Thursday, November 14, 2013

लगन जुरेको छैन, इन्दिरा योन्जन, गायिका

तुलसा वाइवासँगै इन्दिरा(हरियो चोली)
उँभो उँभो लाग्यो भेडींको बथान,
उँधोउँधो लाग्यो चौंरी गाई
हाम्लाई पनि लैजाउ न घुम्न, 
ए भेडी गोठे दाइ
यस्तै गीतहरुमा स्वर भरेर तामाङ सेलोमा बेग्लै पहिचान बनाएकी गायिका हुन् इन्दिरा योन्जन । गायिका तुलसा वाइबासँगै गायन क्षेत्रमा लागेकी उनले २०० गीतहरुमा स्वर दिइसकेकी छिन् । ‘सेलो संगम’, ‘चलनचल्ती’ उनीहरुको चर्चित एल्बम हुन् । अरु गीतमा पनि स्वर भरिसकेकी उनी तुलसासँगै संयुक्त एल्बम निकाल्ने तयारीमा छिन् ।

त्यसो त उनले ‘ल्याइदेउ न आप्पा’ गीतमा मोडलिङ समेत गरेकी छिन् । ग्रामीण विकासमा स्नातकोत्तर उनले इलाहावादबाट संगीत विषय लिएर पढेकी छन् । सिन्धुपाल्चोकको ह्रिस्याङगुमा जन्मेकी उनी अचेल संगीत क्षेत्रको विकासमा सुस्तता आएको बताउँछिन् । यिनै गायिकासँग नेत्र तामाङले गरेको कुराकानी :

हिजोआज त्यति देखिनुहुन्न नि ?


हामी स्टेज कार्यक्रमतिर छौं । एल्बमहरु बजारमा नआएकोले मिडियामा नदेखिएको हो । फेरि त्यति धेरै समय पनि भएको छैन पछिल्लो एल्बम बजारमा ल्याएको । दुई वर्ष त हो नि ।

दुई वर्ष त निकै समय भयो नि हैन र ?

संगीतको उद्योग राम्रो भएको भए त यो धेरै समय हो । तर उद्योग रुघ्ण रहेकाले निकै समय भन्न नमिल्ला कि । किनभने संगीतको बजार नै छैन । कति स्थापित कलाकारले त ग्याप गरी एल्बम निकालिरहेका छन् । त्यसैले हामीले वर्षेनी एल्बम निकालिरहने आँट नगरेका हौं ।

त्यसो भए एल्बम निकाल्नुहुन्न ?

एल्बम निकाल्ने तयारीमा छौं । धेरैको गुनासो आएकोले पनि अब हामीले चाडैं नै एल्बम निकाल्नुपर्ने भएको छ ।

जोडीमा ठाकठुक परेर हो कि यस्तो ढिलो भएको ?

त्यस्तो ठाकठुक केही छैन । हामी मिलेरै अबको ल्होसारमा नयाँ एल्बम ल्याउने तयारीमा छौं । सायद तामाङ सेलो, नेपाली गीतहरु समावेश हुनेछन् ।

गीत आफै लेख्नुहुन्छ कि अरुले लेखेको मात्र गाउने हो ?

सबै अरुले लेखेकै गाएकी छु । आफूले लेख्ने प्रयास नै गरेकी छैन । बरु कसैकसैलाई भने थिम दिएर गीत लेख्न लगाएकी छु ।

कहिलेकाहीं आफैले लेखेर गाऊँगाऊँ जस्तो लाग्दैन ?

लेख्ने जाँगर नचलेर हो कि त्यस्तो अहिलेसम्म लागेकै छैन ।

कविता पनि लेख्नुहुन्न ?

लेखेकै छैन ।

मोडलिङ पनि गर्नुहुन्छ, अबको गीतहरुमा पनि गर्नुहुन्छ कि ?

मैले ‘ल्याउदेउ न आप्पा’मा मोडलिङ गरेकी थिएँ । त्यो पनि संयोगवश मात्र गरेकी हुँ । मलाई मोडलिङमा त्यति रुचि छैन । त्यसैले अबका गीतमा मोडलिङमा देखिन्नँ ।

संगीत सिकेर यो क्षेत्रमा आउनुभएको हो कि त्यत्तिकै ?

रत्नराज्यलक्ष्मी क्याम्पसमा संगीत पढें । भारतको इलहवादबाट शास्त्रीय संगीतमा ४ वर्षको कोर्स गरें । संगीतको कक्षासँगै यो क्षेत्रमा लागियो ।

इलहवादको शिक्षा त नेपाल सरकारले मान्यता दिँदैन भन्छन् नि ?

मान्यता दिइरहनै पर्दैन नि । यो त प्रयोगात्मक विषय हो । आफै गाउने, एल्बम निकाल्ने हो । यो काममा पनि त सरकारले सघाउँदैन नि । सिर्फ पढाउन नपाउने त हो नि । आफै इन्स्टिच्युट खोलेर पढाउने विकल्प त छ नि ।

संगीतलाई पेसाकै रुपमा लिनुभएको छ ?

रहर हो तर पेसाकै रुपमा लिन सकिरहेकी छैन । किनभने मैले अघि नै भने संगीतले उद्योगको रुप लिन सकेको छैन ।

त्यसो भए पार्ट टाइम हो गीतसंगीत ?

त्यस्तो पनि होइन, मेरो रुचि नै यो हो । तर बजारको अवस्थाले गर्दा पेसाकै रुपमा आँगल्न सकिरहेकेका छैनौं ।

एकताका त निकै गाउनुहुन्थ्यो, चर्चामा आउनुभएकै गायिका हो तपाई ?

हो त्यतिबेला क्यासेट, चक्काको जमाना थियो । म्युजिक कम्पनी हामीलाई खोजीखोजी आउँथे । लौ न गाउनुप¥यो भनेर । अहिले पेनड्राइभको जमाना छ । हामीले लगानी गरी बनाएको भिडियो पनि बजाइदिनुप¥यो भनेर पैसा दिँदै हिड्नुपर्छ अहिले ।

तामाङ सेलो नै किन रोज्नुभयो ?

हामी सांगीतिक क्षेत्रमा प्रवेश गर्दा लोकदोहोरी र तामाङ गीतको बजार फैलेको थियो । दोहोरीमा प्रशस्तै गायकगायिका भएको तर तामाङमा नभएको देखेर हामी त्यतातिर लागेका हौं । यसमा हामी खुसी छौं ।

गायनमा लागेको १४ वर्षभन्दा बढी भइसकेको रहेछ, धेरै ठाउँमा फ्यानबाट प्रस्ताव आएका पनि होलान्, बिहे भने गर्नुभएको रहेनछ ?

प्रस्ताव स्वीकार्नैपर्छ भन्ने हुँदैन । अहिले पनि तत्कालै बिहे गरिहाल्ने पक्षमा म छुइनँ । लगन नआएर हो कि ? कुनबेला भाग्यले जुराउँछ । बिहे गर्ने दिन । होला या नहोला । त्यो पनि थाहा छैन ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...