Sunday, April 21, 2013

भुवन केसीका प्रेमसम्बन्ध

चलचित्रका नायकहरू विभिन्न कारणले चर्चामा आउँछन्, केही अभिनयका कारण चर्चामा आउँछन् भने केही बानी, व्यवहार र चरित्रका कारण । यति मात्र होइन उनीहरूले चलचित्रमा दिएका 'बोल्ड', सिन र एक्सनले पनि बजारमा उत्तिकै चर्चा पाउँछ । 
'पब्लिक फिगर' भएपछि नायकहरूको सामान्य कुरामा पनि सर्वसाधारणले चासो राख्नु स्वभाविक हो । चलचित्र क्षेत्र रंगीन दुनियाँ पनि हो । गलामा रस छउन्जेल र कलामा पहुँच रहुन्जेल सबैको आकर्षणको केन्द्रमा हुन्छन् कलाकारहरू । त्यसपछि विस्तारै विस्थापित हँुदै जान्छन् । 
तर, नायक भुवन केसी भने यी कुरामा अपवाद छन् । 'जुनी'मार्फत ४० को दशकको सुरुबाट चलचित्रको रंगीन दुनियाँमा प्रवेश गरेका भुवनले त्यसयता उद्योगमा राम्रै चर्चा कमाए । तर, त्योभन्दा बढी चर्चा उनको 'लभ अफेयर'ले पाउने गरेको छ । उनको सानै अफेयर किन नहोस्, सनसनी 
मच्चिन्छ मिडियामा ।
पछिल्लो समय यिनै नायक आफूभन्दा ३० वर्ष कान्छी नायिकासँगको सम्बन्धले चर्चामा छन् । हुन त दर्जनौँ अफेयरमा तानिएका उनको यसअघिका सम्बन्धबारे पनि रोचक प्रसंग छँदै छन् । तर,
पछिल्लो समय 'एटिएम गर्ल'का नामले चिनिएकी जिया केसीसँगको सम्बन्धले उनलाई फेरि बोल्नैपर्ने बनाइदियो । सञ्चारमाध्यमले एकाएक उनीहरूको सम्बन्धबारे खुलासा गरे पनि उनले यसलाई सामान्य घटनाका रूपमा मात्र लिएका छन् ।
रजतपटमा उनलाई एक मात्र 'न्युज मेकर' नायकका रूपमा हेरिने गरिन्छ । सदाबहार नायक मानिने भुवन बुढ्यौली लाग्दासमेत लभ अफेयरकै कारण चर्चामा छन् । उनी आफैँले जानेर चर्चामा छाएका हुन् या भाग्यले उनलाई चर्चित बनाइरहेको हो, यो भने छुट्याउन मुस्किल छ । तर, चलचित्रमा अभिनय र कलाका कारण जति चर्चा कमाए त्योभन्दा बढी चर्चा 'लभ अफेयर' र 'लभ स्क्यान्डल'ले उनलाई दिलाएको छ ।
सम्झना, कुसुमे रुमाल, साइनो, चिनो, सुपरस्टार, बादलपारि, करोडपतिजस्ता फिल्मबाट सफलता पाएका उनी नेपाली दर्शकमाझ चकलेटी नायकका रूपमा पनि चिनिन्छन् । त्यसैले उनलाई मनपराउनेको भीड पनि बाक्लै छ । 
आफ्नो पछिल्लो सम्बन्धबारे सोधिएको प्रश्नमा नायक केसीले नयाँ पत्रिकासँग भने, 'जिया र म नजिकको साथी मात्र हो, यसबाहेक बढी सम्बन्ध केही छैन ।' सञ्चारमाध्यममा आएका समाचारलाई उनले 'हावादारी' गफ भएको आरोपसमेत लगाए । कुनै सम्बन्धविना किन यस्तो हावादारी गफ सार्वजनिक भयो 
त ? 'पछिल्लोपटक बन्ने फिल्ममा उनलाई पनि काम दिने विचार गरिरहेका छौँ, यसैक्रममा भेटघाट हँुदा यी आरोप आएका हुन्, सबै हावा कुरा हुन्,' केसीले भने । जियासँगै भविष्यमा सँगै काम गर्ने इच्छा भने भएको उनले स्विकारे ।
त्यसो त भुवन आफूलाई जियाको शुभचिन्तक मान्छन् । सम्भवतः यही कारण पछिल्लोपटक बन्ने भनिएको फिल्ममा उनले आफ्नो छोरा अनमोललाई नायक र जियालाई नायिकाको भूमिका दिने बताएका छन् । बजारमा भुवन र जियाको भेट बक्लिएको चर्चा छ । उनीहरूको भेट दिनानुदिन सम्बन्ध विस्तारतिर छ । तर, भुवनले यसलाई हल्लै मात्र भएको बताए । 
चलचित्रकर्मीहरूका अनुसार सार्वजनिक समारोहमा समेत उनीहरू सँगै देखिन्छन् । दरबारमार्गको दोहोरीदेखि अन्य रेस्टुरेन्टसम्म दुवै सँगै देखिन्थे । सार्वजनिक उद्घाटन समारोहमा पनि एकै रंगको पहिरन लगाएर जान्थे । रातिराति अबेरसम्म पनि उनीहरूको साथ नछुटेको देखिएकाले उनीहरूको सम्बन्ध सुमधुर भएको चलचित्रकर्मीको दाबी छ । तर, भुवनको भनाइ भने यी खबरहरूभन्दा ठीक उल्टो छ ।
चलचित्रमा सदाबहार तथा सुपरस्टारको विशेषणले चिनिने उनले पहिलो श्रीमतीका रूपमा विजया केसीलाई भित्र्याए । पारिवारिक सम्बन्ध त्यति राम्रो नभएपछि जेठी छोरी काजोललाई लिएर विजया अमेरिका गइन् । काजोलको गतवर्ष बिहे भइसकेको छ ।
विजयासँग सम्बन्ध टुटेपछि उनले रजतपटकै नायिका रजनी
बम्जनसँग दोस्रो बिहे गरे । त्यतिवेला पनि उनको त्यो सम्बन्धले निकै चर्चा पाएको थियो । दुवै एकै क्षेत्रको भएकाले पनि उनीहरूबीचकोे पारिवारिक विवाद वेलावेला मिडियामा छाइरह्योे । बिहेको केही समयपछि सुस्मिताले डिभोर्स पनि दिइन् । यसलाई कतिपयले त नाटक पनि भने । योबीच भुवनको नाम नायिका रञ्जना शर्मासँग जोडियो । रञ्जनासँगको सम्बन्ध सुस्मिताले थाहा पाएपछि उनीहरूबीचको सम्बन्ध पनि सुमधुर रहेन । यही सम्बन्धकै कारण सुस्मिताले डिभोर्स दिएको हल्ला पनि चल्यो । तर, रञ्जनासँग कलाकारको सम्बन्ध मात्र भएको पुष्टि भएपछि भुवनसँगको सम्बन्धलाई निरन्तरता दिइन् सुस्मिताले । यो सम्बन्ध धेरै समयसम्म भने टिक्न सकेन । दोस्रोपटकको डिभोर्सपछि भने उनीहरूको सम्बन्ध सदाका लागि टुट्यो । 
केसीले सुस्मिताबाट जन्मेका छोरा अनमोललाई सँगै राखे र अभिनयमा उतारे । सुस्मितासँग डिभोर्स भएपछि एक्लो रहेका भुवन फेरि चर्चामा आए, कुपन्डोलकी बुटिक सञ्चालकसँगको सम्बन्धका कारण । यसले पनि मिडियामा राम्रै चर्चा पायो । चलचित्र हात नलागेको अवस्थामा समेत भुवनले विभिन्न विवादका कारण मिडियामा उपस्थिति जनाइरहे । 
चलचित्रका अनुभवी उनले पछिल्लो समय 'साथी म तिम्रो' गरे । बुटिक सञ्चालिका शर्मिला डंगोलसँगको सम्बन्धबारे पहिले उनी त्यति खुलेका थिएनन् । तर, शर्मिलाका श्रीमान्ले बाटोमै कुटेपछि भने उनीहरूको सम्बन्धले चर्चा पाएको थियो । शर्मिलाका पति रत्नसिंह डंगोलले भुवनलाई कोटेश्वरको बीच सडकमा कुटेका थिए । तर, भुवनले त्यो गलत भएको दाबी गरे ।
कान्छा छोरा अनमोल फिल्ममा
नायक बन्न लागेका छन्, तर, उमेरले ५० नाघिसकेका भुवन भने विभिन्न युवतीसँगको सम्बन्धका कारण चर्चा र विवादमा आइरहन्छन् । कान्छी पत्नी सुस्मितासँग 'ब्रेक' भएपछि सामाजिक जीवनमा एक्लो भएको सुनाउने भुवनको केही समययता नायिका जिया केसीसँगको सम्बन्धबारे चर्चा चल्न थालेको हो । झापाकी जियाले दीपक श्रेष्ठ निर्मित चलचित्र 'हो यही माया हो'बाट डेब्यु गरेकी हुन् । पछिल्लो समय 'एटिएम' चलचित्र खेलेपछि बजारमा उनी चर्चामा आएकी हुन् । भुवनले जियासँग साथीको सम्बन्ध भएको बताए पनि चलचित्र 'एटिएम'को निर्माणका वेला उनीहरूबीचको भेट बाक्लिएको थियो । एटिएममा आफ्नो अभिनय नभए पनि भुवन जियालाई भेट्न सुटिङस्थलमा समेत पुगिरहन्थे । 
जियासँगको सम्बन्ध
निर्देशक दीपक श्रेष्ठको 'हो यही हो माया' फिल्मबाट डेब्यु गरेकी झापाकी जियाले पहिलो फिल्मबाट त्यति चर्चा कमाउन सकिनन् । हुन त उनलाई निर्देशक उदय सुब्बाले पनि फिल्ममा खेलाउन चाहेका थिए । जियाको व्यक्तित्व देखेर निर्देशक श्रेष्ठले उनलाई बलिउडकी 'करिना र क्याटि्रना' जस्तै लुक्स भएकी नायिका भनेर प्रशंसा गरेका थिए । पछिल्लो समय निर्देशक श्रेष्ठसँग उनको सम्बन्ध थियो भनेर चर्चा पनि नचलेको होइन् ।
एटिएममा अभिनय गरेपछि उनलाई 'एटिएम गर्ल'का रूपमा पनि चिनिन थालियो चलचित्रबजारमा । पहिलोपटक बोल्ड सिन दिएकै कारण उनी चर्चित बनिन् । यही बोल्ड सिनका कारण एटिएमको प्रदर्शनमा समेत रोक लागेको बताइन्छ । तर, एटिएमबाट सिर्जना भएको विवादलाई अन्यत्रै मोडेर जियाले भुवनसँग प्रेम सम्बन्ध बढाउन चाहेको बताइन् । भुवन आफूलाई निकै मनपर्ने नायक भएको जियाको प्रतिक्रिया थियो ।
प्रस्तुति : नेत्र तामाङ

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...