Friday, July 7, 2023

कांग्रेसमा भ्याइ-नभ्याई: संस्थापनइतर रुपान्तरण अभियानमा, केन्द्र जिल्लाजिल्लामा सम्मेलन गर्दै


काठमाडौं: उपनिर्वाचनमा एक सिट गुमाएको नेपाली कांग्रेस यतिबेला संगठन बलियो बनाउन तातेको छ। सत्ता गठबन्धनमा सहभागी कांग्रेस अहिले विभिन्न कार्यक्रमका साथ गाउँ-गाउँ पुगिरहेको छ। नेताहरु जेठको गर्मीमा पनि कोही पूर्वतिर दौडिरहेका छन् भने कोही पश्चिम पुगेका छन्। शेखर कोइराला समूहका नेताहरु अहिले रुपान्तरण अभियान चलाउँदै पश्चिमतिर लागेका छन्। संस्थापनबाट भने देशभर वडादेखि जिल्ला सम्मेलन जारी राखेको छ।


संस्थापनइतरको अभियान पश्चिमतिर


मधेशबाट सुरु भएको कांग्रेस रुपान्तरण अभियान अहिले पश्चिम पुगेको छ। नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। मधेशबाट, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण भेला सकिएको छ। सुर्खेतमा भएको कार्यक्रममा नेताकार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको अभियानका कर्णाली संयोजक भुपेन्द्रजंग शाहीले बताए। 'हामी रुपान्तर अभियानका क्रममा बर्दियाबाट सुदूरपश्चिमतिर लाग्दैछौं,' शाहीले भने, 'सुर्खेतको कार्यक्रम विशाल भयो। एकदम राम्रो छ रेस्पोन्स।'


अभियानमा गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, देवराज चालिसेलगायतका नेताहरु छन्।


गगनको आफ्नै दौडाह


कांग्रेस महामन्त्री गगन थापा पनि यतिबेला विभिन्न जिल्ला पुगिरहेका छन्। सोमबार महामन्त्री थापा दाङको लमही पुगे। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको लागि प्रशिक्षणका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्न गगन लमही पुगेका थिए।


त्यहाँ गगनले कांग्रेस पुरानै ढर्रामा चल्न नहुने बताए। 'हिजोकै चालबाट चल्दैन। चल्छ भन्ने सोचे ठूलो भुल हुनेछ,' थापाले भने।


कांग्रेसलाई बदल्न प्रत्येक कांग्रेसी बदलिनुपर्ने आवश्यकता उनले औंल्याए। 'यसलाई कसरी बदल्ने? अब छलफल गरौं। पार्टीको टिकट किन माथिको मान्छेले दिने? अब दाङको क्षेत्र नम्बर १ मा कसले टिकट पाउने भन्दा काठमाडौंमा बस्ने र दाङको कुनै गुटको मान्छेले गर्ने,' थापाले भने, 'यो हुँदैन।


टिकट पाउन दाइ दाइ हैन अब भाइ भाइ भन्नुपर्छ। पार्टी पुरै माथितिर हेर्नुपर्छ। यसलाई उल्टाइदिउँ। सबै तलबाट आउनुपर्छ।'


पढ्नुसः पुरानै ढर्रामा पार्टी चल्न नहुने गगनको भनाइ : क्रियाशीलले नै कांग्रेसलाई मत हाल्दैनन्


दाङबाट पोखरा आइपुगेका गगन बिहीवार धनकुटा पुगेका छन्। धनकुटामा जिल्ला सम्मेलनका लागि थापा त्यता पुगेका हुन्।


धमाधम जिल्ला सम्मेलन पनि


कांग्रेस केन्द्रले अहिले देशभरका वडादेखि जिल्ला सम्मेलन जारी राखेको छ। १४औं महाधिवेशनपछि देशभर पहिलो सम्मेलन सुरु भएको हो। केन्द्रले वडा सम्मेलन नगर तथा गाउँपालिका सम्मेलन, प्रदेश क्षेत्र सम्मेलन, क्षेत्रीय सम्मेलन तथा जिल्ला सम्मेलन जेठ मसान्तसम्म सम्पन्न गर्न परिपत्र गरेको हो। विधान बमोजिम नै यो सम्मेलन देशभर सुरु भएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए।


'विधानमै उल्लेख छ यो सम्मेलन गर्नु भनेर। अहिले वडावडामा सकियो अब पालिका हुँदैछ। क्षेत्रीय तहपछि अब जिल्लामा सकिन्छ,' सहमहामन्त्री आङ्देम्बेले भने।


वडा तथा क्षेत्रीय तहमा सकिएर जिल्ला तहका सम्मेलन सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए।


'विधान अनुसार सम्मेलन गर्नु भन्ने छ। यही अनुसार देशभर सम्मेलनहरु भइरहेका छन्,' पौडेलले भने, 'जेठ मसान्तभित्र सबै जिल्लाको सम्मेलन सकिन्छ होला।'


देउवा गगनको ब्याटल


पछिल्लो समय कांग्रेसमा देउवाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि देखिएको छ। यसबारे कसैले मुख नखोलेपछि जेठ १९ गते महामन्त्री थापाले रोष प्रकट गरे।


'पार्टीको पद्धति नै हामीले यस्तो बनायौं कि पार्टी झन्झन थोरै मान्छेको बीचमा। हेर्नुस् त पार्टीको सभापतिले कुनै पनि विषयमा छलफल नगरे पनि हुने,' थापाले भनेका थिए, 'पार्टीको केन्द्रीय समिति महिनौंसम्म नबोलाए पनि हुने। भोलि म भए पनि त्यही हुने भयो नि त। परम्परा यस्तै छ भन्ने भयो नि।'


पढ्नुस्ः आफ्नै नेतृत्वमा गुट बनाउने गगनको संकेत : कांग्रेसलाई घोप्टाएर तल फर्काउनुपर्ने भयो


गगनले कांग्रेसमा अहिले केन्द्रीकृत प्रणालीको दबदबा रहेको र 'दाइ दाइ' भन्दै पुकार गर्नुपर्ने परम्परा रहेकोप्रति व्यंग्यसमेत कसे। 'सयौं मान्छे कांग्रेसबाट वडाध्यक्ष भएका छन्। हाम्रो पार्टी अहिले तलबाट माथितिर फर्केका छन्। त्यो भन्दा माथिको दाइलाई हेर्दा। महामन्त्रीले पनि दाइ दाइ भन्दै हेर्छौं। तलदेखि माथिसम्म दाइ दाइ दाइ। सबै माथि फर्केको छ,' गगनले भने, 'अब यसलाई खर्लप्प फर्काएर तल फर्काउनुपर्छ। अब माथि फर्काएर हेर्नै नपरोस् न। माथि फर्केको पार्टीलाई घोप्टाएर तल फर्काउनुपर्ने अवस्था भयो।'


गगनले असन्तुष्टि पोखेकै भोलिपल्ट सभापति शेरबहादुर देउवाले ललितपुर पुगेर आफूले कांग्रेसलाई देशकै ठूलो पार्टी बनाएको दाबी गर्दै गाली गरेर केही नहुने तर्क गरे। देउवाले अबको सभापति आफू नहुने उल्लेख गर्दै गाली गरेर पार्टी नबन्ने भनाइ राखेका थिए।


'अब तपाईंहरु हुनेवाला हो। म त के छ र यहाँ। सबभन्दा ठूलो पार्टी बनाइहाले। भोलिको दिनमा पार्टीलाई अझ बलियो बनाउनुछ,' उनले भने, 'म पार्टी सभापति हुने हैन अब। गाली गरेर केही हुनेवाला छैन यहाँ। काम गर्नुस् न। पार्टी बलियो बनाउनस्। विरोध गरेर पार्टी बन्नेवाला छैन।'


पढ्नुस्ः रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!


सभापति देउवाले काम गरेरमात्र जनताको मन जित्न सकिने बताए। 'जनतामा जाने गाली गर्ने। अर्को गए के गर्ने? मनलागी गर्ने?' सभापति देउवाले भनेका थिए, 'अबको भेला काम गरेर देखाउने हो।'

प्रकाशित मिति : २५ जेठ २०८०

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...