Wednesday, June 18, 2014

उपनिर्वाचनको-गर्मी-चढ्यो

बालकृष्ण अधिकारी(नागरिक) काठमाडौं -संविधानसभा उपनिर्वाचनमा मतदान गर्न चार दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका उम्मेदवारले भोटको राजनीतिलाई तीव्र बनाएका छन्। दोहोरो विजयी सभासदले छाडेका काठमाडौंको एउटा क्षेत्र (२ नम्बर) सहित चार क्षेत्रमा असार ८ गते संविधानसभा उपनिर्वाचन हुँदैछ।
नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीसहित ३७ जना चुनावी प्रतिस्पर्धामा रहेको काठमाडौं २ मा उम्मेदवारहरू प्रचार कार्यक्रमसहित चुनावी मैदानमा जुटेका छन्। यहाँ कांग्रेसका दीपक कुइँकेल, एमालेका कृष्णगोपाल श्रेष्ठ र एकीकृत माओवादीका लीलामणि पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। यो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको क्षेत्र हो।
कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्कीले मंसिर ४ को संविधानसभा निर्वाचनमा भन्दा कांग्रेसको संगठन अझ बलियो भएको बताउँदै २० देखि २५ हजार मत आउने दाबी गरे। कांग्रेसले स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाएकाले त्यसको फाइदा पुग्ने उनको जिकिर छ।

‘यस क्षेत्रका जनताले एमालेलाई होइन, एमाले उम्मेदवारले काठमाडौं छाड्दिनँ भन्ने बाचा गरेकाले मतदान गरेका हुन्,' कार्कीले मंगलबार नागरिकसँग भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धा भने एमालेसँगै हो।'
कांग्रेसले काठमाडौं महानगरपालिकाका वडा नम्बर ९, डाँछी, मूलपानी गाविसबाट अत्यधिक मत आउने आँकलन गरेको छ। यी तीन ठाउँबाट झन्डै १० हजार मत ल्याउने उनीहरूको अनुमान छ। त्यस्तै, ३५ वडा, साँखु बज्रयोगिनी, नाङ्लेभारे, इन्द्रायणी, गोठाटारमा पनि अघि रहेको कांग्रेसको दाबी छ। पुखुलाछी, सुनटोलमा यसअघि भन्दा संगठन थप सुधार भएको कांग्रेसले जनाएको छ।
एमालेले भने नाङ्लेभारे, लप्सीफेदी, साँखु, सुनटोल, साँखु बज्रयोगिनी, पुकुलाछी, इन्द्रायणी, डाँछी, मूलपानी र गोठाटार गाविसमा अग्रता लिने दाबी गरेको छ। त्यस्तै, काठमाडौं महानगरपालिकाको वडा नम्बर ३५ मा आफ्नो अग्रता कायमै रहेको एमाले दाबी छ। वडा नम्बर ९ मा पनि पार्टीको पक्षमा सुधार आएको उसको आँकलन छ।
एमाले काठमाडौं २ का इन्चार्ज मणिराम फुयालले असार ८ गते हुने निर्वाचनमा पार्टीले केन्द्रीय सदस्यलाई जनताको सेवामा खटाएको बताए। ‘स्थानीय उम्मेदवार नहुँदा सहज पहुँच हुँदैन कि भन्ने प्रश्न हो,' फुयालले भने,‘ विपक्षीहरूले त्यस्तो कुरालाई उचाल्न खोजे पनि जनताले त्यसलाई मतलब गरेका छैनन्।'
मनमोहन अधिकारी र माधवकुमार नेपालजस्ता पार्टीका प्रमुख जिम्मेवारी सम्हालेका व्यक्तित्वसँगको निरन्तर घुलमिलले यहाँका कार्यकर्ताले पार्टीको विचार प्रवाह गर्न सक्ने बताउँदै फुयालले भने, ‘यो एमालेको उर्वर ठाउँ हो, हामी चुनाव जित्छौं।'
कांग्रेस नै मुख्य प्रतिस्पर्धी भएको बताउँदै फुयालले मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा भन्दा पनि बढी मतान्तरले चुनाव जित्ने दाबी गरे।
एमाओवादी उम्मेदवार पोखरेलले भने जनता यसपटक आफ्नो पार्टीप्रति उत्सुक भएको दाबी गरे। अधिकांश स्थानमा आफ्नो पार्टीको पक्षमा विगतमा भन्दा निकै सुधार आएको दाबी गर्दै पोखरेलले भने, ‘यसपटक हामी सबै स्थानमा पुगेका छौं, जनता हामीप्रति उत्साहित छन्।' कुनै ठाउँ विशेषभन्दा नौवटै गाविस र महानगरपालिकाका सबै वडा आफ्नो पक्षमा राम्रो रहेको उनले बताए।
अहिले राष्ट्रियभन्दा स्थानीय हिसाबले निर्वाचनमा चासो बढेको उनले बताए। जनताले सक्षम व्यक्ति पठाउन खोजेको र त्यस्तो व्यक्ति आफू भएको पोखरेलको दाबी छ।

मुलुककै बढी निर्वाचन हुने क्षेत्र
२०४६ को राजनीतिक परिर्वतनपछि संसदीय र संविधानसभाको सबैभन्दा धेरै निर्वाचन हुने क्षेत्रमा काठमाडौं २ पर्छ। २०४६ पछि मुलुकमा तीन संसदीय निर्वाचन र दुई संविधनसभा निर्वाचन भएको छ। यस क्षेत्रका जनताले भने सातपटक मतदान गरिसकेका छन्। असार ८ गते हुने निर्वाचनमा आठौंपटक मतदान गर्ने तयारीमा छन्। २०४६ पछि भएका सात निर्वाचनमध्ये छवटामा एमाले र एकपटक एकीकृत माओवादी विजयी भएको छ।
२०४८ मा भएको आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र एमालेका तत्कालीन महासचिव मदन भण्डारीबीचको प्रतिस्पर्धामा भण्डारीले ७१८ मतले चुनाव जितेका थिए। भण्डारीको २०५० जेठ ३ मा दासढुंगा सडक दुर्घटनामा निधन भएपछि भएको उपचुनावमा पनि भट्टराईलाई एमालेकी विद्या भण्डारीले ११ सय ४५ मत अन्तरले हराएकी थिइन्।
त्यस्तै, २०५१ मा भएको मध्यावधि निर्वाचनमा सोही क्षेत्रबाट एमाले अध्यक्ष मनमोहन अधिकारी र कांग्रेसबाट हरिबोल भट्टराईले उम्मेदवारी दिएका थिए। अधिकारीले ११ हजार ९ सय ८८ मतान्तरले चुनाव जितेका थिए। काठमाडौं ३ बाट समेत चुनाव जितेका अधिकारीले पछि अहिलेको २ नम्बर क्षेत्र नै छाडेका थिए। त्यसपछि भएको उपनिर्वाचनमा एमालेका नारायण ढकालले कांग्रेस उम्मेदवार लोकेश ढकाललाई पराजित गरेका थिए।
२०५६ को आमनिर्वाचनमा एमालेबाट अधिकारी र कांग्रेसबाट ढकाल मैदानमा उत्रिएका थिए। चुनावी अभियानकै क्रममा अधिकारीको निधन भएपछि एमालेले प्रदीप नेपाललाई अघि सारेको थियो। उक्त चुनावमा पनि ढकाललाई पराजित गर्दै एमालेका नेपालले चुनाव जितेका थिए।
२०६४ को संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, माओवादीका भक्कुप्रसाद सुवेदी र कांग्रेसका दीपक कुइँकेल मैदानमा थिए। माओवादी उम्मेदवार सुवेदीले नेपाललाई हराउँदै संविधानसभा सदस्यमा निर्वाचित भए भने २०७० मंसिर ४ मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पुनः उम्मेदवार बनेका एमाले वरिष्ठ नेता नेपाल विजयी भए। उनले कांग्रेस उम्मेदवार प्रतिमा गौतमलाई ९ हजार २ सय ७३ मतान्तरले पराजित गरेका थिए भने एमाओवादी उम्मेदवार लीलामणि पोखरेलले ७ हजार १ सय ५४ मत पाएका थिए।
- See more at: http://www.nagariknews.com/main-story/story/19852.html#sthash.o5VfIHer.dpuf

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA