नेत्र
तामाङ/दुबई
युएईको
राजधानी अबुधाबीको शानदार होटल इमिरेट्स प्यालेस। त्यही अगाडि लहरै उभिएका छन् ५४ देखि
७७ तल्ले गगनगुम्बी भवन। भवनमाथि
डिसेम्बर १ मा कर्याङकुरुङ
शैलीमा उडिरहेको छ युएई सेनाको जहाज। ४८ औं स्वतन्त्र दिवसको स्वागतमा शहरका भवनहरुमा
फरफराइरहेका छन् यहाँका राष्ट्रिय झन्डाहरु।
शहर
'नेसनल डे इभ'
को मुडमा छ। तर, त्यही शहरको एक घरमा भने
परिबन्दले थुनिएकी छिन्, एक नेपाली। चिल्ला शहरमा घुम्न बर्जित गरिएको
छ उनलाई। यतिमात्र हैन, नेपाल फर्कने बाटोसमेत बन्द भएको छ उनको।
'घरमा बुढा बिरामी छन्। कमसेकम म घर जान त
सक्थे नि अहिले। न भिसा छ, न पासपोर्ट नै। कसरी जानु,
कसरी के गर्नु?' नीरा ढकालको गला अवरुद्ध भयो। आँखा टिलपिल।
***
युएईकै
चर्चित शहर दुबईस्थित बर दुबईमा रहेको दुबई क्रिकमाथि स्वछन्द उडान भरिरहेका छन् सिगल चरा। डिसेम्बर
३ को त्यो दिन त्यहाँका फेरि र जहाजहरुमा युइईको झन्डा फरफराइरहेका छन्।
तर, त्यहीबाट
केही पर एक रेस्टुरेन्टमा आफ्नो परिचय लुकाउँदै आइपुगेकी छिन् रामेछापकी रोशनी(नाम
परिवर्तन गरिएको)। सक्कली नाम र स्थान नखुलाउने शर्तमा कुराकानी
शुरु भएको छ।
'लुकीलुकी हिँड्नुपरेको छ, कामको
ठेगान छैन, खानको ठेगान छैन,' साँझपखको
समय बाबर्चीको भित्री कोठामा आफ्नो दुखेसो पोख्दैछिन् रोशनी।
***
दुबईको
डेरा। जुन दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ। जहाँबाट देख्न सकिन्छ मिनेटमिनेटमा
उडान भरिरहेको विमान।
तर, धादिङका
मदन नेपाल यही शहरको एउटा कोठामा थुनिएका छन्। 'विदेश जाउँ। कमाउँ भनेर
आएको। तर, यहाँ आएर भने यस्तो भयो के,' निराश
सुनिएका मदनले भने।
***
अबुधाबी
होस् या दुबई। विश्वका धनी देशहरुसँग टक्कर दिँदै बढेको छ विकास। विश्वका श्रमिकहरुको
रोजगारको आकर्षण बनेका छन् यी शहर।
के
दिन,
के
रात,
२४
घन्टै चलायमान। २५० तल्लेसम्मका भवन यतै छन्। सफा र चिटिक्क सडकमा तीब्र गतिमा दौडिरहेका
छन् सवारी सधानहरु। रेलको गति अझ द्रुत। अग्ला तल्लाहरुमा क्रेनदेखि डोजरहरु काममा
सक्रिय देखिन्छन्। यसरी नै विकासको रफ्तार चलिरहेको छ यहाँ। विकास बढें झै नेपाली श्रमिकको
संख्या पनि बढ्दो छ।
हरेक
दिन यी शहरमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाको लाइन लाग्छ। दैनिक आकाशबाट
मरुभुमि हेर्दै आइपुग्छन् - राम्रो काम र राम्रो कमाईका लागि।
नवलपरासी
बर्दघाटकी नीरा पनि यस्तै सपना बोकेर अबुधाबी आइपुगेकी हुन्। युएईका लागि नेपाली दूतावासको
कार्यालय नजिकै छ नीराको काम। ४१ वर्षीया नीराले दैनिक बच्चा
स्याहर्नुपर्छ। घर सरसफाइ गर्नुपर्छ। अनि भाडा माँझ्नुपर्छ।
तर
उनको अबुधाबी बसाई अवैधानिक भइसकेको छ।
उनी
एक भारतीयकोमा 'बेबी केयर'मा
खटेकी छिन्। बच्चालाई घुमाउन र ट्युसन पढाउनसम्म पुर्याउनुपर्छ। त्यसो त बेलाबेला
साथीभाईलाई पनि भेटेर आफूलाई परेको विघ्न सुनाउँनु छ। यसो गर्न खुल्लमखुल्ला हिँड्नुपर्छ।
तर, खुल्लमखुल्ला हिँड्ने अधिकार खोसिएको छ
उनको।
'बच्चालाई घुमाउन जान कार्ड
छैन। ट्युसन लानुपर्छ। बाहिर निस्कन कि त लेबर कार्ड चाहियो कि त इमिरेट्स आइडी। मैले
यही कार्ड चाहियो भनेर फलो गर्दागर्दा समय बित्यो। फलो गर्दागर्दै ओभरस्टे भयो,'
नीराले
आफ्नो हाल बताइन्।
तीन
वर्षका लागि ढक्कै पैसा तिरेर अबुधाबी आएकी हुन् उनी। पैसा नेपालीकै कम्पनीमा बुझाइएको।
तर, तिनै पैसा लिने कम्पनीका मालिकले उनको बसाई
अवैधानिक बनाइदिएको छ। मुर्मुरिँदै भन्छिन्, 'पाँच लाख तिरें। अहिले
न त पासपोर्ट छ। न त भिसा नै।'
पछिल्लोपटक
गत फेब्रुअरीमा अबुधाबी पुगेकी हुन् उनी। यसअघि पनि उनले दुई वर्ष यही घरमा काम गरेकी
थिइन्। एक वर्षअघि नेपाल फर्केकी उनी केही महिना घर बसी काममा
फर्किन्। कामदारका लागि प्राय: कम्पनीले घर आउजाउको खर्च
बेहोरिदिन्छ। त्यसैले रोजगारस्थलमा पुन फर्कदाँ कामदारले खर्च गर्नै पर्दैन। तर, मीनाको
हकमा भने त्यो नियम लागू भइदिएन।
किन
यस्तो परिवन्दमा परिन् त?
नीराको
कथा यसरी शुरु हुन्छ।
अबुधावीको
यही भारतीय परिवारको सेवामा दुई वर्ष खटिएकी नीरा गत वर्ष बिरामी परिन्। अबुधाबीमा
उपचार महँगो। बिरामी ज्यानले काम गर्न सक्ने कुरै भएन। त्यसैले आफूलाई निको पार्न फर्किन्
नेपाल। केही समयको बसाईमा रोग निदान भयो।
काममा
फर्कन तयार भएकै बेला युएईको भिसा सकियो उनको। त्यसपछि गुहारिन् साथी मनिषा कँडेललाई।
मनिषा अबुधाबीमै रोजगारीमा थिइन्।
'बिरामी परेपछि नेपाल आउँदा
भिसा सकियो। मनिषालाई समस्या सुनाएँ। उनैमार्फत काममा फर्कें,' नीराले यसपटकको अबुधाबी
यात्राको कथा झिकिन्।
मनिषाले
उनको समस्या समाधान गरिदिन अनुरोध गरिन् दुबई बस्ने मीना पाण्डेलाई।
मीनाले
उनको समस्या समाधान गर्ने भइन्। तर, पाँच लाख रुपैयाँ लिएर।
अबुधाबी आउन ऋण खोज्नुपर्ने भयो। नीरा फर्कने भएपछि उनलाई ऋण दिन तयार भए अबुधाबीका
मालिक। र, उनै नीराकाअनुसार उनका मालिकले ५ हजार दिराम
मनिषा र मीनाको सल्लाहअनुसार रमेश भट्टराईलाई पठाइदिए।
त्यसपछि तयार भयो उनको आबुधावी आइपुग्ने तीन महिने भिसा।
फेब्रुअरीमा
आबुधाबी ओर्लिएपछि थप तीन वर्षे भिसाका लागि १० हजार रुपैयाँ तिरिन् नीराले। वर्ष दिन
वितिसक्यो, नीराको हातमा न त भिसा परेको छ,
न त पासपोर्ट नै।
'तीन वर्षको भिसाको लागि
भनेर एक पटक पाँच हजार। अर्को पटक १० हजार र मेडिकल चेकको ८०० दिराम लिए,' नीराले पीडा फुकाइन्, 'यता आएपछि मेडिकल चेक
गरेको। त्यो पनि नक्कली रहेछ।'
कामदारकै भिसा उल्लेख भएको तीन महिनाको मात्र भिसा छ उनीसँग।
आरए ट्राभल एन्ड टुरिजम
कम्पनीबाट दुबई हुँदै अबुधाबी पुगेकी नीरालाई पिरलो बढेको छ अहिले।
'अबुधाबी आएको आरए ट्राभलबाटै
हो। पैसा सबै त्यही कम्पनीले लिएको छ भन्छन्,' नीरा एकोहोरिन थालिन्।
आफ्नो समस्या समाधान गराइदिन
नीराले मनिषा, मीना र रमेशलाई पटकपटक भनिन्। तर, उनीहरुले
नीरालाई भरे भोलि भनेरै आलटाल गरिरहे। त्यसपछि नीरा पुगिन् अबुधाबीस्थित नेपाली दूतावासको
शरणमा।
पछिल्लोपटक गत ६ नोभेम्बरमा
नजिकै पर्ने नेपाली राजदूतावास पुगेकी हुन् उनी।
आफ्नो
समस्या सुल्झिन्छ कि भनी विन्ति गर्दै पटकपटक दूतावास पनि धाइसकेकी छिन्। तर सुनुवाई
केही भएको छैन।
'ओभरस्टे बढ्न थालेपछि
एम्बेसीमा रिपोर्ट गरेकी छु। पटकपटक धाउन थाले पनि कसैले सुनेका छैनन्। एम्बेसी धाएको
९ महिना भइसक्यो,'
नीरा
सुक्सुकिइन्।
तीन
जनाको ट्रयापमा नीरा
नियमत: तीन
महिनाको भिजिट भिसा सकेपछि थप ६ महिना ओभरस्टे बस्न पाउँछिन् नीरा। ओभरस्टेको दैनिक
जरीवाना तिर्नैपर्छ। ओभरस्टेका लागि पहिलो दिनको जारीवाना १२५ दिराम तोकिएको छ। त्यसपछि
प्रत्येक दिन २५ दिराम।
नीराको
भिसा सकिएको ९ महिना पुगिसक्यो। यस हिसाबले उनले ७ हजार दिराम ओभरस्टे जरीवाना तिर्नुपर्ने
हुन्छ। ७ हजार दिराम लगभग २ लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ। यता तीन वर्षे
भिसाका लागि तिरेको १५ हजार ८ सय दिरामको अत्तोपत्तो छैन।
अग्रीम
रुपमा पैसा तिर्दा पनि यसरी दोहोरो समस्यामा कसरी परिन् त नीरा?
नीराले
आफ्नो भिसाको प्रक्रियामा तीन जनाको संलग्नता रहेको दाबी गर्छिन्। उनलाई अबुधाबी झिकाउन
पहल मनिषा कँडेलबाट थालेकी हुन्। मनिषाले आफूले सबै रकम मीना पाण्डेलाई दिएको बताउँछिन्।
यता मीनाले भने सबै रकम आरए ट्राभल एन्ड टुरिजमका रमेश भट्टराईले लिएको दाबी गर्छिन्।
मनिषा
भन्छिन् : रमेश र मीनाले धोका दिए
नीरालाई
अबुधाबी ल्याउन आफूले सहजीकरण गरेको स्विकार्छिन् मनिषा। 'नजिकको
साथी हो। नेपाल गएकी थिइन् बिरामी परेर। हाउसमेडको भिसा रोकिएको थियो। मीनाले कम्पनीको
भिसा मिलाइदिन्छु भनेर एप्लाइ गर्न लगाइदिए,' हाल अबुधावीमै रहेकी मनिषाले
सुनाइन्। मनिषा पनि मेड भिसामै कार्यरत छिन्। राम्रै हुन्छ भनेर काम लगाइदिएको उल्लेख
गर्दै अहिले नीरालाई विचल्ली पारेकोमा आफू पनि दु:खी रहेको उनी बताउँछिन्।
मनिषाका
अनुसार मीनाले रमेशकै कम्पनीमार्फत भिसा मिलाएकी हुन्। 'मीनाले
रमेश भट्टराई आचार्यको कम्पनीबाट भिसा मिलाइदिए। पैसा मैले नै दिएकी हुँ। तर, अहिले
मीना र रमेशले दुई जनाले एकले अर्कालाई देखाएर पन्छिरहेका छन्,' मनिषाले
भनिन्। आफूले निरन्तर प्रयास गर्दा धम्की दिने गरेको र आफैलाई पनि मीनाले ठगेको मनिषा
दाबी गर्छिन्।
सबै
रकम आफूमार्फत र नीराको मालिकमार्फत मीनालाई दिएको उनले दाबी गरिन्। भनिन्, 'पैसा
त मैले नै दश हजार डिपोजिट गरिदिएकी हुँ। नीराको मालिकले पाँच हजार सीधै रमेशलाई दिएको
हो।'
नीराले
आफूलाई विचल्लीमा पार्ने एजेन्टको नाम मीना पाण्डे भएको भन्दै दूतावासमा बुझाएको निवेदनमा
उल्लेख छ।
मीना
भन्छिन् : दोषी रमेश हो, तर
मलाई फसाए
दूतावासमा
मुख्य दोषी भनी किटानी गरिएको मीना पाण्डेले यो काममा आफू संलग्न रहेको स्विकार्छिन्।
उनले नीराको काम रमेश भट्टराईको कम्पनीमार्फत गरेको बताइन्। भनिन्, 'रमेश
भट्टराईले ११ हजार दिराम लिएको छ। भिसा निकालेर पासपोर्टमा स्ट्याम्प लगाएनन्। खास
कुरा यो हो। मनिषा भन्ने नीरा नानीको साथी हो। नीराको सरले ५ हजार पैसा हालिदियो। मनिषाले
मलाई ६ हजार पठायो यति हो। त्यसको एक महिनापछि भिसा निकाल्यो। श्रम गर्न एम्बेसीको
अफर लेटर चाहिन्छ। त्यो पनि बल्ल बल्ल बनाइदिए। १२ सय दिराम लिएर। मेडिकल गर्न पनि
मानेन रमेशले।'
नीराको
समस्याको समाधान अब आफैले गरिदिने वाचा गर्छिन् मीना। आफू पाँडेकै बुहारी भएकीले पनि
आफूले यो काम गर्नै पर्ने मीना बताउँछिन्। भन्छिन्, 'म
पनि पाँडेको बुहारी। उहाँ पनि पाँडेकी छोरी। गर्दिन्छु भनेर मैले भनिसकेकी छु।'
झापाकी
मीना हाल दुबईमा छिन्। मीनाले यसरी नै भरे भोलि भन्दै झुलाइराखेकोले नै आफू दूतावासको
शरणमा पुगेको नीरा बताउँछिन्।
पटकपटक
आश्वासन दिने मीना भन्छिन्, 'नीरा नानीलाई भनेकी छु। लेबर कार्ड जस्तो
टाइपिङ गरेर त्यो पेपर एकजनाको कम्पनीमा कोटा हालेको छु। कोटा निस्केपछि म गर्दिन्छु
भनेको छु। प्रोसेस गरेको छु।'
यता
नीरालाई अबुधाबी झिकाउने रमेशको कम्पनी हाल कालो सूचीमा रहेको मीनाले बताइन्।
रमेश
भन्छन् : मीना पाण्डेले पैसा खाएर यस्तो भएको हो
आरए
ट्राभल एन्ड टुरिजमका रमेश भट्टराईले नीरालाई आफ्नो कम्पनीले बोलाएको स्वीकार गरे।
तर, दुबई आइपुगेपछि नीरा आफ्नो कम्पनीको सम्पर्कबाहिर
रहेको दाबी गर्छन्। रमेश भन्छन्, 'मेरै
कम्पनीबाट आएकी हुन्। तर, दुबई आइपुगेपछि हाम्रो सम्पर्कमा छैनन्। हामीलाई यता आएपछि नोटिफइ गरेन। त्यसपछि
ओभरस्टे भएको हो।'
उनले
यसमा आफ्नो कुनै दोष नरहेको र मीना पाण्डेको दोष रहेको तर्क गरे। उनले भने, ' हामीलाई पैसा दिएको छैन।
मीना भन्ने केटीलाई दिएको हो। पैसा उसले नै खाएको हो।
नीरालाई
दुबई झिकाउँदा उल्टै आफ्नो खर्च भएको दाबी गर्दै उनले आफूले नीराको ओभरस्टे चार्ज तिर्न
नसक्ने बताए। अनि यसरी नेपालीहरुलाई झिकाउँदै अवैधानिक बनाएकोले तपाईको कम्पनी पनि
कालोसूचीमा परेछ नि? प्रश्नको जवाफमा
रमेशले भने, 'कम्पनी बन्द भए नभएको सरोकार राख्ने तपाईहरुले
कन्सर्न राख्ने विषय हैन। मैले यहाँको कानुनअनुसार जे पनि गर्न सक्छु।'
तपाईको
कम्पनीमै आएको मान्छे आज ओभरस्टे भएको छ फाइन त तपाईले तिर्नुपर्ने हो नि? जवाफमा
उनले भने, 'फाइन म तिर्दिनँ। मेरो कारणले भएको पनि हैन।
फाइन तिरेमा मैले जे गर्नुपर्ने हो गर्छु भनेको छु। नीरा पीडित हो। मैले एम्बेसीमा
कम्प्लेन गरेको छु।'
यसरी
तीन जनाले तीनतिर देखाएर नीरालाई फनफनी घुमाइरहेका छन्। दूतावासले पनि खासै ध्यान नदिएको
दुखेसो गर्दै नीरा दोहोर्याउँछिन्, 'श्रीमान
बिरामी छन्, घर जाउँ, फर्कने बाटो छैन।'
सरेन्डर
गरेर निस्केर नेपाल फर्कौ ४१ वर्षीया नीरालाई समस्या
छ ऋण र ओभरस्टे चार्जको। आफूलाई ऋणै पत्याएर काममा राखेको मालिकप्रति अनुग्रही छिन्।
मीरा भन्छिन्,
'काम
त ठीकै छ। उहाँहरुसँग लोन लिएर सल्लाह गरी भिसा लिन प्रोसेस गरेको हो। ऋण नतिरी नेपाल
के फर्कन देलान?'
दूतावास भन्छ : दुख दिने लुकेर बसेका छन्
दूतावासले पनि मीनाले
झैं 'भरे, भोलि'
भन्दै टार्दै आएको छ। यससम्बन्धी बुझ्न हामीले श्रमसम्बन्धी सम्पूर्ण समस्या हेर्ने
दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्कीलाई सोध्यौ। कार्कीले यस्तो समस्या धेरै भएकोले
हेरिसाध्य नभएको बताए।
उनले भने, 'कुराकानी
भइरहेको छ। त्यो विचल्ली पार्ने लुकेर बसेको छ। त्यसले गर्दा हामीलाई समस्या परेको
छ।'
लुकेर बस्नेचाहि को त?
कार्कीलाई सोध्यौ।
कार्कीको जवाफ थियो - लुकेर
बसेको चाहिँ नीरा ढकाललाई अलपत्र पार्ने।
लुकेर बस्नेको परिचय भने
उनले खुलाउन चाहेनन्। हाँस्दै उनले भने, 'नाम
त अहिले सम्झना भएन नि। यस्ता त कति आउँछन्, आउँछन्।'
९ महिनाअघिबाट समस्या
सुनाएकी नीरालाई अहिले घर नपुगी भएको छैन। तर, दूतावासका कन्सुलर भने अझै भरे भोलि भनेर समस्या सुल्झाउने
भन्दा पनि पन्छाउनतिर लागिरहेको देखिन्छ।
युएईको श्रमिकको समस्या
समाधान गरिदिने एकमात्र आधिकारिक निकाय हो दूतावास। तर, दूतावासले
किन यसरी ढिलासुस्ती गरिररहेको छ। कि यो विषय अरुले नै हेर्ने हो भनी हामीले प्रश्न
गर्दा कन्सुलर कार्कीले भने 'मैले नै हेरिराछु। सबै
पक्षलाई मिलाएर काम गर्छु।'
नीराका
श्रीमान बिरामी भएर अस्पताल भर्ना भएका छन्। नेपाल नफर्की नहुने चटारोमा परेकी छिन्।
तर, उनको चित्कारमा सरकारी निकाय दूतावास ९ महिनादेखि
कान थुनेर बसेको छ।
भक्काँनिदै
दूतावासलाई नीरा प्रश्न गर्छिन्, 'अर्काको
ट्वाइलेट साफ गरेर। आफ्नो बालबच्चाको लागि। राम्रोसँग पढुन भनेर यत्रो संघर्ष गरेर
बसेको छु। महिलाले भाडा माझेको पैसा एम्बेसीले पनि पहल गरिदिनुपर्ने हैन र?'
मुख्य
पात्र मीना, ट्रयापमा नुवाकोटका ६ युवा पनि :
काठमाडौंबाटै पैसा उठाइन्,
उडाएनन् दुबई
नीरालाई
अवैधानिक बनाउन बाध्य पार्ने मुख्य दोषी मीना भएको मानिएको छ। नीराले आफूलाई विचल्लीमा
पार्ने मीना पाण्डे भएको किटानी र दूतावासले लुकेर बसेको भनिएको पात्र मीना नै हुन्।
मीना पटकपटक दूतावासले बोलाउँदा पनि नजाने गरेको मनिषा र नीरा बताउँछन्।
उसो
त मीनाको ट्रयापमा उनीमात्रै हैनन्, मनिषा पनि परेको देखिएको
छ। पार्टनरसिपमा व्यवसाय गर्ने भनी मनिषाबाट २० हजार दिराम लिइन् मीनाले। मीनाले दुबईमा
पार्लर पनि सञ्चालनमा ल्याइन् मीना स्टार लेडिज सेलुन नामको। तर, मनिषालाई
न त पार्टनरसिप गर्न दिइन् न त पैसा नै फिर्ता। मनिसा भन्छिन्, 'पार्लर
खोलिसकेपछि पार्टनरसिप नगर्ने भन्दै चेकमार्फत पैसा दिइ। तर चेक बाउन्स भयो। यो विषयलाई
मैले एम्बेसीमा पनि निवेदन दिएकी छु। तर, सुनुवाई केही छैन।'
युएईमा
भएकाहरुमात्र हैन नेपालमै भएकाहरु पनि परेका छन्। मे १५,
२०१९ मा ६ जना युवाबाट १ लाख ५० हजारको दरले रकम
लिएर ती युवाहरुलाई विदेशमा नउडाएको उनीहरुले दाबी गरेका छन्। त्यसमध्येका एक जना हुन्
नुवाकोट उर्लेनीका २० वर्षे थोक्रा तामाङ। विदेश जाने तयारीका साथ काठमाडौं आएका उनी
अहिले निराश भएर उर्लेनीमै फर्केका छन्। 'एक वर्ष भइसक्यो। उडाउछु
भनेको। तर खै उडाएन,' थोक्राले भने। आफूहरु ठगिएको थाह पाएपछि
तादी गाउँपालिकाको वडा १ को वडा कार्यालय उर्लेनीमा उजुरी पनि दिए २०७६ वैशाख १ गते।
उजुरी
अहिले अबुधाबीको दूतावास पुगेको छ। 'मीनाले नै ठगेको थाहा
भएपछि हामीले वडामा उजुरी दिएका हौं,' पढाई कम भएकोले कामको
खोजीमा दुबई जाने तयारी गरेका उल्लेख गर्दै थोक्राले भने, 'भिजिट
भिसामा पठाउँछु भनेर पैसा लियो। १ लाख ३० हजार। खत्तम बनायो नि बिदेश जाने प्लान। अब
खोई के जानु र।'
अहिले
ऋणीहरु दिनँहु घरमा पैसा माग्न आउने उनले बताए। भने, 'मान्छेको ऋणले डुबिसक्यो।
एक वर्ष भइसक्यो। न पैसा, न भिसा। ऋण
माग्दैछ। दिनकै माग्न आउँछ। पैसा खाएको हो कि। विदेश जाँदैन रहेछ। पैसा लेउ भन्छ। पैसा
बुझाएको हो। सबै खाएर गयो भन्छु।'
उर्लेनीकै
२२ वर्षे कमललङ्बु तामाङ यही ६ जनामध्येका हुन्। मलेसियासमा तीन वर्ष काम गरी फर्केका
उनलाई आफ्नो नजिकका मान्छे दुबई जान लागेको देखेपछि त्यतै लहसिए। कमल भन्छन्, '१५/१६
दिनमै लान्छु भने। होला नि त भनेर डेढ लाख दिएको। डेढ वर्ष भइसक्यो अहिलेसम्म उडाएनन्।'
मीना
र ६ जना युवाहरुको बीचमा छन् नुवाकोटकै बासु रुम्बा। साइनोमा भेना पर्छ कमलको। त्यही
विश्वासमा आफू डुबेको बताउँछन् कमल। भन्छन्, 'पैसा त हामीले बासुलाई
बुझाएको हो। भेनै पर्छ। त्यसरी फसाएपछि भेना होस कि जो सुकै समाउनुपर्यो नि।'
६
जनालाई दुबई पठाउने जिम्मा आफूले लिएको स्विकार्छन् बासु। उनी भन्छन्, 'मीना
पाण्डेसँग अर्को मान्छे पनि छ। पैसा चाहि अर्कैको हातमा दिएको
थियो। पख पख भनिरहेको छ।'
शुरुमा
वर्किङ भिसामा लाने वाचा गरेपनि पछि भिजिट भिसा पठाएको र आफूले विश्वास गरी पैसा पठाएको
उनले बताए। भने, 'पहिला वर्किङ भिसामा लाने भन्यो। अनि पछि
फेरि लेबर कार्डको कार्ड फेल भयो भनेर भिजिटको भिसा पठाइदियो। भिसा पठाएपछि पुरै पैसा
दियो। त्यसपछि त झुक्यायो नि। प्रक्रिया चालेको ६/७ महिना भएपछि भिसा पठाए।
त्यसपछि विश्वास लागेर पैसा दिए।'
यसरी
पैसा लिएर काम नगर्नु त लापरवाही भएन र? जवाफमा बासु भन्छन्, 'भाइहरुले
दिमाग खाइरहेको छ नि। पैसा कसरी उठाउने भनेर तनाव भइरहेको छ। कसरी हुन्छ मीनालाई झिकाउनु
पर्छ। मार्न लागिसक्यो मलाई। ६ जनाको पैसा खायो। ८-१० लाख। मार्नु न बाँच्नु
बनायो नि।'
बलियो
प्रमाण छैन कारोबारको
नीरा
होस या थोक्रा। अनि मनिसासँग व्यवसायिक साझेदारी। यी कुनै लेनदेनमा मीनाले प्रमाण आफ्नो
नाममा नहुने गरी कारोबार गरिएको पाइएको छ।
नीरालाई
पनि दूतावासले पटकपटक प्रमाण नपुगेको कुरा दोहोर्याएको मनिषा बताउँछिन्'।
दूतावास जाँदा भिजिट भिसामा किन आएको भन्दै हप्काउँछन्,' मनिषाले
भनिन्, 'हामीले पैसा दिएको केही रिसिप्ट दिँदा पनि
प्रमाण पुगेन भन्छन्।'
यता
६ जनालाई दुबई लिने जिम्मा लिएका बासु रुम्बाले पनि मीनालाई सीधै पैसा नदिई अरुमार्फत
पैसा दिएको बताउँछन्।
***
रामेछापकी
रोशनी कम्पनीले टर्मिनेसन पेपर थमाइ दिएयता ओभरस्टेमा छिन्। कम्पनीले टर्मिनेसन पेपर
थमाएको धेरै भइसक्यो उनलाई। 'पुलिसदेखि बचेर हिँडिरहेको
छु। फाइन बढेको बढ्यै होला,' बर दुबईस्थित
बबर्ची
रेस्टुरेन्टको सिलिङतिर फर्किँदै भावुक बनिन् रोशनी।
कमाउने
सपना बोकेर दुबई आइपुगेकी उनको जरीवाना दैनिक बढ्दो छ। लाश छउन्जेल आश भएको छ उनलाई।
भन्छिन्,
'दुई
महिना अघि ८ हजार दिराम पुगेको थियो रे। कमाउन आएको। कुन बेला पक्रिन्छ थाह छैन। तर, काम पाइन्छ भिसा थपिन्छ
भनेर विभिन्न ठाउँ धाइरहेकी छु।'
रोशनी
घर फर्कने मुडमा छैनन्। भन्छिन्, 'पैसा नकमाई कसरी फर्कने? घरमा बाआमालाई हेर्नुपर्छ।
घरकै जेठी भएकीले भाईबहिनीलाई पढाउने जिम्मेवारी छ। गाउँ खर्चिलो छ। ऋण परेको छ। ओभरस्टे
चार्ज पनि त तिर्नुपर्यो।'
जीवनमा
नसोचेको भइदिएकोमा अफसोचमा छिन् उनी। 'सपनाहरु पुरा गरौला। नेपाल फर्केर केही गरौला
भन्ने थियो। तर नसिब यस्तै रहेछ,' एकोहोरिइन् रोशनी, 'बहिनी र भाईहरुलाई व्यवहार
सम्हाल्न भनेकी छु।'
दुबई
आउनेवित्तिकै क्लिनिङमा काम पाएकी थिइन् रोशनीले। त्यसपछि ग्रुप लिडर भइन्। अनि लन्ड्री
इन्चार्ज। तलब ग्याप हुन थालेपछि अर्को काम थालिन् रोशनीले। '१४ घन्टा काम हुन्थ्यो।
मेरो जिम्मेवारी भनेको टिमलाई पनि सम्हाल्ने। काम पनि गर्नुपर्ने। तलब ग्याप हुन थालेपछि
अर्को कम्पनी ज्वाइन गरें,'
उनले
भनिन्,
'कमाई
त राम्रो हुन थालेको थियो। त्यहीबेला बिरामी परें। इन्सुरेन्स नभई दबई पाइदैन यहाँ।
मेरो इन्सुरेन्स रहेनछ। शेखले सबै काम हुन्छ भन्थ्यो। भिसा थप्दिन्छु भन्थ्यो। पछि
कम्पनी नै बन्द भयो। टर्मिनेसन पेपर थमाएर बिदाई पो गरिदिए।'
दुबई
रोशनीको चौथो गन्तव्य रहेछ। २०६३ सालमा उमेर बढाएर पासपोर्ट लिएपछि पहिलो वैदेशिक रोजगार
यात्रा शुरु गरेकी रहेछन् रोशनीले। वैदेशिक रोजगार यात्राबारे उनले यसरी सुनाइन्, '४ वर्ष कुवेत बसें। त्यसपछि
फर्केर ४ वर्ष खेतीपाती गरे। फेरि साउदी गएँ। १ वर्ष बसें। त्यसपछि युएईको अबुधावी
आएँ। तीन वर्ष बसें। अहिले दुई वर्षयता दुबईमा छु।'
आफ्नो
दुख घरमा थाह नपाओस् भन्छिन् उनी। 'घरमा थाह पाउँछन् भन्ने ठूलो पीर छ। यहाँ
पनि धेरैसँग लुकाएर बसेको छु। यस्तो दिन आउँछ जस्तो लाग्दैनथियो। बाआमालाई कस्तो लाग्ला
छोरी यस्तो अवस्थामा छ भनेर सुन्दा।'
***
ओभरस्टे
भएको ४ महिना वितिसक्यो मदनको। केही काम पनि पाइरहेका छैनन्। 'मजस्तै
पाकिस्तानी भारतीय भएको ठाउँमा ल्याएर राखेका छन्। बाहिर निस्के पुलिसले समाउला,' आफ्नो अवस्था सुनाए मदनले।
गत
असारमा ग्लोबल ओभरसिजबाट उडेका रहेछन् उनी। यद्यपि अहिले कम्पनी र आफूलाई काममा पठाउनेको
अत्तोपत्तो नभएको उनले बताए। २ लाख ५० हजार रुपैयाँ तिरेर दुबई आइपुगेको मदनले बताए।
२४ वर्षे मदन भन्छन्, '२ लाख ५० हजार रुपैयाँ तिरेर गएको यताबाट।
हजार डलर एक्चेन्ज गरेर मलाई दियो। दुबईमा लगेर सरलाई देउ भन्यो। राम पौडेलले एरपोर्टमै
लियो सबै पैसा।'
भिजिट
भिसामा आउनेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक हजार अमेरिकी डलर देखाउनुपर्ने
प्रावधान छ। यही प्रावधानअनुसार उनलाई नेपालबाट दलालले एक हजार अमेरिकी डलर उनको साथमा
पठाए। तर सोही रकम दुबई पुगेपछि त्यहाँको दलालले थुते।
पैसा
थुत्ने एजेन्ट पौडेलले उनलाई अहिलेसम्म भनेजस्तो काम त लगाइदिएनन् नै नेपाल पठाइदेउ
भन्दा पनि मानेका छैनन्। 'घर पठाउ भनेको पनि सुनेका
छैनन्। भिसा लगाउ भन्दा पनि मानेका छैनन्। भिसा सकिसक्यो। ओभरस्टे चार्ज अब कसरी तिर्ने
होला,'
मदनले
भने, 'मलाई ल्याएको एजेन्टले कहिले कता कहिले कता
लगेर राख्छन्। शुरुमा सारजह राखे। अहिले यहाँ ल्याएर राखेका छन्।'
पहिलोपटक
वैदेशिक रोजगारीमा निस्केका उनलाई भनेको जस्तो काम पाउन मुश्किल भयो। विभिन्न ठाउँमा
काम लगाए पनि। नेपालको ग्लोबल ओभरसिजबाट उडेका उनलाई दुबईमा राम पौडेलसँग भेट्न लगाइयो।
काम लगाइदिने आश्वसनमा रामले घुमाइरहेका छन् उनलाई।
आफूले
तिर्नुपर्ने ओभरस्टे चार्ज गाउँमा बाआमाले तिर्नै नसक्ने दुखेसो उनको छ। आफ्नो अवैधानिक
बसाई शुरु भएपछि नेपालको एजेन्टलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको उनले बताए। 'घरको मान्छेले कल गर्दा
पनि उठाउँदैन रे। मेनपावर पनि सरेको छ रे।'
कक्षा
१० पढेका उनले राम्रो काम पाउने आश र धन कमाउने आशमा विदेश आएको सुनाए। भने, 'नेपालमा राम्रो काम पाउँदैन
भनेर बिदेश जाउँ। पैसा कमाउ भनेर सपना बोकेर आएको। अहिले यस्तो भयो?'
मदनको
गुहार छ,'भोकै बस्न बाध्य छु। मलाई जसरी हुन्छ नेपाल
फर्काइदेउ।'
***
यता
काभ्रेका दीपक घोरासैनीका कथा अझ दुखलाग्दो छ। काशीखण्ड १० का उनी भिजिट भिसामा दुबई
पुगेका थिए। ७० हजार नेपाली रुपैयाँ तलब पाउने आशामा उनलाई गाउँकै दाजु पर्नेले दुबई
पठाएका रहेछन्।
तिनै
दीपक अहिले लाइफ टाइम ब्यान्डको छाप लागेर नेपाल फर्किसकेका छन्। नेपाल फर्कने क्रममा
उनले दुई वर्षअघि छायाँकन गरिएको एक भिडियोमा भनेका छन्, 'भिजिट भिसामा ९ महिना
अघि दुबई आएको। ७० हजार स्यालरी पाइन्छ भनेर।'
दुबई
आउन २ लाख ४० हजार रुपैयाँ तिरे। उनले भनेका छन्, '२ लाख ४० हजार रुपैयाँ
तयार पारेर आएको। एक लाख ४० हजार काठमाडौंमै बुझाएँ। बाँकी एक लाख यहाँ बर दुबई आइपुगेपछि
मोहन राईले लिए।'
पछिल्लोपटक
मेनपावरले चर्को पैसा असुल्न थालेको भन्दै युवाहरु भिजिट भिसाको साहरामा दुबई युएई
आउने ट्रेन्ड बढ्दो छ। ठगहरुका लागि भने युएईको भिसा प्रक्रिया नबुझ्नेलाई फसाउने गतिलो
हतियार बनेको छ - भिजिट भिसा।
दीपकका
लागि त्यस्तै भइदियो। 'म दुई दिन राईको रुममा
बसे। उनले अजमान पुर्याए। समुद्रको छेउमा। काम पाएन। त्यहाँ समूद्रको छेउमा दुई दिनसम्म
सुते,'
शुरुका
दिन यसरी सुनाएका छन् दीपकले, 'पर्सिपल्ट एक जना बंगाली भेटे। युनियन वा
बर दुबईसम्म पुर्याइदेउ भनेर बंगालीलाई भने। त्यहाँबाट बर दुबई आए। मोहन राईले फोन
पनि उठाएनन्। मेरो साथीमार्फत भनेर मोहनलाई खबर गर्न लगाए। भेट भयो। तर मोहनले काममा
लगाउन सकेनन्।'
त्यसपछि
आफै काम खोज्न खटिएछन् दीपक। 'मैले आफैले काम खोजे। चाइनिस रेस्टुरेन्टमा
हजार दिराममा कुक असिस्टेन्ट भएँ। एम्ब्रोइङ भिसा भनेर २ महिनाको भिसा दियो। दुई महिनाको
तलबबाट पैसा कटायो। २ महिनाको भिसा थप्दिन्छु भने। तर भिसा थप्दिएन। ६ महिनासम्म तलब
पनि दिएन। छुट्टी पनि पाएन,'
दीपकको
दुखका दिन शुरु भए।
ओभरस्टे
अनि अवैधानिक बासमा रहेका दीपकलाई तनाव भयो। उनले रेस्टुस्टेन्टका मालिकलाई भिसा चाँडो
थप्न दबाव दिए। तर,
परिणाम
उनी कामबाट निकालिए। 'तँ झगडा गर्ने रहेछस्
भनेर मलाई त्यसै पठाए। रुममा आएर एक महिना दश दिनजति सुतें। केही सीप नलागेपछि म काभ्रे
सेवा समाजको सम्पर्कमा आइपुगे। मलाई उहाँहरुले खानको व्यवस्था गरिदिनुभयो,' दीपकले भनेका छन्, 'दुबईमा मलाई ब्यान्ड गरिदियो।
लाइफटाइम ब्यान्ड।'
***
पाल्पाका
रुपक थामी ६ महिनायता ओभरस्टेमा छन्। मेदेखि उनी ओभरस्टेमा रहेको उनले बताए। 'सात महिना भइसक्यो,' एकजना दलालको भरमा भिसा
थपिने र नेपाल फर्किने आशामा उनी अबुधाबीमा बसिरहेका छन्। दुई वर्ष चालक बनेका उनी
अब जसरी पनि नेपाल फर्कन चाहन्छन्। 'नेपाल फर्कन चाहन्छु।
तर कुनै उपाय भेटिरहेको छैन,' थामीले भने।
किन
परिन्छ परिवन्दमा?
युएईको
दुबई र अबुधाबी नेपालीहरुको रोजगारको आकर्षक केन्द्र
हो। के दिन,
के
रात,
२४
घन्टै चलायमान दुबई शहरको विकास ह्वात्तै बढेको छ। विकास बढे झै नेपाली श्रमिकको संख्या
पनि ह्वात्त बढ्दो छ यहाँ। मानिसको भीड उत्तिकै छ। यही भीडमा बढेको छ नेपाली श्रमिकको
समस्या पनि।
रोजगारका
लागि वैधानिक बाटो समाउनेलाई त्यति समस्या नरहेको नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठ
बताउँछन्। बर दुबईस्थित अबु बेकरमा व्यवसायसमेत सम्हालिरहेका स्याङ्जाका श्रेष्ठ भन्छन्, 'लेगल्ली आउनेको समस्या
त्यति देखिदैन। मुख्य समस्या भिजिट भिसामै देखिन्छ। भिजिट भिसामा दलाललाई मोटो रकम
दिएर आउनेको समस्या ५ वर्षदेखि बढिरहेको छ।'
भिजिट
भिसामा पनि आफै आउनेलाई खासै समस्या नरहेको उनको दाबी छ। भन्छन्, 'आफै आउनेलाई यस्तो समस्या
छैन। प्राय दलालमार्फत आउने गर्छन्। हजार डलर लिएर। त्यो एमाउन्ट एरपोर्टमा झर्ने बित्तिकै
युएईको दलालले खोस्छ।'
१२
वर्ष यता दुबईमा रहेका श्रेष्ठका अनुसार अज्ञानताका कारण नै धेरै फसिरहेको बताउँछन्।
'पैसा लिएपछि सबै कम्पनीले
दिन्छन् भनेर एजेन्ट फरार हुन्छन्। त्यसपछि बिचल्ली हुन्छ कामदारको।'
दुबई
झिकाइएको कामदारलाई यहाँका एजेन्टले सरजाह र आजमानजस्ता सस्तो ठाउँमा लगेर राख्ने र
कामको लोभ देखाइराख्ने गरेको उनी बताउँछन्।
त्यसो
त बीचमा एम्नेस्टी आएकोले पनि अवैधानिक रुपमा बस्नेको संख्या धेरै हटेको उनले बताए।
श्रेष्ठले भने,
'अगस्ट
२०१९ अघि ४० हजारको हाराहारीमा अवैधानिक भेटिएका थिए नेपाली। तीन महिना एमनेस्टी चल्यो।
झन्डै क्लियर भएको थियो। फेरि शुरु भएको छ।'
अहिले
सयदेखि दुई सयको संख्यामा अवैधानिक नेपाली युएईमा रहेको उनको अनुमान छ।
कानुनी
बाटो हुँदा पनि किन रोज्छन् त अवैधानिक बाटो?
उनी
भन्छन्,
'अज्ञानता।
सम्बन्धित देशबारे जानकारी नभएकोले भिजिट भिसामा आएको देखिन्छ। आफै अनलाइनमा बसेर एप्लिकेसन
गर्न सक्छन्। एम्बेसीले पनि ३००० भन्दा बढी स्यालरीलाई रोकतोक गर्दैन।'
त्यसो
त सरकारले आममाफी दिएर पनि स्वदेश फर्काउँछ। तर, अवैधानिकमा परेका नेपाली
किन फर्कन चाहँदैनन् त स्वदेश?
विगत
१५ वर्षदेखि दुबईमा कार्यरत काभ्रेका दिल लामाको अनुभवमा पैसा कमाउनु नै श्रमिकको मुख्य
उद्देश्य भएकोले देश फर्कन नसकेका हुन्। काभ्रे सेवा समाज, युएईमार्फत समाजसेवामा
जुटेका लामा भन्छन्,
'भिजिट
भिसा रिन्यु गर्न नसके इलेगल हुन्छ। कि त फर्किनुपर्यो। त्यसै फर्कदाँ लाज होला। बिदेश
आएर पनि नकमाइ फर्केको भन्ने होला। यस्तै परिबन्दमा परेर इलेगल हुन्छन्।'
यस्ता
समस्या कसरी आइपर्छन् त?
मुख्यत
कमजोर खालका कम्पनीहरु नै नेपाली श्रमिकलाई समस्याको भड्खालोमा पार्ने कारण भएको बताउँछन्
उनी। भन्छन्,'कम्पनी बन्द हुँदा पनि
समस्या आइपर्छ। कामदारहरुलाई तलब दिन नसकेपछि आर्थिक अवस्था कमजोर हुन्छ। अनि अर्को
काम खोज्ने क्रममा यस्तो समस्या आइपर्छ।'
उनी
घरायसी काम गर्ने हरुलाई बढीजस्तो यस्तो समस्या झेल्नुपरेको सुनाउँछन्। भन्छन्,'घरासयी काम गर्नेहरुलाई
यस्तो समस्या बढी आइपर्छ। १२-१५ घन्टा काम गर्नुपर्दा मानसिक तनाव हुने रहेछ। त्यसपछि
भाग्छन्। यहीबाट समस्या शुरु हुन्छ।'
सीपमा विश्वभरका श्रमिकसँग
टक्कर लिने ठाउँ भएकाले दक्ष र बलियो नभई दुबईमा काम गर्नु श्रमिक आफैको कमजोरी भएको
उनको भनाई छ। भन्छन्,
'नेपालीहरु
सीप र भाषाको कुराले गर्दा पछि पर्छन्। विश्वभरका श्रमिक कम्पिटिसनमा छन् यहाँ।'
हाल
युएईमा २ लाख नेपाली भएको तथ्याङ्क भए पनि भिजिट भिसामा आउनेलाई सरकारले तथ्यांकमा
समावेश नगरेको दुबईमा व्यवसाय गरिरहेका मन्जु पौडेल बताउँछिन्। यसले कम्तीमा तीन लाख
नेपाली दुबईमा रहेको उनको अनुमान छ।
भिसा
सेटिङ
युएई
जानका लागि विभिन्न भिसाहरु उपलब्ध हुन्छन्। जसका लागि सबैभन्दा सजिलो भिसा हो भिजिट
भिसा। काम जान्नु नपर्ने। श्रम स्विकृति लिइरहनुनपर्ने र मेडिकल जाँच पनि गरिरहनुनपर्ने।
यसैले
धेरैको रोजाइ बन्न थालेको छ भिजिट भिसा। पैसा धेरै असुल्ने भन्दै मेनपावरको विश्वास
गुम्न थालेको छ। त्यसैले वैदेशिक रोजगारमा जान चाहने कतिपय सचेत युवाले यसको प्रयोग
गरी काम पनि राम्रै पाइरहेका छन् युएईमा।
तर
यही सजिलो बाटो सेटिङ गरी दलालले युएईका विभिन्न स्थानमा पुर्याई अलपत्र पार्ने क्रम
बढ्दो छ। भिजिट भिसाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययगमनले पेपर
भिसा,
आउजाउ
गर्ने दोहोरो टिकट,
एक
हजार अमेरिकी डलर,
आफू
बसुन्जेलको होटलको रुम बुक गरेको कागजात खोज्छ र बिजनेस कार्ड खोज्छ। जसमध्ये भिसा, टिकट र एकहजार अमेरिकी
डलर नक्कली बनाउन मिल्दैन। होटल बुकिङ र बिजनेस कार्ड भने नक्कली बनाएर पठाउने धन्दा
ट्राभल कम्पनीहरु नै सक्रिय छन्।
यसरी
बन्छ फेक होटल बुकिङ।
युएईको
भिसा लिएपछि एक महिना म्याद हुने र युएई इन्ट्री हुनसाथ काउनडाउन शुरु हुन्छ। भिसा
सकिएकाको हकमा कतिपय कम्पनीले आफैले भिसा थपिदिने प्रक्रिया आफै गर्छन् भने दलाल वा
आफैले भने ओमन वा इरानजस्ता देशमा लगेर इक्जिट हान्ने र पुन इन गर्ने गर्छन्। यस्तो
काममा नेपालीहरु पनि सक्रिय भएको पाइन्छ युएईमा।
भिजिट
भिसामा समय सकेमा चेकिङमा परे कार्वाही हुन्छ। ओभरस्टेमा पहिलो दिनको २०० हुन्छ। त्यसपछि
१०० प्रत्येक दिन थपिन्छ।
नियम
खुकुलो पार्दै युएई
युएईले
कामदारको यस्तै समस्या समाधान गर्न जुन १३, २०१८ मै ६ महिनासम्म ओभरस्टे बस्न सक्ने
निर्णय गरिसकेको छ। त्यहाँको मन्त्रिपरिषद्ले भिसा अवधिभन्दा धेरै बसेकालाई काम खोज्न
६ महिना म्याद दिने निर्णय गरेको थियो।
गल्फ
न्युजमा ओभरस्टे कामदारलाई उनीहरुले चाहेमा नो इन्ट्री छाप बिनै स्वेदश फर्कने अवसरसमेत
दिने निर्णय युएई सरकारले गरेको उल्लेख गरेको छ। यस्ता कामदार पुन रोजगारीमा फर्कन
पाउने व्यवस्थासमेत उल्लेख गरिएको छ। यद्यपि उनीहरुलाई २ वर्ष भने युएईमा प्रवेश गर्ने
रोक लगाइएको छ।
भिजिट
भिसामा समय सकेमा चेकिङमा परेमा कार्वाही हुन्छ। ओभरस्टेमा पहिलो दिनको जारीवाना २००
दिराम हुन्छ। त्यसपछि प्रत्येक दिन १००। भिजिट भिसामा ओभरस्टे बस्ने बालबालिकाको हकमा पहिलो दिन १२० दिराम लाग्ने
र त्यसपछि हरेक दिन २५ दिराम लाग्ने नियम छ। ओभरस्टेमा पहिलो दिनको जारीवाना १२५ दिराम
हुन्छ। त्यसपछि प्रत्येक दिन २५ दिराम।
ओभरस्टे बस्नेले चार प्रकारका सजाय भोग्ने
उल्लेख छ। एक नाम कालोसूचीमा पर्ने दुई इमिग्रेसन ब्यान हुने तीन तीन महिनाको जेल र
त्यसपछि आफ्नो देश फिर्ता पठाउने।
सरकारी तथ्यांकमा हाल युएईमा साढे दुई लाखको
हाराहारीमा छन् नेपाली। तर,
ओभरस्टे र भिजिट भिसामा आउनेलाई यसमा समावेश नगरिएकाले तीन लाख बढी हुन सक्नेयुएईका नेपाली व्यवसायीहरु बताउँछन्।
के
हो टर्मिनेसन?
कुनै पनि कम्पनी बन्द
हुने अवस्थामा पुगेपछि कामदारलाई नयाँ काम खोज्न भन्दै एउटा कागज पत्र दिन्छ। यही कागजलाई
टर्मिनेसन पेपर भनिन्छ। यही कागजको भरमा अरु क्षेत्रमा काम खोज्न पाइने काभ्रे सेवा
समाजका दिल लामाले बताए।
कम्पनी
बन्द भएपछि अरु काम खोज्नका लागि दिइने कागज हो टर्मिनेसन पेपर। यसको पनि निश्चित म्याद हुन्छ। यसको निश्चित भने कम्पनीले
नै गर्ने अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।
-यो समाचार ह्युमानिटी युनाइटेडको सहयोगमा
मिडिया फाउन्डेसनले आयोजना गरेको खोजमुलक मल्टिमिडिया फेलोसिप अन्तर्गत तयार गरिएको
हो। २०७६ मंसिरमा दुबई र अबुधाब क्षेत्रको फिल्ड भिजिटपछि