बीस नाटकमा अभिनय गरेपछि गोरखा, पन्द्रुङकी मञ्जु देवकोटाले फिल्म ‘वनफुल’बाट ठुलो पर्दामा डेब्यु गरेकी छिन् । फिल्म वनफुलको हालै पोखरा र काठमाडौंमा च्यारिटी सो सकियो । फिल्म विश्वव्यापारीकरणले विकासोन्मुख मुलुकलाई पार्ने असरको वरिपरि घुमेको छ । फिचर फिल्म भएपनि अन्य भन्दा फरक विषय उठान गरिएको यस फिल्म थिएटर कलाकारको हाबी छन् ।
स्नातकको पढाई सकेर बसेकी उनी रंगमञ्चलाई अभिनय खारिने ठाउँ भएको बताउँछिन् । छ वर्षअघि पढाईकै सिलसिलामा अभिनय गरेकी उनले शैली थिएटरबाट कला यात्रा तय गरिन् । सडक नाटक, मञ्च नाटकमा उनको अभिनय धेरैले मन पराए । हिजोआज उनी नाटक निर्देशनमा समेत हात हालिसकेकी छिन् । उनै देवकोटासँग गरेको कुराकानी :
पहिलो फिल्मको प्रदर्शनपछि कस्तो लागिरहेको छ ?
एकदमै खुसी लागिरहेको छ । फिल्म पोखराको सभागृह र काठमाडौंका रसियन कल्चर सेन्टरमा दुईदुई सो लाग्यो । यो विशेषता च्यारिटी सो थियो । अरुभन्दा पृथक फिल्म भएकोले पहिले यस्तो सो गरेका हौ । अब चाँडै नै फिल्म युनिटले हलमा प्रदर्शनका लागि लैजाने प्रयास गर्नेछ ।
दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
कथा राम्रो छ भनेको धेरै सुनिएको छ । कथा राम्रो भएपछि अभिनय पनि मनपराईदिनुभएको छ । दुबै ठाउँमा सो हुदाँ दर्शकको उपस्थिति पनि बाक्लो नै थियो ।
आफैलाई चाहि कस्तो लाग्यो फिल्म ?
हामी शैली थिएटरकै टिमले बनाएको फिल्म भएकोले म स्क्रिप्ट लेखन देखि नै थिएँ । त्यसैले फिल्ममा मैले आफुले मिहेनत गरेकी छु । अरु भन्दा पृथक विषयबस्तु भएकाले पनि यो फिल्म उत्कृष्छ छ जस्तो मलाई लागेको छ ।
यसको खास कथा के हो ?
यसमा विश्व व्यापारीकरणले विकासोन्मुख मुलुकका मानिसहरुलाई कस्तो असर पार्छ भनेर देखाइएको छ । आज त्यही व्यापारीकरणले युवा पुस्ताले भेलेन्टाइन डे, क्रिसमस डे सम्झन्छन् । तर नेपाली मौलिक चाडहरुलाई बिर्सदै गएका छन् । यस्तै असरले एक निमुखा नेपालीको दैनिकीमा पारेको असरलाई फिल्ममा देखाईएको छ ।
फिल्म रिलिजको पर्खाइमा छ, हातमा अरु फिल्म आएको छ कि ?
अफरहरु आएका छन्, तर व्यवसायिक फिल्ममा हात हाल्ने सोच बनाएकी छैन । यो फिल्म गर्नुभन्दा अघि पनि मलाई अफरहरु आएका थिए । आउँदो वर्षमा पृथक फिल्ममा अभिनय गर्ने योजना बनाएकी छु ।
के गर्दैहुनुहुन्छ, फिल्मबाहेक ?
म रुम टु रिडको लाइब्रेरी प्रोजेक्टमा व्यस्त छु । त्यसैगरी नाटक रिहर्सलमा पनि लागिरहेकी छु ।
फिल्ममा आइसक्नुभयो, नाटकमा पनि उत्तिकै समय दिइरहनुभएको छ ?
फिल्ममा अभिनयको आधार बनाउने ठाउँ नै थिएटर हो । यहींबाट प्रशस्त सिक्न सकिन्छ । त्यसैले मलाई रंगमञ्च एकदमै रमाईलो लाग्छ । यही रमाई रहनेछु ।
रंगमञ्चमा आउने सपना सानैदेखिको हो ?
सानोमा पैसा सकाउने गरी फिल्म हेर्थें । घर नजिकै फिल्म हल थियो । पैसा हुने वित्तिकै फिल्म हल दौडि हाल्थें । फिल्मका हिरोहिरोइनहरुको अभिनय देखेर कतै त्यस्तो हुन सकिन्छ कि भनेर सोच्थें । तर मेरो योजना भने यही क्षेत्रमा आउँछु भन्ने थिएन ।
कसरी हात हाल्नुभयो त, नसोचेको ठाउँमा ?
पढाईको क्रममा प्राक्टिकलका लागि सडक बालबालिकाको काम गर्ने संस्थामा पुगेकी थिएँ । शास्वत नामको संस्था थियो त्यो । त्यहाँ नवराज बुढाथोकीसँग भेट भयो । उहाँ वनफूलको निर्देशक हुनुहुन्छ । उहाँले नाटकमा अभिनय गर्न निम्तो दिनुभयो । म त्यतिबेला बोल्दा पनि ओठ काँप्ने । सक्दिनँ जस्तो लागेर उहाँको निम्तो नकारें । जब रिहर्सल भएको ठाउँमा पुगें । मलाई अभिनय गर्न मन लाग्यो । तर मेरो सिट अर्कैले रिजर्भ गरिसकेको थियो । संयोगबस त्यो नाटक पुनः मञ्चन गर्नुपर्ने भयो । पहिलो टिम छुटिसकेको थियो । त्यसैले मैले त्यहाँ अभिनय गर्ने मौका पाएँ । त्यो बेलादेखि अभिनय छाड्नै सकिनँ ।
No comments:
Post a Comment