Wednesday, June 10, 2015

सिन्धुपाल्चोकलाई स्विट्जरल्यान्ड बनाउने हो भने...


नेत्र तामाङ

‘सिन्धुपाल्चोक, त्यहाँ त सब ध्वस्त भयो रे त, सब कच्ची घर होलान्, लडी हाल्छ नि,’ काठमाडौंमा एकजनाले सिन्धुपाल्चोक भन्ने वित्तिकै जिब्रो निकाल्दै भने, ‘मान्छे नि बाँकी छैनन् होला !’ हो ‘गोरखा भुकम्प’ ले हाम्रो जिल्ला सिन्धुपाल्चोकको भौतिक संरचनालाई लगभग ध्वस्त बनायो ।
वैशाख १२ गतेको भुकम्पमा परी हामी धेरैले आफ्नो घर गुमायौं । धेरैले आफ्ना आफन्त पनि गुमायौं । त्यो क्षण वैशाख १२, ११ः५६ । धेरैका लागि काल बनेर आयो । धेरैका लागि दुःखदायी क्षण बन्यो । धेरैका लागि साँढे सातको दशा बन्यो ।

यससँगै वैशाख २९ गते आएको भुकम्पमा परी अहिलेसम्म तीनहजार ४ सय ४० भन्दा बढी जिल्लाबासीले ज्यान गुमाएका छन् । एकहजार ५ सय ७१ भन्दा बढी घाइते भएका छन् । ६३ हजार ८ सय ८५ घर पूर्ण रुपमा भत्किएको छ । ६६ हजार ६ सय ८८ घरधुरी रहेको सिन्धुपाल्चोकमा तीनहजार घरमात्र बचेको सरकारको तथ्याङ्कले देखाउँछ ।

अनि माथि एकजना महानुभावको भनाई तथ्याङ्कसँग पनि मेल खायो । राजधानीमा बस्दै गर्दा एउटा कच्ची घरहरुको जिल्ला भनेर सिन्धुपाल्चोक चिनियो । हिजो तातोपानी, खासा जाने बाटो, बन्जी जम्प, ¥याटिफ्ङ, हेलम्बु, मेलम्ची, भोटेचौरको चियाबगान यस्तैयस्तै नामबाट प्रसिद्ध जिल्ला आज भुकम्पले ध्वस्त भएको जिल्लाको रुपमा चिनिएको छ । झन्डै गरिब जिल्लाको रुपमा चिनिएको छ हाम्रो जिल्ला । के, सिन्धुपाल्चोकमा चाहि पक्की घर थिएनन् र ? थिए, तर, ती पनि भत्के । १२ गतेपछिका परकम्प, ती सिन्धुपाल्चोकमै केन्द्रविन्दु भएकाले कतिपय पक्की घरहरु पनि भत्के ।

हिजोको पर्यटकीय सम्भावना बोकेको जिल्ला प्राकृतिक विपत्तिले तहसनहस पारिदिएको छ । जिल्ला सदरमुकाम चौतारासमेत अझै पनि तांग्रिन सकेको छैन । चीनसँगको प्रमुख नाका लिपिङकाहरु विस्थापित छन् । ती जनहरु काठमाडौंमा दयाले दिएको चौरहरुमा पाल टाँगेर क्याम्प बनाएर शरण लिइरहेका छन् ।
उता अन्तराष्ट्रिय संघसंस्था, राष्ट्रिय संघसंस्था सिन्धुपाल्चोकका गाउँगाउँ कुदिरहेका छन् ।  चाउचाउ, चिउरा, चामल बाँडिरहेका छन् । फोटो खिचाएर ‘मिनि–रिपोर्ट’ बनाईरहेका छन् ।

सरकार आफैले पनि १५ हजार रुपैयाँ बाँड्न थालेको छ । भुकम्पले जयजेथा नष्ट गरेको झन्डै दुई महिना पुग्नै लाग्दा सरकार १५ हजार रुपैयाँ बाड्दैछ ।
बाहिर जे जस्तो कुरा आए पनि गाउँ नै खतरामा परी विस्थापितमा परेकाबाहेकका सिन्धुवासीले आफ्नै बलबुताले टहरो बनाएका थिए । पुरेका अन्न खोस्रेर पकाई ओरी खाएका थिए । भग्नावशेष आफैले पन्छाएका थिए । भुकम्पको दोस्रो हप्तापछि मात्र राहत टोलीहरु जिल्ला पस्न थालेका हुन् । राहत पुग्दा स्वतःस्फुर्त बनिसकेको स्थानीयको दैनिकी राहत आउला कि भनेर बाटो ढुकेर बस्ने भइसकेको छ । दाताहरु गाउँ पुग्दै चाउचाउ, चिउरा बाँड्न थाले । चाउचाउ चिउरा ल्याउनेलाई त्रिपाल माग्न थाले । त्रिपाल लानेलाई टेन्ट माग्न थाले । टेन्ट लानेलाई जस्तापाता माग्न थाले । सरकारले पनि १५ हजार दिने भनेर तत्काल घोषणा गरेको थियो । तर, भर्खर यो वितरण थालिएको छ । ‘मरेपछिको ओखती’ भने झैं भएको छ सरकारको यो राहत ।

त्यसपछि पालो पक्की घरको आयो । अहिले धेरैले आफुले माग गरेका बस्तुहरु पाएका छन् । तर, पक्की घरको माग भने कसकसको पुरा हुने हो त्यो हेर्न बाँकी छ । केही धनाढ्या र केही संस्थाले हजारका दरमा मात्र पक्की घर बनाइदिने वाचा गरेका छन् । एउटा निकै चल्तीको उखान छ, ‘अर्काको भर, चाँडै मर ।’ हो, त्यस्तै हो राहत । यी राहतले हामीलाई अल्छी बनाउँछ । क्रियाशील दिमागमा बोसो जमाउने काम गर्छ ।
राहत लिएर अन्तराष्ट्रिय संस्थाका सदस्यसँगै सिन्धुपाल्चोकको नवलपुर पुग्दा उनले भनेका थिए, ‘अब सिन्धुपाल्चोक स्विट्जरल्यान्ड बन्ने भो ।’

‘साँच्चै हो र, कसरी ?’ मैले सोधे ।
‘अब हरेक घर भुकम्प प्रतिरोधी बन्नेछन्, पक्की घर बन्नेछन् सिमेन्टका,’ उनले यसरी नै जवाफ फर्काए, ‘अनि बन्दै न त स्विट्जरल्यान्ड ? हरेक विपत्तिले संकट मात्र ल्याउदैन, अवसर पनि ल्याउँछ ।’
कति सजिलो गरी उनले भने । हो, है अब सिन्धुपाल्चोक स्विट्जरल्यान्ड बन्छ । म पनि दंग परे । कल्पना गरे, ‘सबै गाउँमा पक्की घर, अहो !’
तर, सोचेजस्तो सधै कहाँ हुन्छ र ! सबैले कहाँ पक्की घर बनाउन सक्छन र ? सबैले पक्की घर बनाउन सक्ने अवस्था कहाँ छ र ?
यसैले हामीलाई राहत होइन, सरकारले ऋण दिने व्यवस्था गरोस । एउटा घरलाई कम्तीमा १५ लाख ऋणको व्यवस्था तत्काल गरिनुपर्छ । यो ऋण सुलभ ब्याजमा उपलब्ध गराइदिनुपर्छ । घर निर्माण वा व्यवसाय गर्ने शीर्षकमा यो ऋण सरकारले तत्काल उपलब्ध गराइदिनुपर्दछ ।
यो व्यवसायिक युग भएकोले लगानी भएमा मात्रै मानिससँग आँट आउँछ । पैसा भएमा योजनाहरु बन्छन् र योजना मुतबिकका कामहरु गर्न सक्छन् । मानासिक रुपमा स्वस्थ हुन्छन् । र, भविष्यका लागि केही गर्न सकिन्छ ।
सरकारले यो ऋण कम्तीमा पनि पाँच वर्षका लागि प्रवाह गर्नुपर्दछ । यो रकमले ५ वर्षमा ऋणीले भुकम्प प्रतिरोधी पक्की घर बनाउनका साथै ऋण फिर्ता समेत गर्न सक्छन् । उनीहरुले आफ्नो सपना पुरा गर्न सक्नेछन् । र, सिन्धुपाल्चोक तन्दुरुस्त हुनेछ । पुनः निर्माणका लागि यो ऋण अति आवश्यक छ ।

यसले पीडामा परेकाहरुको घाउ विस्तारै निको हुनेछ । युवाहरु क्रियाशील हुनेछन् । दक्ष जनशक्ति विदेशिने क्रम रोकिनेछ । जब नागरिक स्वतन्त्र हुन्छ, देश पनि स्वतन्त्र हुन्छ ।

राज्यमा सबै मानिस असल हुदैनन् । कोही व्यवसायमा असफल पनि हुन सक्छन् । यदि यो रकम समयमा तिर्न नागरिक असफल भएमा राज्यले असुल्ने तरिकाहरु विभिन्न छन् । ऋण नतिर्नेहरुलाई सजायस्वरुप कम्तीमा पनि ५ वर्ष राज्यले नियन्त्रणमा राखेर राज्यको कुनै योजनामा काम गर्न लगाएर उनीहरुको ऋण चुक्त गराउन सकिन्छ ।

यसका लागि सरकारले तत्काल कुनै व्यवस्था गर्नुपर्दछ । यसका लागि जिल्ला विकास समितिका प्रमुख जिल्ला अधिकारीको रहोवरमा रहनेगरी तर स्वतन्त्र एउटा आयोग गठन गर्नुपर्दछ । निष्पक्ष र स्वतन्त्र आयोगमार्फत जिल्लालाई विकास र उन्नत बनाउन अनि माथि उठ्न सक्दो चाँडो कदम उठाउन आवश्यक छ । आयोगले जिल्लाको दुरुस्त तथ्याङ्क लिएर यो विकासमा हात अघि बढाउनुपर्छ । सिन्धुपाल्चोकमा मात्र होइन, यो योजना हरेक प्रभावित जिल्लामा लागु गर्नुपर्दछ ।

सफल मानिसहरु भन्छन्, ‘कोसिस गरेपछि हुन्छ ।’
यदि कोसिस गर्ने हो र सिन्धुपाल्चोकलाई स्विट्जरल्यान्ड बनाउने हो भने ‘सरकारले राहत होइन, ऋण दिनुपर्छ ।’








No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...