Friday, July 7, 2023

बियरले बग्गीखाना पुर्‍याएपछि…

 साँझको साढे ८ बजे। बबरमहलबाट विष्णुमती करिडर हुँदै बसुन्धरातिरको यात्रा। बाइक हुँइक्याउँदै थिएँ। कालोपुलमुनि ट्राफिक प्रहरी गौँडा छेकेर जाँचमा उत्रिसकेका रहेछन्।

रफ्तारमा थिएँ। अरुलाई रोक्ने, मलाई नरोक्ने भन्ने कुरै भएन। ढिला नगरी 'ब्रेथलाइजर'मा फुकिहालेँ।

'अपपपप…. साइड लगाउनु त।'

ट्राफिक प्रहरीले चाबी खोसिहाले। अलिकति देब्रेतिर बाइक थन्क्याएपछि ती प्रहरीले लाइसेन्स मागे।

कति नपर्खी पर्सबाट निकालेर थमाइहालेँ।

'कति बोतल हो सर?' नीलो चिटमा लेख्दै सोधे।

'दुई बोतल हो,' सोझो जवाफ फर्काएँ।

'हैन होला। अलि कडै छ,' मेरो सोझो उत्तर पत्याएनन् उनले।

'बडवाइजर हो नि त !,' म फुर्ती लगाउन उत्रिहालेछु।

नाम सोधे। बताएँ।

भोलि १० बजे बग्गीखाना जानु भन्दै नीलो चिट थमाए।

बग्गीखानाको लोकेसन बताएपछि कोही साथी छ कि भनेर सोधे। चिटमा एक हजार रुपैयाँ जरिवाना चढाइसकेछन्। नयाँ बजेट आएकै दिन ‘चुना’ लागेको चिर्कटो थमाएपछि झर्किँदै भनेँ - कोही छैन।

'कोही साथी भए तपाईंको बाइक लगेर जान हुन्छ कि भनेर। बोलाउनु न।'

ओहो ! साथी त यसका लागि पो खोजेका रहेछन्। एकछिन घोत्लिएँ। यताउता को होलान् र बाइक चलाउने? मनमनै साथीको सूची बनाए। नम्बर वानमा परेका साथीको फोन डायल गरिहाले।

'मेरो त स्कुटरको मात्र हो। बाइकको छैन,' उताबाट जवाफ आयो, 'एकछिनमा म कोही साथी खोजेर खबर गर्छु।'

म आफू ठीक छु भन्ने देखाउन सीधा भएर यताउति फड्को चाल्न थाले। लाइसेन्स लिएर बाइक हुइँकाउन थालेको ७ वर्षजति पुगिसक्यो। बढुवा गर्न मिल्ने हो भने अहिले मेरो पद हो - वरिष्ठ मोटरसाइकल चालक। यति बेलासम्म त म ट्राफिकबाट जोगिएरै हिँडेको थिएँ। तर, यसपटक भने कर्‍याप्पै पारे।

'म अहिलेसम्म कतै यसरी परेको थिइन। कोहीकोहीलाई त नरोक्ने रहेछ, मैले चाहिँ पिएको हो भनेर कसरी थाह पाउनुभएको के?'

मैले ठट्यौली पारामा सोधेँ।

ती प्रहरीले पनि मक्ख पर्दै सुनाए – ‘थाहा पाइहाल्छु नि!’

'खोइ साथी आइपुग्ने भएन?'

कारबाहीको चिट थमाएका प्रहरीले १५ मिनेटपछि सोधे।

'आउँदैछन्।'

म हात बाँधेर यताउति टहलिन थालेँ।

त्यहीबेला कालोपुल मुनिबाट पुरानो हिरो बाइक बिस्तारै आइपुग्यो। ट्राफिक प्रहरी उसलाई रोक्न खोजिरहेका थिए। तर उ बटारिँदै विस्तारै भित्री सडकतिर बढाउँदै थिए। प्रहरीले ब्रेथलाइजर सोझ्याइहाले। ब्रेथलाइजरमा उनले सास फुकेनन्। बरु भित्रतिर पो सास ताने त। कुनै बेला मैले यस्तै विधि अपनाएर उम्केको थिएँ। झलस्स सम्झिएँ।

'तान्ने हैन फुक्ने,' प्रहरी झर्किए।

फुकेपछि उनको बाइक पनि मेरो छेवैमा साइड लाग्यो। मेरो भने हाँसो फुत्कियो।

'आफैँ बियर खाएर कारवाहीमा परेको छ। अझ हाँसेर बसेको छ,'

सायद ती प्रहरी मलाई दु:खी देख्‍न चाहन्थे।

ट्राफिक प्रहरीले मेरो हविगत सम्झाए। म मुख थुनेर रल्लिन थालेँ। केहीबेरमा साथीको फोन आयो। अर्का साथीले पनि 'बजेट भाषण' मनाएछन्। चाँडै काम सकाएर बासस्थान पुल्चोक फर्कने कार्यतालिका थियो। बत्तिएर गएको, काम लागेन। त्यसै आधा घण्टा बित्यो।

बाटोमा सवारी आउजाउ पातलिँदै थियो। ट्राफिक प्रहरी फेरि मेरो नजिक आए।

'तपाईँले पिएर पनि सही चलाउनुहोला। तर, रफ चलाउने मान्छे आएर ठोक्किदिए मुख्य दोष तपाईँकै हुन्छ। त्यही भएर पिएर नचलाउनु,' ट्राफिक प्रहरी भन्दै थिए, 'लिन आउने मान्छे छिटो बोलाउनुस् है। हामी जान लागेको।'

'हस्' भन्दैभन्दै एकघण्टा उभिएँ। साथी स्कुटर लिएर कालोपुलमुनि आइपुगे। पछाडि अर्को साथी। बाइक चलाउने तयारीमा उत्रेका ती साथीको पनि मापसे जाँच भयो। त्यसपछि उनको लाइसेन्स मागियो।

'२४ घण्टाभित्र जिम्मा लिएको बाइकबाट कुनै दुर्घटना भयो भने तपाईँ जिम्मेवार,' साथीलाई ट्राफिक प्रहरीले चेतावनी पो दिए।

साथी रातोपिरो। उसले सोचेकै थिएन यस्तो जोखिम!

एक घण्टा त्यहीँ उभिँदा अलअलि जोगिएको नसा पनि गायब! झन्डै सवा १० बजे त्यहाँबाट आफ्नै बाइकको पछाडि बसेर गन्तव्यतिर लागियो।

 

बग्गीखाना जानै डर…

भोलिपल्ट बिहानै कक्षा लिन बग्गीखाना जाने तयारी थियो। बिहानै पुग्दा फेरि ब्रेथलाइजरमा फुक्नुपर्ला र अल्कोहलको मात्र देखिएर कक्षा नै क्यान्सिल होला भन्ने डर! त्यही डरले बग्गीखाना नै गइन। पर्सिपल्ट बग्गीखाना पुगेँ साढे १० तिर। भित्र देब्रेतिर भिड बाक्लै रहेछ। त्यतै होला आजको कक्षा। म भिडतिर लम्किँदै थिएँ।

'पैसा तिर्ने कता हो दाइ?'

एकजना युवा हजारको नोट र मेरोजस्तै नीलो चिट बोकेर मैलाई नै सोध्न आइपुगे।

आफैँ त यो भिडमा के गर्ने हो भन्ने पत्तोभेउ नपाई अन्योलमा थिएँ। अर्का आइपुगे उल्टै सोधखोज गर्दै। मैले भनेँ - सँगै जाउँ न।

एकैछिनमा ती युवा भिडमा हराए।

भिडको छेउमा ट्राफिक प्रहरीको सूचना कक्षा रहेछ। त्यहीँ टोकन लिन ठाउँ। तुरुन्तै औंलाले दबाएर टोकन लिएँ। ४७२ नम्बर। अब के गर्ने?

‘पैसा तिर्ने अनि लाइन बस्ने कक्षाका लागि,’ – सोधपुक्ष कक्षामा बसेकी प्रहरीले भनिन्।

खल्तीलगायत अरु बैंकिङ एपबाट पनि सीधै जरिवाना तिर्न मिल्ने रहेछ। म भने सीधै भित्तातिर राखिएको इ-पेमेन्ट मेसिनतिर अघि बढेँ। त्यहाँ पटकपटक 'इरर' आइरह्यो। नभएकाहरु छेउछाउ लागिहाल्थे। यसले पनि पालो छिटो आयो। मैले आफ्नो जरीवाना तिरेँ। पैसा तिरेको रसिद लिएँ। रसिद लिएर छेउ लाग्दा अघि इरर भएकाहरु मोबाइलबाट पैसा तिर्दै थिए। त्यहीँ पाँच रुपैयाँ सेवाशुल्क लिएर मोबाइलबाट पैसा तिरिदिनेको व्यापार पो चल्दो रहेछ।

 

कक्षा पसेपछि…

ट्राफिक नियम उल्लंघन गर्नेहरुका लागि दुईवटा कक्षा रहेछ। एउटा सोधपुछ सेन्टर नजिकै। अर्को अलि पर देब्रेतिर पार्किङभित्र। एउटा कक्षामा झन्डै ८० जना। म छिरेँ पार्किङतिरको कक्षामा। सुरुमा चिटको ‘क्रस चेक’ गरे। आफ्नो परिचय खुल्ने कागज चाहिने रहेछ। कोही मोबाइलमा खिचेको नागरिकता देखाउँथे। परिचयपत्र छुटाएकाहरु फोन गरेर मगाउँदै पनि थिए। म तेस्रो लाइनमा बसेकाले नागरिक एपमा भएकै लाइसेन्समा क्लिक गरेर बसेँ। चिट चेक गर्न आइपुग्नसाथ त्यही देखाएँ। झन्डै २० मिनेटपछि सबैको चिट जाँच सकियो।

‘चाँडो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’

‘जथाभावी बाटो नकाटौं, ट्राफिक नियम पालना गरौं’

अगाडि स्क्रिनमा ट्राफिक सचेतना गीतसँगै ट्राफिक नियम उल्लङ्घन गर्दा भएका दुर्घटनाको 'भिडियो क्लिप्स' चल्न थाल्यो। तीव्र गतिमा चालकको सेकेन्डको गल्तीले कतै गाडी ठोक्किएको, कतै यात्रु नै माइक्रोबसबाट झरेको। यस्ता दृश्य हेर्दा हलमा हाँसो गुञ्जियो।

मलाई भने ती दृश्यले बाल्यकालतिर डोर्‍यायो।

२०५४ सालतिर म कक्षा ७ मा पढ्थेँ। त्यतिबेला काकाले काठमाडौंबाट अति आकर्षक पोस्टर ल्याएर सुत्ने कोठाका भित्तामा 'गोरखापत्र'माथि टाँसेका थिए। पोस्टरमा झुटो बोल्ने, रक्सी पिउने, चोरी गर्नेदेखि लिएर पशुहत्या गर्नेलाई गरिने सजाय सचित्र देखाइएको थियो। कसैलाई उधोमुन्टो पारेर तेल तताइरहेको कराहीमा त कसैलाई नाङ्गै पारेर गोरु बनाएर जोताइहरेको। कसैलाई दन्किरहेको आगोमाथि ‘ग्रिल’ गरिरहेको। कसैलाई काँडाको लौरोले पिटिरहेको !

जब स्क्रिनमा नियम तोडिएका घटना आउँथे - लेन क्रस गरेको, ओभरटेक गरेको, बाइक चलाउँदै गर्दा फोन रिसिभ गरि कुरा गरेको… यस्ता सबै चालकमा म आफैँ पाएँ। यमराजले एकएक पापको हिसाब खाता पल्टाए झैं सडकमा मैले गरेका एक एक गल्ती ती दृश्यमा समेटिएका रहेछन्। पहिले शक्त मान्छे चालकको गल्तीका कारण खुट्टा गुमाएर जीवन नै बर्बाद बनाएको। २५ मिनेटजति भिडियो प्ले भएपछि नेमप्लेटमा कमल गुरुङ लेखिएको असई मञ्चमा उक्लिए।

'सबैले सबैको अनुहार यहाँ हेर्नुभएको होला। सबै उमेरको सबै नेपालको परिपक्व र सक्षम मान्छेहरु यहाँ हुनुहुन्छ,' गुरुङले कक्षा सुरु गरे।

एक जनाले गल्ती गर्दा बेफ्वाँकमा पैदलयात्रीको ज्यान गएको घटना सम्झाए। विदेशी सडकको उदाहरण दिए। नेपाली चालकको तछाडमछाड पारा र तीब्र गतिबारे सतर्क गराए। सडकको लेन पालना नगरेको कुरादेखि ट्राफिक नियम ट्राफिक प्रहरीका लागि नभएर चालक आफ्नै सुरक्षाका लागि पालना गरिदिन आग्रह पनि गरे।

नियम पालनाका लागि रातो बत्तीमा लाइनमा बस्नुपर्छ भन्दै कक्षा सकियो एक घण्टामा। त्यसपछि मापसे र लेनका लागि कोठा नम्बर ५ र ओभर स्पिड र रातो बत्तीका लागि ६ नम्बर कोठामा जान भनियो। अरु झैं म पनि लागेँ ५ नम्बरतिर। लाइसेन्स लिन कोठा ५ र ६ मा पुगेका कोही भने लाइन मिचेरै अगाडि बढिरहेका थिए।

‘हतार नगर्नु, लाइन बस्नु भनेर भर्खर एक घण्टा कक्षा लिएको, अहिल्यै लाइन मिच्न आइहाल्ने?,’ त्यही लाइनमा उभिएर पालो पाउन लागेका एक जना भन्दै थिए। उनको प्रश्न सुनेर म फेरि मुसुक्क मुस्काएँ।

पहिलोपोस्टमा प्रकाशित २८ जेठ २०८०

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...