Tuesday, June 17, 2014

निक भोइजिक्


दुबै हात र दुबै खुट्टा नभएका मानिसले के गर्न सक्ला ? एक चोटि हामी सोचौ न, हात विनाको जिन्दगी के जिन्दगी ? साथीहरुसँग कसरी अँगालो मार्ने, कसरी हात मिलाउने, कोही माया गर्ने छ भने उनीहरुलाई कसरी समाउने, औला विना स्पर्श अनुभव कसरी गर्ने, केही सामानहरु कसरी उचाल्ने? हातहरु नहुदाँको जीवन सोच्दा मात्रै पनि धेरै गाह्रो हुने रहेछ । अनि खुट्टा नि? नाच्न, हिड्न, दौडन र उभिन समेत सक्दैनौ । अब यी दुबै नभएको कल्पना गरौ न, सच्चै यस्तै भए, यसले दैनिक जीवनमा के असर पार्ला?

अष्ट्रेलियाका एक नागरिक यस्तै छन् । उनी विना हात, विना खुट्टा जन्मे, हुर्के । तर उनी फुटबल खेल्छन् । टेनिस खेल्छन् । पौडन्छन् । आफै दाँत माझ्छन् । यस्तै कामहरु गर्छन उनी । सन् १९८२ डिसेम्बर ४ मा अष्ट्रेलियाको मेलवर्नमा जन्मेका उनको नाम हो निक भोइजिक् । आजभोलि उनी अपांगता भएका व्यक्तिलाई मात्र नभइ हरेकको प्रेरणाको स्रोत बनेका छन् । संसारका लाखौ मानिसलाई उनले जिउने कलाबारे प्रवचन दिइसके । उनले लेखेको 'लाइफ उइदाउट लिमिट्स' किताब लाखौप्रति विक्री भए ।

उनै निकको पुरा नाम निकोलस जेम्स भोइजीक् हो । आफ्नो पहिलो सन्तानको यस्तो रुप देखेर उनका बाआमा निकै दुःखी भएका थिए । उनको शरीरमा सानो खुट्टा झुन्डिए जस्तो देखिन्छ । निक आफै यसलाई कुखुराको पखेटा(चिकन ड्रमेस्टिक) भन्छन् । यसमा दुई औलाहरु छन् । यसैको सहयताले उनी बल खेल्छन् । किबोर्ड बजाउछन् । उनी हुर्कदै गर्दा त्यतिबेला फ्रान्सको भिक्टोरिया राज्यमा शारीरिक रुपमा अस्वस्थ विद्यार्थीलाई भर्ना लिइदैनथ्यो । कानुनले समेत यस्ता विद्यार्थीलाई भर्ना गर्न बर्जित गरिएको थियो ।

तर उनको बाआमाले आफ्नो छोरालाई पढाउन चाहे । भाग्यवश भनौ, उनलाई भर्ना गरियो । त्यो राज्यको नियम नै परिवर्तन भयो । स्कुलमा दिनहरु निकै नरमाईलो भयो उनको । साथीहरुले गिज्याए, जिस्काए । सानैदेखि किशोरअवस्थासम्माका यस्ता बुलिङ सहे । स्कुलमा एक्लै हुन्थे । साथीहरु सबैको हातखुट्टा थिए, तर बीचमा आफु एक्लैको यस्तो अवस्था हेरेर उनी आफैलाई प्रश्न सोध्थे 'म मात्र किन यस्तो जन्मेको?' बुलिङले गर्दा उनले ८ वर्षकै उमेरमा आत्महत्या गर्न खोजेका थिए । १० वर्षको उमेरमा पोखरीमा डुबेर मर्ने प्रयास पनि गरे ।

छोराको यस्तो अवस्था देखेका उनकी आमा चिन्तित थिइन् । एकदिन उनले निकलाई पत्रिकाको एउटा लेख देखाइदिए । पत्रिकामा अपांगता भएका व्यक्तिका लागि प्रेरणादायक कुराहरु लेखेका थिए । त्यो पढेपछि निकमा बाँच्ने केही आशा पलाएर आयो रे । अनि उनले आफ्नो देब्रे खुट्टामा भएका साना दुइऔलाले लेख्न सिके । ती औला र कुर्कुच्चाको मद्दतले कम्प्युटर चलाउन सिके । 'म साधारण कम्प्युटरमा एकमिनेटमा ४३ शब्द लेख्न सक्छु,' उनी भन्छन् । तिनै औलाले टेनिस बल हुत्याउन जाँने । अनि आफैले कपाल कोर्न, दाँत माझ्न, फोन उठाउन, पानी पिउन र ड्रम पेडल बजाउन सिके ।
यस्ता कामहरु गर्न सकेकोमा उनमा थप साहस बढेर आयो । जब कक्षा सातमा प्रवेश गरे । उनी कक्षाको क्याप्टेन पदमा चुनिए । यहाँ उनले स्टुडेन्ट काउन्सिलमा काम गरे र अपांगता भएकाहरुलाई सघाउन स्थानीय स्तरमा चन्द संकलन गर्ने अभियानमा लागे ।

स्कुलको पढाई सकेपछि निक एकाउन्टिङ र फाइनन्सियल प्लानिङ विषय पढ्न ग्रिफिथ युनिभर्सिटि पुगे । उनले दुबै विषयमा स्नातक पनि गरे । अहिले उनी अमेरिकाको क्यालिफोर्नियामा छन्, लाइफ उइदाउट लिम्ब्स नामक संस्थाका अध्यक्ष छन् । १७ वर्षको हुदाँ उनले यो संस्था स्थापना गरेका हुन् । १९ वर्षको उमेरमा उनले आफ्नो जीवन कहानी सुनाउन संसारका विभिन्न ठाउँ पुगे । उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, युवाहरुलाई आफूले भोगेका कुराहरु बाँडे । र, विभिन्न टेलिभिजनहरुमा अन्तर्वाता पनि दिए ।

सन् २००५ मा उनी 'योङ अष्ट्रेलियन अफ द इयर'मा मनोनित भएका थिए । उनले पाँच महादेशका ४३ देशमा ३० लाख मानिसलाई युवाका सवालमा प्रवचन दिइसके । दुई वर्ष अघि उनले 'लाइफ उइदाउट लिमिट्स' किताब प्रकाशन गरे । जुन किताब संसारभरका मानिसहरुले रुचिपुर्वक पढे । र, राम्रो किताबमा दरिए । उनैबारे विभिन्न डकुमेन्ट्री पनि बनेका छन् । तीन वर्ष अघि उनले 'द बटरफ्लाई सरकस' नामक छोटो फिल्ममा अभिनय गरे । यो फिल्मबाट उनी सवोत्कृष्ट नायकमा छानिए । यो फिल्मले 'डोरपोस्ट फिल्म प्रोजेक्ट–२००९' र 'द फिल गुड फिल्म फेस्टिबल–२०१०' जस्ता उत्कृष्ट छोटो फिल्मको उपाधि जित्यो । उनले हालै 'समथिङ मोर' नामक म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् ।-(नेत्र तामाङ)एजेन्सीको सहयोमा

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...