ध गराउने र कार्यकर्तासँग हरदम सम्पर्कमा रहने पुलको काम गर्ने 'सक्सेसर' वा सेकेन्डमेन खाँचो हुन्छ। त्यो नहुँदा राणाले चुनावी दौरानमै पनि सास्ती खेप्नुपर्‍यो। अफवाह त्यसै फैलियो। जसले गर्दा चुनावी परिणाम उनको पक्षमा आएन।


४)    आफ्नै नेताको असहयोग

यसपटक राप्रपाकै पूर्व जिल्ला अध्यक्ष दइन्द्रबहादुर ठकुरी स्वतन्त्रमा उठे। जिप चिन्ह लिएर यसै क्षेत्रको प्रदेश क मा चुनावी मैदानमा उत्रेका उनको सहयोग पाउन सकेनन् राणाले। ठकुरीले वाम गठबन्धनकै उम्मेदवारलाई सहयोग गरेको चर्चा चल्न थालेको छ।

५)    मतपत्रमा चुनाव चिह्नको अलमल

राप्रपाको चुनाव चिह्न हलो थियो। तर राप्रपा नेपालसित पार्टी एकीकरण भएपछि यो चिह्न कसैले पाएन। एकीकरण भइसकेको पार्टी राप्रपालाई फुटाएर राप्रपा प्रजातान्त्रिक भएपछि यसले गोलाकारभित्रको हलो चुनाव चिह्न पायो। राप्रपाबाटै प्रकाशचन्द्र लोहनीको नेतृत्वमा टुक्रिएको अर्को पार्टी राप्रपा राष्ट्रवादीले चारपटेभित्रको हलो चिह्न पायो। गोलाकार हलोकै ठिक मुनि यो चिन्ह राखेर विपक्षीले फाइदा उठाए।  यसबाट उम्मेदवार बनेका चन्द्रदत्त खतिवडाले कूल १३०८ मत पाए। उसो त खतिवडा राप्रपा राष्ट्रवादीका उम्मेदवार हुन्।  तर एमाले कार्यकर्ता भएको र राणाको भोट काट्न राष्ट्रवादी बनेर उम्मेदवारी दिएको एमालेकै कार्यकर्ता सुनाउँछन्। 

६)    युवालाई विश्वासमा लिन नसक्नु

सिन्धुपाल्चोकको २ र ३ क्षेत्रबाट कांग्रेसले कहिल्यै प्रतिनिधित्व गर्न पाएको छैन। यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसको मत सुधारोन्मुख थियो। हेलम्बु गाउँपालिका र ईन्द्रावती गाउँपालिकामा स्थानीय निर्वाचनमा कांग्रेसले प्रमुख लगायत धेरै पद हात पारेको थियो। फुटले गर्दा राप्रपाका धेरै कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेका थिए। 


यता वाम गठबन्धनलाई पनि कोदो र तोरीसँग तुलना गरिएको थियो। यी दुई मिसाउँदा न त पिठो राम्रो बन्थ्यो, न त तेल राम्रो। यसले कांग्रेसलाई फाइदा नै हुने थियो। प्रदेश उम्मेदवार चयन गर्दा पनि राणाकै दबाबमा काममा खटेका नेताहरु पन्छाइयो जसले गर्दा राणालाई ‘आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ जस्तै भइदियो।


राणाले हराउँदै आएका कान्छा लामा आफ्ना नातेदार निमा लामा (सिन्धुपाल्चोक २ प्रदेश खका उम्मेदवार) जिताउनका लागि भएपनि पशुपतिका नजिक भइदिए। राणाका लागि यो नै घात भइदियो। 

७)    थापाकाजीहरुको चलखेल

राणालाई विजेता हुन नदिनुको अर्को कारण रह्यो राप्रपा प्रजातान्त्रिककै थापाकाजी खलकको चलखेल। गृह राज्यमन्त्रीसमेत भइसकेका विष्णुविक्रम थापालाई पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा विजयी हुनबाट छेकेका थिए राणाले। 

त्यतिबेला राणाले माओवादीका अग्नि सापकोटालाई सहयोग गरे। उनी विजयी भए। दोस्रो संविधानमा पनि त्यस्तै भयो। 


त्यसैको बदला दोस्रो संविधानसभाको चुनावमा थापाले भाइ शम्भुविक्रम थापासँगै मिलेर लिए। राणा चुनाव हारे। यसपटक भने राणाले आफ्ना धेरै विपक्षीसित गला मिलाए। उनीहरुको काँध थापे। चुनावी योद्धाका रुपमा थापा खलकलाई आफ्नो विश्वासी चुने राणाले। यसले अरु कार्यकर्ता बिच्किए भने थापा खलकले भने पुरानो बदला लिन अझै बाँकी थियो। उनीहरु राणासँग रुष्ट थिए। र, हराउने अभियानमा सक्रिय भइदिए। 

जसअनुसार थापाले राणाको चुनावी ठेक्का लिए पनि युवा परिचालन नगरेको राप्रपाकै एक चुनावी संयोजकले थापामाथि आरोप लगाएका छन्। उनका अनुसार राणाबाट सहयोग पाउँदै आएको माओवादी पार्टीलाई यसपटक थापाहरुले सहयोग गरे जसका कारण राणा पराजयको सिकार बने।  

शब्द/फोटो स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति : २३ मंसिर २०७४

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...