Friday, July 7, 2023

देउवा सिंगापुरमा हुँदा प्रचण्डको सुटुक्क मोर्चाबन्दी: अलमलमा कांग्रेसी नेता, एमाले कांग्रेस मिल्दै हो?


काठमाडौं: सत्ता घटकका प्रमुख नेता हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। हाल उनी उपचारका लागि सिंगापुरमा छन्।


देउवा देशमा नभएको मौका छोपी कांग्रेसइतर सत्ता गठबन्धनले मोर्चाबन्दी कसिसकेको छ।


सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा दूई पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाललाई दायाँबायाँ उभाएर नयाँ लडाइँ छेड्ने उद्घोष गरे। 'अराजक र प्रतिगामी तत्वले केही मान्छेहरुले टाउको उठाउन खोजेकै छ। के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भन्ने पक्कै पनि हो,'  सत्ताघटक एकीकृत समाजवादी र जनता समाजवादीका नेतृत्वलाई पनि सँगै उभ्याएर प्रचण्डले भने।


३२ सांसद भएको माओवादीले १२ सांसद भएको जनता समाजवादी र १० सांसद भएको एकीकृत समाजवादीलाई मोर्चामा अटाएर ५४ सांसद पुर्‍याएको छ मोर्चामा। तर अर्को समाजवादी नाम भएको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नअटाए पनि चोइटिएर गएको नेत्रविक्रम चन्द विप्लवलाई भने समेटेको छ। समाजवादी मोर्चा निर्वाचनअगाडिकै कुरा भएकोले सत्ताधारीसँग भने नआत्तिन ढाडस दिए प्रचण्डले। 'निर्वाचन अगाडिबाटै तीन पार्टीबीच मोर्चा गठनको कुरा थियो। अहिले विप्लव पनि आउनुभएको छ,' प्रचण्डले भने। प्रचण्डले देशलाई प्रतिगमनतिर फर्काउन खोज्नेका लागि मोर्चा घोषणा चुनौति नै भएको बताए। 'अहिले हामी परिवर्तनका पक्षधर दशकौंदेखि झन्डै ७०/७५ वर्षदेखि विभिन्न खालका संघर्ष र बलिदानको शृंखलाबाट गुज्रेका पार्टी र नेताहरुलाई विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौ शहीदहरु र बेपत्ता योद्धहरुलाईको त्याग र तपश्य र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने अपमानित गर्ने ह्युमिलिएट गर्न खोज्ने अराजक र प्रतिगामी तत्वले केही मान्छेहरुले टाउको उठाउन खोजेकै छ,' मोर्चा घोषणा गर्दै उनले भने, 'के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भन्ने पक्कै पनि हो। उत्साहित हुँदै प्रचण्डले भनेका छन्। फेरि देशलाई प्रतिगमनतिर फर्काउन खोज्ने तिनका एउटा अभियान र चुनौति पक्कै पनि हो। तिनीहरुलाई चुनौति पक्कै पनि हो।'


कुल डाउनपछि बाबुरामको असन्तुष्टि!


आफूलाई मोर्चामा नराखेपछि बाबुराम सोमवार मध्यराति ट्वीटरमा कुल डाउन कमेन्ट राखेका छन् मोर्चाबारे। मोर्चालाई 'कथित' आरोप लगाउँदै बाबुरामले सबैलाई सधैं ठाग्न नसकिने तर्कसमेत पेश गरेका छन्। 'समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,' बाबुरामले भने, 'कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!'


प्रचण्डले कसेको मोर्चालाई कतिपयले सत्ता बार्गेनिङको अश्त्रकै रुपमै अर्थ्याएका छन्। किनभने प्रचण्ड जबजब अप्ठेरोमा पर्छन् तबतब मोर्चाबन्दीको अड्को थाप्छन्। गत निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा टिकट बाँडफाँटको कुरा नमिल्दा प्रचण्डले मोर्चाको चर्चा चलाएका थिए। अहिले सत्तामा आफू अप्ठेरोमा परेको संकेत जेठ ३१ गते गरेका थिए। पार्टी सम्बद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर प्रचण्डले आफूलाई अप्ठेरोमा पारेकोसमेत गुनासो गरेका थिए। प्रचण्डले त्यतिबेला आफूले सरकार छाड्ने बरु कुनै सम्झौता नगर्ने बताएका थिए। देउवा सिंगापुर पुग्नुअघि कांग्रेसका संस्थापनइतरका नेता डा शेखर कोइराला पनि सिंगापुर पुगेर फर्केका थिए। कतिपय स्रोतहरुको दाबी मान्ने हो भने देउवा र शेखरबीच मेल गराउन भारत सक्रिय छ। प्रचण्डको पछिल्लो छटपटीले त्यो पुष्टि हुने विष्लेषकहरुको दाबी छ।


अलमलमा कांग्रेसी नेता


समाजवादी मोर्चाका लागि माओवादीसहितका चार दल राष्ट्रिय सभा गृहमा जुट्दा कांग्रेसीहरु डेढ किलोमिटर पर नेपाल प्रज्ञा प्रतिष्ठानमा एकैमञ्चमा देखिएका थिए। देउवाबाहेक कांग्रेसकाका शीर्ष भनिएका पदाधिकारीले प्रतिष्ठानमा ट्रेड युनियन कांग्रेसलाई पढाइरहँदा समाजवादी मोर्चाबारे चुइक्क बोलेनन्।  


बरु नेता डा शेखर कोइरालाले सकारले बाटो बिराएको हो कि भनी कार्यवाहक सभापतिका जिम्मेवारी सम्हालेका पूर्णबहादुर खड्कालाई प्रश्न गरे। खड्का कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी छन्। 'हामीहरु कता कता अलिकति बाटो बिराएको हो कि भन्ने आभास हुन्छ। लोकतन्त्र भनेको सुशासन र दण्डहीनताको अन्त्य हो। हामी लोकतन्त्रको कुरा गर्छौ,' कोइरालाले भने, 'तर खरो उत्रन नसके लोकतन्त्र सुदृढ हुन सक्दैन। मलाई चिन्ता दण्डाहीनताको छ। सुशासनको छ भ्रष्टाचार मौलाएको चिन्ता छ। सरकारमा कांग्रेस साथीको उल्लेख्य उपस्थित छ।'


बजेटमा पनि कांग्रेसलाई सत्ता गठबन्धनले नै पेल्न खोजेको शेखरको भनाइ थियो। लिएर कांग्रेसका नेताहरुलाई अहिलेको सत्ता गठबन्धनका सहयात्रीले अप्ठेरो पार्न सक्ने संकेतसमेत गर्दै कोइरालाले थपे, 'कांग्रेसले धेरै बोलेको छैन। बजेटलाई हामीले भनेको कुरा नभए पास हुन दिन्नौं। भनेर अरु पार्टीले भनेका छन्।' शेखरको प्रश्नको सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले घुमाउरो पारमा सत्तामा संकट आइपरेकोतिर संकेत गरे। 'मुलुकको अवस्था जटिल छ। मुलुकको अवस्था तरल छ। मुलुकको अवस्थालाई धेरै ठुलो वर्षौ वर्षाको परिवर्तनलाई विभिन्न बाहनामा पर्गल्याउने, तोड्ने त्यसलाई भत्काउने निरन्तर चलिरहेको छ,' खड्काले भने। तर उनले पनि मोर्चाबारे चुइक्क बोलेनन्।


निर्वाचनमा हार व्यहोरेपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने नेपाली राजनीतिको अवस्था अस्थिरतातर्फ गएकोतर्फ इंगित गरे। छोटै सम्बोधनमा सिटौलाले यस्तै तरिकाले राजनीति गइरहने हो भने देशको अवस्था २०५९ को शुरुतिर पुग्ने तर्क पेश गरे। 'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन।'


२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए। २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो। १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो। निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए। 'नेपाली कांग्रेसले यो देशलाई व्यवस्थापन दिनुछ,' सिटौलाले भने।


समाजवादी मोर्चा घोषणा भएकै दिन सिटौलाको बोललाई बल पुग्नेगरी सत्ता गठबन्धन नै हेरफेर हुनेतिर संकेत गरेका छन् विश्लेषक अरुणकुमार सुवेदीले। कांग्रेस सभापति देउवा प्रधानमन्त्री रहेका बेला परराष्ट्र सल्लाहकारसमेत रहेका सुवेदीले संघीयता हट्नेतर्फ संकेत गर्दै आफ्नो भिडियो सार्वजनिक गरेका छन्। आफ्नै च्यानलमार्फत सुवेदीले युट्युबमा सार्वजनिक गरेको भिडियोमा कांग्रेस र एमालेको एकता हुनेतर्फ संकेत गरे। समाजवादी मोर्चा गठनको सन्दर्भमा उनले भनेका छन् - संविधान संशोधन नै मुख्य मुद्दा बनेर नेपालको राजनीति अघि बढ्ने देखिन्छ। अब के के गर्ने भन्ने पान्डोरा बक्स खुल्यो। त्योबाट के के निकाल्ने भन्ने कुरा आयो।




सुवेदीले यसका राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत कांग्रेसलाई साथ रहने दाबी गरेका छन्। 'संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ। यस मुद्दालाई नेपाली कांग्रेसले ल्याउन चाहेको चुपचाप राप्रपा र एमालेले हेरिरहेको जस्तो देखिन्छ। यी पार्टीहरुको गणित जम्मा १७८ पुग्छ। दुई तिहाईका लागि लोसपा पनि कांग्रेससँग रहन सक्छ। अथवा उन्मुक्ति पार्टीसँग हुनसक्छ,' सुवेदीले भनेका छन्, 'त्यो अवस्थामा संविधान संविधान संशोधनका कारणले कतै कांग्रेस र एमाले त नजिक हुन खोजिरहेको त हैन भन्ने विश्लेषण अर्को कोणबाट भइरहेको छ।' उसो त सुवेदी देउवा निकट व्यक्ति हुन्। उनले आफूलाई त्यस रुपमा नहेर्न र यो स्वतन्त्र विश्लेषण भएको बताए।


संघीयताको विपक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा पनि देखिएकोले यो अवस्थामा संघीयता फाल्ने कुरा आए कांग्रेस, एमाले, रास्वापा एक ठाउँमा उभिने दाबी उनको रह्यो। 'राजतन्त्रको पुनरर्वृति सम्भव देख्दिनँ। नेपाली कांग्रेस अन्तिम शक्ति हो। कांग्रेसले इन्डोर्स गरेको अवस्थामा एमाले पनि एक ठाउँमा आउन सक्छ। भारतले पनि त्यही अवस्थामा सौदाबाजी गर्दा वातावरण परिवर्तन आउन सक्छ,' सुवेदीले भनेका छन्, 'संविधान संशोधनका मुल मुद्दा धर्मनिरपेक्षता, संघीयता र निर्वाचनको प्रणालीबारे राजनीतिक धुव्रीकरणका लागि गर्भादान शुरु भएको प्रतीत हुन्छ। आर्थिक दुरावस्थाका बीच नेपालमा राजनीनित द्वन्द्व शुरु भइसकेको छ। त्यो सांसदमा हुने हो शुरु भइसकेको छ। हेर्दै जाउँ।'


अहिले संसदमा कांग्रेससँग ८८ सिट, एमालेसँग ७८ सिट र राप्रपासँग १४ सिट छ। संविधान संशोधनका लागि दुई तिहाई सांसद चाहिन्छ। यसका लागि १८३ सांसद पुर्‍याउनसमेत कांग्रेस एमाले गठबन्धनलाई खासै गाह्रो नहुने उनले बताए। सुवेदीले प्रदेश खारेज हुनेतर्फसमेत संकेत गरेका छन्। उनले धर्मनिरपेक्षताको विषयमा संशोधनको विषय उठान गरेर देश हिन्दुराष्ट्रतर्फ जाने संकेत गर्दा एमाले पनि मौन देखिन्छ। के देशमा परिवर्तनको सिन क्रिएट हुँदै हो त? विश्लेषक सुवेदीले भने झैं पान्डोराको बाकस खुलेको हो त? यी विषयको पर्दा खुल्न भने देउवाको नेपाल आगमन कुर्नैपर्ने देखिन्छ।

प्रकाशित : ५ असार २०८०/पहिलोपोस्ट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...