Sunday, August 2, 2015

कहाँ र कसरी छापिन्छ नेपाली रुपैयाँ ?

सुदिल पोखरेल/काठमाडाैं
नेपालको मुद्रा रुपैयाँको नोट र सिक्का देश बाहिरको नोट तथा सिक्का छाप्ने कम्पनीमा छापिने गरेको छ। सिक्का र नोट छाप्न देशबाहिरका यस्ता भिन्नाभिन्नै कम्पनीलाई जिम्मा लगाइने गरिन्छ। विश्वमा यस्ता नोट छाप्ने कम्पनी लगभग २० वटा  रहेका छन्। तर नेपाल राष्ट्र बैंकले भने नेपाली नोट छाप्नको लागि गत आर्थिक वर्षमा १० कम्पनीलाई प्रि क्वालिफिकेसनमा सूचीकृत गरेको थियो ।
२०७१ पौष २५ गते नेपाल राष्ट्र बैंकले १० वटा कम्पनीलाई सूचीकृत गरेको हो । प्रि क्वालिफिकेसनमा १० कम्पनी मध्ये इन्डोनेसियाको पेरुम पेरुरी, कम्पनीलाई नोट छाप्नको लागि जिम्मा लगाएको  स्रोतले जानकारी गराएको छ।
नेपालमा विसं. २००२ सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा नेपालमा कागजी नोटको प्रचलन सुरु भएको हो। नेपालले नोटको चलन चल्ती सुरु गरेपछि विशेषत बेलायत, होल्याण्ड अष्ट्रेलिया जस्ता देशमा पैसा छाप्दै आएको थियो।  


बेलायतको डिलारु करेन्सीमा नेपालले धेरैवर्ष सम्म नोट छापेको एक पुर्व गभर्नरले जानकारी दिए। केहि अघि बजारमा आएको प्लाष्टिकको नोट भने रिजर्ब बैंक अफ अष्ट्रेलिया मातहतको नोट प्रकाशन गर्ने कार्यालय  नोट प्रिन्टिङ अष्ट्रेलियाले छापेको थियो ।

केहि समय अघि प्रचलनमा आएको तर अहिले  बन्द रहेको पोलिमर अर्थात प्लाष्टिकको नोटमा भने कलर जाने समस्या देखिएपछि अहिले छाप्न बन्द गरिएको  पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए। उनले भने ‘अन्य मुलुकमा राम्रो मानिएको पोलिमरको नोट नेपालमा भने टिकाउ हुन सकेन ,केहि नोटमा यसको कलर  जाने समस्या देखेपछि नेपाल राष्ट्र बैंकले पोलिमरको नोट छाप्न बन्द गरेको हो । ’

हाम्रो छिमेकी मुलुक भारतमा पनि नोट छाप्ने कम्पनी छ । पाँच वर्ष पहिले सम्म नेपालले भारतीय कम्पनीबाट नोट छापेको थिएन । तर पूर्व गभर्नर युवराज खतिवडाको पालामा भने भारतबाट समेत नोट छापिएको र त्यसको कागज गुणस्तरीय नभएका कारण पछि छाप्न छोडेको स्रोतको भनाई छ ।
त्यस्तै छिमेकी मुलुक चिनमा नेपालले सिक्का छाप्दै आएको छ । राष्ट्र बैंकले सिक्का चीन र दक्षिण कोरियाका सिक्का छाप्ने कम्पनीमा छाप्दै आएको छ। सिक्का छाप्नको लागि मिन्ट सेवा  भएको पैसा छाप्ने कम्पनीलाई जिम्मा लगाउनुपर्ने हुन्छ।
एक पूर्व गभर्नरका अनुसार अहिले नेपालमा उपलब्ध एक रुपैयाँको सिक्का छाप्नको लागि एक रुपैया भन्दा बढि लगानी लाग्छ । उनले भने ‘ एक रुपैयाँको सिक्का डेढ रुपैयाँ भन्दा बढी पर्दछ तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केहि सस्तो पर्दछ । ’
नोट छाप्दा सानो नोटको भन्दा ठुलो नोटको लागत बढी पर्ने गर्दछ । ठुलो नोटमा सेक्युरिटी फिचर्स बढी हुने गरेका कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको भनाई छ।
२०७१ पौष २५ गते नेपाल राष्ट्र बैंकले नोट छाप्नको लागि प्रि क्वालिफिकेसनमा राखिएका नोट छाप्ने कम्पनी र देश
१ चिनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशन
२ जर्मनीको जिस्क एण्ड डेभ्रिएनट जिएमबिएच
३ स्वीडेनको क्रेन एबि
४ बेलायतको डिलारु करेन्सी
५ नेदरल्याण्डको जोन इन्सेड बैंकनोेट बिभि
६ क्यानडाको क्यानेडीयन बैंक नोट कम्पनी लिमिटेड
७ जर्मनीको  बन्डेस डर्केरी जिएमबिएच
८फ्रान्सको ओबेरथर फिडुकेयर
९ रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज
१० इन्डोनेसीयाको पेरुम पेरुरी
स्रोतका अनुुसार अहिले नेपाल राष्ट्र बैंकले बिशेषत यि १० कम्पनीबाटै नोट छाप्ने गरेको छ। नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले एक पटक ग्लोबल टेन्डर आह्वान गर्दछ । यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन् । तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै प्रि क्वालिफिकेसनको सूचीमा समाबेश गर्दछ ।

नोट छाप्न कसलाई  दिने भनेर निर्णय गर्नुपूर्व राष्ट्र बैंकले ति प्रि क्वालिफिकेसनमा परेका कम्पनीको टेक्नीकल र फाइनान्सियल रिपोर्ट हेरेर एक कम्पनीलाई छनौट गर्ने गर्छ ।टेक्निकल जजमेन्ट गर्दा कागजको क्वालिटी, सेक्युरिटी फिचर्स जस्ता विभिन्न कुरामा ध्यान दिइन्छ ।
फाइनान्सियल जजमेन्ट गर्दा भने कम  लागतमा पैसा छाप्ने कम्पनीलाई बढी प्राथमिकता दिने गरिन्छ।
यसरी छापेको नोट राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा ल्याएर राख्छ । तर छापिएका नोटको प्रिफेक्स नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दा सम्म त्यो नोटको मान्यता हुँदैन। राष्ट्र बैंकले बेलाबेलामा प्रिफेक्स नम्बर जारी गरेको सूचना बाहिर ल्याउने गर्दछ।
सेतोपाटी डट कमबाट साभार ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...