Friday, January 15, 2016

बालकथा-विद्यालयमा पाहा पालन



नेत्र तामाङ

छिरिङ र ङिमा जुम्ल्याहा हुन् । दुबै गाउँकै विद्यालयको कक्षा ६ मा पढ्दैछन् । उनीहरु सँगै हिड्छन् । ङिमा अलि चकचके र सकसके छ । छिरिङ चलाख र धेरैको प्रिय छ । एकदिन दुबै गैरी पोखरीमा पौडी खेल्दै थिए । अरु साथीहरु पनि पोखरीमा पौडिदै थिए । जेठको महिना थियो । शनिबारको दिन । गर्मी भएको बेला पौडी खेल्ने गाउँको एउटै मात्र पोखरी थियो यो । पोखरीमा अग्लो छाँगो पनि थियो । छाँगोमा पाहा बस्थे ।

पौडी खेल्दाखेल्दै ङिमाले छाँगोको काँपतिरबाट एउटा पाहा पक्रेर ढुंगामा पछारे । ङिमाको त्यो व्यवहार देखेर छिरिङको आङ जिरिङग भयो । ङिमा भने दंग थिए । ‘आज भने ठुलै भेटियो,’ ङिमा खुसी भयो, ‘अब एकदुईओटा अर्को भेटे तरकारी पनि पुग्छ ।’ छिरिङलाई यस्तो काम मन पर्दैनथ्यो । तैपनि उसले मुख फोरिहाल्न भने सकेनन् । साँझ घर फर्कदाँ ङिमाको हातमा दुईतिर पाहा झुन्डिएका थिए ।
‘नाइँ, नाइँ, नाइँ’ ङिमा राति बेस्सरी करायो । छिरिङ उसको आवाजले ब्युझिहाले । ‘के भयो ङिमा ?’ छिरिङले ङिमाको हात समाउदै सोध्यो ।

‘पाहा किन मारेको भन्दै मलाई खोलामा पाहाका प्रहरीले पोखरीभित्र पक्रेर राखेको देखेछु छिरिङ, कस्तो डर लागिरहेको छ,’ ङिमा काम्दै बोल्यो । सपनामा उसले गैरीपोखरीका पाहाहरु देखे । पाहाका प्रहरीले जेल हाल्ने कुरा गर्दै गर्दा उ निद्राबाट ब्युझियो ।

छिरिङले पाहा दुर्लभ प्रजतिको प्राणी भएकाले मार्न नहुने कुरा सुनायो । सरकारले संरक्षणको सुचीमा राखेको कुरा पनि बतायो । यदि यसरी सबैले पाहा मार्न थाले भने पाहाहरु छिट्टै संसारबाट लोप हुने चेतावनी पनि दियो ।

दुबैजना सुते । बिहान यसबारे खासै कुरा भएन । विद्यालय पुगेपछि कक्षा शिक्षकलाई समय मागेर छिरिङले ङिमाको सपनाबारे सुनायो । छिरिङले भन्यो, ‘सर, हामीले के यसरी लोप हुन लागेको जीव संरक्षण गर्न यिनीहरुलाई पाल्न सक्दैनौ, जसरी कुखुरा, बाख्रा, भैसी पालेका छौ ?’ छिरिङको कुरा सुनेर सबै हाँसे ।
कक्षा शिक्षकले सबैलाई शान्त पार्दै भन्नुभयो, ‘पाल्न सकिन्छ, तर पाहा पाल्ने कसरी, अहिलेसम्म कसैले पालेको पनि छैन, के तिमीलाई थाहा छ यो पाल्ने तरिका ?

एकछिन् छिरिङ केही बोल्न सकेनन् । ङिमातिर हेरे अनि फेरि बोल्न थाले, ‘सर, पालेको त छैन, तर हाम्रै स्कुलमा पाल्न सकिन्छ जस्तो मलाई लागेको छ ।’ अहिले भने कक्षा शिक्षक पनि छिरिङको कुरा सुनेर हाँस्न थाल्नुभयो ।

‘लागेर हुन्छ त बाबु, पाल्न जान्नुप¥यो नि ?’ शिक्षकले भन्नुभयो,
‘सर हाम्रो स्कुलमा पानीको मुल छ, यही पानी जमाउँदै सानो पोखरी बनाए पाहा पाल्न सकिहालिन्छ नि,’ छिरिङले भन्यो, ‘पाहा बस्ने सानो छाँगा बनाए भइहाल्छ ।’

‘तर पाहा कसले ल्याँउछ त ?’  कक्षा शिक्षकले प्रश्न गर्नुभयो ।
‘सर म ल्याउँछु, कति चाहिन्छ म ल्याउँछु,’ ङिमा हात उठाउदै करायो । कक्षा शिक्षक जुम्ल्याहा दाजुभाईको कुरा सुनेर दंग परे । आजको कक्षा त्यतिकै सकियो ।

छुट्टीको घन्टी बज्नसाथ कक्षा शिक्षकले छिरिङ र ङिमालाई प्रधानाध्यपकको कार्यालयमा पु¥याए । प्रधानाध्यपक डोल्मा लामा हुनुहुन्थ्यो । उनले कक्षा शिक्षकबाट आफ्ना दुई विद्यार्थीले विद्यालयमा केही नयाँ गर्न चाहेको खाजा समयमै सुनेकी थिइन् । तर यसबारे स्पष्ट हुन सकेकी थिइनन् ।

‘तिमीहरुको विचार एकदमै राम्रो छ, तर पाहा पालेर स्कुल र तिमीहरुलाई हुने फाइदा पनि छ कि,’ प्रधानाध्यपकले सोध्नुभयो । ङिमाले उहाँको कुरा सकिनसाथ भनिहाले, ‘सबैभन्दा पहिले त पाहाको संरक्षण हुने भयो, यसको प्रजाति सुरक्षित हुने भयो, अर्को यो पालेर बेच्न पनि सकिन्छ, अर्को कुरा हाम्रो स्कुलमा पाहा पालन गरेमा देश विदेश देखिका मानिसहरु पनि हेर्न आइपुग्छन्, र पर्यटकको आगमनले स्कुल र गाउँ दुवैलाई फाइदा नै हुन्छ होला नि हैन म्याडम् ।’


ङिमाको कुराले प्रधानाध्यपकको अनुहार उज्यालो भयो । छेवैको एकजना शिक्षकले सोध्नुभयो, ‘तिमीले बेच्ने कुरा त ग¥यौ तर कसले किन्छ र त्यो भ्यागुता ?’

‘भ्यागुता होइन सर पाहा हो पाहा, यसको मासु त धेरै मिठो हुन्छ, जो कोहीले खान्छन्, मैले सुनेको यसको मासु महँगो पनि हुन्छ, निमोनिया, ज्वरो जस्ता रोग लाग्दा पनि यसको मासु खाएमा निको हुन्छ,’ ङिमाले एकै सासमा भन्यो ।

प्रधानाध्यपकले ङिमालाई एउटा ठुलो कपी दिनुभयो र भन्नुभयो, ‘ल यसमा एउटा चित्र कोर, कसरी छाँगा बनाउने, ताल कहाँ बनाउने ?’

ङिमाले आफुले ती सबै नक्सा भोलि तयार पारेर ल्याउने वचन दिँदै स्कुलबाट विदा भए । भोलिपल्ट कुनै पनि कक्षा सञ्चालन नहुने जानकारी विहानै गराइयो । सबैजना चाउरमा जम्मा भएका थिए । विद्यालय सञ्चालक समितिका सबै पदाधिकारी पनि उपस्थित थिए ।

विद्यालयमा कुनै सांगीतिक कार्यक्रम हुन लागे झै देखियो । केहीवेरमै छिरिङ र ङिमा मञ्चमा डाकिए । प्रधानाध्यपकले दुबैको परिचय गराउदै भन्नुभयो, ‘हाम्रो स्कुलमा दुई प्रतिभाशाली विद्यार्थी निस्केका छन्, उनीहरु दुबैको अनुरोधमा हामीले स्कुलमा भएको पानीको मुल जोगाउन र यसको सुन्दरता बढाउन छाँगा र ताल बनाउने निर्णय गरेका छौ, यो तालमा हामी पाहा पालन गर्नेछौ ।’

प्रधानाध्यपकको कुरा सकिनेवित्तिकै ङिमाले आफुले तयार पारेको नक्सा सबैसामु देखाए । सबैले गड्गड् ताली बजाए । आफुहरुको योजनाबारे स्कुलले यत्ति चाडै यस्तो निर्णय गरेकोमा ङिमा र छिरिङ दुबै खुसी थिए । गाउँमा असार महिनाभर विदा भयो । विदाभरमा ताल र छाँगा तयार भयो । केही जोडी पाहा छिरिङले गैरीपोखरीबाट समातेर ल्याए र स्कुलको तालमा छोडियो ।

जाडो महिना लाग्दै गर्दा पाहाहरु देखिएनन् । जब गर्मी महिना शुरु भयो । तालमा ठुलठुला चेपाँगाडा देखिए । ती सुनौला थिए । ती पाहाकै चेपाँगाडा थिए । ती चेपाँगाडा देखिएपनि धेरै मानिसहरु पोखरी हेर्न आए । पहिलोपटक स्कुलमै ताल र छाँगा बन्दा हेर्नेको भीडं त लागेकै थियो । तर पाहाका चेपाँगाडा निस्केपछि मान्छे झनै बढ्न थाले । स्कुलमा विदेशी पनि आउन थाले । केही समयमा फेरि गर्मी महिना शुरु भयो ।
गर्मीमा ती चेपाँगाडाहरु सबै पाहा भइसकेका थिए । छाँगाबाट हाम्फाल्दा पोखरीको दृश्य निकै मनपर्दो हुन्थ्यो । विस्तारै स्कुलमा पर्यटकको ओइरो लाग्न थाल्यो । यो सबै काम छिरिङ र ङिमाको सपना अनुसार तयार भएको सुनेर मानिसहरुले उनीहरुलाई स्याबासी दिए ।

अन्नपूर्ण पोस्टमा वैशाख ६ गते २०७१ मा प्रकाशित

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...