Tuesday, December 16, 2014

तेल चोर्न आयल निगमकै अनुमति

नेपाल आयल निगमले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने ट्यांकरचालकसँग ट्यांकरको तल्लो भागबाट तापक्रम नाप्ने सहमति गरेको छ । तल्लो भागबाट तेल मापन गर्दा प्रतिट्यांकर ४५ लिटर तेल चोरी गर्न सकिने निगम स्रोतको भनाइ छ ।

सञ्चित घाटा ३५ अर्ब र ३७ अर्ब ऋणमा रहेको निगमलाई नोक्सानी कम गर्न ट्यांकरको माथिल्लो, मध्य र तल्लो भागको औसत तापक्रम लिन विभिन्न कार्यदलले सुझाब दिएका छन् । तीनपटकसम्म नापेर औसत निकाल्न झन्झट भए ट्यांकरको मध्य भागलाई आधार मानेर तापक्रम नोक्सनीको दर निर्धारण गर्न पनि कार्यदलको सुझाब छ । तर, निगम व्यवस्थापनले बुधबार चालकसँग ट्यांकरको तल्लो भागबाट मात्र तापक्रम नोक्सानी नाप्ने सहमति गरेको छ ।


गुणस्तर तथा नाप–तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजकत्वको कार्यदलले ७ मंसिरमा बुझाएको प्रतिवेदनमा ट्यांकरको तल्लो भागबाट तापक्रम लिँदा करिब ३ डिग्री सेन्टिग्रेड तापक्रम कम हुन्छ । २० किलोलिटरको ट्यांकरमा तीन डिग्री सेन्टिग्रेड तापक्रम फरक पार्दा ४५ लिटर तेल चोरी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

आफूहरूको सुझाबको बेवास्ता गर्दै निगम व्यवस्थापनले तेल चोरी गर्न सहज बनाइदिएको कार्यदलका एक सदस्यले बताए । ती सदस्यका अनुसार ट्यांकरको तल्लो भागबाट तापक्रम मापन गरे एकपटकमा ६ हजार तीन सय लिटर तेल चोरी हुनेछ । प्रचलित मूल्यअनुसार सो परिमाणको नौ लाख रुपैयाँ पर्छ । सिनामंगल डिपोमा तेल ओसार्न एक सय ४० ट्यांकर प्रयोग हुने गरेका छन् ।

स्रोतका अनुसार कार्यदलले ट्यांकरको मध्य भागबाट तापक्रम लिन सुझाब दिएपछि ट्यांकरचालकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संघले ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो । निगमका केही डिपो प्रमुखकै योजनामा संघले ढुवानी ठप्प पार्ने चेतावनी दिएको स्रोतको दाबी छ ।

यसअघि निगमका कार्यकारी निर्देशक डा चन्द्रिका भट्टले ट्यांकरको मध्य भागबाट तेल नाप्ने विषयमा चालकले अवरोध गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएका थिए । उनले बुधबार मन्त्रालयलाई बुझाएको चौमासिक प्रगति–विवरणमा भनेका छन्, ‘ट्यांकरको मध्य भागबाट तापक्रम लिने विषयमा चालकले अवरोध गरिरहेका छन् ।’ सोही दिन ट्यांकरचालकहरूसँगको छलफलमा उनले तत्काल ट्यांकरको तल्लो भागबाट तापक्रम लिने सहमति गरेका हुन् ।

ट्यांकरको तल्लो भागबाट तापक्रम लिने निर्णय निगमकै विनियमावलीविपरीत रहेको एक कर्मचारीले बताए । ‘निगम विनियमावलीमा ट्यांकरको मध्यबाट तापक्रम नाप्नुपर्ने उल्लेख छ,’ ती कर्मचारीले भने ।

यसअघि निगमसँगको छलफलमा यातायात स्वतन्त्र मजदुर संघले सबै डिपोमा एउटै नियम हुनुपर्ने अडान लिएको थियो । ‘इन्धन ढुवानी गर्ने सबै डिपोमा एउटै नियम हुनुपर्छ,’ छलफलमा सहभागी एक चालकले भने, ‘डिपोपिच्छे फरक नियम मान्य हुँदैन भन्ने हाम्रो अडान हो ।’ निगमले अन्य डिपोमा पनि तेलको तापक्रम ट्यांकरको तल्लो भागबाट लिने गरेको छ ।

सिनामंगलस्थित हवाई डिपो पछिल्लो दशमध्ये सात वर्ष घाटामा छ । क्यालिब्रेसन, तापक्रम नोक्सानी, चुहावटलगायतमा सुधार गरिए घाटा कम गर्न सकिने कार्यदलको सुझाब छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...