Tuesday, January 27, 2015

सबैभन्दा पहिले कुर्सी तोड्ने सभासद्ले भने– ‘बाबुरामले गर्दा कुर्सी तोडें’

काठमाडाैं । माघ ५ गते संविधानसभाभित्र तोडफोड गर्ने एनेकपा माओवादीको पूर्वयोजना थियो कि थिएन ? अहिले यो प्रश्न व्यापक रूपमा उठिरहेको छ।
 
एमाओवादीले बहुमतीय प्रक्रिया रोक्नका लागि आफूहरूले प्रतिवाद गर्दा यो अवस्था आएको बताउँदै आएको छ भने सत्ता पक्षले सुनियोजित आक्रमण भन्दै आएको छ। संविधान निर्माण गर्ने थलोमै राजनीतिक मुठभेडले विश्वभरि नै राम्रो सन्देश गइरहेको छैन।
 
एमाओवादीलगायतका सभासद्ले कुर्सी तोडफोड र नाराजुलुस गरे पनि सभाध्यक्षले बहुमतबाटै संविधान निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने ढोका खोलिसेका छन्। माघ ५ गते मध्यरातमा सबैभन्दा पहिला कुर्सी तोडफोड गर्ने एमाओवादीका सभासद् दलजित श्रीपालीले कुर्सी तोडफोड गरेर आफूले कुनै गल्ती नगरेको बताएका छन्।
 
तोडफोड नै गर्नुपर्ने के बाध्यता आइलाग्यो ? भन्ने जिज्ञासामा सभासद् श्रीपालीले भने– ‘सभाध्यक्षले बहुमतीय प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपछि आक्रोश पैदा भयो, महिला, दलित, आदिवासी उत्पीडित वर्गको अधिकार खोसिने भो भन्ने दिमागमा पर्यो। शहीद बेपत्ता घाइते र अपांगको बलिदानी पनि खेर जाने भो भन्ने मनैदेखि आक्रोश पैदा भयो र प्रस्ताव रोक्नका लागि कुर्सी तोडफोड गरें।’
 
सहमति हुन्छ भन्ने उत्साहका साथ आफूहरू उक्त दिन संविधानसभामा प्रवेश गरेको बताउँदै उनले संविधानसभाभित्र तोडफोड नै हुन्छ भन्ने आफूहरूले कल्पनासमेत नगरेको दाबी गरे।
 
संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले सम्बोधन गरेपछि बैठक स्थगित हुन्छ भन्ने लागेको थियो तर सभाध्यक्षले स्थगित नगरी प्रक्रियाको प्रस्ताव अगाडि बढाउनुभयो, जब हामीलाई प्रक्रिया अगाडि बढ्न दिन हुँदैन भन्ने जानकारी भयो स्वःस्फूर्त रूपमा हामी रोक्न लाग्यौं उनको तर्क थियो।
 
भट्टराईले भण्डारखाल पर्व, कोत पर्वदेखिको उदाहरण दिँदै पहिलो संविधानसभाको विघटन पनि मध्यरातमै भएको स्मरण गराएपछि आफूहरूको दिमागमा आक्रोश पैदा भएको र तोडफोड गरिएको बताए।
 
प्रस्ताव पढ्नका लागि चिनकाजी अगाडि बढेपछि नचिनेर मर्यादापालकहरूले एक चोटी रोकेको प्रसंग कोट्याउँदै सभासद् श्रीपालीले थपे– ‘मैले माइक भाँचेर खबरदारी गरेको हुँ। माइक र कुर्सी अरूले भाँचेको होइन मैले नै भाँचेको हुँ मेरै कारणले चिनकाजीले प्रस्ताव पढ्न सकेनन्।’
 
एमाले अध्यक्ष ओलीले मैमाथि ताकेर हानियो भन्नुभएको कुरामा सत्यता नभएको दाबी गर्दै श्रीपालीले भने– ‘कसैमाथि ताकेर हान्ने नियत थिएन।’
 
‘जसरी पनि प्रस्ताव पास हुनबाट रोक्नुपर्छ भन्ने थियो। उहाँजस्तो नेतालाई हान्नुपर्ने कारण नै थिएन।’ –उनको तर्क थियो।  नेपाल समाचार पत्रमा खबर छ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...