Tuesday, January 6, 2015

एक वर्षसम्मको तलब दिदैनन् नेपाली मिडिया, हेर्नुस तलब नदिने मिडियाको लिस्ट

काठमाडौं । तीन वर्षअघि निकै ठूलो तामझामका साथ सौर्य दैनिक सुरु भयो । सुरुका दुई महिना नियमित तलब पनि बाँड्यो । तर, त्यसपछि पत्रकार र कर्मचारीले तलब पाउन छाडे । लगातार दुई वर्षसम्म तलब नदिएपछि पत्रिका नै बन्द भयो । सौर्यमा चिफ रिपोर्टरबाट समाचार सम्पादक भएका खगेन्द्र पन्तले साढे चार लाख माया मारे । हरेक पत्रकार र कर्मचारीले अहिले पनि दुई लाखभन्दा बढी रुपैयाँ लिनुपर्नेछ । व्यवस्थापनले झन्डै दुई करोड तलब नदिएरै कर्मचारी र पत्रकारको बिल्लीबाठ बनायो ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । राजधानीमै भएका अधिकांश मिडियाले समयमा तलब दिँदैनन् । विनातलब काम गर्दागर्दै कहिले मिडिया नै बन्द हुने हो कि भन्ने त्रासमा पत्रकार र कर्मचारीले काम गर्नुपर्ने अवस्था छ । नाम चलेका र आफूलाई सर्वहारा वर्गको प्रतिनिधि ठान्ने मिडियाले नै पत्रकारको श्रमशोषण गर्ने गरेका छन् ।
नागरिक दैनिकले समेत चार महिनाको तलब बाँकी राखेको थियो । उसले केही समयअगाडि दुई महिनाको चुक्ता गर्‍यो । अझै पनि दुई महिनाको तलब बाँकी छ । नागरिकबाट निकालिएका ६ जना पत्रकारले भने अझै पैसा पाएका छैनन् । जबकि उनीहरूले अदालतबाट पुनर्बहालीसहित सम्पूर्ण तलब सुविधा पाउनुपर्ने फैसला भएको थियो ।

उता आफूलाई प्रचण्डको विश्वासपात्र ठान्ने र एमाओवादीको दलाली गर्ने शुभशंकर कँडेलले चलाएको एबिसीले पत्रकार र कर्मचारीलाई तलब नदिएको १२ महिना भइसकेको छ । एबिसीले तलब माग्ने कर्मचारीलाई जागिरबाट निकाल्ने गरेको छ । तलब मागेकै कारण कृष्ण खड्कालाई कँडेलले तीन महिनाअघि जागिरबाट निकालेका थिए ।
एबिसीले लामो समय तलब नदिने र पत्रकारलाई निस्कन बाध्य पार्ने, त्यसपछि फेरि नयाँ नियुक्ति गरेर अर्को एक वर्ष चलाउने नीति नै बनाएको एक पत्रकार बताउँछन् । एबिसीले हरेक वर्ष रिपोर्टरका लागि ठूलो संख्यामा आवेदन खुलाउने गरेको छ ।
उता गोर्खा एफएममा पनि एक पत्रकारले १२ महिनाको तलब पाएका छैनन् । अन्यले आठदेखि १० महिनाको तलब नपाएको बताइएको छ । नेपाल पत्रकार महासंघको अनुगमन टोली गएपछि त्यहाँको शाखासँग व्यवस्थापनले समयमा तलब दिने र पत्रकारलाई स्थायी गर्ने सहमति गरेको थियो । तर, सो सहमति लागू भएको छैन ।
आर्थिक दैनिक, नेपाल समाचारपत्र, नेपाल एफएम, हिमालय टिभी, एभिन्युज, न्युज–२४ र पुलेसो अनलाइनले चार महिनादेखि तलब दिएका छैनन् । माउन्टेन टिभीले त न्यूनतम पारिश्रमिक संयोजकले तोकेको न्यूनतम तलबसम्म पनि दिएको छैन । त्यहाँ साप्ताहिक बिदा बस्ने कर्मचारीको समेत तलब काटिने गरिएको छ । त्यसो त न्यूनतम पारिश्रमिक निर्धारण समिति संयोजक खेम भण्डारीले चलाएको पुलेसोमा नै पत्रकारको बिल्लीबाठ छ । त्यहाँ पनि न्यूनतम पारिश्रमिक दिइएको छैन ।
यता हिमालय टिभीले पत्रकार महासंघको अनुगमन टोलीसँग केही दिनमा नै तलब दिने सहमति गरेको छ । सहमतिअनुसार तलब नदिए तुरुन्त आन्दोलन गर्न पत्रकारहरू संगठित भएको एक पत्रकारले बताए ।
समाचारपत्रमा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले आफ्ना नजिककालाई मात्र तलब दिने गरेका छन् । उनी निकटस्त र चाटुकारको मात्र तलब वृद्धि गर्ने गर्छन् । अन्य केही दैनिकले पनि यस्तै गर्ने गरेका छन् । क्षमताको कदर पनि नहुने र तलब पनि समयमा नपाउने त्यहाँ कार्यरत पत्रकारको गुनासो छ ।
राजधानी, हिमालय टाइम्स, तराई टिभी, चक्रपथ अनलाइन र मिर्मिरे एफएमले तीन महिनाको तलब दिएका छैनन् । राजधानीमा तलब लिनका लागि अध्यक्ष महेन्द्र शेरचनको चिट लिएर लेखाशाखा जानुपर्छ । चिट नपाउनेले तलब पनि नपाउने नियम छ । चक्रपथ अनलाइनले स्थापनकालदेखि नै तलब दिएको छैन । सगरमाथा टिभीले दुई महिनादेखि तलब दिएको छैन ।
यसका बाबजुद पनि केही मिडियाले नियमित तलब दिने गरेका छन् । कान्तिपुर, अन्नपुर्ण पोष्ट, हिमालयन टाइम्स, नयाँ पत्रिका, कारोबार, मेरो एफएम, सिआइएन र मैत्री एफएमले समयमा नै तलब दिने गरेका छन् ।
बेथितिको हदस्
हरेक मिडियाभित्र पत्रकारको शोषण हुने गरेको छ । पत्रकार महासंघको अनुगमन टोलीका एक सदस्यका अनुसार कान्तिपुर एफएफ र कान्तिपुर टेलिभिजनमा कतिपयले अहिलेसम्म पनि न्यूनतम पारिश्रमिक पाएका छैनन् । माउन्टेन टिभीमा साप्ताहिक बिदा बसेको पनि तलबबाट रकम काटिने गरेको छ ।
‘मिडियाभित्र अमानवीय र पशुवत व्यवहार हुन्छ,’ एक मिडियामा काम गर्ने पत्रकारले भनिन् । उता रेडियो सगरमाथामा आठ वर्षदेखिका स्थायीलाई एकाएक करारको चिठी थमाइएको थियो । तर, पत्रकार महासंघको पहलमा फेरि स्थायी नियुक्तिको पत्र दिइएको छ । कारोबार दैनिकले दुई वर्षअघि सबैलाई स्थायी नियुक्ति दिएको थियो, तर अहिले एकाएक सबैलाई करारनामाको पत्र दिएको छ ।
महासंघ पदाधिकारी मालिककै पक्षमा
गत महिना लमजुङको घलेगाउँमा नेपाल पत्रकार महासंघको आवासीय बैठक बसेको थियो । सो बैठकमा तलब र पत्रकारको सुविधाको अनुगमन गर्ने कुरा उठेको थियो । तर, पत्रका महासंघ नेतृत्व नै अनुगमनको विरुद्धमा देखिएको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार सचिव ध्रुव लम्सालबाहेक सबै पदाधिकारीले मालिकको दलाली गर्ने गरेका छन् ।
बैठकमा सचिव लम्साल, केन्द्रीय सदस्य रोशन पुरी, दीपेन्द्र कुँवर, गणेश लम्साललगायतले अनुगमनको पक्षमा डटेर आवाज उठाएपछि नेतृत्व लतारिएको थियो । तर, अनुगमन टोली बनाए पनि त्यसलाई अध्यक्ष महेन्द्र विष्टले साथ नदिएको स्रोतको भनाइ छ । विष्ट कार्यरत इमेज एफएममा नै पत्रकारलाई समस्या भएकाले उनी अनुगमनको विपक्षमा देखिएका हुन् ।
विष्ट कार्यरत इमेज च्यानल र रेडियोमा न्यूनतम पारिश्रमिक सबै पत्रकारले पाएका छैनन् । इमेज न्युज एफएममा त पत्रकारलाई अमानवीय व्यवहार गर्ने गरेको महासंघ अनुगमन टोलीसँग कृति भट्टराईले गुनासो पोखेकी थिइन् । त्यहाँ साप्ताहिक बिदा बसेको पैसा काटिनेछ भने थप बिदा बस्नुपरे जागिर नै छोड्नुपर्ने अवस्था छ । नेपाली पोस्ट साप्ताहिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...