Thursday, July 20, 2023

अरु नेता छैनन्, अब कांग्रेसमा मेरो नेतृत्व : प्रकाशमान

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष नतिजामा नेपाली कांग्रेस कमजोर सावित भएको छ। प्रत्यक्षतर्फ ७० सिटको दावी गरेको कांग्रेस २३ सिटमा समेटियो। कांग्रेसका हस्तीहरु पनि चुनावमा हारे। कांग्रेस किन यति कमजोर भयो त? कांग्रेस के मा चुक्यो? कांग्रेस नेता प्रकाशमान सिंहसँग नेत्र तामाङले गरेको कुराकानीः 

जनमत तपाईको पक्षमा छैनन् भन्ने समीक्षा थियो। तर, मुस्किलले भए पनि जित निकाल्नु भयो होइन?

समीक्षकहरुले चुनावको प्रचारमा समयमा जुन किसिमले कभरेज गरे, त्यो ‘ग्राउन्ड रियालिटी’भन्दा टाढा बसेर गरेका थिए। यसबारे मैले निर्वाचन अघि नै पटक पटक भनेकै थिएँ। लामखुट्टे झुलबाहिर बसेर कराएर झुल भित्रको मान्छेलाई टोक्न सक्छ? झुलबाहिर बसेर कराएर के काम? समीक्षकहरु त्यस्तै भए। प्रलोभनमा लागेर, हाहामा लागेर लेखेर कहाँ हुन्छ? जतिसुकै शक्ति लागे पनि त्यसरी कराएर केही भयो त? सत्यको जित त भयो नि। कांग्रेसको पक्षमा, प्रकाशमानको पक्षमा मान्छे रहेछ भन्ने देखियो नि। दुई दुईवटा निर्वाचनमा त्यसै जिताएको होइन रहेछ नि जनताले। यो कुरा त प्रमाणित भयो नि।

तर, तपाईंलाई नयाँ पार्टीले नै अाच्छुअाच्छु बनाइदियो त?

त्यसै चुनिनुभन्दा प्रतिस्पर्धा गरेर जित्नुमा बेग्लै मजा हुन्छ। कोही कम्पिटिसनमा नआए त मजै आउँदैन नि त। नयाँ पार्टीसँग पनि प्रतिस्पर्धा रोचक रह्यो। त्यसैमा यसपालि मलाई एकदम मजा आयो।  ग्राउन्ड रियालिटीमा त मन पराउने हामीलाई नै रहेछ। सामाजिक सञ्जालमा झ्याली पिट्दैमा केही नहुने रहेछ।

यसपटक पनि आफूले आफैलाई भोट हाल्न पाउनुभएन। कस्तो लाग्दोरहेछ?

मैले यसअघि पनि आफू जन्मेको ठाउँबाट भोट हाल्दै आएको छु। आफ्नो भोट, परिवारको भोटको आधारमा राजनीति गरेको छैन मैले। परिवारको भोटले जित्छ भन्ने छैन। गएको दुईवटा निर्वाचनमा पनि मैले आफूलाई भोट हालिनँ। संविधानको पालना गर्नुपर्छ, आफूलाई भोट हाल्न नपाएकोमा केही छैन। 

तपाईं जित्दै गर्दा कांग्रेस त हार्‍यो नि?

कांग्रेस अनपपुलर पार्टी हैन। पार्टीलाई जुन तवरले हाँकिरहेको छ, सरकारमा रहँदा जनभावना अनुसार काम गर्नुपर्ने थियो, त्यो नगरेकोले यस्तो भएको हो।  


पार्टीमा विशेष गरी १३ औं महाधिवेशनमा आएका नेताहरु, विशेष गरी पदाधिकारीले पार्टीलाई जुन रुपमा सांगठानिक रुपमा र वैचारिक रुपमा जनमानसमा लोकप्रिय हुने गरी हाँक्नुपर्ने हो, त्यो गर्न सकेनन्। १३ औं महाधिवेशन भएको दुई वर्ष हुन लागिसक्यो। न पार्टी नेतृत्वले महासमिति बोलाएको छ, न केन्द्रीय कार्यसमिति पदपूर्ति हुन सकेको छ। न कुनै विभाग बनाएको छ। पार्टीलाई त टोटल्ली गतिहीन अवस्थामा छाडिएको छ। न संरचना पूरा गरेको छ। न संगठनका गतिविधि अगाडि बढेको छ। केही नगरिकन त्यसै बसेको छ। 


उम्मेदवार चयनमा पनि प्रजातान्त्रिक विधिलाई ख्याल नगरी, स्थानीय लोकप्रियता र आम कार्यकर्ताको भावनालाई ख्याल नगरेकाले प्रत्यक्षमा नतिजा यस्तो भयो। 

कांग्रेसको पराजयमा जिम्मेवार को त?

यसको नैतिक जस अपजस पार्टी सभापतिले लिनुपर्छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार जसको नेतृत्वमा चुनावमा जाँदा निर्वाचनमा हार हुन्छ, उनीहरुले राजीनामा गर्ने चलन छ। गर्ने नगर्ने उहाँको कुरा हो। 

देउवाले छाडेमा सभापतिको दाबेदार को त? पौडेल र सिटौला पनि पराजित हुनुभयो?

म पनि उप-सभापतिसम्म भएसकेकै मान्छे हुँ। महामन्त्रीमा पनि निर्वाचित भइसकेको मान्छे। वर्किङ कमिटीमा बसेको मान्छेमध्ये सबैभन्दा पुरानो पनि मै हुँ। संसदमा उपनेता भइसकेँ, उपप्रधानमन्त्री पनि भइसकेँ,अरु नेता पनि छैनन् नि हैन? हुने को त? अरु खोई?

त्यसो भए चाँडै नै विशेष महाधिवेशन हुन्छ?

विशेष महाधिवेशन आवश्यक छ। निर्वाचनले रिफर्मको आदेश दिएको छ। कार्यकर्ताले चाहेअनुसार अघि बढ्नुपर्छ। पार्टीलाई सुधार गर्नुपर्छ। नेतृत्व परिवर्तन आवश्यक देखिसक्यो। प्रजातान्त्रिक अभ्यासबाटै हामी पार्टीलाई सुधारेर व्यक्ति इन्ट्रेस्ट भन्दा पार्टी र प्रजातन्त्रको इन्ट्रेस्टअनुसार अघि बढ्नुपर्छ।

वाम गठबन्धनको बहुमत आइसकेको छ, देउवाले राजीनामा दिन्न भन्नुहुन्छ?

म्यान्डेटमा कांग्रेसलाई अपोजिसनमा बस भनेको छ। संविधानअनुसार ह्यान्डओभर गरिहाल्छ नि। निर्वाचन त कांग्रेसले नै सम्पन्न गरेकै हो। सत्तामै बसिरहन्छ भन्ने कुरा छैन नि। टेकओभर हैन ह्यान्डओभर गर्ने हो नि। संविधानत: ह्यान्डओभर गरिहाल्छ। अहिले नै सरकार छाड्नुपर्ने कुरामा कांग्रेसलाई हतारो छैन।

अब त कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भयो, यो अवधिमा के गर्छ त कांग्रेसले?

पाँच वर्षमा पार्टीलाई सांगठनिक तवरले सुधार गरी सशक्त बनाउन लाग्नुपर्छ। लोकप्रिय पार्टी हो, जेठो पार्टी पनि हो। हामी नम्बर वान पार्टी बनाउन लाग्छौं। अरु कुरा जिम्मेवार प्रतिपक्षमा बनेर जनताको सेवामा लाग्छ।


जनता सुशासन चाहन्छन्। ढिलासुस्ती, भ्रष्टाचार बढेको छ। नेताहरुमा आचरण, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्यो। नयाँ संवधिानअनुसार मौलिक अधिकारहरु चाँडोभन्दा चाँडो जनतासम्म पुर्याउनुपर्यो। विकास निर्माणको काम सीमित व्यक्तिमा मात्र राख्नुभएन। यस्ता विषयमा हामी एकदम चनाखो भई सरकालाई झक्झकाउने काम गर्छौ।

एमालेको पनि बहुमत त पुगेको छैन। यस्तो अवस्थामा कांग्रेसले सरकारको नेतृत्व पनि दाबी गर्छ कि?

अहिले अपोजिसनमै बस्नुपर्छ। जनताको मत नै यही छ। सरकारले राम्रो काम गर्दै गएमा हामी समर्थन गर्छौ। जिम्मेवार प्रतिपक्षमा बस्छौं। संविधानविपरित काम गर्न खोजेमा हामी आफ्नो आफ्नो धर्म निभाउनै पर्छ। त्यो भनेको आन्दोलनसम्मका कुराहरु हुनसक्छ।

पार्टी पुनर्संरचनाको कुरा छ। नयाँ पुस्तालाई कसरी समेट्नुहुन्छ?

कांग्रेस सबैभन्दा पुरानो पार्टी हो। त्यसैले यहाँ पुराना पुस्ता पनि छन्। नयाँ पुस्ता पनि आइरहेकै छन्। नयाँ पुस्ता आएकाले पार्टी जिवन्त भएको हो। नयाँ पुस्तालाई ठाउँ दिन नेतृत्वमा विकास गर्नुपर्ने हुन्छ। नेतालाई रिझाउने तर जनता र मतदातामाझ चै केही नगन्ने ट्रेन्ड पार्टीमा आएको छ। नेतालाई मात्र मान्ने लाइन पार्टीमा चलेको छ। यो ज्यादै नै नराम्रो ट्रेन्ड हो। यसले गर्दा शर्मानक हार हुने नेताहरु देखिए। यस्ता नक्कली नेताहरु छन् यहाँ। यसमा ध्यान दिनुपर्ने हुन्छ। करेक्सन गर्नुपर्छ। जनतामाझ लोकप्रिय काम गर्ने नेता छान्नुपर्‍यो।

स्रोत : पहिलोपोस्ट

लेखक : नेत्र तामाङ

प्रकाशित मिति :३ पुष २०७४

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...