नेत्र तामाङ - लेखक
स्केच - युवक श्रेष्ठ
धेरै अघि एउटा गाउँमा भुतहरु बसाइ सरी आए । भुतहरु मानिसहरुको बस्ती नजिकै बसे । केही दिनपछि ती भुतहरुले मानिसका खानेकुरा लुटेर खान थाले । मानिसलाई वर्षदिन पुग्ने खानेकुरा एकैदिन खाइदिए । खेतबारीमा पाकेका अन्न एकै रातमा सखाप पारे ।
बालबालिकालाई समातेर भुतले आफ्नो बच्चाको खेलौना बनाउँन लैजान्थे । मानिसका बच्चा रुँदा भुतको बच्चा हाँस्थे ।
खानेकुरामात्र हैन आफ्ना बालबालिका पनि असुरक्षित हुन थालेपछि त्यसको समाधानका लागि गाउँले भेला भए । भुतलाई तह लगाउने उपायबारे छलफल गरे । गाउँका बुद्धिमानहरुको उपस्थितिले एउटा निर्णय ग¥यो–औंशीको रात भुतको बस्तीमा गएर उनीहरुलाई तर्साउने, अनि त्यहाँबाट लखेट्ने ।
भुतलाई लखेट्न नसकेमा र साँच्चैको नाम थाहा पाएमा भुतले जेसुकै गर्न सक्थ्यो । त्यसैले भुतलाई लखेट्न जानेहरुको उपनाम राखियो । कसैको नाम धामी, कसैको नाम नामी । कसैको नाम थाँक्री, कसैको नाम झाँक्री, कसैको नाम काठ, कसैको टाट, कसैको धाम आगो, कसैको नाम धागो ।
सबैले अग्ला र बलिया बाँस ल्याए । त्यसैमाको टुप्पोमा राँको राखे । यस्ता बाँसको राँको थुप्रै बनाए । काठको बलियो मुखुन्डो लगाएर सबै जना भुतको बस्तीमा आक्रमण गर्न गए । भुतको गाउँमा चारैतिरबाट आक्रमण भयो । झ्याम्टा, कोदाली, दमाहा, मादल, नरसिंह बजाएर आक्रमण शुरु भयो । मध्यरातको समयमा यस्तो आक्रमणले गर्दा भुतको सातो उड्यो । उनीहरु त्यहाँबाट ज्यान जोगाउन बेतोडले भागे । त्यसरी भाग्दा केही मानिसहरुको कुल्चिएर मृत्युसमेत भयो ।
भुतलाई लखेटेको भोलिपल्ट गाउँलेहरु खुसी भए । यता भुतहरुको भने दुःखका दिन सुरु भयो । तितरवितर भएका भुतहरुको भेट हुन सकेन । उनीहरु कसैले कसैलाई भेट्टाउन सकेनन् । भुतको एउटै शक्ति भनेको उनीहरु केही नखाए पनि कहिल्यै मर्दैनथ्यो । तर, खान नपाउँदा उनीहरुको आकार भने घट्दै जान्थ्यो । धेरै दिन खान नपाउँदा भुतको आकार घट्दै घट्दै सानो भयो ।
कतै खान नभेटेपछि उनीहरु फोहोरका डंगुरमा पसेर खान खोज्न थाले । फोहोरमा भेटिएका खानामा पौष नहुने भएकोले उनीहरुको आकार बढ्न सकेन । यसरी दुःख पाएका भुतमध्ये केहीको भेट फोहोरकै डंगुरमा भयो । एकले अर्कालाई चिन्नै नसक्ने गरी दुब्लाएकोमा उनीहरु निकै चिन्तित भए । निकै रोए । रोएर समस्याको समाधान हुदैनथ्यो । त्यसैले उनीहरुबीच निकै छलफल चल्यो–कसरी जीवन चलाउने ? कसरी पहिलेको जस्तै बलिया र अग्लो हुने ?
एक जनाले उपाय सुझाए–हामी एक ठाउँबाट अर्को ठाउँमा पुग्न वर्षौ लाग्छ । यसरी त न हाम्रो छुटेका साथीहरुलाई भेट्छौ न त हामी बलियो नै हुन्छौ । त्यसैले हामीले सबैभन्दा पहिले सबै साथीहरुलाई चाँडो भन्दा चाँडो भेट्न उड्ने जहाज बनाउनुपर्छ । जुन जहाज तीव्र गतिमा उड्नेछ । जसले गर्दा हामी मानिसलाई पनि आक्रमण गर्न सक्नेछौ । उसको कुरालाई एउटा भुतले त यसरी उडाए–गुड्ने हुति त छैन, उड्ने कुरा गर्छ ।
केही भुतले भने उसको कुरामा समर्थन जनाए । उसले केही साथीहरुलाई लिएर दिनरात जहाज बनाउन लागे । नभन्दै दुइवटा जहाज तयार भयो । एउटा दिउँसो उडाउन मिल्ने जहाज । जसको नाम राखियो झिंगा, अर्को राति उडाउने मिल्ने नाइटभिजन जहाज । जसको नाम राखियो लामखुट्टे । ती भुतहरुले बनाएका जहाजको उडान परीक्षण सफल भयो ।
सबैभन्दा पहिले भुतहरुले आफ्ना छुटेका साथीहरुलाई खोजे । सबैजना भेटिएपछि सल्लाह भयो–हाम्रो शत्रु भनेको मानिस हो । मानिसलाई आक्रमण गर्नुपर्छ । हाम्रो आकार अहिलेलाई ठिक छ ।
फोहोर सुरक्षित वस्ती हुन थाल्यो भुतहरुको । फोहोर ठाउँमै भुतहरुको दैनिक परेड हुन्थ्यो । योजनाअुनसार नै जहाज चढेर भुतहरु मानिसको फोहोर हात, फोहोर शरीरमा, घाउमा जान थाले । कुनैकुनै त मिठो खानेकुरा खाने मानिसको दाँतमा बस्न पनि पुगे ।
यसरी हात, छाला, दाँत, फोहोर खान, फोहोर पानी हुदैं शरीरभित्र पसेर उनीहरुले आक्रमण गर्न थाले लामखुट्टे जहाजमा चढेर भुतहरुले रातिराति आक्रमण गर्न थाले भने दिउँसो झिंगा जहाज चढेर । यसरी भुतको आक्रमणबाट धेरै मानिसहरु रोगी हुन थाले । (१२ फागुन २०७४ मा नागरिकको जूनकीरीमा प्रकाशित)
No comments:
Post a Comment