Sunday, April 21, 2013

नेत्र तामाङ, ललितपुर, साउन ३२- आफ्ना छिमेकी भक्तपुरको मनोहरा पुगे पनि मीना खड्का ७ परिवारसँग एकै पालमुनि काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा छिन्। मनोहराको बसाइ पनि अस्थायी हुने भएकाले जाने मन नभएको उनले सुनाइन्।

'हामीलाई अस्थायी बस्नका लागि लाने रे, फेरि सबै परिवार त्यहाँ अटाउँदैनन्, को-को पर्ने हुन्, थाहा छैन,' उनले नागरिकसँग भनिन्। थापाथली सुकुम्बसी संघर्ष समितिका संयोजक
इन्द्र तामाङका अनुसार सरकारले मनोहरा सुकुम्बासी बस्तीमा तीस परिवारलाई लैजाने तयारी गरेको छ। सरकारले गएको वैशाख २६ मा थापाथली सुकुम्बासी भत्काएपछि २ सय ५६ परिवार थापाथलीस्थित युएन पार्कका रुखमुनि पाल, प्लास्टिक टाँगेर बस्दै आएका छन्।
दुई महिनायता आफूहरू झरी झेल्दै आएको जानुका पोखरेलले बताइन्। उनले भनिन्, 'खुल्ला र अव्यवस्थित बस्तीमा रोगले समाउँछ, बस्ने ठाउँ ठेगान नभएकाले काममा जान पनि मुश्किल भइरहेको छ।' बस्ने ठाउँ निश्चित नभएपछि आफूहरू अन्योलमा परेर यहीँ बसेको उनले सुनाइन्।
छोराछोरीको पढाइसमेत बिग्रेको उनको गुनासो छ। सरकारको कामले सुकुम्बासीको बिचल्ली भएको चन्द्रकुमार लामाले बताए। उनले भने, 'कतै जाने ठाउँ नभएपछि यहीँ नै जेनतेन बस्दै आएका छौं, पानी परेपछि सुत्ने ठाउँमा पानी आउँछ। राति पनि जागै बस्नुपर्छ।'
नदी वरपर व्यवस्थित योजना
लुमन्ती आवासका लागि सहयोग समूहले थापाथलीका सुकुम्बासीलाई थापाथलीकै युएनपार्कमा अस्थायी रूपमा राख्ने योजना ल्याएको छ। लुमन्तीकी कार्यकारी निर्देशक लजना मानन्धरले भनिन्, 'जबर्जस्ती उठीबास गराएकालाई सरकारले अझै पनि बास निश्चित गराइदिएका छैनन्, उनीहरूलाई विकल्प नभएसम्म यतै राखिनुपर्छ।'
योजना अनुसार १ सय ७ रोपनीमा बस्दै आएका सुकुम्बासी परिवारलाई एक्काइस रोपनी जग्गामा राख्नेछ। उनले भनिन्, 'नदीयता २० मिटर छोडेर यो बस्ती बनाउन लागेका हौं, यसले सरकारी कार्यक्रमलाई बाधा पुग्दैन।' लुमन्तीले बाग्मती नदीकिनारका अव्यवस्थित बस्तीलाई सरकारको कार्यक्रमलाई बाधा नपुग्ने गरी व्यवस्थित पार्ने योजना प्रस्तुत गरेको छ।
भक्तपुरको इचंगुनारायणमा लाने भनिए पनि सरकारले मिति तोकेको छैन। यसले आफूहरू अनिश्चयको भुमरीमा फसेको पीडितहरूको गुनासो छ। लुमन्तीले बस्ती थापाथलीमा राख्ने प्रस्ताव गरे पनि काठमाडौं उपत्यका प्राधिकरणका आयुक्त केशव स्थापितले यसबारे निर्णय भइनसकेको उल्लेख गरे।
१३ परिवार मनोहरामा
सरकारले १३ परिवार सुकुम्बासीलाई भक्तपुरको मनोहरामा पुर्‍याएको छ। अर्को निर्णय नभएसम्म अस्थायी बसोबासका लागि सरकारले आफूहरूलाई मनोहरा सुकुम्बासी बस्तीमा पुर्‍याएको सीता राईले बताइन्। मनोहरामा थप १७ परिवार जाने थापाथली सुकुम्बसी संघर्ष समितिका संयोजक इन्द्र तामाङले बताए।
टहरा भत्काइयो
सुन्दरीघाटमा सुकुम्बासीका लागि बनेको टहरा भत्काइएको सशस्त्र प्रहरी बल दक्षिणकाली गणका सशस्त्र प्रहरी नायब उपरिक्षक केदारबहादुर खड्काले बताए। २३ अस्थायी टहरा सुकुम्बासी नराख्ने भएपछि भत्काइएको हो। यसका लागि भवन निर्माणले १० लाख खर्चेको थियो। सरकारले थापाथलीका सुकुम्बासीलाई सुन्दरीघाटमा राख्न खोज्दा स्थानीयले विरोध गरेपछि उक्त ठाउँको टहरा भत्काइएको हो।
स्रोत http://www.nepalupclose.com/113-Tag-sukumbasi-problem.aspx

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...