Thursday, January 1, 2015

कमल थापा भन्छन्-गीता पढेर पार्टी खोलेँ

कमल थापा, अध्यक्ष राप्रपा नेपाल
नेपालका अध्ययनशील नेताहरूको सूचीमा पर्छन्, राप्रपा नेपालका अध्यक्ष कमल थापा । पुस्तकप्रति लगाबका कारण उनले घरमै पुस्तकालय बनाएका छन् । आख्यानभन्दा गैरआख्यानमा मोह राख्ने थापा पढ्न मन लागेको किताब जतिसुकै मूल्य हालेर पनि किन्ने गरेको बताउँछन् । उनीसित गरिएको पुस्तक–संवाद :
आफूलाई कत्तिको अध्ययनशील मान्नुहुन्छ ?
फुर्सदमा पढ्न रुचाउँछु । अध्ययनशील भन्नुभन्दा पनि पढ्ने भोकचाहिँ प्रशस्त छ ।
जीवनमै पहिलोपटक पढेको सम्झना छ ?
ठ्याक्कै त भन्न सक्दिनँ । स्कुलमा पढ्दाताका नै म कोर्सबाहिरका किताब प्रशस्त पढ्ने गर्थेँ । कथा, कविता, उपन्यासका साथै इतिहास र जीवनीसित सम्बन्धित पुस्तकमा स्कुल जीवनदेखि नै लत बस्यो ।
बाल्यकालमा पढेको र पछिसम्म छाप परेको पुस्तक कुन हो ?
दुइटा छन् । पहिलो बालकृष्ण समको प्रेमपिण्ड र दोस्रो अच्छा राई रसिकको मन । ४५–५० वर्षअघि पढेका यी दुवै पुस्तकको अमिट छाप अहिले पनि मेरो मनमा छ । पात्र र घटनाक्रमहरू अझै भुलेको छैन । प्रेमपिण्डमाथि पछि फिल्म बन्यो, त्यो पनि हेरेँ । यो नाटकमा बालकृष्ण समको अद्वितीय कला पोखिएको छ ।
बाल्यकालमा तपाईंको घरमा पढ्ने वातावरण कस्तो थियो ? उपन्यासहरू लुकेर पढ्नुपर्ने अवस्था थियो कि थिएन ?
थिएन । यस मामलामा म भाग्यमानी नै थिएँ । मलाई कोर्सबाहिरका किताबहरू पढ्न परिवारबाट सानैदेखि प्रोत्साहन मिल्दै आएको छ ।
बाल्यकालमा किताबहरू कहाँबाट उपलब्ध हुन्थे ?
खासगरी स्कुलको लाइब्रेरीबाट ल्याएर पढ्ने गर्थेँ । अनि कसै–कसैले हाम्रो घरमा आउँदा कोशेलीका रूपमा ल्याइदिन्थे पनि । बिस्तारै किनेर पढ्ने बानी बस्यो ।
जीवनमा पढेकोमध्ये उत्कृष्ट किताब कुन मान्नुहुन्छ ?
धेरै प्रकारका, धेरै विधाका किताब पढियो । त्यसमध्ये अन्तरमनले रुचाएको चाहिँ नेल्सन मन्डेलाको ‘लङ वाक टु फ्रिडम’ हो । यो किताब दुईचोटि पढें । पहिल्यै पनि पढेको थिएँ । पछि थुनामा बस्दा पढें। यो किताबमा मन्डेलाले २७ वर्ष जेलजीवन व्यतीत गर्दाको मार्मिक कहानी छ ।
कुन विधाका किताबप्रति बढी आकर्षित हुनुहुन्छ ?
खासगरी म ननफिक्सन पढ्छु । बायोग्राफी, अटोबायोग्राफी, इतिहास, राजनीति, वैदेशिक मामलासम्बन्धी किताब मेरो पहिलो रोजाइमा पर्छन् । तनाव भएको वेला ‘लाइट रिडिङ’का निम्ति फिक्सन पढ्छु ।
तपाईंलाई मन परेका नेपाली लेखक र किताब ?
नेपालीमा मन्जुश्री थापा मलाई मन पर्छ । सबै विचारमा सहमत हुन नसके पनि उनको लेखनशैली उत्कृष्ट लाग्छ । नेपालीमा मैले लक्ष्मीप्रसाद देवकोटाका प्राय: सबै रचना पढेको छु । पछिल्लो कालखण्डको कुरा गर्दा बुद्धिसागर चापागाईंको कर्णाली ब्लुज, अमर न्यौपानेको सेतो धरती, नारायण वाग्लेको पल्पसा क्याफे मलाई मन परेका किताब हुन् ।
विदेशी लेखकमा चाहिँ कस–कसका किताब पढ्न मन पराउनुहुन्छ ?
फिक्सनमा ब्राजिलियन लेखक पाउलो कोहेलो । लाइट रिडिङमा भारतका चेतन भगत । सामुअल पि. हन्टिङटन, फ्रान्सिस फुकुयामा, हेनरी किसिंगरका किताबहरू पनि पढ्न रुचाउँछु ।
कस्तो समय र वातावरणमा पढ्ने गर्नुहुन्छ ?
यो मेरा लागि एकदमै भावुक प्रश्न हो । राजनीतिक व्यस्तताले गर्दा फुर्सद निकाल्नै महाभारत हुन्छ । त्यसैले पढ्नकै लागि दैनिक समय छुट्याउन सम्भव छैन । त्यसैले जतिवेला फुर्सद हुन्छ, त्यतिवेला किताब पल्टाइहाल्छु । काठमाडौंबाहिर हुँदा प्राय: साँझको टाइममा पढ्छु । गाडीमा यात्रा गरिरहेको वेला पढ्न सक्दिनँ, रिंगटा लाग्छ । कहिलेकाहीँ कल्पिने पनि गर्छु कि व्यस्त राजनीतिक जीवनबाट कहिले विश्राम लिउँला र धित मरुञ्जेल मन लागेका किताब पढुँला भनेर ।
पढ्न मन लागेर पनि विभिन्न कारणले नपाएको पुस्तक कुनै छ ?
छैन भन्दा हुन्छ । साधारणतया पढ्न मन लागेका किताब खोजी–खोजी पढ्छु । देशबाहिरबाट मगाएर पनि पढेको छु । ढिलो–चाँडो पाएकै छु ।
किताब छान्ने आधार के हो ?
पहिलो त लेखक नै हो । मन पर्ने लेखकको किताब किन्न धेरै सोचविचारै गर्दिनँ । दोस्रो किताबको विषयवस्तु र तेस्रो, किताबमाथिका चर्चा र समीक्षा हुन् ।
तपाईंले आशा गरेको तर पढ्दै जाँदा निराश बनाएका किताब कुनै छन् ?
धेरै छन् । डाइग्नेस्टिक भन्ने किताब थियो, लेखकको नाम भुलेँ । कभर आकर्षक लागेर एक्जिबिसनमा किनेँ । तर, केही पाना पल्टाउनेबित्तिकै अल्छी लाग्यो । मेरो दिमागले भेट्नै नसकेर छाडिदिएँ । अरू पनि थुप्रै छन् ।
दोहोर्‍याएर–तेहेर्‍याएर पढेका कुनै किताब छन् ?
अघि भनिहालेँ, नेल्सन मन्डेलाको लङ वाक टु फ्रिडम । नेपालीमा बिपी कोइरालाको आत्मवृतान्त र जेल जर्नल दोहोर्‍याएर पढेको छु । उनकै ‘राष्ट्र, राष्ट्रियता र राजसंस्था’ पनि दोहोर्‍याएर पढेको छु । तेहेर्‍याएरचाहिँ अहिलेसम्म कुनै किताब पढेको छैन ।
किताबको पात्र आफूसित मिल्दोजुल्दो पाउनुभएको अथवा किताबले आफ्नो जीवनमा ठूलै प्रभाव पारेको छ ?
धेरै छन् । केही समयअघि मोदीसँग सम्बन्धित दुइटा किताब पढेँ । त्यो पढ्दा मोदीका कतिपय गतिविधिसित आफूलाई ‘आइडेन्टिफाई’ गर्न मन लाग्यो । अहिले पढिरहेको राजदीप सरदेसाईको किताबमा पनि कसरी बिजेपीले यत्रो वेभ लिएर आयो र मोदीको युग सुरु भयो भन्ने वर्णन छ । यस्ता किताबहरूबाट धेरै इनपुट पाउँछु ।
जीवनको कुन कालखण्डमा किताब अत्यधिक पढ्नुभयो ?
०६३ पछि जेल बस्दा हो । ३० दिनमा १५–१६ वटा किताब सिध्याएको थिएँ ।
लेख्ने चाहना छैन ?
छ । कलम पनि ठिकै चल्छ । तर, अहिले फुर्सद कहाँ पाउनु र ? सशस्त्र युद्ध सुरु भएको वेला द्वन्द्व व्यवस्थापनसित सम्बन्धित सानो किताब लेखेको थिएँ । त्यसपछि छैन । रहरचाहिँ छ । लेख्ने समय पनि छ ।
लेख्नुभयो भने कुन विधा रोज्नुहुन्छ ?
संस्मरण नै लेख्ने हो । हामी राजनीतिकर्मीका निम्ति योभन्दा उपयुक्त विधा अर्को छैन ।
आध्यात्मिक किताबमा कतिको रुचि छ ?
बेस्सरी छ । धेरै आध्यात्मिक किताब पढेको छु । गीता नियमितजस्तै पढ्छु । यसले मानिसलाई जीवनका विभिन्न जटिलताबाट मुक्त हुन प्रेरणा दिन्छ । जतिवेला हामीले राप्रपा नेपाल स्थापना गर्‍यौँ, राजतन्त्र र धर्मको एजेन्डा बोकेर हिँड्यौँ, त्यतिवेला सबैतिर प्रतिकूलता मात्रै थियो । बदलिँदो माहोलामा यस्ता एजेन्डा बोकेर हिँड्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने द्विविधा पनि थियो । तर, गीताले यस्तो द्विविधाको अन्त्य गरिदियो ।
गीताको मुख्य दर्शन भनेको निष्काम कर्म हो । कुनै पनि किसिमको राग र द्वैषबाट मुक्त हुन सकियो भने आत्मिक एवं ईश्वरीय सन्तोष जागृत हुन्छ । हरेक काम स्फूर्तिका साथ गर्न सकिन्छ, प्रतिफलको विचारै नगरी । गीता पढेकैले गर्दा यो बाटो हिँडेर प्रधानमन्त्री बन्छु कि बन्दिनँ, चुनाव जितिन्छ कि जितिँदैन जस्ता विचार मनमा आएनन् । मानिसलाई पाइला–पाइलामा प्रेरणाको आवश्यकता पर्छ, यो गीताले दिन्छ । अनेक उतार–चढाव र द्वन्द्वसित लड्न ऊर्जा दिन्छ । आजकल गीता मैले पार्टी कार्यालयमा पनि राख्ने गरेको छु । हरेक दिन ढोग्ने गर्छु ।
शंकराचार्यले लेखेको हिन्दू धर्म भन्ने किताब पनि सधैँ मेरो कार्यालयको टेबलमा हुन्छ । हिन्दू धर्मसम्बन्धी ‘रिफ्रेन्स’ लिन यो खुबै काम लागेको छ । कुनै पनि कुरामा कन्फ्युज भयो भने पल्टाइहाल्छु । यसमा भगवान्सित जोडिएका हरेक प्रश्नको जवाफ छ ।
मैले ओशोका धेरै किताब पढेको छु । उनीले जसरी हरेक विषयमा त्यत्तिकै विद्वतापूर्वक गहिराइमा पुगेर व्याख्या गर्न सक्ने अर्को ज्ञाता मैले यस दुनियाँमा देखेको छैन । भारतीय दार्शनिक एस. राधाकृष्णनले लेखेका किताब पनि पढेको छु ।
आजभोलि कुन किताब पढिरहनुभएको छ ?
विजयकुमारको खुसी सिध्याएँ । आजभोलि राजदीप सरदेसाईको ‘इलेक्सन द्याट चेन्ज दी पोलिटिक्स’ भन्ने किताब पढिरहेको छु । अघिल्लो चुनावमा बिजेपीले यत्रो लहर कसरी ल्यायो, मोदी कसरी राइजमा आए भन्ने वर्णन यसमा छ । यस्ता किताबबाट धेरै ‘इनपुट’ पाउँछु ।
नेपालमा बायोग्राफी लेख्ने लहर चलिरहेको छ । हेर्नुभएको छ ?
मैले रुचिपूर्वक नै पढिरहेको छु । यद्यपि, यिनीहरूमा मपाईंत्व बढी देखिन्छ ।
रुक्मांगद कटवालको आत्मकथा, विजयकुमारको खुसी, हरिवंश आचार्यको चिना हराएको मान्छेलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
रुक्मांगदको आत्मकथा पूर्ण रूपमा मपाईंवादमा आधारित किताब हो । त्यसका धेरै कन्टेन्टमा विवाद गर्न सकिन्छ । पढ्नलाई त रमाइलै छ । विजयकुमारको खुसी पनि आधारभूत रूपमा मपाईंवाद नै हो । यद्यपि, यसमा अलिकति भए पनि डेफ्थ छ । हरिवंशको किताब पनि पढेँ । उहाँले पनि आफ्नो वर्णन धेरै गर्नुभएको छ । पढ्नका लागि भने यी सबै किताबहरू रमाइलै छन् ।
घरमा कति किताबको कलेक्सन छ, तपाईंको ?
अहो, त्यो त तपाईंले आएरै हेर्नुपर्छ । घरमा लाइब्रेरी नै छ ।
किताब लगेर नफर्काउने समस्या कत्तिको भोग्नुभएको छ ?
म आफ्नो किताब अरूलाई हम्मेसी दिन्नँ ।
अरूको मागेर पनि पढ्नुहुन्न ?
साधारणतया पढ्दिनँ । दुर्लभ किताब यदाकदा मागेर पढेँ पनि होला । बरु, आजकाल नेटबाट डाउनलोड गरेर पढ्ने गरेको छु । थुप्रै किताबहरू आजकाल फ्री डाउनलोड गर्न पाइन्छ । आइप्याडमा पढ्छु ।
अहिले नै मलाई कुनै किताब पढ्न सिफारिस गर्नुपर्दा ?
पढ्नुभएको छैन भने नेल्सन मन्डेलाको किताब पढ्नुस् । तपाईंजस्तो पत्रकारलाई यसबाट निकै प्रेरणा मिल्छ । एकजना अमेरिकी राइटरले लेखेको टिम अफ राइभल भन्ने पुस्तक पनि पढ्दा हुन्छ । यसमा अब्राहम लिंकनका पालाको इतिहास छ । शत्रुहरूले पनि एकै ठाउँमा बसेर कसरी काम गर्न सक्छन् भन्ने कुराको उदाहरण यसमा छ । यसबाट प्रेरणा लिएर ओबामाले क्याबिनेट बनाउँदा आफ्नो राजनीतिक प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई विदेशमन्त्री बनाए । अर्को गीता पढ्न सल्लाह दिन्छु । नेपाली अनुवाद पनि पाइन्छ ।
किताबमा मासिक कति खर्च गर्नुहुन्छ ?
पहिले–पहिले आम्दानी नियन्त्रित थियो । त्यो वेला मासिक दुई हजारदेखि पच्चिस सय खर्च गर्ने नीति बनाएको थिएँ । आजकल परिवारको आर्थिक दायित्व ममा छैन । सबै आ–आफ्नो बाटोमा लागिसके । मेरो आम्दानी सबै पार्टी अथवा किताबमा खर्च गर्ने गरेको छु । यसमा कुनै लिमिट छैन । पहिले मूल्य हेरेर मात्र किताब किन्थेँ । अहिले मूल्यको विचार गर्दिनँ । पढ्न मन लागेको किताबलाई जति मूल्य हाल्न पनि तयार हुन्छु ।
राजनीतिकर्मीले किताब पढ्नु किन आवश्यक छ ?
म मूलत: आत्मसन्तुष्टिका लागि पढ्छु । मानिसमा विभिन्न किसिमको भोक हुन्छ, । त्यसमध्ये ज्ञानको भोक एउटा हो । म जुन अभियानमा म लागेको छु, त्यसमा अध्ययनको पनि जरुरत छ ।
नयाँ पत्रिका/चिरञ्जिवी पाैडेल

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...