Monday, April 6, 2015

चिया साहुनीको अचम्मै–अचम्म!

शान्तिनगर गेटैमा छ, हरिसिद्धि आयल स्टोर । यही आयल स्टोरको ठीकअगाडि एकाबिहानै दर्जनौं ट्याक्सीको लाइन लाग्ने गर्दछ । टयाक्सीको लस्करले संकेत गर्दछ, पेट्रोलियम पदार्थको हाहाकार छ । तर, कुरा त्यस्तो होइन ।

 चियाका लागि ट्याक्सीको लाइन लाग्ने गर्दछ ।
बाटोको छेउमै पेट्रोल पम्पसँगै बिहान चिया पसल थाप्ने गर्छिन्, ओखलढुंगाकी अनुकुमारी कार्की । छातामुनि टेबल राखेर बनाइएको अस्थायी पसल अचम्म दिदीको पसलका रूपमा परिचित छ । बोलीपिच्छे जोड्ने ‘अचम्म’ थेगो नै उनको नाम बनेको छ । अर्को हिसाबले भन्दा पसलको ब्रान्ड ।

ट्याक्सी चालक, बटुवा र वरपरका व्यवसायीका लागि अचम्म–ब्रान्ड बनेकी कार्कीको दैनिकी झिसमिसेमै सुरु हुन्छ । उज्यालो हुन नपाउँदै उनी शान्तिनगर गेटमा चिया उमाल्न व्यस्त भइहाल्छिन् । अचम्मले बानेश्वरलाई बिउँझाउने गर्छिन् । बिहानको एकाध घन्टाको व्यापारमा अचम्मले कम्तीमा तीन सय कप चिया बेचिसक्छिन् । औसत पाँच सय नाफा पनि पारिसक्छिन् ।
०००
अचम्मले बानेश्वरमा चिया बेच्न थालेको झन्डै १५ वर्ष भइसक्यो । पन्ध्र वर्षको अवधिमा नजिकैको धोबीखोलामा थुप्रै पानी बगिसकेको छ । बानेश्वर बेग्लै बनिसकेको छ । अचम्मकै जीवनमा पनि आकाश–जमिनको फरक आइसकेको छ । किशोरवयमा पसल सुरु गरेकी अचम्मका अहिले किशोरवयका दुई छोरी र एउटा छोरा भइसके ।

उनले पसल गर्दा चियाको मूल्य जम्मा पाँच रुपैयाँ थियो, अहिले तीन गुणा बढेर १५ भएको छ । अचम्मको आम्दानी बढे पनि महँगीले मार खुवाएको छ । छोरीहरूले उनलाई व्यवासयमा साथ दिएका छन् । चिया खाने स्थायी ग्राहक पनि छन् । कोही उनकै पसलमा आउँछन् । कसैलाई पसल वा घरमै पुर्‍याउनुपर्छ । फोनबाटै चियाको अर्डर हुन्छ । हँसिली यिनको एउटै शब्द काफी छ, अचम्म ।

फोनको दुनियाँमा हेलो नभन्ने को होला र रु तर, अनुको शब्दकोशमा हेलो छैन । फोन उठाउँदा उनी हेलो होइन, अचम्म भन्छिन् । उनको मोबाइलमा फोन गर्नेले ‘हेलो’ भन्ने सुनिहाले, बुझिहाल्छन्, फोन अरूसँगै छ ।
०००
शान्तिनगरको चिया पसल पार लगाउन नपाउँदै उनलाई क्यान्टिन चलाउने हतारो भइसक्छ । एभेन्जर बाइकमा घुइँकेर टेलिभिजन पुग्छिन् । जहाँ उनको क्यान्टिन छ । सामान्यतया पुरुषले मात्रै चलाउने एभेन्जरमा विन्दास हुइँकिएकी अचम्म दिदीलाई धेरैले फर्की–फर्की हेर्छन् । टेलिभिजनको क्यान्टिनका कारण अचम्म दिदीले भिन्दै दुनियाँको अनुभव गरेकी छिन् ।

झिसमिसेमा नेताप्रतिको कटाक्ष सुन्न अभ्यस्त अचम्म दिदी एकैछिनमा नेताहरूको आउ–जाउ भइरहने टेलिभिजनमा पुग्छिन् । अधिकांश नेतालाई उनी चिन्दिनन् । सितिमिति नेतासँग बोल्दिनन् । बोलेका बखत केही न केही रोचक भइहाल्छ । कारण उनको उही थेगो अचम्म छँदै छ । उदाहरण धेरै छन् । माधव नेपालसँगको प्रसंग सुनाउँदा ठुल्ठूला उनका गाला लाजले राता बन्दै गएको प्रस्टै देखिन्थ्यो ।

केही दिनअघि कार्यक्रमका अतिथिका लागि पुर्‍याएको चियाको कप लिएर उनी स्टुडियोबाट बाहिरिँदै थिइन् । ढोकैमा माधव नेपालसँग जम्काभेट भयो । पूर्वप्रधानमन्त्रीलाई अकस्मात् सामुन्नेमा देख्दा अचम्म दिदी अक्क न बक्क भइन् । टक्क रोकिएकी उनले फ्याट्टै मुख लेप्रयाइन्, अचम्म । अलमलमा परे माधव नेपाल । केही बोलेनन् । असहज नदेखिन फिस्स हाँसे । वातावरण सहज बनाउन कार्यक्रम सञ्चालकले उनको थेगोको बारेमा जानकारी दिए । नेपालले दंग पर्दै थपे, हाम्लाई पनि चिया खुवाउनोस् है, अचम्मजी ।

यस्ता कैयौँ किस्साकी धनी छिन् अचम्म दिदी । उनी तर्क गर्छिन्, तर विवाद गर्दिनन् । विवाद हुने देखिए उनले अचम्मकै ‘होलस्क्वायर’ सूत्र प्रयोग गर्छिन् । अचम्म नि अचम्म । जब उनले अचम्म नि अचम्म भन्छिन्, अभ्यस्तले बुझिहाल्छन्, अब उनी थप तर्क–विर्तक गर्दिनन् ।
०००
अचम्म दिदीको जीवनको कहानी पनि अचम्मकै छ । पाँच दिदीबहिनी र तीन दाजुभाइमध्येकी साहिली अनुको जन्म ओखलढुंगाको फेदीगोठमा भएको हो । घर चलाउन मुस्किल थियो । अचम्मलाई लाग्यो यसरी हुँदैन । १२ वर्षको उमेरमै उनी काठमाडौं हान्निइन् । आठ दिन हिँडेरै उनले काठमाडौंमा पाइलो टेकिन् । बहुदल भर्खरै मात्र आएको थियो । काठमाडौंकै महत्त्वाकांक्षा चुलिएको थियो । अनुका थुप्रै आंकाक्षा थिए, तर बाध्यताले कोरेको सीमा सबैभन्दा दरिलो थियो । उनले बूढानीलकण्ठमा गलैँचा फ्याक्ट्रीमा काम गर्न थालिन् ।

साहुकै घरमा बस्थिन् । तलब थाप्थिन् महिनाको तीन सय । बिहान ४ बजेदेखि राति ११ बजेसम्म काममा जोतिएर कमाएको तीन सय पनि उनका लागि ठूलो थियो । घरखर्च चलाउन पैसा गाउँ पठाउँदा संसार जितेजस्तो भयो ।

तीन वर्षपछि गाउँ फर्किइन् । गाउँ उस्तै थियो । अनुमा थुप्रै परिवर्तन आइसकेको थियो । बाले मुख फोरे, अब उमेर भयो, बिहे गर्नुपर्छ । बिहे उनको सपनाको बाधक थियो । गाउँमा घरगोठ गर्ने उनको इच्छा थिएन । उनले विद्रोह गरिन् । सुटुक्क घर छोडेर दशैँको समयमा काठमाडौं फर्किइन् ।

कलकलाउँदो बैँसले छोपेकी अनुलाई काठमाडौंमा थुप्रैले पिछा गरे । अनपढ अनुलाई रगतले लेखिएका पत्र पनि आए । उमेरको झोक्कालाई रोक्न नसके जीवन वर्वाद हुन्छ भन्ने अठोटले अनुलाई जस्तै प्रस्ताव पनि इन्कार गर्ने साहस दियो । कोटेश्वर नजिकैको जडीबुटीमा त्यतिवेलासम्म पनि घर–घरमा ट्वाइलेट थिएन । झाडीतिर जानुपर्ने त्यतिवेलाको अवस्था सुनाउँदा अहिले पनि उनलाई लाजले छपक्कै छोप्ने गर्दछ ।
०००
काठमाडौंको बसाइमा उनले समाजलाई चिन्न पाइन् । समस्यासँग जुध्ने साहस बटुलिन् । हक्की स्वभावले उनलाई ठूलाबडाको डरबाट टाढा राख्यो । फरासिलो शैलीकी अनुले भित्रभित्रै अठोट गरिन्, अन्तरजातीय विवाह गर्छु । नभन्दै उनको सिन्धुपाल्चोकका राने मगरसँग मागी विवाह भयो ।

विवाहले जीवनसाथी त दियो, तर जीवनलाई झनै जटिल बनाइदियो । बच्चाबच्ची जन्मिएपछि घरव्यवहारले झनै थिच्यो । उनले जीवनमा के गरिनन् रु डान्स रेस्टुरेन्टमा गेस्ट होस्टेस भइनन् कि, इँटाभट्टीमा ज्यामी बनिन् कि रु उनी अस्पतालमा सेकुरीटी गार्ड पनि भइन् । धेरै थरी भइन्, तर दुस्ख जस्ताका तस्तै रहे । उनले अठोट गरिन्, अब केही नयाँ गर्नुपर्छ । तीन सन्तानकी औँला छाप अनुले ट्याम्पु चलाउन सिक्न थालिन् । अंग्रेजी भाषा सिक्न थालिन् । सिलाइ–बुनाइ सिक्न थालिन् ।

एकपटक बिहानमा पाँचदेखि ११ बजेसम्मको समय उनले ट्याम्पो, अंग्रेजी र सिलाइबुनाइमा खर्च गरिन् । १२ बजेदेखि ६ बजेसम्म अस्पतालमा गार्ड बस्थिन् । सात बजेदेखि राति १२ बजेसम्म उनी डान्सबारमा होस्टेस हुन्थिन् । राति १ बजे घर पुग्थिन् । चार बजे उठिसक्थिन् । यो संर्घषले उनको जीवनमा नयाँ मोड ल्याइदियो । उनले व्यवसाय थालिन् । कहिले टेम्पो चलाइन् । कहिले अनामनगरमा मट्टीतेल डिपो राखिन् । बिहान र बेलुका शान्तिनगरमा चिया बेच्न थालिन् । आफ्नै कमाइले ट्याक्सी किनिन् ।
०००
यी सबै संघर्षको परिणाम अहिले पैसाको उतिसारो दुस्ख छैन । तर, चिया बेच्न छाडेकी छैनन् । चिया पारखीले अचम्मलाई खोजिहाल्छन् । आफ्न्तले भन्छन्, ‘अब त सडकमा पसल नगर ।’ अनु भन्छिन्, ‘आफ्नो जरो कसरी काट्नु, अचम्म १’

वेला–वेला महानगरपालिकाका प्रहरी बाजले चल्ला छोपेजस्तै उनको पसल झम्टिन आइपुग्छन् । केही बोल्दै नबोली, केही सोध्दै नसोधी दोकानै उठाएर लगिदिन्छन् । लग्नुपर्ने कारण केही हुँदैन । बाटो मिचेको पनि छैन, अफिस समय पनि होइन । तर, उनी त्यसको उत्तर पाउँदिनन् । अनुत्तरित उनी सबैलाई हेर्दे लामो स्वरमा भन्छिन्, अचम्म ।

अनुको नेटवर्क फिँजिएको छ । अहिले ट्याक्सी भाडामा लगाएकी छिन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा घडेरी किनेकी छिन् । दुई छोरी र एक छोरालाई राम्रैसँग पढाएकी छिन् । छोरीहरू प्लस टुमा अध्ययन गरिरहेका छन् । छोरोले एसएलसी दिएको छ । बुढालाई वैदेशिक रोजगारमा पठाएकी छिन् । छोराछोरीलाई भनेजति, भनेजसरी पढाउने उनको धोको छ ।

प्रस्तुति: नारायण पौडेल/नयाँ पत्रिका

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...