Wednesday, January 7, 2015

'अप्रेसन शंखमूल’को नालिबेली

साढे दुई वर्षअघि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको थियो । हत्या भएको साढे दुई वर्ष बितिसक्दा पनि हत्याराको पहिचान गर्न नसकेपछि प्रहरीको आलोचनासमेत भएको थियो । तर, गत शनिबार बमका हत्याराहरू पक्राउ परे । गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को प्रमुखसमेत रहेका डिआइजी हेमन्त मल्ल ठकुरीको नेतृत्वमा भएको अनुसन्धानले बम हत्यामा संलग्नहरूलाई पक्राउ गरेको हो । डिआइजी मल्ल ठकुरीले ‘अप्रेसन शंखमूल’को नाममा गरिएको अनुसन्धानको नालिबेली (


हत्यापछिको चुनौती
माननीय न्यायाधीशज्यूको हत्यालाई नेपाल प्रहरीले एउटा चुनौतीका रूपमा लिइरहेको थियो । यो नेपालको पछिल्लो दशककै हाइप्रोफाइल हत्या हो । हत्यामा संलग्नहरू पक्राउ नपर्दा प्रहरीलाई चुनौती र दबाब महसुस भएको थियो । प्रहरीका धेरैजसो मिटिङमा यो विषय उठ्ने गथ्र्यो । नयाँ आइजिपी आउनुभएपछि उहाँले पनि यो विषय उठाउनुभयो ।

नेपाल प्रहरीका माथिल्ला अधिकारीहरूले बम हत्याको अनुसन्धानबारे प्रश्नहरू बारम्बार झेल्दै आएका थिए । बमको परिवारले ‘नेपाल प्रहरीले यो केस हेर्दा पनि हेर्दैन, त्यही भएर हामी भेट्न पनि आएनौँ र चुप लागेर बस्यौँ’सम्म भन्नुभयो । बाहिरतिरबाट पनि अनुसन्धान भइरहेको छैन कि भन्ने खालका कुरा आए । तर, अनुसन्धान निरन्तर भइरहेको थियो ।

पक्राउ गर्नासाथ कबुल

यो घटनासँग सम्बन्धित केही महत्त्वपूर्ण सूचना हामीलाई केही दिनअघि अचानक प्राप्त भयो । सूचनाले औँल्याएको व्यक्तिसँग हामीले पहिले नै सोधपुछ गरिसकेका थियौँ । तर, यसपटकको अवस्था अलि फरक थियो ।

दुई–तीन दिनअघि हत्यामा संलग्न मानिस यिनीहरू हुन सक्छन् भनी करिब–करिब औँल्याउन सकिने खालको सूचना हामीलाई प्राप्त भएको थियो । कुनै न कुनै रूपमा हत्याकाण्डमा यो समूह संलग्न छ भन्ने कुरा आएपछि दीपक कर्ण र शिव भनिने करण चौधरीलाई जनकपुरबाट पक्राउ गर्‍यौँ । स्थानीय प्रहरी र सिआइबीको टोली उनीहरूलाई पक्राउ गर्न गएको थियो ।

तत्कालै अर्को टिम बाबु थापालाई पक्राउ गर्न परिचालन गरियो । पक्राउ गरी सोधपुछ गर्दा हाम्रो आशंका सही निस्कियो । बाबु थापासँगै सर्लाहीबाट हामीले प्रेम खड्कालाई पनि पक्राउ गरेका थियौँ । यसअघि दुईपटक ल्याएर सोध्दा पनि बाबु थापाले हत्यामा संलग्नता स्वीकार गरेका थिएनन् । हामीले प्रमाणित गर्न पनि सकेका थिएनौँ । तर, पछिल्लोपटक पक्राउ गर्दा ‘तपाईंहरूले यो घटनाबारे थाहा पाइसक्नुभएको छ’ भन्दै उनले पक्राउ गरेको स्थानमै हत्याको बेलिविस्तार लगाए । ‘मैले बुझँे, तपाईंहरू यही घटनाका लागि आउनुभएको हो । यो घटनाबारे अब लुकाउनुपर्ने कुरा केही छैन,’ पक्राउ गर्न पुगेको टोलीसमक्ष उनले भने । अनुसन्धानका क्रममा हामीले निकालेको निचोड र उनको भनाइ ठ्याक्कै म्याच भयो ।

त्यसपछि चारैजनालाई काठमाडौं लिएर आयौँ । हाम्रो प्रमुख चासोको विषय हत्या किन गरियो भन्ने पत्ता लगाउनु थियो । अनुसन्धान गर्दा चुरे भावर एकता पार्टीभित्रको विवाद नै हत्याको प्रमुख कारण रहेको खुल्यो । पार्टी कसको भन्ने कुरामा विवाद थियो । विवादमा निर्वाचन आयोगले बाबु थापाको पक्षमा फैसला गर्‍यो । विवाद सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चले उनको विपक्षमा फैसला गर्‍यो । यो नै बमको हत्या गर्नुपछाडिको ‘मोटिभ’ रहेको अहिलेसम्मको हाम्रो अनुसन्धानले देखाएको छ ।

जेलमै योजना

न्यायाधीश बमज्यूबाट उक्त मुद्दामा आदेश भएलगत्तै ०६७ सालमा नै उहाँको हत्या गर्ने मनस्थिति बनाइसकेको देखिन्छ । ०६७ सालमा बाबु थापा अपहरण तथा शरीर बन्धक मुद्दामा जलेश्वर कारागारमा रहेका वेला करण चौधरीसँग उनको चिनजान भएको थियो । जेलबाट छुटेपछि दुवै काठमाडौं आए । बाबुले नै उनलाई काठमाडौं ल्याएको देखिन्छ ।

सञ्जय स्माइली मगर भनिने भगवान थापा पनि चुरे भावर पार्टीमै थिए । एउटै पार्टीमा भएकाले बाबु थापासँग उनको चिनजान थियो । भगवान थापासँग मिलेर नै बाबुले हत्या गर्ने योजना बनाएका थिए । दुवैजनाले सुटरका रूपमा करण चौधरीलाई प्रयोग गर्ने योजना बनाएका थिए । चौधरी राम्रो सुटर भएकाले दुवैले उनलाई रोजेका थिए ।

पहिलेदेखि नै घटनाको मनस्थिति बनाए पनि ०६८ चैतमा योजना अघि बढाएको देखिन्छ । त्यसवेलादेखि चाहिँ उनीहरू मार्नैपर्छ भनेर लागेका थिए । बाबु र भगवान दुवै त्यसरी लागेको देखिन्छ । उनीहरूले अन्य तीनजनालाई घटनामा सहयोगीका रूपमा प्रयोग गरेको देखिन्छ । मार्ने नै योजना बनिसकेपछि उनीहरूले न्यायाधीशज्यूको निगरानी गर्न थालेका थिए । उहाँलाई घरदेखि अदालतसम्म पछ्याउन थालेका थिए । घरदेखि अदालतसम्म जान उहाँले प्रयोग गर्ने बाटो पत्ता लगाएका थिए । उहाँ नियमित रूपमा बंगलामुखी मन्दिरको दर्शनमा जाने कुरा थाहा पाएका थिए । त्यसकारण मन्दिरमा नै हत्या गर्ने निचोडमा सो समूह पुगेको थियो ।

मन्दिर छाडेर सडकमा

१९ जेठ ०६९ को बिहान हत्या गर्ने योजना उनीहरूले बनाए । त्यो दिन बिहान करिब ९ बजे पाँचैजना कोटेश्वरमा जम्मा भएका थिए । उनीहरूसँग तीनवटा मोटरसाइकल थिए । त्यसमध्ये एउटामा बाबु थिए भने अरू चारजना अन्य दुई मोटरसाइकलमा थिए । भगवान थापा र शिव चौधरी एउटा मोटरसाइकलमा तथा प्रेम खड्का र दीपक कर्ण अर्को मोटरसाइकलमा थिए । बाबु, भगवान, शिव र दीपकले एक–एकवटा पेस्तोल बोकेका थिए । सुट गर्ने प्रमुख जिम्मेवारी भने भगवान र शिवलाई तोकिएको थियो । बाबुको काम गाडीलाई पिछा गर्ने थियो ।
त्यो दिन न्यायाधीशज्यू नियमित हिँड्ने बाटो भएरै जानुभएको थियो ।

 घटनास्थल छनोटमा उनीहरूले विकल्प राखेको देखिन्छ । बंगलामुखी मन्दिरमा नै घटना घटाउन सकिन्छ कि भन्ने पहिले योजना बनाएका थिए । उहाँले मन्दिरमा दर्शन गर्न लागेको वेला उनीहरू सबै त्यहाँ पुगिसकेका थिए । यहाँ गोली हानियो भने धेरै मान्छे घाइते हुन्छन् भन्ने ठानेर मन्दिरमा आक्रमण गरेनन् । फेरि मन्दिर भएको ठाउँबाट भाग्न उनीहरूलाई गाह्रो पनि थियो । अवस्थाको मूल्यांकन गरेर बाबुले भगवान थापालाई तत्काल फिर्ता बोलाए । तिमीहरू अगाडि जाँदै गर, म आउँछु भनेर निर्देशन दिए । उनीहरूले खोलाकिनारको बाटोमा हत्याको योजना बनाए ।

न्यायाधीशज्यूको गाडी शंखमूलको युएनपार्कनजिकै पुग्दा उनीहरूले टेकओभर गरे । गाडी रोकिनासाथ बडिगार्ड महेश गिरी गाडीबाट निस्किए । गाडीबाट निस्कनासाथ करणले महेशलाई गोली हाने । भगवानले मोटरसाइकलबाट ओर्लिएर न्यायाधीशज्यूलाई गोली हाने । दुवैले न्यायाधीशलाई गोली हान्न खोजेपछि बडिगार्डले रोक्न खोजे । यसो गर्न खोज्दा महेशलाई दोस्रो गोली लग्यो ।

घटनापछि उनीहरू दुइटा मोटरसाइकलमा सुविधानगर गए । बाबुले चाहिँ मोटरसाइकलमा आएर घटनास्थल नियाले । त्यसपछि सबैजना सुविधानगरमा भेला भए । त्यहाँबाट उनीहरू सबै काँडाघारीस्थित बाबु थापाको घरमा गए ।

न्यायाधीशज्यूको उपचारका क्रममा मृत्यु भएको थियो । बडिगार्ड महेश गिरी घाइते भए । न्यायाधीशज्यूका साथी राम गिरीलाई पनि एउटा गोली लागेको थियो ।

हत्यामा संलग्नहरूले क्रमैसँग आफूहरूसँग भएका हतियार विभिन्न व्यक्तिलाई दिए । त्यसमध्ये दुईवटा हतियार पहिले नै फेला परिसकेको रहेछ । गत वर्ष असोजमा पक्राउ गरिएको एउटा समूहबाट बरामद भएको हतियार उक्त घटनामै प्रयोग भएको भन्ने खुलेको छ । अर्को हतियार गत वर्ष ललितपुरमा बरामद भएको अहिले आएर खुलेको छ । एउटा सुटर भगवान थापा साउदी अरबमा रहेकामा उनलाई पक्राउ गर्न हामीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेका छौँ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यसकारण शंखमूलमै हत्या

न्यायाधीशज्यू बिहान सधैँ मर्निङ वाक गर्नुहुन्थ्यो । उहाँको घरआसपासको क्षेत्र सुनसान पनि छ । यो सब थाहा पाएर पनि उनीहरूले मर्निङ वाकको समयमा हत्याको योजना बनाएनन् । किन उनीहरूले त्यो सजिलो तरिका अपनाएनन् रु अप्ठेरो ठाउँमा किन घटना घटाए भन्नेमा पनि अनुसन्धान गर्‍यौँ ।  न्यायाधीशज्यूको घरछेउको क्षेत्रभन्दा घटनास्थल अप्ठेरो छ । त्यहाँबाट भाग्न पनि गाह्रो छ । हामी जहाँ पनि हत्या गर्न सक्छौँ भन्ने मेसेज दिन उनीहरूले अप्ठेरो ठाउँ रोजेको देखिन्छ ।

घटनालगत्तै यसको विस्तृत अनुसन्धान भएको थियो । त्यसवेला कुबेरसिंह राना सा’बको बोर्डले व्यापक रूपमा अनुसन्धान गरेको थियो । करिब एक सयजना परिचालन गरेर प्राविधिक तथा विभिन्न मानवीय सूचनाको आधारमा अनुसन्धान गरिएको थियो । विभिन्न प्रविधि प्रयोग गरिएको अनुसन्धानबाट जम्मा गरिएका प्रतिवेदन केस हेर्नेगरी सिआइबीलाई जिम्मा दिइएको थियो । त्यसवेलादेखि नै ‘अप्रेसन शंखमूल’ नाम दिइएको यो अनुसन्धानलाई सिआइबीले निरन्तरता दिँदै आएको थियो ।

यसमा नेपाल प्रहरीका धेरै युनिट खटिएका थिए । महानगरीय प्रहरी, काठमाडौं परिसर, अपराध महाशाखा, ललितपुर प्रहरी, सिआइबी, मध्यक्षेत्रअन्तर्गतका धनुषा, सर्लाही जिल्लाका प्रहरीसमेत संलग्न भएका थिए ।
सिआइबीले विभिन्न कोणबाट हेरेको थियो । त्यही घटनाको अनुसन्धानका क्रममा अहिले पक्राउ गरी ल्याएका मान्छेलाई पहिला सोधपुछ गरिएको थियो । पहिला तिनीहरू किन पक्राउ परेनन् रु अहिले किन पक्राउ परे भन्ने थुप्रै प्रश्न उठेका छन् । अनुसन्धान गर्दा अनुसन्धानको चेन पनि मेन्टन हुनुपर्छ । प्रमाण चाहिन्छ । त्यसवेला ती व्यक्तिलाई ल्याएर सोधपुछ गरिए पनि प्रमाणको अभावमा हामीले कारबाही अघि बढाउन सकेनौँ ।
कुनै अपराधको अनुसन्धान तत्काल सफल हुन्छ, कुनै वर्षौं लाग्न सक्छ । यो अनुसन्धानका लागि दुई वर्ष सात महिना लाग्यो । अमेरिकी राष्ट्रपति केनेडीको मृत्यु भएको वर्षौं भइसक्यो । तर, अहिलेसम्म अनुसन्धानले प्रस्ट पार्न सकेको छैन ।

म अपराध महाशाखामा हुँदा न्युरोडमा अञ्जनीकुमार चाचनको हत्या भएको थियो । त्यसमा संलग्न व्यक्तिहरूले पहिलेदेखि नै अपराध गर्दै आएको पछि मात्र खुल्यो ।

यो घटनाको अनुसन्धानमा हामीलाई दुई वर्ष सात महिना लाग्नुको एउटा कारण के पनि हो भने यो पेसेवर अपराधीहरूबाट घटाइएको घटना थियो । सामान्य अपराधीले गरेको अपराध छिटो पत्ता लाग्छ । पेसेवर अपराधीले योजना बनाएर गरेको घटनाको अनुसन्धानमा समय लाग्छ ।

पहिला पक्राउ परे पनि उनीहरूविरुद्ध हामीले प्रमाण संकलन गर्न सकेनौँ । प्रमाणहरू छरिएर रहेका थिए । अहिले आएर प्रमाणहरू जोडिए र अनुसन्धान सफल भयो ।

घटनाका प्रमुख योजनाकार बाबु थापा आपराधिक मानसिकता भएका व्यक्ति हुन् । सर्लाहीमा उनी पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न थिए । सप्तरीमा पनि उनीविरुद्ध विभिन्न मुद्दा छन् । सर्लाहीमा पनि मुद्दाहरू हुनुपर्छ । ती सबै केस छानबिन गर्ने क्रममा हामी छौँ ।

पहिला यो घटनाको अनुसन्धान हुनेमा आफन्तहरूले पनि आश मारिसक्नुभएको रहेछ । घाइते हुनुभएका राम गिरीजी आफैँ आएर धन्यवाद दिनुभयो । न्यायाधीशज्यूका छोरीज्वाइँहरू आउनुभयो । बडो खुुसी हुनुभयो । ‘आश मारिसकेका थियौँ’ भन्नुभयो । ‘यति समयपछि पनि अनुसन्धान होला जस्तो लागेको थिएन, आज आएर अनुसन्धान भएकोमा एकदम खुसी लागेको छ, यिनीहरूलाई बढीभन्दा बढी सजाय हुनुपर्छ’ भनी सबैले भन्नुभएको छ । ढिलै भए पनि उनीहरूलाई पक्राउ गरेर पीडितलाई न्याय दिलाउन नेपाल प्रहरी सफल भएको छ ।

नयाँ पत्रिकाबाट साभार

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...