Friday, May 20, 2016

सिन्धु युएसएको सहयोगमा नवनिर्मित वनसाँघु भवन हस्तान्तरण

ड्यामसाइड,सिन्धुपाल्चोक । सिन्धु युएसए वेलफेयर सोसाइटी, अमेरिकाको सहयोगमा बनेको वनसाँघु मावि भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । जेठ २ गते एक कार्यक्रमकामाझ सोसाइटीको अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि वंशलाल तामाङले उक्त भवन हस्तान्तरण गरेका हुन् ।

जुरे पहिरोमा परी क्षतिग्रस्त माङ्खा–१ स्थित ड्याम साइटमा नवनिर्मित वनसाँघु माध्यमिक विद्यालय भवन हस्तान्तरण गर्न पाएकोमा निकै खुसी लागेको अध्यक्ष तामाङले बताए ।

जुरे पहिरोपछि अमेरिकामा रहेरै त्यहाँका पहिरोपीडितको लागि सहयोग संकलन अभियानमा लागेको र शिक्षा क्षेत्रमा नै सहयोग गर्ने बोर्डले निर्णय गरेको उनले बताए । ‘हामीले दीर्घाकालीन रुपमा फाइदा पुग्ने ठाउँमा राहत दिने निर्णय गरेका थियौं, स्कुल यस्तो ठाउँ थियो, जहाँ यस भेगका सबै लभान्वित हुन सक्थे,’ कार्यक्रममा तामाङले भने ।



पछिल्लो समय यस माविलाई अन्यत्रै ‘मर्ज’ गर्ने भनिएकोप्रति लक्षित गर्दै अध्यक्ष तामाङले जुरे ऐतिहासिक ठाउँ रहेको र दिवंगत विद्यार्थीहरुको सम्झनामा भएपनि यो स्कुल नमुना स्कुल बन्न सक्ने धारणा राखे । ‘स्कुल मर्ज गर्ने कुरा ठिक हो, तर यो स्कुलमा चाँहि अर्को स्कुल मर्ज गरिए राम्रो हुन्छ, यो ऐतिहासिक र नमुना स्कुल हुनेछ,’ अध्यक्ष तामाङले भने ।

कार्यक्रममा एनआरएनका सदस्य एवं कार्यक्रमका विशेष अतिथि नवीन शेरचनले सिन्धु युएसए वेलफेयर सोसाइटीले सरहनीय काम गरेको भन्दै प्रशंसा गरे । त्यसैगरी नेकपा एमाले जिल्ला कमिटि सचिव कमल नेपालले स्कुललाई बलियो भवन उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिए ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वलदेव तिमिल्सिनाले स्कुललाई नमुना स्कुल बनाउन विद्यालय व्यवस्थापन समितिले प्रयास गर्नुपर्ने बताए । करिब ३७ लाख ५२ हजार रुपैयाँमामा निर्माण गरिएको आठ कोठे भवन निर्माणका लागि संस्था र विद्यालयबीच २०७१ कात्तिक २ गते सम्झौता भएको थियो ।

पहिरोले पठनपाठनमा अवरोध पु¥याएपछि पुनःस्थापनाका सिन्धु युएसए बोर्डले ३५ हजार ४०० अमेरिकी डलर सहयोग गर्ने सम्झौता गरेको थियो । विद्यालय भवन निर्माणका लागि सिन्धु युएसएलाई अमेरिकामा रहेका नेपालीका संघसंस्थाले आर्थिक सहयोग उपलब्ध गराएको सिन्धु वेलफेयर सोसाइटी नेपालका अध्यक्ष नेत्र तामाङले जानकारी दिए ।

कहिले पहिरो त कहिले भूकम्पको पीडा व्यहोरेका त्यहाँका विद्यार्थीको पठनपाठन लामो समयसम्म प्रभावित भएको थियो । भवन निर्माण भएकोले अब पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक बलराम तिमिल्सिनाले बताए । जुरे पहिरोमा परेर ३१ जना छात्रछात्रासहित १४५ जनाको दुःखद निधन भएको थियो । दुई वर्ष पुग्न लाग्दासमेत पहिरोपीडितका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमा पुनःस्थापनाका लागि सङ्कलित रु दुई करोड २५ लाख केन्द्रीय दैवीप्रकोप उद्धार समितिको आदेशमा खाता रोक्का भएपछि हालसम्म वितरण भएको छैन ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...