Tuesday, December 16, 2014

इन्द्रमाया बन्दै गरिमा

अभिनेत्री गरिमा पन्त अब इन्द्रमाया बन्दै छिन् । उनले आफ्नो नाम परिवर्तन गरेर इन्द्रमाया राख्न लागेकी भने होइनन् । उनी त साहित्यकार बिपी कोइरालाको बहुचर्चित उपन्यास तीन घुम्तीकी प्रमुख पात्र इन्द्रमाया बन्न लागेकी हुन् ।




बिपीको सोही कृतिमा बाबुराम ढकालले निर्माण गर्न लागेको फिल्म तीन घुम्तीमा गरिमाले इन्द्रमायाको चरित्र निर्वाह गर्दै छिन् । जसका लागि उनले हाल आफूलाई तयार गरिरहेकी छिन् । ‘करिब तीस–पैंतिस वर्षअघिको कथा भएकाले म अहिले त्यतिवेलाको बोलीचाली, वेशभूषा र रहनसहनको विषयमा अध्ययनरत छु,’ गरिमा भन्छिन्, ‘जुन पात्र र चरित्र निर्वाह गर्न लागिएको हो, त्यसका लागि पूर्ण तयारी गर्ने मेरो बानी छ ।’

सार्क फिल्म फेस्टिभलमा झोला फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि एकाएक चर्चाको शिखरमा पुगेकी गरिमाले राष्ट्रिय फिल्म अवार्ड र एनएफडिसी फिल्म अवार्डमा पनि सर्वोत्कृष्ट अभिनेत्रीकै अवार्ड जितिन् । त्यसपछि भने उनलाई हेर्ने आम दृष्टिकोण बदलिएको छ । तर, उनी आफू भने कत्ति पनि नबदलिएको दाबी गर्छिन् । ‘मेरो जीवनशैली र व्यवहारमा परिवर्तन आएको छैन । मैले गरेको कर्मको फल पाएकी छु,’ उनी भन्छिन्, ‘मैले आफूलाई मै हुँ भनेर चाहिँ कहिल्यै पनि बदलिएकी छैन । अवार्ड जित्नुअघि र पछिकी गरिमामा रत्तिभर पनि परिवर्तन छैन र हुनेछैन पनि ।’ उनी अवार्डले कलाकारलाई हौसला प्रदान गरेर अझ जिम्मेवार बनाउने बताउँदै भन्छिन्, ‘अवार्डले प्रेरणा मात्र थप्दो रहेनछ, अझ जिम्मेवार पनि बनाउँदो रहेछ,’ उनी भन्छिन्, ‘हो, म पहिलाभन्दा अहिलेचाहिँ अझ जिम्मेवार भने भएकी छु ।’

करिब एक दशकको अभिनययात्रामा गरिमाले झन्डै डेढ दर्जन फिल्ममा अभिनय गरेकी छिन् । आफूले अभिनय गरेका हरेक फिल्म उत्तिकै महत्त्वपूर्ण भएको बताउने गरिमा धेरै फिल्म खेलेर मात्र वरिष्ठ या चर्चित नभइने धारणा राख्छिन् । ‘धेरै फिल्म खेल्दैमा वरिष्ठ, चर्चित भइँदैन,’ उनी भन्छिन्, ‘सबै कुरा मिलेको, राम्रो फिल्म एउटा मात्र खेले पनि चर्चित भइन्छ ।’ उनले थिन्ले लेन्डुपको उदाहरण दिँदै भनिन्, ‘थिन्ले बाले क्याराभानमा अभिनय गरेर सर्वत्र चर्चित भए नि । धेरै फिल्म खेल्नाले मात्रै पपुलर भइन्छ र रु’ यद्यपि, थिन्लेले पछि इकु ब्याक अगेनमा पनि अभिनय गरेका थिए । त्यो फिल्म आए–गएको पत्तो भएन । त्यसैले, आफू धेरै फिल्म खेल्ने पक्षमा नरहेको गरिमाको धारणा छ ।

यो वर्ष प्रदर्शन भएका गरिमाका दुई फिल्म ठूली र रंगबैजनी असफल भए । ‘कलाकारका कारणले मात्र फिल्म चल्ने, नचल्ने भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘कलाकारको काम आफूले पाएको भूमिकालाई न्याय गर्ने हो । बाँकी कुरा फिल्मको पब्लिसिटी, ह्विम, समय अनि दर्शकको हातमा हुन्छ ।’ आफूले हरेक फिल्ममा उत्तिकै मिहिनेत गर्ने गरेको दाबी गरिमाको छ ।

बीचमा अफर आएका केही फिल्म गरिमाले ‘एसेप्ट’ गरिनन् । कारण ‘धेरै फिल्म खेल्दैमा मात्र कलाकार भइन्छ भन्ने लाग्दैन मलाई,’ उनले भनिन्, ‘थोरै, तर राम्रा स्क्रिप्टमा मिहिनेत गरेर काम गर्ने मन छ मेरो । त्यसैले एक दशकको अभिनययात्रामा मैले डेढ दर्जन फिल्म मात्र खेलेँ ।’

तीन घुम्तीको सुटिङ पुस अन्तिम साताबाट हुँदै छ । मध्य पुसदेखि ओर्कसपमा बित्नेछन् गरिमाका दिन । शम्भु प्रधानको रंगबैजनीपछि उनी ‘एक्सन–कट’ भित्र परेकी छैनन् । त्यसपछिका दिनमा युनिसेफको सुनौला हजार दिन, बालविवाह र दाइजोविरुद्धको अभिनयमा संलग्न संस्थाको काममा देशका विभिन्न स्थानमा पुगिन् उनी । समाजसेवामा समेत रुचि राख्ने गरिमा भविष्यमा पूर्ण रूपले समाजसेवामा लाग्ने योजनामा छिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...