Wednesday, May 20, 2015

हेलिकोप्टरले उद्धार गरेका घाइते बेपत्ता

वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका र हेलिकोप्टरमार्फत् उद्धार गरिएका दोलखाका आधा दर्जनभन्दा बढी घाइते सम्पर्कविहीन भएका छन् ।

वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका जिल्लाको उत्तरी क्षेत्रका परिवार र आफन्त खोजीका लागि सहयोग माग्दै सदरमुकाम चरिकोट आएका छन् ।



नौ दिनसम्म पनि घाइते बिरामीको अवस्थाबारे जानकारी नभएपछि परिवारका सदस्य खोजी र सोधपुछका लागि सदरमुकाम चरिकोट धाउन थालेका हुन् । भूकम्पले उत्तरी क्षेत्रको सडकमार्ग पूरै ध्वस्त भएपछि कतिपय परिवारका सदस्य जोखिम मोलेर घाइते खोज्दै सदरमुकाम आएका हुन् । लामिडाँडादेखि चरिकोट आएका डिल्लीराम सिवाकोटीले लामिडाँडा–७ की सावित्री सिवाकोटीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिए ।

सिंगटी बजारमा सामान खरिदका लागि गएकी सिवाकोटीलाई घाइते अवस्थामा हेलिकोप्टरमार्फत् उद्धार गरिएको बताइए पनि कहाँ उपचार भइरहेको छ, त्यसबारे जानकारी पाउन नसकिएको उनको भनाइ छ । ‘घाइते अवस्थामा उपचार भइरहेको भए कुन अस्पतालमा भइरहेको छ, जानकारी चाहियो,’ डिल्लीरामले भने, ‘जिउँदो भए देखाउनुपर्‍यो, मरेको भए शव चाहियो ।’

जिल्लाको उत्तरी लादुक गाविस चित्रेबाट २९ वैशाखमा हेलिकोप्टरमार्फत् उद्धार गरिएका घाइते धु्रव केसी, शिवबहादुर खत्री, लोकबहादुर केसी र यमबहादुर खत्रीको अवस्थाबारे परिवारजन अहिलेसम्म बेखबर छन् । स्थानीय सुवीर सुवेदीका अनुसार घाइते अवस्थामा उद्धार गरिएका बिरामी फेला नपरेपछि परिवारजनमा रुवाबासी छाएको छ भने केही खोजीका लागि राजधानीका अस्पताल धाउन थालेका छन् ।

हेलिकोप्टरमार्फत् उद्धार गरिएका दुई घाइते काकाको अवस्थाबारे जानकारी नपाएका लादुक गाविसका लोकबहादुर केसी बुधबार आफन्त खोज्दै जिल्ला प्रहरी कार्यालय दोलखा आइपुगेका छन् । उनका अनुसार सिंगटी बजार क्षेत्रबाट एकैसाथ नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएका एक बालक र एक महिलासहित ६ जना घाइतेको अवस्थाबारे परिवारजनले जानकारी पाउन सकेका छैनन् ।

सिंगटीबाट उद्धार गरिएका घाइतेको विवरण त्रिभुवन विमानस्थलमा पनि फेला नपरेको र राजधानीका कुनै पनि अस्पतालमा नभएको केसीले बताए ।

वैशाख २९ को महाभूकम्पमा परी घाइते भएका दुई सय ५९ मध्ये कति घाइतेलाई राजधानी लगियो भन्ने यकिन विवरण सुरक्षा निकायसँग छैन । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरीक्षक सन्तकुमार लामाले हेलिकोप्टरमार्फत् उद्धार गरेर लगिएको संख्या नेपाली सेनासँग हुने जानकारी दिए ।

नेपाली सेनाको बर्दबहादुर गणका सेनानी रोशन पन्तले वैशाख १२ को भूकम्पयता ६ सय दुई घाइतेमध्ये ७८ गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् लगिएको बताए । तर, पछिल्लो महाभूकम्पपछि कति घाइतेलाई हेलिकोप्टरमार्फत् लगिएको हो, सेनासँग पनि यकिन तथ्यांक छैन ।

भूकम्पका वेला गम्भीर घाइतेलाई मात्रै उद्धार गरिएको र आफन्त कसैलाई साथमा नलगिएका कारण पनि समस्या भएको हो ।

बर्दबहादुर गणका गणपति विश्वासविक्रम शाहका अनुसार दोलखाबाट हेलिकोप्टरमार्फत् काभ्रेपलान्चोकको पाँचखाल, धुलिखेल र काठमाडौं लगिएको थियो । ‘सम्पर्कमा नभएका बिरामीको खोजतलास भइरहेको छ,’ उनले भने ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले परिवारको सम्पर्कमा नभएका घाइते खोजीका लागि केन्द्रीय दैवी प्रकोप उद्धार समिति र गृह मन्त्रालयमा जानकारी गराइएको बताए ।

दोलखाबाट राजधानी लगिएका गम्भीर घाइतेलाई नयाँ वानेश्वरस्थित सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज सिनामंगल, वीर अस्पताल र सैनिक अस्पताल छाउनीमा लगिएको सैनिक स्रोतले जनाएको छ ।
-लक्ष्मण खड्का/नयाँ पत्रिका

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...