Sunday, July 16, 2023

अग्निको आरोप- मोहन 'गुण्डा' र 'कायर' हुन्, मोहन सोध्छन्- जातीय समानता भन्ने दाजुभाइ चुनावमा उठाउने?


मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमध्येको एक हो सिन्धुपाल्चोक। मतदान नजिकिँदै गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पार्टीहरु प्रचार प्रसारमा व्यस्त छन्। हाम्रा संवाददाता नेत्र तामाङले सिन्धुपाल्चोक पुगेर त्यहाँको वस्तुस्थितिबारे गरेको स्थलगत रिपोर्टिङ


सोमबार सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका मोहनबहादुर बस्नेतले सुनकोशी गाउँपालिकास्थित पाँग्रेटारमा चुनावी सभा राखे।


सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका बस्नेतको सभामा सहभागी हुनेको संख्या निकै कम थियो। कार्यक्रममा बस्नेतले यस क्षेत्रबाट एक भोट मात्र बढी दिन अनुरोध गर्दै विकासका कार्यक्रम ल्याउने वाचा गरे। 


त्यसपछि उनी चुनावी सम्बोधनका लागि लिसंखुपाखरको पेड्कु, सिलढुङ्गा र घ्याङडाँडामा उक्ले।


कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सोमबार सम्बोधन गरेका अधिकांश क्षेत्र एमालेको मतदाता बढी रहेको क्षेत्र रहेको स्थानीय रमेश श्रेष्ठले बताए।


‘पाँग्रेटारमा चुनावी सभा गरिएको ठाउँ एमालेबाट प्रदेशसभाका उम्मेदवार रहेका सरेश नेपाल र अरुण नेपालको गाउँ हो,’ श्रेष्ठले भने, ‘गत निर्वाचनमा यस वडामा एमालेका ईश्वर तिमल्सिनाले जित हात पारे।’


बस्नेत सहभागी अधिकांश स्थान एमालेको लालकिल्ला भनेर चिनिएको गाउँ भएपनि किन एमाले किल्लामा पुगिरहेका छन् बस्नेत ?

 

एमाले र माओवादीले पिस्करको नाम बेचेर राष्ट्रिय राजनीति गरिरहेको र यहाँका जनताको जीवनस्तर भने जस्ताको तस्तै रहेकाले जनताको स्तर उकास्न र उनीहरुको चाहना बुझ्न विपक्षी मतदाताको घरघर पुग्दै गरेको क्षेत्र नम्बर एक निर्वाचन प्रचार समितिका संयोजक बलदेव तिमल्सिनाले जानकारी दिए। 


‘सिन्धु क्षेत्र नम्बर एकमा कांग्रेसको माहोल बनिसकेको छ, विपक्षी मतदातासमेत कांग्रेसतिर आकर्षित भइरहेका छन्,’ संयोजक तिमल्सिनाले दावी गरे, ‘हामी विपक्षी मतदाता रहेको क्षेत्रमा पसिरहेका छौं, जनताले हामीलाई स्वागत गरिरहेका छन् । शनिबार हामी माओवादी पकड क्षेत्र कुविण्डेमा गयौं, सोमबार एमालेकै पकड क्षेत्रमा छौं, सोमबार पिस्कर, धुस्कुनमा पुग्दैछौं।’


सोही दिन वाम गठबन्धनले बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा शक्ति प्रदर्शन गरी आमसभा गर्‍यो। कार्यक्रममा जिल्लाभरका ८१ मतदान केन्द्रका युवा सहभागी थिए। जिल्लाका वाम युवाको अत्याधिक उपस्थिति थियो।


नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ को कार्यालय अगाडि गरिएको उक्त कार्यक्रम कांग्रेसमाथि धावा बोल्ने उद्देश्यले गरिएको वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका इन्चार्ज कमल नेपालले बताए। 


‘गठबन्धनका मतदातामा फुट ल्याउने प्रयत्न कांग्रेस उम्मेदवारले गरिरहेका छन्, हामी मजबुत् भएकाले पनि उनीहरु यस प्रयत्नमा लागेका हुन्, यसप्रति हामी सचेत र सजग छौं, यो क्षेत्र वाम गठबन्धनको पकड क्षेत्र हो, हामी कुनै पनि अवस्थामा मत किनेबेच गर्न दिनेछैनौं,’ इन्चार्ज नेपालले भने, ‘हामी ढुक्क छौं। जित हाम्रै पक्षमा छ। निर्वाचन प्रचार यही ढंगले अघि बढिरहेको छ।’


बाह्रबिसे नगरपालिकाको मेयरमा एमालेका निमफुन्जो शेर्पाले विजय हासिल गरेपनि वडा नम्बर ४ मा अवस्थित बजारमा भने कांग्रेसका ज्ञानेन्द्र श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए । ‘यो क्षेत्र कांग्रेसको पकड एरिया भएको र स्थानीय निर्वाचनमा विजयी भएपछि मेयरलाई विजयी र्‍याली गर्न नदिएको क्षेत्र हो, आज उनीहरुले नै विशाल सभा राखे,’ स्थानीय जीवन लामाले भने। बाह्रबिसेमा एमाले माओवादीले जतिसुकै ठूलो आमसभा राखेपनि यहाँको जनताको मत तलमाथि पार्न नसकिने उनको दाबी थियो।


वाम गठबन्धनबाट यस क्षेत्रबाट उम्मेदवार रहेका उम्मेदवार माओवादी नेता एवं पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले यस जिल्लालाई नमूना जिल्ला बनाउने र बाह्रबिसेलाई ट्रान्जिट नगर बनाउने वचन दिए। साथै उनले तातोपानी नाका जसरी पनि खोल्ने प्रतिबद्धता जाहेर गरे।


एमाले नेता एवं बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले कुनै पनि हालतमा यस क्षेत्रबाट सापकोटाको जित हुने दाबी गरे।


नरम बन्दै मोहन, गरम बन्दै अग्नि

उम्मेदवारी मनोनयनका दिन आफ्नो कार्यकर्ताको ह्याकुलो ठूलो रहेको र अन्य दलको कार्यकर्ताको ह्याकुलो सानो रहेको अभिव्यक्ति दिएका कांग्रेस उम्मेदवार बस्नेत पछिल्लो चुनावी कार्यक्रममा नरम बन्दै गएका देखिन्छन्। 


पाँग्रेटारको कार्यक्रममा विकासको ढोका खोलिदिने वाचा गर्दै बस्नेतले भने, यो वडाबाट जाहिले पनि कम्युनिस्टलाई भोट जान्छ, त्यही भएर विकासमा पछि रहेको छ, हामीलाई विकासका प्याकेज हाल्नै दिदैनन्, उनीहरुले ल्याएका विकास रातारात हराउँछन्, त्यसैले हामी विकास गछौं, एक भोट मात्र बढी कांग्रेसलाई दिनुस। दुईटै बाटोलाई करोडौं हाल्छौ, जनताले साथ दिएमा हामी नवै वडामा पुग्ने गरी खानेपानी ल्याईदिन्छौ।’

कार्यक्रममा उनले एमाले र माओवादी जातीय समानताको कुरा गरेपनि नेतृत्वमा दाजुभाइको दबदबा रहेको आरोप लगाए । ‘यहाँका प्रदेश उम्मेदवार दुबैजना दाजुभाइ हुन्, यसले कहाँ गयो जातीय समनताको कुरा, कहाँ गयो दलित उन्मुक्तिका कुरा?’ वाम गठबन्धनबाट प्रदेश सभा उम्मेदवार रहेको सरेश नेपाल र अरुण नेपालप्रति लक्षित गर्दै बस्नेतले भने ।


यता निर्वाचन प्रचार समितिका संयोजक तिमल्सिनाले हामी युवा जत्था बोकेर मतदातालाई आतंकित बनाउनुभन्दा जनता रिझाउन लागिपरेको उल्लेख गरे । उनले भने, ‘विभिन्न स्थानबाट लाखौं खर्चेर युवा शक्ति परिचालन गरी जनता तर्साउन खोज्नु कम्युनिस्टको शैली नै हो, हामीसँग त्यसो गर्ने पैसा छैन, हामी जनतासँग छलफल गरी दीर्घकालीन विकासका योजनाहरुको प्याकेज लाने प्रयासमा छौं।’

सिंह उठेको छ, अब होस गर–अग्नि सापकोटा

यता नरम स्वभावका मानिने पूर्वसञ्चारमन्त्रीसमेत रहेका अग्नि सापकोटा भने निर्वाचन नजिकिंदै गर्दा गरम बन्दै गएका छन्। उनले आफ्ना प्रतिस्पिर्धी बस्नेतलाई गुण्डा भन्नसमेत पछि परेनन्। बाह्रबिसेको सभालाई सम्बोधन गर्दै भने, ‘म मोहन बस्नेत जस्तै गुण्डा हैन, तैपनि निहूँ खोज्छ भने गुण्डालाई कसरी तह लगाउनु पर्छ त्यो मैले पनि जानेको छु।’ 


बस्नेतलाई गुण्डा भन्दै गर्दा उनी डरपोकसमेत भएको आरोप लगाए, भने, ‘बस्नेत हुतिहारा र डरपोक हुन्। कुविण्डेमा छिर्न दुई ट्रक प्रहरी बोकेर जाने मान्छे कायर हो। त्यस्तो कायरले जनताको पक्षमा वकालत गर्न सक्दैनन्, जनताको घरआँगन जान प्रहरी चाहिने मान्छे जनताको कसरी हितैषी हुने सक्छ?’ कुविण्डे माओवादीको पकड क्षेत्र मानिन्छ।


म वचनमा बाँच्छु र जे भन्छु त्यो पूरा गर्छु, मसँग इमान, स्वाभिमान मात्र छ र अहिलेसम्म मैले जे बोलेको छु त्यो पुरा गरेको छु सापकोटाले यसो भन्दै प्रतिज्ञा गर्दै भने तातोपानी नाका म कुनै पनि मूल्यमा खोल्छु, यो मेरो भीष्म प्रतिज्ञा हो। खबरदार मोहन बस्नेत अब सिंह उठिसकेको छ होस गर।’


बस्नेतलाई भ्रष्टाचारी खुमबहादुर खड्काको चेला भएको आरोप लगाउँदै सापकोटाले त्यतिखेर बस्नेत त्यही खुमबहादुरसँग भ्रष्टाचार र कमिशन खान लिप्त भएको जिकिर गरे। त्यही भ्रष्टाचार गरी कमाएको धनले जनताको मत खरिद गर्न खोज्छ भने एक्काइसौं शताव्दीका सचेत जतनाले बस्नेतलाई पाखा लगाइदिने सापकोटाको कथन थियो।


निर्वाचन परिचालन कमिटीका इन्चार्ज कमल नेपालले झिनामसिना बजेटको आश्वासन कांग्रेसले दिएको आरोप लगाउँदै प्रतिनिधिसभाका सदस्यले गाउँमा यस्ता विकास ल्याउनै नसक्ने र यस्ता विकास स्थानीय तहमा मात्र आउने भएकाले जनतामा भ्रम नछर्न चेतावनी दिए।


यस्तो छ अंकगणित

सापकोटा र बस्नेत भिड्ने भएपछि यस क्षेत्रलाई रोचक प्रतिस्पर्धी रहेको क्षेत्र मानिएको छ। त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाँउपालिका, बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा यस क्षेत्रमा पर्दछन्। 

यस निर्वाचन क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३  हजार ८ सय ६९ मत ल्याएको थियो। 


यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ। अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा वाम दलको १६ हजार ९ सय ७७ मत बढी छ। 


सिन्धुपाल्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा कूल २७ हजार ८ सय ५२ मतदाता थपिएका छन्। 

प्रकाशित मिति
लेखक नेत्र तामाङ

थपिएका १४ लाख युवा मतदाता हुँदैछन् 'निर्णायक शक्ति', सरप्राइज हुनसक्छ मतपरिणाम

काठमाडौँ : यतिबेला वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु स्थानीय तहमा खसेको मतको आधारलाई मानेर सम्भावित चुनावी परिणाम जोडघटाउ गरिरहेका छन्। अधिकांश स्थानमा वाम गठबन्धन अगाडि देखिएको तथ्याङ्कले देखाएको छ। यही आधारमा कतिपय उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित हुने दाबी गरिरहेका छन् भने कतिपय उम्मेदवार अत्तिएका देखिन्छन्।


तर स्थानीय निर्वाचनपछि झन्डै १४ लाख नयाँ मतदाता थपिएका छन्। ती मतदाता नै निर्णायक हुने कारण आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम सरप्राइज हुनसक्ने विज्ञहरुले आंकलन गरेका छन्।

कहाँ कति थपिए मतदाता?

सि.नं जिल्ला थपिएका मतदाता

1 ताप्लेजुङ 7633

2 पाँचथर 8596

3 ईलाम 14776

4 झापा 75012

5 संखुवासभा 8404

6 तेह्रथुम 6037

7 भोजपुर 8343

8 धनकुटा 9832

9 मोरङ 80915

10 सुनसरी 53141

11 सोलुखुम्बु 7676

12 खोटाङ 9534

13 ओखलढुङ्गा 10755

14 उदयपुर 18452

15 सप्तरी 14749

16 सिराहा 12775

17 दोलखा 14396

18 रामेछाप 17941

19 सिन्धुली 13274

20 धनुषा 15283

21 महोत्तरी 9287

22 सर्लाही 18965

23 रसुवा 4566

24 धादिङ 27473

25 नुवाकोट 22392

26 काठमाडौँ 44220

27 भक्तपुर 16568

28 ललितपुर 15243

29 काभ्रेपलान्चोक 41438

30 सिन्धुपाल्चोक 27852

31 मकवानपुर 27834

32 रौतहट 6411

33 बारा 16269

34 पर्सा 8838

35 चितवन 41033

36 गोरखा 20392

37 मनाङ्ग 785

38 लम्जुङ्ग 9464

39 कास्की 30670

40 तनहुँ 16785

41 स्याङ्जा 18805

42 गुल्मी 15562

43 पाल्पा 18993

44 अर्घाखाँची 11628

45 नवलपरासी 60059

46 रुपन्देही 63980

47 कपिलवस्तु 25214

48 मुस्ताङ्ग 1164

49 म्याग्दी 4075

50 बाग्लुङ 10480

51 पर्वत 8055

52 रुकुम 10026

53 रोल्पा 13425

54 प्युठान 11192

55 सल्यान 8956

56 दाङ 47764

57 डोल्पा 2064

58 मुगु 2580

59 जुम्ला 4381

60 कालिकोट 3933

61 हुम्ला 2873

62 जाजरकोट 4989

63 दैलेख 6979

64 सुर्खेत 20176

65 बाँके 30637

66 बर्दिया 19293

67 बाजुरा 4884

68 अछाम 9161

69 बझाङ्ग 6665

70 डोटी 5656

71 कैलाली 57300

72 दार्चुला 2606

73 बैतडी 7493

74 डडेलधुरा 5952

75 कन्चनपुर 29240

कुल जम्मा 1370249

 

थपिएका मतदाता कस्ता ? 

स्थानीय निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार थियो। निर्वाचन सकिएलगत्तै आयोगले पुनः स्थानीय स्तरमै मतदाता नामावली संकलन गरेको थियो। त्यसपछि झन्डै १४ लाख नयाँ मतदाता थपिए। आयोगको आँकडाअनुसार स्थानीय निर्वाचनपछि १३ लाख ७० हजार २४९ नयाँ मतदाता थपिएका छन्। अहिले कूल १ करोड ५४ लाख २४ हजार ७,३१ मतदाता रहेका छन्।


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार थपिएका अधिकांश मतदाता युवा हुन् भने बाँकी पहिले नामावली संकलनमा छुटेकाहरु हुन्।


‘स्थानीय निर्वाचनपछि भदौसम्म १८ वर्ष पूरा भएकाहरु मतदाता सूचीमा थपेका छन्, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यी मतदाताहरुले सक्रिया सहभागिता जनाउने निर्वाचन आयोगको विश्वास रहेको छ,’ ढकालले पहिलोपोस्टलाई भने। 


थपिएका मतदाता अघिल्ला पटक मतदाता सूचीमा नाम भर्ना नपाएकाहरु पनि होलान् नि भन्ने प्रश्नमा उनले भने, ‘एकदमै कम छन्, किन भने निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि नै पटकपटक मतदाता नामावली संकलन गरेको थियो। त्यसैले यसपटक थपिएका अधिकांश मतदाता युवा नै हुन्।’


युवाहरु मतदान प्रक्रियामा सक्रिया सहभागी नहुने विगतका तथ्यांकले देखाए पनि यो पटकको निर्वानमा सक्रिय सहभागी हुने ढकालले बताए।

युवाको मत कसलाई?

सामाजिक विज्ञानका विश्लेषक उद्धव सिग्देलका अनुसार ‘राजनीतिको घेराभित्र प्रवेश नपाएकाले स्थानीय निर्वाचनमा धेरै युवा मतदान प्रक्रियामा सहभागी भएनन्।’ 


प्रमुख राजनीतिक शक्तिको नेतृत्वमा र उम्मेदवारमा पुरानै अनुहार हाबी भएकाले युवाहरु नयाँ शक्तितिर ढल्किन सक्ने खतरा रहेको सिग्देलले उल्लेख गरे। उनले भने, ‘पुराना राजनीतिक दलले केन्द्रीय राजनीतिमा युवालाई स्थान नै दिएका छैनन्, त्यसैले युवा पुरानो अनुहार हेरेर वाक्क भएका छन्, विश्वमा दुई कार्यकाल अर्थात आठ वर्षभन्दा बढी अवधि पदमा नबस्ने परम्परा रहेपनि हाम्रोमा उही व्यक्ति दोहोरिरहन्छ।’

४० प्रतिशत युवाको आकर्षण नयाँ दलतिर

प्रमुख दलहरूमा युवा उम्मेदवारले अझै ठाउँ नपाएकाले युवा नयाँ दलतिर आकार्षित भएको देखिन्छ। सिग्देलका अनुसार ४० प्रतिशत युवा वैकल्पिक शक्तितिर आकार्षित हुने सम्भावना छ। उनी थप्छन्, ‘कतिपय युवाहरुमा पुरानै शक्तिको प्रभाव रहेपनि नयाँ मतदातामध्ये ४० प्रतिशत नयाँ दलतिर ढल्कने देखिन्छ । नयाँ दलहरु सोसल मिडियामा अपडेट भइरहने भएकोले पनि नयाँ दलहरुले युवाको मन तान्ने देखिन्छ।’

वाम गठबन्धनका कारण कांग्रेसलाई राहत

नयाँ दलले देशभर उम्मेदवारी दिन नसकेका कारण कांग्रेसलाई राहत मिल्ने सिग्देलले बताए । यसपटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा विशेषगरी कांग्रेसले प्रदेश सभामा युवा उम्मेदवारहरुलाइ मौका दिएकाले पनि युवाहरुको मत उसले तान्ने सम्भावना रहेको उनको प्रक्षेपण छ।


विश्लेषक सिग्देलले भने, ‘युवा लोकतन्त्र मनपराउँछन्, स्वतन्त्रता मनपराउँछन्, अहिले सोसल मिडियामा हेर्नुहोस, उनीहरु आफुलाई मनपरेको कुरा व्यक्त गरिरहेका छन्, जुन कुरा लोकतन्त्रले मात्र उपलब्ध गराउन सक्छ, त्यसैले पनि युवाहरुको आकर्षण लोकतान्त्रिक गठबन्धनले तान्न सक्छ। अर्को कुरा यसपटक कांग्रेसले अधिकांश प्रदेशमा युवालाई टिकट दिएको छ, यसले युवाले सक्रिया सहभागिता जनाउनेछन्।’

वाम गठबन्धनमा टिकटको रस्सकस्सीले धेरै युवाहरु राजनीतिक रिङ बाहिर परेकाले वाम गठबन्धनका समर्थकहरू मतदानमासमेत भाग नलिने उनको आकलन छ।

 

कांग्रेसको दाबी, बहुमत हाम्रै पक्षमा आउनेछ

कांग्रेस केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले स्थानीय निर्वाचणमा जति ठुलो आँकडा देखाएपनि कांग्रेसलाई कुनै असर नपर्ने दाबी गरेका छन्। 


खाँणले भने, ‘एमाले र माओवादीले जतिसुकै ठुलो स्थानीय निर्वाचनको आँकडा देखाएपनि कांग्रेसलाई फरक पर्दैन, नेपाली जनताले देखेकै भोगेकै कुरा हो, नेपालमा जनमत बदलिदैं आएको छ।’ 


खाँणले थपे, ‘०३६ सालमा घोषित जनमत संग्रहमा निर्दलीय २४ लाख बहुदललाई २० लाख आयो। तर ४७ सालमा बहुदल ४० लाख भयो। पञ्चायत १२ लाखमा झर्‍यो। ०६४ को निर्वाचनमा माओवादीले बहुमत ल्याएको थियो। तर, त्यही पार्टी ७० मा तेस्रो भयो। त्यसैले पुराना पुस्ताको निर्देशनमा नयाँ पुस्ताको साथ र सहयोगमा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउने छ।’ 


यसपटक कांग्रेसले युवाहरुको सहभागिता बढाएको उल्लेख गर्दै खाँणले समानुपातिकमा ४५ प्रतिशत र प्रत्यक्षमा ५५ प्रतिशत मत पाएर ८० सिट भन्दा बढी कांग्रेसले जित्ने सुनिश्चित भइसकेको दाबी गरे । 

दुई तिहाई ल्याउने वाम गठबन्धनको दाबी

वाम गठबन्धनमा जम्म १ सय ५८ स्थानमा उम्मेदवारी दिएको छ। जसमा एमालेले ९६ सिटका लागि उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले ६२ सिटका लागि उम्मेदवारी दिएको छ। 


एमाले र माओवादी केन्द्रका नेताहरुले वाम गठबन्धन दुई तिहाइ बहुमतका लागि भएको दाबी गर्दै आएका छन्।


साझा घोषणापत्र सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वाम गठबन्धनले बहुमत ल्याउने र त्यही सरकारले राजनीतिक स्थायित्व कायम गर्ने दाबी गरेका छन् । उनले भने, ‘वाम गठबन्धन राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिका लागि हो। ७० वर्षयता अल्मलिएको राजनीतिलाई भूमरीलाई अन्त्य गर्ने जमर्को हाम्रो हो।’


सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन दुई तिहाईको लागि भएको बताए । यद्यपि एमाले र माओवादीका नेताहरुले यति नै सिट जित्छ भनेर दाबी अहिलेसम्म गरेका छैनन् । दुई तिहाईका लागि १ सय ८ सिट आवश्यक रहन्छ।


तर, टिकट वितरण र अस्वभाविक गठबन्धनका कारण एमाले र माओवादी कार्यकर्तामाझ भित्रभित्रै असन्तुष्टि चुलिदैं गएकोले दुई तिहाई वाम गठबन्धनका लागि मुश्किल हुने कतिपयको विश्लेषण रहेको छ । 

प्रकाशित मिति : २४ कात्तिक २०७४ पहिलोपोस्ट

'हामी मिल्दा कांग्रेसले पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?'


काठमाडौं
: प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई केन्द्रित गर्दै नेकपा एमाले र माओवादी केन्द्रले साझा घोषणापत्र सार्वजनिक गरेको छ।


काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्र संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।


घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले यो घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी गरे। उनले भने, ‘यो सर्वोत्कृष्ट घोषणापत्र हो, यो चुनावी घोषणापत्रमात्र नभएर देशको विकासको प्रतिबद्धतापत्र हो, ग्यारेन्टी जस्तै हो।’


यस घोषणापत्रमा ग्यारेन्टीका पाँचवटा विषय रहेको उनले बताए । भने, ‘राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा, राष्ट्रिय एकताको सवालमा, शान्तिको सवालमा र विकासको सवालमा यो ग्यारेन्टी पत्र हो ।’


माओवादी र एमालेले पटकपटक सरकारमा बसेर मिलेको उदाहरण प्रस्तुत गरिसकेको अवस्थामा कुनै शक्ति अहिलेको मिलनले आत्तिन नहुने ओलीको भनाई थियो । कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने, ‘एमाले र माओवादी मिलेर पटकपटक सरकार चलाएकै हो, अहिले चुनावमा मिल्दा कसैले खुट्टा बजार्ने, कसैले कपाल लुछ्ने जस्ता काम गर्न थालेका छन् ।’


ओलीले प्रत्यक्ष राष्ट्रपति शासनको विरोध गर्न नहुने बताए । उनले भने, ‘एमाले तानाशाहीको मात्र विरोध गर्छ, कुनै पनि लोकतान्त्रिक पद्दतिको विरोध गर्दैन, अमेरिकामा राष्ट्रपति शासन छ, त्यहाँ लोकतन्त्र छ, त्यसैले हामी अमेरिकाको विरोध गर्दैनौं ।


करिब आधा घन्टा घोषणापत्रको व्याख्यामा बिताएका ओलीले वाम गठबन्धनको जितले स्थायी सरकार आउने र विकासको लहर आउने प्रतिबद्धता जनाए ।


ओलीभन्दा पहिले बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणपत्र केही ढिला भएको उल्लेख गर्दै घोषणापत्र दुई विषयमा केन्द्रित रहेको बताए । उनले भने, ‘घोषणापत्र तयारीका क्रममा केही ढिला भएको हो, हाम्रो घोषणापत्रमा राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिमा केन्द्रित छ ।’  

एमाले र माओवादीको मिलने ७० वर्षदेखिको राजनीतिक भुमरीको अन्त्य हुने प्रचण्डको दाबी थियो । प्रचण्डले घोषणापत्रको मुख्य बुँदाहरुबारे मात्र चर्चा गर्दै विचार मिल्ने शक्तिहरु वाम गठबन्धनमा अझै आउन सक्ने बताए ।


४८ पृष्ठ लामो घोषणापत्रमा ८ विभिन्न शीर्षक उल्लेख गरिएको घोषणापत्रमा लोकतन्त्रको रक्षा, वामपन्थी तालमेलको आवश्यकता, शान्ति, समता, स्वच्छ निर्वाचन, सामाजिक आर्थिक रुपान्तरणका नीति, समृद्धिका कार्यक्रम, अन्य राजनीतिक पार्टीप्रतिको धारण अदिलाई महत्वका साथ प्रस्तुत गरिएको छ।

दुई वाम पार्टीका अध्यक्ष भएको कार्यक्रमको अध्यक्षता गर्ने कोही भएन


काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संयुक्त रुपमा साझा घोषणापत्र जारी गरे। कार्यक्रमका पाँच रोचक दृश्य

१) प्रचण्डलाई जबर्जस्ती उठाएर बोल्न लगाइयो

घोषणापत्र जारी हुनासाथ एमालेको महासचिव ईश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डलाई घोषणापत्रबारे बोल्न अनुरोध गरे। आसनमा बसिरहेका प्रचण्ड अगाडि माइकको व्यवस्था थियो। त्यसैले उनले नउठिकनै त्यहीँबाट आफ्नो भनाई राख्ने कोशिश गरे। यता मञ्चमा टेलिभिजनका माइक (बुम) हरु राखिएकोले सञ्चारकर्मीहरु कराउन थाले। यता कार्यक्रम सञ्चालक पोखरेलले पनि उनलाई मञ्चमै आएर बोल्न अनुरोध गरे। त्यसपछि भने प्रचण्ड मञ्चमै पुगेर आफ्नो भनाई राख्न बाध्य भए। प्रचण्ड पोडियममा पुगेपछि सुरक्षाकर्मीले टेलिभिजनका बुमहरु होचो बनाउने क्रममा सबै बुमका लोगो नदेखिने बनेको थियो।

 

२) ओली उठ्न मानेनन्, बसेरै बोले


प्रचण्डको पालो सकेपछि एमाले अध्यक्ष ओलीको पालो आयो। उनलाई पनि मञ्चमै गएर बोल्न अनुरोध गरियो। तर, ओलीले भने कसैको कुरा सुनेनन्। कुनै माइक ल्याउनु छ भन्दै उनले आसनस्थलबाटै घोषणापत्रबारे आफ्नो भनाई सुरु गरे। ओलीले आसनस्थलबाटै बोल्न थालेपछि टेलिभिजनका बुम र रेकर्डिङ डिभाइसहरु ओली आसनअघिकै टेबलमा राख्न केही समय लागेको थियो।


३) ओलीभन्दा प्रचण्ड १० मिनेट ढिला

साझा घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो १ बजे गरिने कार्यक्रम थियो। तोकिएकै समयमा मञ्च भरिभराउ हुँदै थियो। १ बजेर १० मिनेटमा एमाले अध्यक्ष ओली कार्यक्रमस्थलमा आइपुगे। उनीअघि एमालेका भरतमोहन अधिकारी, विजय सुब्बा, केशव बडालहरु आइपुगिसकेका थिए।

ओली आइपुगेको १० मिनेटपछि मात्र १ बजेर २० मिनेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रमस्थल आइपुगे। उनीसँग माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, लीलामणि पोखरेलहरु आइपुगे। 

४) कार्यक्रमको अध्यक्षता कसैले गरेनन्

सामान्यतया सार्वजनिक कार्यक्रममा कार्यक्रममा अध्यक्ष तोकिन्छन्। कार्यक्रममा सहभागीहरुले कसलाई अध्यक्ष बनाउलान् भनेर जिज्ञासा राखिरहेका थिए। मञ्चमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र माओवादी नेता रामबहादुर थापा ‘बादल’ थिए।


यता, कार्यक्रम सुरु गर्नुअघि कार्यक्रम सञ्चालक एमालेका महासचिव पोखरेलले ‘अध्यक्षता कोही हुँदैनन् हैन?’ भनेर प्रश्न गरे। सँगै पोखरेलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई साझा घोषणापत्र सार्वजनिक गर्न आग्रह गरे। 


५) कार्यक्रम सकिँदा माधव नेपालको प्रवेश, बोलेनन् नेपाल

एमाले अध्यक्ष ओली आफ्नो भनाई बिट मार्ने सिलसिलामा थिए। २ बजेर २० मिनेटमा ओलीले कार्यक्रममा आइपुगेका सबैलाई धन्यवाद दिएर आफ्नो भनाईको बिट मारे। त्यसको केही समयअघि २ बजेर १४ मिनेटमा एमाले वरिष्ठ नेता माधव नेपाल कार्यक्रमस्थल आइपुगे।

 

ओलीले आफ्नो भनाई टुङ्ग्याउनसाथ पोखरेलले नेपाललाई घोषणापत्रमाथि उठेका प्रश्नको उत्तर दिन आग्रह गरेका थिए। तर, नेपालले समय दिएनन् र कार्यक्रम सम्पन्न भएको उद्घोष गरियो । त्यसपछि घोषणापत्रमाथि सञ्चारकर्मीले प्रश्न गर्न पाएनन्। 

६) नेताहरुको उपस्थिति न्यून

रोयल ब्याङ्क्वेटको हल भरिभराउ थियो। तर, एमाले र माओवादी केन्द्रीय नेताहरुको उपस्थिति निकै कम थियो। एमालेबाट भरतमोहन अधिकारी, शान्ता मानवी, डा विजय सुब्बा, केशव बडाललगायतको उपस्थिति थियो भने माओवादीबाट रामबहादुर थापा बादल, पम्फा भुसाल, लीलामणि पोखरेललगायतको उपस्थिति देखिएको थियो ।

प्रकाशित : २१ कात्तिक २०७४  पहिलोपोस्ट

Friday, July 7, 2023

कांग्रेसमा भ्याइ-नभ्याई: संस्थापनइतर रुपान्तरण अभियानमा, केन्द्र जिल्लाजिल्लामा सम्मेलन गर्दै


काठमाडौं: उपनिर्वाचनमा एक सिट गुमाएको नेपाली कांग्रेस यतिबेला संगठन बलियो बनाउन तातेको छ। सत्ता गठबन्धनमा सहभागी कांग्रेस अहिले विभिन्न कार्यक्रमका साथ गाउँ-गाउँ पुगिरहेको छ। नेताहरु जेठको गर्मीमा पनि कोही पूर्वतिर दौडिरहेका छन् भने कोही पश्चिम पुगेका छन्। शेखर कोइराला समूहका नेताहरु अहिले रुपान्तरण अभियान चलाउँदै पश्चिमतिर लागेका छन्। संस्थापनबाट भने देशभर वडादेखि जिल्ला सम्मेलन जारी राखेको छ।


संस्थापनइतरको अभियान पश्चिमतिर


मधेशबाट सुरु भएको कांग्रेस रुपान्तरण अभियान अहिले पश्चिम पुगेको छ। नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। मधेशबाट, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण भेला सकिएको छ। सुर्खेतमा भएको कार्यक्रममा नेताकार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको अभियानका कर्णाली संयोजक भुपेन्द्रजंग शाहीले बताए। 'हामी रुपान्तर अभियानका क्रममा बर्दियाबाट सुदूरपश्चिमतिर लाग्दैछौं,' शाहीले भने, 'सुर्खेतको कार्यक्रम विशाल भयो। एकदम राम्रो छ रेस्पोन्स।'


अभियानमा गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, देवराज चालिसेलगायतका नेताहरु छन्।


गगनको आफ्नै दौडाह


कांग्रेस महामन्त्री गगन थापा पनि यतिबेला विभिन्न जिल्ला पुगिरहेका छन्। सोमबार महामन्त्री थापा दाङको लमही पुगे। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको लागि प्रशिक्षणका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्न गगन लमही पुगेका थिए।


त्यहाँ गगनले कांग्रेस पुरानै ढर्रामा चल्न नहुने बताए। 'हिजोकै चालबाट चल्दैन। चल्छ भन्ने सोचे ठूलो भुल हुनेछ,' थापाले भने।


कांग्रेसलाई बदल्न प्रत्येक कांग्रेसी बदलिनुपर्ने आवश्यकता उनले औंल्याए। 'यसलाई कसरी बदल्ने? अब छलफल गरौं। पार्टीको टिकट किन माथिको मान्छेले दिने? अब दाङको क्षेत्र नम्बर १ मा कसले टिकट पाउने भन्दा काठमाडौंमा बस्ने र दाङको कुनै गुटको मान्छेले गर्ने,' थापाले भने, 'यो हुँदैन।


टिकट पाउन दाइ दाइ हैन अब भाइ भाइ भन्नुपर्छ। पार्टी पुरै माथितिर हेर्नुपर्छ। यसलाई उल्टाइदिउँ। सबै तलबाट आउनुपर्छ।'


पढ्नुसः पुरानै ढर्रामा पार्टी चल्न नहुने गगनको भनाइ : क्रियाशीलले नै कांग्रेसलाई मत हाल्दैनन्


दाङबाट पोखरा आइपुगेका गगन बिहीवार धनकुटा पुगेका छन्। धनकुटामा जिल्ला सम्मेलनका लागि थापा त्यता पुगेका हुन्।


धमाधम जिल्ला सम्मेलन पनि


कांग्रेस केन्द्रले अहिले देशभरका वडादेखि जिल्ला सम्मेलन जारी राखेको छ। १४औं महाधिवेशनपछि देशभर पहिलो सम्मेलन सुरु भएको हो। केन्द्रले वडा सम्मेलन नगर तथा गाउँपालिका सम्मेलन, प्रदेश क्षेत्र सम्मेलन, क्षेत्रीय सम्मेलन तथा जिल्ला सम्मेलन जेठ मसान्तसम्म सम्पन्न गर्न परिपत्र गरेको हो। विधान बमोजिम नै यो सम्मेलन देशभर सुरु भएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए।


'विधानमै उल्लेख छ यो सम्मेलन गर्नु भनेर। अहिले वडावडामा सकियो अब पालिका हुँदैछ। क्षेत्रीय तहपछि अब जिल्लामा सकिन्छ,' सहमहामन्त्री आङ्देम्बेले भने।


वडा तथा क्षेत्रीय तहमा सकिएर जिल्ला तहका सम्मेलन सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए।


'विधान अनुसार सम्मेलन गर्नु भन्ने छ। यही अनुसार देशभर सम्मेलनहरु भइरहेका छन्,' पौडेलले भने, 'जेठ मसान्तभित्र सबै जिल्लाको सम्मेलन सकिन्छ होला।'


देउवा गगनको ब्याटल


पछिल्लो समय कांग्रेसमा देउवाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि देखिएको छ। यसबारे कसैले मुख नखोलेपछि जेठ १९ गते महामन्त्री थापाले रोष प्रकट गरे।


'पार्टीको पद्धति नै हामीले यस्तो बनायौं कि पार्टी झन्झन थोरै मान्छेको बीचमा। हेर्नुस् त पार्टीको सभापतिले कुनै पनि विषयमा छलफल नगरे पनि हुने,' थापाले भनेका थिए, 'पार्टीको केन्द्रीय समिति महिनौंसम्म नबोलाए पनि हुने। भोलि म भए पनि त्यही हुने भयो नि त। परम्परा यस्तै छ भन्ने भयो नि।'


पढ्नुस्ः आफ्नै नेतृत्वमा गुट बनाउने गगनको संकेत : कांग्रेसलाई घोप्टाएर तल फर्काउनुपर्ने भयो


गगनले कांग्रेसमा अहिले केन्द्रीकृत प्रणालीको दबदबा रहेको र 'दाइ दाइ' भन्दै पुकार गर्नुपर्ने परम्परा रहेकोप्रति व्यंग्यसमेत कसे। 'सयौं मान्छे कांग्रेसबाट वडाध्यक्ष भएका छन्। हाम्रो पार्टी अहिले तलबाट माथितिर फर्केका छन्। त्यो भन्दा माथिको दाइलाई हेर्दा। महामन्त्रीले पनि दाइ दाइ भन्दै हेर्छौं। तलदेखि माथिसम्म दाइ दाइ दाइ। सबै माथि फर्केको छ,' गगनले भने, 'अब यसलाई खर्लप्प फर्काएर तल फर्काउनुपर्छ। अब माथि फर्काएर हेर्नै नपरोस् न। माथि फर्केको पार्टीलाई घोप्टाएर तल फर्काउनुपर्ने अवस्था भयो।'


गगनले असन्तुष्टि पोखेकै भोलिपल्ट सभापति शेरबहादुर देउवाले ललितपुर पुगेर आफूले कांग्रेसलाई देशकै ठूलो पार्टी बनाएको दाबी गर्दै गाली गरेर केही नहुने तर्क गरे। देउवाले अबको सभापति आफू नहुने उल्लेख गर्दै गाली गरेर पार्टी नबन्ने भनाइ राखेका थिए।


'अब तपाईंहरु हुनेवाला हो। म त के छ र यहाँ। सबभन्दा ठूलो पार्टी बनाइहाले। भोलिको दिनमा पार्टीलाई अझ बलियो बनाउनुछ,' उनले भने, 'म पार्टी सभापति हुने हैन अब। गाली गरेर केही हुनेवाला छैन यहाँ। काम गर्नुस् न। पार्टी बलियो बनाउनस्। विरोध गरेर पार्टी बन्नेवाला छैन।'


पढ्नुस्ः रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!


सभापति देउवाले काम गरेरमात्र जनताको मन जित्न सकिने बताए। 'जनतामा जाने गाली गर्ने। अर्को गए के गर्ने? मनलागी गर्ने?' सभापति देउवाले भनेका थिए, 'अबको भेला काम गरेर देखाउने हो।'

प्रकाशित मिति : २५ जेठ २०८०

देउवा सिंगापुरमा हुँदा प्रचण्डको सुटुक्क मोर्चाबन्दी: अलमलमा कांग्रेसी नेता, एमाले कांग्रेस मिल्दै हो?


काठमाडौं: सत्ता घटकका प्रमुख नेता हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। हाल उनी उपचारका लागि सिंगापुरमा छन्।


देउवा देशमा नभएको मौका छोपी कांग्रेसइतर सत्ता गठबन्धनले मोर्चाबन्दी कसिसकेको छ।


सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा दूई पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाललाई दायाँबायाँ उभाएर नयाँ लडाइँ छेड्ने उद्घोष गरे। 'अराजक र प्रतिगामी तत्वले केही मान्छेहरुले टाउको उठाउन खोजेकै छ। के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भन्ने पक्कै पनि हो,'  सत्ताघटक एकीकृत समाजवादी र जनता समाजवादीका नेतृत्वलाई पनि सँगै उभ्याएर प्रचण्डले भने।


३२ सांसद भएको माओवादीले १२ सांसद भएको जनता समाजवादी र १० सांसद भएको एकीकृत समाजवादीलाई मोर्चामा अटाएर ५४ सांसद पुर्‍याएको छ मोर्चामा। तर अर्को समाजवादी नाम भएको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नअटाए पनि चोइटिएर गएको नेत्रविक्रम चन्द विप्लवलाई भने समेटेको छ। समाजवादी मोर्चा निर्वाचनअगाडिकै कुरा भएकोले सत्ताधारीसँग भने नआत्तिन ढाडस दिए प्रचण्डले। 'निर्वाचन अगाडिबाटै तीन पार्टीबीच मोर्चा गठनको कुरा थियो। अहिले विप्लव पनि आउनुभएको छ,' प्रचण्डले भने। प्रचण्डले देशलाई प्रतिगमनतिर फर्काउन खोज्नेका लागि मोर्चा घोषणा चुनौति नै भएको बताए। 'अहिले हामी परिवर्तनका पक्षधर दशकौंदेखि झन्डै ७०/७५ वर्षदेखि विभिन्न खालका संघर्ष र बलिदानको शृंखलाबाट गुज्रेका पार्टी र नेताहरुलाई विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौ शहीदहरु र बेपत्ता योद्धहरुलाईको त्याग र तपश्य र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने अपमानित गर्ने ह्युमिलिएट गर्न खोज्ने अराजक र प्रतिगामी तत्वले केही मान्छेहरुले टाउको उठाउन खोजेकै छ,' मोर्चा घोषणा गर्दै उनले भने, 'के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भन्ने पक्कै पनि हो। उत्साहित हुँदै प्रचण्डले भनेका छन्। फेरि देशलाई प्रतिगमनतिर फर्काउन खोज्ने तिनका एउटा अभियान र चुनौति पक्कै पनि हो। तिनीहरुलाई चुनौति पक्कै पनि हो।'


कुल डाउनपछि बाबुरामको असन्तुष्टि!


आफूलाई मोर्चामा नराखेपछि बाबुराम सोमवार मध्यराति ट्वीटरमा कुल डाउन कमेन्ट राखेका छन् मोर्चाबारे। मोर्चालाई 'कथित' आरोप लगाउँदै बाबुरामले सबैलाई सधैं ठाग्न नसकिने तर्कसमेत पेश गरेका छन्। 'समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,' बाबुरामले भने, 'कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!'


प्रचण्डले कसेको मोर्चालाई कतिपयले सत्ता बार्गेनिङको अश्त्रकै रुपमै अर्थ्याएका छन्। किनभने प्रचण्ड जबजब अप्ठेरोमा पर्छन् तबतब मोर्चाबन्दीको अड्को थाप्छन्। गत निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा टिकट बाँडफाँटको कुरा नमिल्दा प्रचण्डले मोर्चाको चर्चा चलाएका थिए। अहिले सत्तामा आफू अप्ठेरोमा परेको संकेत जेठ ३१ गते गरेका थिए। पार्टी सम्बद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर प्रचण्डले आफूलाई अप्ठेरोमा पारेकोसमेत गुनासो गरेका थिए। प्रचण्डले त्यतिबेला आफूले सरकार छाड्ने बरु कुनै सम्झौता नगर्ने बताएका थिए। देउवा सिंगापुर पुग्नुअघि कांग्रेसका संस्थापनइतरका नेता डा शेखर कोइराला पनि सिंगापुर पुगेर फर्केका थिए। कतिपय स्रोतहरुको दाबी मान्ने हो भने देउवा र शेखरबीच मेल गराउन भारत सक्रिय छ। प्रचण्डको पछिल्लो छटपटीले त्यो पुष्टि हुने विष्लेषकहरुको दाबी छ।


अलमलमा कांग्रेसी नेता


समाजवादी मोर्चाका लागि माओवादीसहितका चार दल राष्ट्रिय सभा गृहमा जुट्दा कांग्रेसीहरु डेढ किलोमिटर पर नेपाल प्रज्ञा प्रतिष्ठानमा एकैमञ्चमा देखिएका थिए। देउवाबाहेक कांग्रेसकाका शीर्ष भनिएका पदाधिकारीले प्रतिष्ठानमा ट्रेड युनियन कांग्रेसलाई पढाइरहँदा समाजवादी मोर्चाबारे चुइक्क बोलेनन्।  


बरु नेता डा शेखर कोइरालाले सकारले बाटो बिराएको हो कि भनी कार्यवाहक सभापतिका जिम्मेवारी सम्हालेका पूर्णबहादुर खड्कालाई प्रश्न गरे। खड्का कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी छन्। 'हामीहरु कता कता अलिकति बाटो बिराएको हो कि भन्ने आभास हुन्छ। लोकतन्त्र भनेको सुशासन र दण्डहीनताको अन्त्य हो। हामी लोकतन्त्रको कुरा गर्छौ,' कोइरालाले भने, 'तर खरो उत्रन नसके लोकतन्त्र सुदृढ हुन सक्दैन। मलाई चिन्ता दण्डाहीनताको छ। सुशासनको छ भ्रष्टाचार मौलाएको चिन्ता छ। सरकारमा कांग्रेस साथीको उल्लेख्य उपस्थित छ।'


बजेटमा पनि कांग्रेसलाई सत्ता गठबन्धनले नै पेल्न खोजेको शेखरको भनाइ थियो। लिएर कांग्रेसका नेताहरुलाई अहिलेको सत्ता गठबन्धनका सहयात्रीले अप्ठेरो पार्न सक्ने संकेतसमेत गर्दै कोइरालाले थपे, 'कांग्रेसले धेरै बोलेको छैन। बजेटलाई हामीले भनेको कुरा नभए पास हुन दिन्नौं। भनेर अरु पार्टीले भनेका छन्।' शेखरको प्रश्नको सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले घुमाउरो पारमा सत्तामा संकट आइपरेकोतिर संकेत गरे। 'मुलुकको अवस्था जटिल छ। मुलुकको अवस्था तरल छ। मुलुकको अवस्थालाई धेरै ठुलो वर्षौ वर्षाको परिवर्तनलाई विभिन्न बाहनामा पर्गल्याउने, तोड्ने त्यसलाई भत्काउने निरन्तर चलिरहेको छ,' खड्काले भने। तर उनले पनि मोर्चाबारे चुइक्क बोलेनन्।


निर्वाचनमा हार व्यहोरेपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने नेपाली राजनीतिको अवस्था अस्थिरतातर्फ गएकोतर्फ इंगित गरे। छोटै सम्बोधनमा सिटौलाले यस्तै तरिकाले राजनीति गइरहने हो भने देशको अवस्था २०५९ को शुरुतिर पुग्ने तर्क पेश गरे। 'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन।'


२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए। २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो। १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो। निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए। 'नेपाली कांग्रेसले यो देशलाई व्यवस्थापन दिनुछ,' सिटौलाले भने।


समाजवादी मोर्चा घोषणा भएकै दिन सिटौलाको बोललाई बल पुग्नेगरी सत्ता गठबन्धन नै हेरफेर हुनेतिर संकेत गरेका छन् विश्लेषक अरुणकुमार सुवेदीले। कांग्रेस सभापति देउवा प्रधानमन्त्री रहेका बेला परराष्ट्र सल्लाहकारसमेत रहेका सुवेदीले संघीयता हट्नेतर्फ संकेत गर्दै आफ्नो भिडियो सार्वजनिक गरेका छन्। आफ्नै च्यानलमार्फत सुवेदीले युट्युबमा सार्वजनिक गरेको भिडियोमा कांग्रेस र एमालेको एकता हुनेतर्फ संकेत गरे। समाजवादी मोर्चा गठनको सन्दर्भमा उनले भनेका छन् - संविधान संशोधन नै मुख्य मुद्दा बनेर नेपालको राजनीति अघि बढ्ने देखिन्छ। अब के के गर्ने भन्ने पान्डोरा बक्स खुल्यो। त्योबाट के के निकाल्ने भन्ने कुरा आयो।




सुवेदीले यसका राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत कांग्रेसलाई साथ रहने दाबी गरेका छन्। 'संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ। यस मुद्दालाई नेपाली कांग्रेसले ल्याउन चाहेको चुपचाप राप्रपा र एमालेले हेरिरहेको जस्तो देखिन्छ। यी पार्टीहरुको गणित जम्मा १७८ पुग्छ। दुई तिहाईका लागि लोसपा पनि कांग्रेससँग रहन सक्छ। अथवा उन्मुक्ति पार्टीसँग हुनसक्छ,' सुवेदीले भनेका छन्, 'त्यो अवस्थामा संविधान संविधान संशोधनका कारणले कतै कांग्रेस र एमाले त नजिक हुन खोजिरहेको त हैन भन्ने विश्लेषण अर्को कोणबाट भइरहेको छ।' उसो त सुवेदी देउवा निकट व्यक्ति हुन्। उनले आफूलाई त्यस रुपमा नहेर्न र यो स्वतन्त्र विश्लेषण भएको बताए।


संघीयताको विपक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा पनि देखिएकोले यो अवस्थामा संघीयता फाल्ने कुरा आए कांग्रेस, एमाले, रास्वापा एक ठाउँमा उभिने दाबी उनको रह्यो। 'राजतन्त्रको पुनरर्वृति सम्भव देख्दिनँ। नेपाली कांग्रेस अन्तिम शक्ति हो। कांग्रेसले इन्डोर्स गरेको अवस्थामा एमाले पनि एक ठाउँमा आउन सक्छ। भारतले पनि त्यही अवस्थामा सौदाबाजी गर्दा वातावरण परिवर्तन आउन सक्छ,' सुवेदीले भनेका छन्, 'संविधान संशोधनका मुल मुद्दा धर्मनिरपेक्षता, संघीयता र निर्वाचनको प्रणालीबारे राजनीतिक धुव्रीकरणका लागि गर्भादान शुरु भएको प्रतीत हुन्छ। आर्थिक दुरावस्थाका बीच नेपालमा राजनीनित द्वन्द्व शुरु भइसकेको छ। त्यो सांसदमा हुने हो शुरु भइसकेको छ। हेर्दै जाउँ।'


अहिले संसदमा कांग्रेससँग ८८ सिट, एमालेसँग ७८ सिट र राप्रपासँग १४ सिट छ। संविधान संशोधनका लागि दुई तिहाई सांसद चाहिन्छ। यसका लागि १८३ सांसद पुर्‍याउनसमेत कांग्रेस एमाले गठबन्धनलाई खासै गाह्रो नहुने उनले बताए। सुवेदीले प्रदेश खारेज हुनेतर्फसमेत संकेत गरेका छन्। उनले धर्मनिरपेक्षताको विषयमा संशोधनको विषय उठान गरेर देश हिन्दुराष्ट्रतर्फ जाने संकेत गर्दा एमाले पनि मौन देखिन्छ। के देशमा परिवर्तनको सिन क्रिएट हुँदै हो त? विश्लेषक सुवेदीले भने झैं पान्डोराको बाकस खुलेको हो त? यी विषयको पर्दा खुल्न भने देउवाको नेपाल आगमन कुर्नैपर्ने देखिन्छ।

प्रकाशित : ५ असार २०८०/पहिलोपोस्ट

बियरले बग्गीखाना पुर्‍याएपछि…

 साँझको साढे ८ बजे। बबरमहलबाट विष्णुमती करिडर हुँदै बसुन्धरातिरको यात्रा। बाइक हुँइक्याउँदै थिएँ। कालोपुलमुनि ट्राफिक प्रहरी गौँडा छेकेर जाँचमा उत्रिसकेका रहेछन्।

रफ्तारमा थिएँ। अरुलाई रोक्ने, मलाई नरोक्ने भन्ने कुरै भएन। ढिला नगरी 'ब्रेथलाइजर'मा फुकिहालेँ।

'अपपपप…. साइड लगाउनु त।'

ट्राफिक प्रहरीले चाबी खोसिहाले। अलिकति देब्रेतिर बाइक थन्क्याएपछि ती प्रहरीले लाइसेन्स मागे।

कति नपर्खी पर्सबाट निकालेर थमाइहालेँ।

'कति बोतल हो सर?' नीलो चिटमा लेख्दै सोधे।

'दुई बोतल हो,' सोझो जवाफ फर्काएँ।

'हैन होला। अलि कडै छ,' मेरो सोझो उत्तर पत्याएनन् उनले।

'बडवाइजर हो नि त !,' म फुर्ती लगाउन उत्रिहालेछु।

नाम सोधे। बताएँ।

भोलि १० बजे बग्गीखाना जानु भन्दै नीलो चिट थमाए।

बग्गीखानाको लोकेसन बताएपछि कोही साथी छ कि भनेर सोधे। चिटमा एक हजार रुपैयाँ जरिवाना चढाइसकेछन्। नयाँ बजेट आएकै दिन ‘चुना’ लागेको चिर्कटो थमाएपछि झर्किँदै भनेँ - कोही छैन।

'कोही साथी भए तपाईंको बाइक लगेर जान हुन्छ कि भनेर। बोलाउनु न।'

ओहो ! साथी त यसका लागि पो खोजेका रहेछन्। एकछिन घोत्लिएँ। यताउता को होलान् र बाइक चलाउने? मनमनै साथीको सूची बनाए। नम्बर वानमा परेका साथीको फोन डायल गरिहाले।

'मेरो त स्कुटरको मात्र हो। बाइकको छैन,' उताबाट जवाफ आयो, 'एकछिनमा म कोही साथी खोजेर खबर गर्छु।'

म आफू ठीक छु भन्ने देखाउन सीधा भएर यताउति फड्को चाल्न थाले। लाइसेन्स लिएर बाइक हुइँकाउन थालेको ७ वर्षजति पुगिसक्यो। बढुवा गर्न मिल्ने हो भने अहिले मेरो पद हो - वरिष्ठ मोटरसाइकल चालक। यति बेलासम्म त म ट्राफिकबाट जोगिएरै हिँडेको थिएँ। तर, यसपटक भने कर्‍याप्पै पारे।

'म अहिलेसम्म कतै यसरी परेको थिइन। कोहीकोहीलाई त नरोक्ने रहेछ, मैले चाहिँ पिएको हो भनेर कसरी थाह पाउनुभएको के?'

मैले ठट्यौली पारामा सोधेँ।

ती प्रहरीले पनि मक्ख पर्दै सुनाए – ‘थाहा पाइहाल्छु नि!’

'खोइ साथी आइपुग्ने भएन?'

कारबाहीको चिट थमाएका प्रहरीले १५ मिनेटपछि सोधे।

'आउँदैछन्।'

म हात बाँधेर यताउति टहलिन थालेँ।

त्यहीबेला कालोपुल मुनिबाट पुरानो हिरो बाइक बिस्तारै आइपुग्यो। ट्राफिक प्रहरी उसलाई रोक्न खोजिरहेका थिए। तर उ बटारिँदै विस्तारै भित्री सडकतिर बढाउँदै थिए। प्रहरीले ब्रेथलाइजर सोझ्याइहाले। ब्रेथलाइजरमा उनले सास फुकेनन्। बरु भित्रतिर पो सास ताने त। कुनै बेला मैले यस्तै विधि अपनाएर उम्केको थिएँ। झलस्स सम्झिएँ।

'तान्ने हैन फुक्ने,' प्रहरी झर्किए।

फुकेपछि उनको बाइक पनि मेरो छेवैमा साइड लाग्यो। मेरो भने हाँसो फुत्कियो।

'आफैँ बियर खाएर कारवाहीमा परेको छ। अझ हाँसेर बसेको छ,'

सायद ती प्रहरी मलाई दु:खी देख्‍न चाहन्थे।

ट्राफिक प्रहरीले मेरो हविगत सम्झाए। म मुख थुनेर रल्लिन थालेँ। केहीबेरमा साथीको फोन आयो। अर्का साथीले पनि 'बजेट भाषण' मनाएछन्। चाँडै काम सकाएर बासस्थान पुल्चोक फर्कने कार्यतालिका थियो। बत्तिएर गएको, काम लागेन। त्यसै आधा घण्टा बित्यो।

बाटोमा सवारी आउजाउ पातलिँदै थियो। ट्राफिक प्रहरी फेरि मेरो नजिक आए।

'तपाईँले पिएर पनि सही चलाउनुहोला। तर, रफ चलाउने मान्छे आएर ठोक्किदिए मुख्य दोष तपाईँकै हुन्छ। त्यही भएर पिएर नचलाउनु,' ट्राफिक प्रहरी भन्दै थिए, 'लिन आउने मान्छे छिटो बोलाउनुस् है। हामी जान लागेको।'

'हस्' भन्दैभन्दै एकघण्टा उभिएँ। साथी स्कुटर लिएर कालोपुलमुनि आइपुगे। पछाडि अर्को साथी। बाइक चलाउने तयारीमा उत्रेका ती साथीको पनि मापसे जाँच भयो। त्यसपछि उनको लाइसेन्स मागियो।

'२४ घण्टाभित्र जिम्मा लिएको बाइकबाट कुनै दुर्घटना भयो भने तपाईँ जिम्मेवार,' साथीलाई ट्राफिक प्रहरीले चेतावनी पो दिए।

साथी रातोपिरो। उसले सोचेकै थिएन यस्तो जोखिम!

एक घण्टा त्यहीँ उभिँदा अलअलि जोगिएको नसा पनि गायब! झन्डै सवा १० बजे त्यहाँबाट आफ्नै बाइकको पछाडि बसेर गन्तव्यतिर लागियो।

 

बग्गीखाना जानै डर…

भोलिपल्ट बिहानै कक्षा लिन बग्गीखाना जाने तयारी थियो। बिहानै पुग्दा फेरि ब्रेथलाइजरमा फुक्नुपर्ला र अल्कोहलको मात्र देखिएर कक्षा नै क्यान्सिल होला भन्ने डर! त्यही डरले बग्गीखाना नै गइन। पर्सिपल्ट बग्गीखाना पुगेँ साढे १० तिर। भित्र देब्रेतिर भिड बाक्लै रहेछ। त्यतै होला आजको कक्षा। म भिडतिर लम्किँदै थिएँ।

'पैसा तिर्ने कता हो दाइ?'

एकजना युवा हजारको नोट र मेरोजस्तै नीलो चिट बोकेर मैलाई नै सोध्न आइपुगे।

आफैँ त यो भिडमा के गर्ने हो भन्ने पत्तोभेउ नपाई अन्योलमा थिएँ। अर्का आइपुगे उल्टै सोधखोज गर्दै। मैले भनेँ - सँगै जाउँ न।

एकैछिनमा ती युवा भिडमा हराए।

भिडको छेउमा ट्राफिक प्रहरीको सूचना कक्षा रहेछ। त्यहीँ टोकन लिन ठाउँ। तुरुन्तै औंलाले दबाएर टोकन लिएँ। ४७२ नम्बर। अब के गर्ने?

‘पैसा तिर्ने अनि लाइन बस्ने कक्षाका लागि,’ – सोधपुक्ष कक्षामा बसेकी प्रहरीले भनिन्।

खल्तीलगायत अरु बैंकिङ एपबाट पनि सीधै जरिवाना तिर्न मिल्ने रहेछ। म भने सीधै भित्तातिर राखिएको इ-पेमेन्ट मेसिनतिर अघि बढेँ। त्यहाँ पटकपटक 'इरर' आइरह्यो। नभएकाहरु छेउछाउ लागिहाल्थे। यसले पनि पालो छिटो आयो। मैले आफ्नो जरीवाना तिरेँ। पैसा तिरेको रसिद लिएँ। रसिद लिएर छेउ लाग्दा अघि इरर भएकाहरु मोबाइलबाट पैसा तिर्दै थिए। त्यहीँ पाँच रुपैयाँ सेवाशुल्क लिएर मोबाइलबाट पैसा तिरिदिनेको व्यापार पो चल्दो रहेछ।

 

कक्षा पसेपछि…

ट्राफिक नियम उल्लंघन गर्नेहरुका लागि दुईवटा कक्षा रहेछ। एउटा सोधपुछ सेन्टर नजिकै। अर्को अलि पर देब्रेतिर पार्किङभित्र। एउटा कक्षामा झन्डै ८० जना। म छिरेँ पार्किङतिरको कक्षामा। सुरुमा चिटको ‘क्रस चेक’ गरे। आफ्नो परिचय खुल्ने कागज चाहिने रहेछ। कोही मोबाइलमा खिचेको नागरिकता देखाउँथे। परिचयपत्र छुटाएकाहरु फोन गरेर मगाउँदै पनि थिए। म तेस्रो लाइनमा बसेकाले नागरिक एपमा भएकै लाइसेन्समा क्लिक गरेर बसेँ। चिट चेक गर्न आइपुग्नसाथ त्यही देखाएँ। झन्डै २० मिनेटपछि सबैको चिट जाँच सकियो।

‘चाँडो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’

‘जथाभावी बाटो नकाटौं, ट्राफिक नियम पालना गरौं’

अगाडि स्क्रिनमा ट्राफिक सचेतना गीतसँगै ट्राफिक नियम उल्लङ्घन गर्दा भएका दुर्घटनाको 'भिडियो क्लिप्स' चल्न थाल्यो। तीव्र गतिमा चालकको सेकेन्डको गल्तीले कतै गाडी ठोक्किएको, कतै यात्रु नै माइक्रोबसबाट झरेको। यस्ता दृश्य हेर्दा हलमा हाँसो गुञ्जियो।

मलाई भने ती दृश्यले बाल्यकालतिर डोर्‍यायो।

२०५४ सालतिर म कक्षा ७ मा पढ्थेँ। त्यतिबेला काकाले काठमाडौंबाट अति आकर्षक पोस्टर ल्याएर सुत्ने कोठाका भित्तामा 'गोरखापत्र'माथि टाँसेका थिए। पोस्टरमा झुटो बोल्ने, रक्सी पिउने, चोरी गर्नेदेखि लिएर पशुहत्या गर्नेलाई गरिने सजाय सचित्र देखाइएको थियो। कसैलाई उधोमुन्टो पारेर तेल तताइरहेको कराहीमा त कसैलाई नाङ्गै पारेर गोरु बनाएर जोताइहरेको। कसैलाई दन्किरहेको आगोमाथि ‘ग्रिल’ गरिरहेको। कसैलाई काँडाको लौरोले पिटिरहेको !

जब स्क्रिनमा नियम तोडिएका घटना आउँथे - लेन क्रस गरेको, ओभरटेक गरेको, बाइक चलाउँदै गर्दा फोन रिसिभ गरि कुरा गरेको… यस्ता सबै चालकमा म आफैँ पाएँ। यमराजले एकएक पापको हिसाब खाता पल्टाए झैं सडकमा मैले गरेका एक एक गल्ती ती दृश्यमा समेटिएका रहेछन्। पहिले शक्त मान्छे चालकको गल्तीका कारण खुट्टा गुमाएर जीवन नै बर्बाद बनाएको। २५ मिनेटजति भिडियो प्ले भएपछि नेमप्लेटमा कमल गुरुङ लेखिएको असई मञ्चमा उक्लिए।

'सबैले सबैको अनुहार यहाँ हेर्नुभएको होला। सबै उमेरको सबै नेपालको परिपक्व र सक्षम मान्छेहरु यहाँ हुनुहुन्छ,' गुरुङले कक्षा सुरु गरे।

एक जनाले गल्ती गर्दा बेफ्वाँकमा पैदलयात्रीको ज्यान गएको घटना सम्झाए। विदेशी सडकको उदाहरण दिए। नेपाली चालकको तछाडमछाड पारा र तीब्र गतिबारे सतर्क गराए। सडकको लेन पालना नगरेको कुरादेखि ट्राफिक नियम ट्राफिक प्रहरीका लागि नभएर चालक आफ्नै सुरक्षाका लागि पालना गरिदिन आग्रह पनि गरे।

नियम पालनाका लागि रातो बत्तीमा लाइनमा बस्नुपर्छ भन्दै कक्षा सकियो एक घण्टामा। त्यसपछि मापसे र लेनका लागि कोठा नम्बर ५ र ओभर स्पिड र रातो बत्तीका लागि ६ नम्बर कोठामा जान भनियो। अरु झैं म पनि लागेँ ५ नम्बरतिर। लाइसेन्स लिन कोठा ५ र ६ मा पुगेका कोही भने लाइन मिचेरै अगाडि बढिरहेका थिए।

‘हतार नगर्नु, लाइन बस्नु भनेर भर्खर एक घण्टा कक्षा लिएको, अहिल्यै लाइन मिच्न आइहाल्ने?,’ त्यही लाइनमा उभिएर पालो पाउन लागेका एक जना भन्दै थिए। उनको प्रश्न सुनेर म फेरि मुसुक्क मुस्काएँ।

पहिलोपोस्टमा प्रकाशित २८ जेठ २०८०

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...