Monday, April 4, 2016

दस वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य गर्ने हाम्रो पार्टीको लक्ष्यःडा. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले चर्चामा छन् । संविधानसभाबाट संविधान जारी भएसँगै पार्टी र सभासद् पदसमेत छाडेर नयाँ शक्ति अभियानमा लागेका डा. भट्टराई विभिन्न कोणबाट चर्चा आएका छन् । डा भट्टराई अहिले नयाँ शक्तिका संयोजक छन् । काठमाडौंको बबरमहलमा नयाँ पार्टीको मुख्यालय खोलेर उनले आफुप्रति आकर्षण बढाउन विकास र सम्बृद्धिका खाका कोर्दैछन् ।
२०५२ मा जनयुद्ध छेडेदेखि संविधानसभाबाट संविधान जारी भइन्जेलसम्म डा भट्टराईले पार्टीमा र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निभाए । तर, जब संविधान जारी भयो, त्यतिबेला मधेसमा आन्दोलन जारी थियो । यही बेला डा. भट्टराईले सभासद्को पद त्यागे । माओवादी पार्टी छाडे । संविधान लागु गराउन मुश्किल भइरहेको बेला संविधानका एक ‘अभियन्ता’को राजीनामाले एमाओवादीमा भूँइचालो गयो । देशको राजनीतिमा ठुलै तरंग पैदा भयो । उनै डा भट्टराईसँग नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंशः

नयाँ शक्ति पार्टीको औपचारिक घोषणा वैशाख १ मा हुने हो ?
नयाँ वर्षमै औपचारिक रुपमा घोषणा गर्ने सोच छ । तर यही दिन घोषणा गर्ने भनेर अन्तिम निर्णय भइसकेको छैन ।
नयाँ जगसहितको पार्टी नयाँ शक्तिमा माक्र्सवाद, लेनिनवाद र माओवाद समेटिन्छ वा समेटिदैन ?
विचार र दर्शन भनेको समयको आवश्यकताअनुसार मानिसले आविस्कार गर्ने कुरा हो । आदिम युगदेखि हामीले हे¥यौ भने अहिलेको धर्म भनेको त्यतिबेलाको विचार र दर्शन थिए । ती विचार र दर्शनका प्रतिपादकहरुको भावना र मर्मलाई ठिक तरिकाले आत्मसात नगर्ने अन्धभक्तहरु चेलाहरुका कारणले गर्दा ती विचार र दर्शन धर्ममा परिवर्तन भएको छ । माक्र्सवाद भनेको पनि १९ औं शताब्दीमा औद्योगिक क्रान्तिपछिको अवस्थामा आविस्कार गरिएको एउटा द्वन्द्वात्मक भौतिकवादमा आधारित दर्शन हो ।
त्यसलाई समयानुकुल २१ औं शताब्दीअनुकुल विकास गर्नुपर्नेमा माक्र्सका अन्धभक्तहरुले यान्त्रिक ढंगले विकृत बनाईदिए ।
हामीले अन्धता र जडताभन्दा भन्दा पनि विचार र विज्ञानको दर्शनलाई समयानुकुल विकास गर्दै जानुपर्छ भन्ने हाम्रो मान्यता छ । हामीले माक्र्सवादलाई छोडेका पनि छैन । माक्र्सवादको भद्द भ्रष्टीकरण भएको छ त्यसलार्ई समातेर पनि बसेका छैनौं । द्वन्द्वात्मक भौतिकवादमा जगमा टेकेर आजको युग अनुकुल नयाँ विचारको विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
युरोपमा जस्तै नेपालमा साम्यवाद सकिदै छ भन्ने आरोप तपाईंमाथि लागेको छ, के भन्नुहुन्छ ?
कम्युनिस्ट सकिने कुरा हुदैन । कम्युनिस्ट आदर्श हो । रामराज्य, सत्ययुग, साम्यवाद भनेजस्तो शोषणविहीन एउटा आदर्श समाजको कल्पना हो । यो कुनै दिन आउँछ । ल्याउनुपर्छ । यसबाट कुनै मानव विमुख हुन सक्दैन । तर, अहिले नेपालमा के गर्ने भन्ने छ । अहिले भर्खरै सामान्तवादी, मध्ययुगीन पिछाडिएको अवस्थाबाट औद्योगिक पूँजीवाद हुदैं समाजवादतिर जाँदै गरेको अवस्था हो । यतिबेला हाम्रो निम्ति उत्पादन शक्तिको विकास, राष्ट्रिय औद्योगिक पुँजीको विकास, अर्थतन्त्रको विकास नै मुख्य एजेन्डा हुन्छ । यसलाई लक्ष्य गरेर नै हामीले आजको परिस्थिति सुहाउँदो विचार, नीति र कार्यक्रम तय गर्नुपर्छ । त्यसैले अहिले समाजवाद उन्मुख वाम लोकतान्त्रिक शक्ति अहिलेको आवश्यकता हो । यो कुनै पनि विचार र दर्शनको विरुद्धमा होइन । हिजो प्राप्त भएको विचार र दर्शनको सकारात्मक पक्षहरुमा टेकेर समयानुकुल विकास गर्दै अघि बढ्नुपर्छ ।
नेपालमा कम्युनिस्ट पार्टी पनि छन्, पूँजीवादी पार्टीहरु कांग्रेस, राप्रपाजस्ता पार्टी पनि छन्, नयाँ शक्तिको बाटो कस्तो हुन्छ ?
अहिले नेपालमा १८० भन्दा दर्ता भएका पार्टी छन् । ती सबै पुराना शक्ति हुन् । ती पुराना युगका आवश्यकताअनुसार बनेका पार्टी हुन् । ती पार्टीप्रति केही भन्नु छैन ।
नयाँ युगको आवश्यकता भनेको आर्थिक विकास र सम्वृद्धिलाई केन्द्रमा राख्ने, सुशासन र सदाचारलाई जीवन्त दर्शन मान्ने र समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्रको अभ्यास आजको आवश्यकता हो । त्यसमा टेकेर नै नयाँ शक्तिको निर्माण गरेको हो ।
यो हिजो भएकाजस्तै थप पार्टी होइन । यो वैकल्पिक राजनीतिक धार हो । यो वैकल्पिक राजनीतिक विचारदर्शनमा आधारित शक्ति हो । त्यसैले यसलाई कुनै पनि पुराना पार्टीसँग दाँजेर हेर्न मिल्दैन ।

नयाँ शक्तिले युवा, महिला, जनजाति र दलितलाई कस्तो स्थान दिन्छ ?
नयाँ शक्तिले पाँच ‘स’ को प्रतिबद्धता गरेको छ । तीमध्ये एउटा ‘स’ समावेशी, समानुापतिक र सहभागितामुलक लोकतन्त्र हो । नेपालमा तीनवटा जातीय क्लस्टर छ । आदिवासी–जनजाति, मधेसी–थारु, खस आर्य । तीनटा जातीय क्लस्टरकासाथै लैंगिक रुपले उत्पीडनमा परेका महिला र जातपात जन्य विभेदमा परेका दलित पनि छन् । यी पाँचवटा क्लस्टर र नयाँ पुस्तालाई राजनीतिका विभिन्न अंगमा, राज्यका विभिन्न अंगमा पु¥याउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो । यसरी नै हामीले व्यवाहारिक रुपमा लोकतन्त्रको अभ्यास गर्न चाहान्छौ ।
साथै, युवा, प्रौढ र जेष्ठ तीन पुस्ताको पार्टीका सबै अंगमा समावेश गराउने कोसिसमा छौ । अहिले भर्खर अन्तरिम परिषद् निर्माण गरेका छौं । पार्टीको औपचारिक घोषणा गर्ने क्रममा विधानतः तीन पुस्तालाई नै समावेशी, समानुपातिक ढंगले हामी पार्टीको ढाँचा बनाउँछौं ।
माओवादीले संविधानका लागि यति ठुलो जनयुद्ध ग¥यो । राजतन्त्र फालियो । संविधानसभाबाट संविधान जारी पनि भयो । तर, संविधान जारी पछि तपाई भाग्नुभयो, तपाईले ‘लिगेसी’ छाडेर भाग्न पाउनै हुन्न भन्नेहरु पनि छन्, के भन्नुहुन्छ ?
दशवर्षे जनयुद्धको जगमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । माओवादी आन्दोलनभित्र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको विषयमा सबैभन्दा बढी लड्ने मान्छे पनि म नै हुँ । मैले नै जनयुद्धको सुरुवात गर्ने क्रममा ड्राफ्ट गरेको ४० सुत्रीय माग हेर्नुभए पनि त्यो देखा पर्छ । माओवादी आन्दोलन जुन परम्परागत ढाँचामा नगइकन नयाँ ढंगले अघि बढाउन ०५७÷५८ सालमा मैले नै गणतन्त्रलगायत माग उठाएर संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भनेर सबभन्दा दृढतापूर्वक लागेको म नै हुँ । अन्ततः पार्टीले लाइन पनि त्यही बन्यो । दोस्रो संविधानसभाको संवैधानिक राजनीति संवाद तथा सहमति समितिमा म सभापति भएँ । मेरै नेतृत्वमा संविधान बन्यो । मलाई गर्व छ । मैले लिएको राजनीतिक लाइन सफल भएकोले म जति खुसी अरु कोही हुने प्रश्नै आउँदैन ? अहिले संविधानविरोधीले र गणतन्त्रका विरोधीले भ्रम छर्ने कोशिश गरेका छन् । त्यो सत्य छैन । संविधान भनेको गतिशिल दस्तावेज हो । सबै कुरा पूर्ण छैन । अपूर्ण रहेका संघीयताका सीमांकन जस्ता कुराहरुलाई पूर्णता दिदैं जानुपर्छ भन्ने मेरो भनाई हो । संघीय संविधानसभाबाट संविधान जारी हुदाँ सबभन्दा धेरै खुसी हुने म नै हुँ ।
एकदमै खुसी छु भन्नुहुन्छ भन्नुभयो, नयाँ संविधानलाई नयाँ शक्तिले कसरी हेर्छ ?
पुरानो राजनीतिक संस्कारमा जे कुरा पनि नकारात्मक ढंगले मात्र सोच्ने प्रवृत्ति छ । आफुले राम्रो काम गर्नेभन्दा पनि राम्रो काम गर्ने मान्छेको खुट्टा तानेर आफु चर्चामा आउने पुरानो राजनीतिक संस्कार हो । केही मान्छेले त्यसो गरे भन्दैमा उनीहरुको खण्डन गरिरहनु आवश्यक छैन ।
मैले आजभन्दा ठिक २ वर्षअघि नै संविधानबाट संविधान बनेपछि नेपाल नयाँ युगमा प्रवेश गर्छ, नयाँ युगको निम्ति नयाँ राजनीतिक शक्ति चाहिन्छ भनेर मैले बहस चलाएको थियो । नेपाल साप्ताहिकमा एउटा लेख लेखेर नयाँ शक्तिबारे चर्चा गरेको थिएँ । त्यतिबेलादेखि नयाँ शक्तिको बहस चलाएको थिएँ ।
असोज ३ मा संविधान जारी भएपछि नेपाल एउटा राजनीतिक श्रृंखला पुरा गरेर आर्थिक विकास सम्वृद्धि हुदैं समाजवाद नयाँ युगमा प्रवेश गरेको छ । नयाँ युगको निम्ति नयाँ विचारसहितको नयाँ राजनीतिक शक्ति चाहिन्छ भनेर म अघि बढेको हुँ । मैले कुनै पार्टी छोड्नेसमात्ने भन्दापनि युगको आवश्यकताअनुसार नयाँ विचारसहितको नयाँ पार्टी चाहिन्छ भन्ने मान्यताअनुसार अगाडि बढेको हुँ ।
२० वर्षअघि तपाईं आशाको केन्द्रविन्दु हुनुहुन्थ्यो, बीचमा संविधान जारी भएसँगै तपाईको आलोचना भयो, अहिले नयाँ शक्ति बन्दै गर्दा तपाईमा पुनः सबैको ध्यान गएको छ, कस्तो योजना बनाउनुभएको छ नयाँ शक्तिलाई जनतामाझ स्थापित बनाउन ?
राजनीतिमा सत्य स्थापित हुन अलिकति समय लाग्छ । सत्य कुरा सुरुमा ल्याउँदा धेरै मान्छेलाई बुझ्न गाह्रो पनि हुन्छ । पुराना शक्तिहरुले त्यसको विरुद्ध विभिन्न भ्रमहरु पनि फैलाउछन् । सत्यमा निष्ठावान रहेर अडिग रह्यौ भने स्थापित हुन्छ । नयाँ शक्ति नेपालको आर्थिक विकास र सम्बृद्धिमा केन्द्रीत सदाचार र सुशासनमा केन्द्रीत राजनीतिक अभियान भएकोले यसको अनिवार्यता विस्तारै स्थापित हुदैं गएको छ । जनताले योे कुरा वुझेर आकर्षण कायम गरेका छन् । विभिन्न विभागहरु बनाएर अल्पकालीन, मध्यकालीन, दीर्घाकालीन योजनाहरु बनाएर अघि बढ्दै छौ ।
एक ढेड महिनापछि पार्टीको विधिवत घोषणा गरेपछि हामी नेपालको विकासको निम्ति हाम्रा योजनाहरु सार्वजनिक गर्छौ ।
मुल रुपमा १०–१५ वर्षभित्र गरिबी र बेरोजगार अन्त्य गर्ने, २०–२५ वर्षभित्र नेपाललाई मध्यमस्तरको विकासमा पु¥याउने र ३०–४० वर्षभित्र नेपाललाई संसारकै सम्बृद्ध देश बनाउने खाकासहित हामीले गृहकार्य गरिरहेका छौ ।
नयाँ शक्ति लगत्तै चुनावमा जान्छ ?
जनताको जनमत, जनादेश प्राप्त गरेर राज्यसत्तामा पुग्ने र हाम्रा विकास केन्द्रीत राजनीति लागु गर्ने नै हाम्रो लक्ष्य छ । त्यसैले अब हुने स्थानीय, प्रदेश र केन्द्रकाका निर्वाचनमा सहभागी हुने ढंगले नै तयार गर्छौ । यो छोटो अवधिमा ७५ जिल्लामा हाम्रा अन्तरिम परिषद् निर्माण भइसकेका छन् । हामी गाउँगाउँमा, नगरका वडावडामा पुग्दैछौ । जतिबेला निर्वाचन हुन्छ, त्यतिवेला जनताकोबीचमा पुगेर जनादेश लिएर यो देशको जिम्मेवारी लिने ठाउँमा पुग्ने हाम्रो लक्ष्य छ ।
विदेशमा पनि छन् नेपालीहरू, नयाँ शक्तिमा कस्ता मान्छे आउन सक्छन् ?
नेपालको ठुलो जनशक्ति विदेशमा छ । खासगरी युवाहरु रोजगारीको खोजीमा लाखौंका संख्यामा विदेशमा जान बाध्य भएका छन् । कतिपय नेपाली गैरआवासीय नेपालीका रुपमा राम्रै हैसियत प्राप्त गरेर पनि बस्नुभएको छ । राष्ट्रिय लक्ष्य नै संवृद्धि र विकास भएकोले विदेशमा रहेका नेपालीहरु हुुनुहुन्छ, उहाँहरुको साधनस्रोत र सीप विना समृद्ध लगानी विना सम्वृद्ध नेपालको कल्पना गर्न सकिदैन । विदेश विभागले उहाँको साथ र सहयोग लिने प्रयत्न गर्नेछ । नयाँ शक्तिका शाखाहरु देशविदेशमा खुलेका छन् । १५–२० देशमा शाखा खुलेका छन् । अभियन्ताहरु पुगिसक्नु भएको छ । कोही अभियन्ताको सम्पर्कमा आउनुभएको छैन भने पार्टीको वेबसाइटबाट सीधै सम्पर्क र पार्टीलाई सहयोग गर्नसक्नेछन् ।
विदेशी नागरिकबाट चन्दा नलिने घोषणा गर्नुभएको छ, नयाँ शक्तिले एनआरएनबाट चाहि सहयोग लिन्छ कि लिदैन ?
विदेश नागरिकबाट चन्दा लिदाँ राष्ट्रिय स्वार्थमा असर हुन्छ भनेर हामीले त्यो नलिने भनेका हौं । यो लिदैनौं पनि । नेपालमा वैधानिक औपचारिक सम्बन्ध कायम राखेकाहरुले हामीलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्न सक्नुहुन्छ । साथै भोलि सम्बृद्ध नेपाल बन्दा उहाँहरुले रोजगारीको अवसर सिर्जना गर्न, उद्योगधन्दा सिर्जना गर्ने, विकासमा लगानी गर्न सक्नुहुन्छ । त्यसका निम्ति विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म हार्दिक आग्रह गर्दछु ।
भ्रष्टचार नियन्त्रण गर्न मालपोत कार्यालयमा हेल्प डेक्स खडा गर्ने निर्णय गर्नुभएको छ, तपाईंलाई विश्वास लाग्छ, हेल्प डेस्क राख्दा भ्रष्टचार कम हुन्छ भनेर ?
नेपालको राजनीति भ्रष्टचारबाट ग्रसित छ । राजनीतिक पार्टी र नेतृत्व नै भ्रष्टचारमा मुछिएको छ । राजनीतिलाई सेवाभन्दा पनि व्यवसाय बनाएको कारण यस्तो भएको छ । राजनीति व्यवसाय भन्दा पनि देश र जनताको सेवा गर्ने माध्यम राजनीति बनोस भन्ने हाम्रो लक्ष्य हो । बाध्यात्मक ढंगले भ्रष्टचार नहोस । आफ्नो व्यवसाय गरोस । राज्यसत्तामा विभिन्न अंगहरुमा भ्रष्टचार व्यप्त छ । भ्रष्टचारविरोधी संयन्त्रलाई बलियो बनाउने हाम्रो योजना हो । ७५ वटै जिल्लाका पार्टी अफिसमा हेल्प डेस्क राखेर भ्रष्टचारको सुचना सम्बन्धित निकायमा दिने र कारबाही गर्न दवाव दिने हाम्रो सोच छ । भ्रष्टचार हुने सबै कार्यालयहरुमा हामी अनुगमन गर्छौं । हामीले मालपोत कार्यालयबाट सुरु गरेका छौ । त्यसपछि हामी जिल्ला प्रशासन कार्यालय । वैदेशिक रोजगार । उर्जासम्बन्धी कार्यालय । भ्रष्टचार र घुसखोरीको अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न हामी जनदबाव सिर्जना गर्ने ।
नयाँ जगमा नयाँ पार्टी सुरु भएको छ, कतिको गाह्रो भइरहेको छ ?
विचार र विज्ञानको कुरा हो । समाज र जगत गतिशिल छ । त्यसअनुसार चेतनाको विकास गरेर यो निरन्तर गतिमा अघि बढ्नुपर्छ । मलाई कुनै गाह्रो भएको छैन बरु जिम्मेवारी बोधको अनुभुति हुन्छ । नयाँ शक्ति अभिायनले सुरु देखि नै आचारसंहिता जारी गरेको छ । यही मान्यताले अगाडि बढेको छ । यसले आचारसंहिता जारी गरेर हामी सबैले पालना गर्ने प्रतिवद्धता गरेका छौ । यो वैकल्पिक राजनीतिक धारका रुपमा अगाडि आउँछ । सम्बृद्धि र सुशासनलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेपालको पहिलो राजनीतिक शक्ति हुन्छ भन्ने हामीलाई लागेको छ । देशविदेशमा रहेका नेपालीहरुले साथसहयोग गरेमा छिट्टै नै देशको जिम्मेवारी लिएर यो देशको कायापलट गर्न सक्छौ भन्ने विश्वास हामीमा छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...