Tuesday, December 23, 2014

मखमली चोलो चाहिँदैनमा धेरै नाचेकी छु

मिथिला शर्मा, अभिनेत्री

संगीत के हो र?
संगीत यस्तो तरंग हो, यस्तो साउन्ड हो, जसले मानिसलाई मात्र होइन, प्रकृतिलाई पनि प्रभावित गर्न सक्छ । अमूल्य र असीमित शक्ति बोकेको संगीत यति व्यापक छ कि यसलाई शब्दले व्याख्या गर्न सकिँदैन । संगीत व्याख्या गर्नेभन्दा पनि महसुस गर्ने कुरा हो । यो एउटा साधना हो, जसले समस्त सृष्टिलाई लय र तालमा हिँडाउने काम गर्छ ।

तपाईंले पहिलोचोटि सुनेको र मन पराएको गीत कुन हो र?

पहिलोचोटि कुन गीत सुनेँ भन्ने सम्झना छैन । बुझ्ने भएदेखि नै म गीत सुन्न थालिसकेकी थिएँ । सानो छँदा लोकगीत बढी सुन्थेँ । बढ्दै गएपछि आधुनिक गीत पनि सुन्न थालेँ । अहिले सबै खालका गीत सुन्छु ।

कस्ता गीत बढी मन पर्छ र?
कस्तो गीत मन पर्छ भन्ने कुरा कुन मुडमा गीत सुन्दै छु भन्ने कुराले निर्धारण गर्छ । बालगीत र राष्ट्रगीत अलिक बेसी मन पराउँछु । वास्तवमा म सबै खालका गीत मन पराउँछु । किनकि, संगीत नराम्रो हुन्छ भन्ने मलाई लाग्दैन ।

मानिसलाई संगीत किन मन परेको होला र?
संगीतले मानिसको मनोदशा र भावनालाई छुन्छ । संगीत नसुन्ने मानिस रुखो हुन्छ । संगीतमा ठूलो तागत हुने भएकैले मानिस संगीतप्रति यतिबिघ्न आशक्त भएको हो । अरू कुरा छोडिदिऊँ, कुनै नेताले भाषण गर्नुअघि पनि स्टेजमा गीत घन्काउने गरिन्छ । संगीतले मानिसको भावनालाई उद्वेलित गराउने काम मात्र गर्दैन, यसले मानिसलाई कुनै संगठित कर्ममा लाग्न प्रेरित पनि गर्छ । संगीतले जीवनलाई ‘पोजेटिभ’ बनाउनसमेत मद्दत गर्छ ।

संगीतले जीवनलाई पोजेटिभ बनाउँछ भन्नुभयो, तर संगीत सुनेर आत्महत्या गर्ने प्रवृत्ति पनि त छ नि र ?
गीतले मानिसको भावनालाई स्पर्श गर्छ । कुनै गीतले रमाइलो दिलाउँछ, कुनैले रुवाउँछ । संगीतमा विरह रस पनि हुन्छ । यो रसप्रति आशक्त हुनेहरूले यदाकदा आत्महत्या गरेको पनि सुनिन्छ । तर, संगीत सुनेर आत्महत्या गर्नेभन्दा संगीतमा जीवन खोज्नेहरू नै बढी छन् ।

बाल्यकालमा कस्ता गीत मन पर्थे र?
नौ वर्षको भएपछि म रंगमञ्चमा उत्रिएँ । त्यतिवेलादेखि नै संगीतसँगको सम्बन्ध घनिष्ठ बन्यो । सानोमा लोक भाकामा बढी नाच्थेँ । ‘मखमली चोलो चाहिँदैन’ र गोपाल योञ्जनको ‘वनकी चरी’ बोलको गीतमा म धेरै नाचेकी छु । गोपाल दाइको ‘देशले रगत मागे’ गीतमा पनि नाचेकी छु ।

तपाईंलाई अहिलेसम्म सबैभन्दा बढी मन परेको गीत कुन हो र?
गीतलाई रेटिङ गर्न सकिँदैन । मुडअनुसार गीत राम्रो अथवा धेरै राम्रो हुने गर्छ ।

तपाईंको मन पर्ने गायक र गायिका को–को हुन् र?
पुरानामा नारायणगोपाल, अरुणा लामा, तारादेवीहरू । बच्चुकैलाश, प्रकाश श्रेष्ठ, विमला राई, कुन्ती मोक्तानका गीत पनि राम्रा छन् । नयाँ पुस्तामा अञ्जु पन्तको गीत राम्रो लाग्छ ।

विदेशी संगीत कत्तिको सुन्नुहुन्छ र?
संगीत स्वदेशी–विदेशी भन्ने हुँदैन । नेपालीपन, भारतीयपन आदि भने हुन्छ । संगीत विश्वकै सम्पत्ति हो । विभिन्न देशका शास्त्रीय संगीत सुन्न म रुचाउँछु ।

विदेशी गायक–गायिकामा को मन पर्छ र?
एकजनाको मात्र नाम लिनुपर्‍यो भने म भारतकी आशा भोस्लेको नाम लिन्छु । उनको आवाज भर्सटाइल खालको छ । लता मंगेस्कर, उदितनारायण झाका गीत पनि राम्रो लाग्छ ।

नयाँ पुस्ताले गाएका गीत कस्ता लाग्छन् ?
राम्रै छन् । अस्ति गाडीमा आउँदा नयाँ भाइहरूले गएको र्‍याप गीत रेडियोमा बजिरहेको सुने । गीतमा भाइहरूले कलाकारको जीवनशैलीबारे उल्लेख गर्नुभएको थियो । प्रेजेन्टेसन राम्रो थियो ।

तपाईंको मोबाइलमा कति गीत छन् ?
त्यति धेरै छैनन् । त्यस्तै एक–डेढ सयजति होलान् । ज्यादै मन परेका र मैले नृत्य गरिरहने गीत मोबाइलमा सेभ गरेकी छु । ‘अति सुन्दर मानव जीवन यो’ गीत मोबाइलमा छ । संस्कृतका श्लोकहरू छन् । विमला राईका गीत धेरै छन्, किनकि यिनै गीतमा म नृत्य अभ्यास गर्ने गर्छु ।

नृत्य र संगीतको सम्बन्ध कस्तो हुन्छ ?
मुटु र मुटुको धडकनजस्तो । संगीतलाई अझ परिष्कृत गर्ने काम नृत्यले गर्छ ।

कस्तो ठाउँमा गीत गुनगुनाउनुहुन्छ ?
जहाँ पनि गुनगुनाउँछु । थाहै नपाई गुनगुनाइरहेकी हुन्छु ।

संगीतबाट तपाईंलाई अलग गर्दा के फरक पर्छ तपाईंको जीवनमा ?
संगीत र नृत्यबाट आफू अलग भएको म कल्पना पनि गर्न सक्दिनँ ।

तपाईंलाई आफ्नै स्वर कस्तो लाग्छ ?
ठीकै लाग्छ । अरूको लहैलहैमा गाउँदा रमाइलै लाग्छ ।

तपाईंलाई त्यति मन नपरेको, तर असाध्यै हिट भएको कुनै गीत छ ?
मन नपरेको होइन, अचम्मै पर्ने गरी हिट भएको एउटा गीतचाहिँ छ । एकजना भाइले रुँदै गएको ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत यति धेरै हिट भयो कि म छक्क परेँ । धेरै मानिसले ‘यस्तो पनि गीत हुन्छ’ भन्दै बद्ख्याइँ गर्दै गीत सुने । सुन्दा रमाइलो लाग्छ भने ‘छ्या’ किन भन्नु रु

कस्तो वेला गीत सुन्न रुचाउनुहुन्छ ?
जस्तो वेलामा पनि सुन्न मन पराउँछु । भिजुअलभन्दा म संगीतसँग बढी नजिक छु । राति सुत्ने वेलामा रेडियोबाट पुराना गीत दिने गर्छ, सुन्छु । नयाँ जेनेरेसनले पनि पुराना गीतलाई बिर्सिएका छैनन् भन्ने सोच्छु । रमाइलो लाग्छ ।

अनौपचारिक जमघटमा तपाईंलाई गीत गाउने अफर कत्तिको आउँछ ?
त्यति आउँदैन, किनकि म राम्रो गायिका होइन । कसरी नाच्दा ठीक हुन्छ भनेर सोध्नेचाहिँ गर्छन् । ‘हामीसँगै गाउनु न’ भन्ने साथीचाहिँ छन् ।

तपाईंलाई सबैभन्दा मन परेको राष्ट्रिय गीत कुन हो र ?
गोपाल योञ्जनले गाएका राष्ट्रिय गीत सबै मन पर्छ । शिशिर योगीको ‘यो देशमा म यौटा मानिस खोजिरहेछु’ बोलको गीत राष्ट्रिय भावनाले ओतप्रोत भएको छ । यो गीत साह्रै मन पर्छ । नयाँ पत्रिका.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...