Thursday, January 8, 2015

कालीगण्डकी जलविद्युत आयोजनाका नयाँ प्रमुख ‘नियमविपरीत’

तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पालामा विद्युत् प्राधिकरणको एमाले समर्थित कर्मचारी युनियनको ‘सिफारिस’ मा १४ मेगावाटको विद्युत्गृहमा काम गरेका रामकुमार यादव एकैचोटि ७० मेगावाटको अत्याधुनिक मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको प्रमुख बने।

मध्यमर्स्‍याङ्दीको डिजाइनदेखि निर्माणसम्म काम गरेका र दुई वर्षदेखि विद्युतगृह सञ्चालन गरेका केन्द्र प्रमुख महेन्द्रराज अधिकारीलाई मन्त्री बिष्टले काठमाडौं क्षेत्रीय कार्यालय सरुवा गरेका थिए ।



केन्द्र प्रमुख भएपछि यादवले ‘कम्प्युटराइज्ड सिस्टम’ भएको मध्यमर्स्‍याङ्दी सञ्चालन गर्न सकेनन्। एकैपटक विद्युत्गृह ठप्प भयो। कम्प्युटरबाट पूर्ण रूपमा स्वचालित नेपालको पहिलो उक्त विद्युत्गृहमा ‘अटोमेटिक कन्ट्रोल सिस्टम’ को मुख्य भाग मर्मत गर्नुपर्ने अवस्थामा थियो। अघिल्ला प्रमुख अधिकारीले आउँदो हिउँदयाममा मर्मत गर्ने तालिका बनाएका थिए।

मर्मत गर्नुपर्ने मुख्य युनिटलाई यादवले चलाइदिएपछि टर्बाइनहरू घुम्न छाडे, बाँधबाट सुरुङमा पानी प्रवाह बन्द भई केन्द्र ठप्प भयो।

बन्द भएको विद्युत्गृह खुलाउन प्राधिकरणले फ्रान्स र जर्मनीमा तालिम गरेर आएका ‘सिस्टम इन्जिनियर’हरू मनोहर राजभण्डारी, गगन मानन्धर र रोशन न्यौपानेलाई पठायो।
उनीहरूले विद्युत्गृह खुलाउन सकेनन्। केही सीप नलागेपछि प्राधिकरणले जर्मनीबाट विशेषज्ञ झिकाउनुपर्यो।

प्राधिकरणलाई उत्पादित बिजुलीको आधारमा करोडौं घाटा भइसकेको थियो। जर्मन विशेषज्ञले २० दिन लगाएर बल्लबल्ल विद्युत्गृह खुलाए।

‘जर्मन विशेषज्ञको खर्च, अन्य भत्ता र मध्यमर्स्‍याङ्दीले बिजुली उत्पादन गर्न नपाएको घाटाको हिसाब गर्दा झन्डै एक अर्बको क्षति भयो’, प्राधिकरणका एक इन्जिनियरले भने।

१० तहको दरबन्दी भएको मध्यमर्स्‍याङ्दीमा भर्खर आठबाट नौ तहमा बढुवा भएका यादवले जि मेवारी पाउँदा यो क्षति भएको थियो।

‘नजानेको र अनुभव नभएका व्यक्तिले विद्युत्गृह सञ्चालन गर्नु खतरनाक हुन्छ’, मध्यमर्स्‍याङ्दीबाट हटाइएका तत्कालीन केन्द्र प्रमुख अधिकारीले अन्नपूर्णसित भने, ‘विद्युत्गृहजस्तो प्राविधिक विषयमा राजनीति हाबी भएपछि प्राधिकरणका अधिकांश विद्युत्गृहमा यस्तै समस्या छ।’

मध्यमस्र्याङ्दीको घटना प्राधिकरणका इन्जिनियर र तत्कालीन व्यवस्थापनले भुल्न नपाउँदै वर्तमान ऊर्जामन्त्री राधा ज्ञवालीले १० तहको मेकानिकल दरबन्दी रहेको देशकै सबैभन्दा ठूलो कालीगण्डकी ए जलविद्युत् केन्द्र प्रमुखमा नौ तहका इलेक्ट्रिकल इन्जिनियरलाई सरुवा गरेकी छन्।

ज्ञवालीले केही दिनअघि कुलेश्वर वितरण केन्द्र प्रमुख श्रीराम पाण्डेलाई कालीगण्डकीमा कार्यरत १० तहका इन्जिनियर दीर्घायुकुमार श्रेष्ठलाई हटाएर सरुवा गरेकी हुन्।

एक सय ४४ मेगावाटको देशकै ठूलो जलविद्युत्गृह भएकाले प्राधिकरणले छुट्टै विभाग खडा गरी ११ तहको दरबन्दीको व्यवस्था गरेको थियो। यसको तह घटुवा गरी ‘आफ्ना मान्छेलाई हाकिम बनाउन’ विगतका ऊर्जामन्त्रीहरूले १० तहमा झारेका हुन्।

प्राधिकरणले गत वर्षदेखि लागू गरेको नयाँ संगठनात्मक संरचनाअनुसार कालीगण्डकीमा १० तहको मेकानिकल इन्जिनियर केन्द्र प्रमुख दरबन्दीको व्यवस्था छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA