Sunday, March 19, 2023

अन्तिम भूत


नेत्र तामाङ-

धेरै धेरै अघिको कुरा हो । त्यतिबेला किसिम किसिमका भूतहरु थिए । उनीहरु बस्ने देश पनि ठुलो थियो । राजारानी थिए । सेनाप्रहरीसहित घनघोर जंगलभित्र उनीहरुको राज्य थियो । जंगलका हात्ती, गैडा, बाघ, जरायो, जेब्रा, अर्ना, मृग, जिराफ उनीहरुको दैनिक खाना हुन्थ्यो । प्रत्येक जनवारको मुटुकलेजो भने दरबारमा राजारानीका लागि बुझाउनुपथ्र्यो । 

एक दिन राजाले राज्यबाहिर घुम्न जाने योजना बनाए । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर राजाले सबैलाई घुम्न जाने प्रबन्ध गरे । राजारानीका लागि वादलको विशेष विमान, राजकुमार डाइनोसरमा । सेनाहरु ठुलाठुला उडन्तरी कुचोमा राजाको सुरक्षामा निस्के । कोही चिन्डोको गाडीमा, कोही फर्सीको कारमा जमिनबाटै घुम्न निस्के । चिन्डो र फर्सीको गाडीको तेज वादलको विमान जत्तिकै हुन्थ्यो ।

संसारमा सबैभन्दा बलियो र संसारकै ठुलो जनवार नै आफूलाई ठान्थे भूतहरु त्यतिबेला । राजाको वादल विमान अघिपछि डायनोसर चढेका सेना थिए । डायनोसरको स्कर्टिङमा  राजाको राजाको सवारी चल्यो । 

उनीहरु उड्दैउड्दै धेरै डाँडा पार गरेपछि सबैभन्दा अग्लो डाँडा देखियो । त्यही डाँडा पनि नाघ्यो । उक्त डाँडाबाट रमाइलो उपत्यका देखियो । त्यो उपत्यका उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । त्यही उपत्यकामा सबैजना उत्रने सल्लाहसहित विस्तारै वादल विमानलाई तलतल झार्न थालियो । चिन्डो, फर्सी गाडी पनि विमान राखिने नजिक पुग्दै थियो ।

विमान जति नजिक हुदैं गयो, भूतहरुका लागि त्यो उपत्यका अनौठो लाग्न थाले । त्यहाँ घरहरु देखिए । ती घरबाट मसिनामसिना जीवहरु निस्के । दुई खुट्टामा हिड्ने जीव आफूहरुबाहेक यसअघि भूतले देखेकै थिएनन् । ‘यी जीवलाई पक्रेर ल्याउ त, न त हाम्रै जाति हुन् कि ?’ राजाले सेनाहरुलाई आदेश दिए । 

राजकुमार दुसुराको नेतृत्वमा सेनाहरु घर भएकोतिर लागे । राजा, रानी र भारदार भूतहरु भने विमानस्थलमै बसे । राजकुमारको डायनोसार र भूत सेनाहरुको उडन्तरी कुचो विमानस्थलमै राखियो ।

दुसुराको नेतृत्वमा भूतका सेनाहरु तलतल पुग्दै गर्दा घरहरु ठुलो ठुलो देखिदै गए । यताउति हिड्दै गरेका जीव अग्लोअग्लो र फूर्तिलो देखिदैं आयो । धनुवाणसहित गएका भूतसेनाहरु चलाखीपूर्वक गाउँ पुगे । घरहरु त निकै अग्लाअग्ला रहेछन्, ती जीव पनि अग्लाअग्ला देखिए । 

अचम्मका ती जीव मानिस थिए भनेर उनीहरुले पत्ता लगाए । मानिसका बच्चाहरु खेलिरहेको ठाउँमा उनीहरु पुगे । ती बच्चाहरु वयस्क भूत जतिकै अग्ला थिए । गोरुको जस्तो कान, भैंसीको जस्तो सिङ, भैसीकै जस्तो आँखा, कुकुरको जस्तो दाँत, कुकुरको जस्तै जिब्रो निकालेर जीउमा रौं भएको कालो कालो जीव काँधमा वाण बोकेर मानिस जस्तै गरी हिँड्दै आएको देखेर बच्चाहरु भागाभाग गर्न थाले । दुसुराले एकजना बच्चालाई वाण हानिहाल्यो । बच्चा ढल्यो । अरु बच्चाहरु खोलातिर बेतोडले भागे । 

बच्चाहरु खेल्ने चौरको छेवैमा खोला थियो । खोलामा माझीहरु माछा मार्दै थिए । बच्चालाई बाण हान्ने भूत ती माझीहरुले देखे र तुरुन्त जाल हानेर भूतका राजकुमार दुसुरासहित सेनाहरुलाई कब्जामा लिए । त्यहाँका मानिसहरु कोहीसँग डराउँदैन थे । बच्चाहरु पनि कोहीसँग डराउँदैन थे । तर जब भूत देखे, बच्चाहरु डराउन थाले । 

कहिल्यै नडराउने बच्चाहरु यी भूत देखेर डराएको देख्दा माझीहरुले विचार गरे, ‘अब सबैको घरमा यी भूतहरुलाई लगेर राख्नुपर्छ अनि बच्चाहरु डराउँछन्, रुदैनन् । बाआमालाई दुःख दिदैनन् ।’ गाउँलेको सहयोगमा भूतका सेनालाई कब्जामा लियो । माझीले सबै घटना सुनाउँदै घरघरमा भूत बाँडे । कुकुर बाँध्ने साङ्लोले बाँधेर आँगनमा भूत राखियो । एकजना भूतका सेना बल्लबल्ल फुत्केर भाग्न सफल भए । उनी असिनपसिन भएर असुरा भएको ठाउँमा पुगे ।

आफ्नो राजालाई राजकुमारमाथि आइपरेको आपत सुनाए । भूतका राजाले आफ्नो राजकुमार दुसुरासहितका सेनालाई उद्दार गर्न सबै शक्ति पठायो । यो टोलीमा राजाका सम्पूर्ण भारदार, सेना र सर्वसाधारण भूत पनि थियो । तर भूतको त्यो टोलीलाई गाउँले मिलेर नियन्त्रणमा लियो । कतिपयको मृत्यु पनि भयो । अन्तमा भूतका राजा असुरा र रानी मुजुरा गाउँमा ओर्ले ।

भूतका राजाले वास्तविकता थाहा पाएपछि राजकुमारलाई छाडिदिन अनुरोध गरे । तर, मानिसहरु क्रोधित हुँदै राजारानीलाईसमेत नियन्त्रणमा लिन कस्सिए । मानिसहरुको उद्दण्डता देखेरा रानीसहित राजा त्यहाँबाट उम्केर वादलको जहाजमा उडेर आफ्नो देश फर्के । देश सुनसान थियो । सुनसान देशमा बस्न उनीहरुलाई पनि डर लाग्यो । 

यता मानिसहरुले भूतहरुलाई कडाभन्दा कडा कारबाही गर्न थाले । भूतहरुलाई फलामे डन्डीको पिजँडा बनाएर राखे । पिँजडाभित्रको उनीहरुको क्रन्दन डरलाग्दो हुन्थ्यो । भूतहरु आक्रोशित भएर जोडले रुन्थे । त्यो रुवाई सुन्नसाथ बच्चाहरु थुरुरु डराउँथे । त्यसपछि संसारमा भूतको चर्चा हुन थाल्यो । अरु गाउँका मानिसले पनि बच्चाहरुलाई डर देखाउनकै लागि त्यस ठाउँबाट भूत लग्न थाले । यसरी संसारभर भूतको बाँडफाँड भयो ।

यता भूतका राजारानी भने आफ्नो प्रजा र सेनाहरुलाई बचाउन नसकेकोमा निकै पछुतो लाग्यो । सबैभन्दा ठुलो पछुतो त आफ्नो छोरा दुसुरालाई पक्रेकोमा थियो । उनले छोरा र आफ्नो सेना छुटाउन अन्तिम प्रयास ग¥यो । विमान चढेर उपत्यका फर्कियो र आकाशबाट अनुरोध ग¥यो, ‘ए मानिसहरु तिमीहरुले हाम्रा छोरा, सेना र जनतालाई छाडिदेउ, विन्ति छ । हामीले के बिगारेका छौ र ?’

भूतको वाण लागेको एकजना बच्चाको मृत्यु भइसकेको थियो । त्यही क्रोधमा मानिसहरु भेला भएर भने, ‘हामी छाड्दैनौ । तिमीहरुले वाण हानेर हाम्रो बच्चा मा¥यौ । वाण हान्नेलाई त हामीले मारिसक्यौ । त्यो राजकुमार नै रहेछ ।’

राजकुमार मारिएको सुनेर राजारानी दुखित भए । भूतको राजाले सेना र जनता छाडिदिन अनेक विन्ति गरे । तर मानिसहरुले कब्जामा लिएका भूत छाडेनन् । बरु जहाजतिरै बन्दुक पड्काउन थाले । कुनै सीप नचलेपछि राजाले रानीसँग सल्लाह गरे, ‘अब हामी मात्र बाँचेर के काम, देशै डरलाग्दो छ, राजकुमार मरिसके । जनता मानिसको नियन्त्रणमा छन् । हामी यो जहाज गाउँमा ठोक्काएर मरौं ।’ रानीले राजाको कुरामा सहमति जनाए ।

वादल विमान गाउँमा ठोक्काउनुअघि राजाले मानिसहरुलाई चेतावनी दिए, ‘हेर मानिस हो, तिमीहरुले हामीलाई दुःख दिएका छौ, हामी पनि बदला लिन्छौ, अध्याँरो भएको बेला तिमीहरुलाई छाड्दैनौ, एकलास, एकान्त ठाउँमा हामी अदृश्य भएर तिमीहरुको सातो खान्छौं, खोलानाला गुफामा हामी अदृश्य भएर बस्छौ, तिमीहरुकै रुप लिएर तिमीहरुको गाउँमा अशान्ति मच्चाउँछौं ।’ 

मानिसहरुले भूतको कुरालाई वास्ता गरेनन् । केही सीप नचलेपछि असुरा र मुजुराले वादल विमान गाउँमा ठोक्काए । तर, वादल विमानले एउटै घरमा पनि क्षति पुगेन । घरमा ठोक्किएर भूतका राजारानीको भने गयो । मानिसहरुलाई केही भएन । यता समय वित्दै गएर अरु भूतहरुको पनि मृत्यु भयो । यसरी भूतहरुको प्रजातिको अन्त्य भएको भनाई छ । 


No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA