Monday, January 18, 2016

बालकथा-यकरको याकगाउँ


नेत्र तामाङ

जीउभरि साबुन लगाएर माडिसकेपछि यकरले जगबाट पानी उध्याउने खोजे । तर बाल्टी भेटिएन । आँखामो पिरो लागिसकेको थियो । हातले चारैतिर खोज्दा पनि बाल्टी भेटिएन । यसो हेरेको, बाल्टी ‘प्यान’ नजिकै घोप्टो परेको थियो ।

‘चर्पीको ढोका चुकुल लगाएकै थिएँ, बल्टी कसले घोप्टाइदियो होला ? उनलाई अचम्म लाग्यो । चर्पीको धारामा पानी पनि आउँदैन थियो । पानी लिन दुईतला तल झर्नुपथ्र्यो । अब कसरी नुहाउने ? यति सोच्दा सोच्दै उनी आफै हाल्ले झैं लाग्न थाल्यो ।

‘हेल्प मि,’ उनी बेस्सरी चिच्याए । बाहिर आउन ढोका खोल्ने प्रयास गरे । चर्पी नै हल्लिरहेको थियो । बल्लबल्ल खुल्यो । चुकुलले उनको हातमा घाउ बनायो ।

दौडेर होस्टल छेउ पुग्नै लागेको थियो । ‘नाँगै पो आएछु,’ भन्दै हत्तपत्त चर्पीतिर फर्के । भित्र के पसेको थियो, चिप्लिएर पछारिए । अहिले चर्पी हल्लिन छाडेको थियो ।
‘आई या...,’ काटिएको हात हेर्दै उठ्न खोजे । तर, उठ्नै सकेनन् ।


‘राजु..., कर्साङ..., जीवन...’ उनले साथीहरुलाई बोलाए । कोही पनि आएनन् । त्यसपछि भित्ता समाउँदै उठे । देब्रे खुट्टाले टेक्नै मिलेन ।

जीउमा लागेको साबुनको फिँज सुकिसकेको थियो । गम्छा बेरे । ज्यान चिलाए झैं लाग्यो । बल्टी ताने । भित्तामा हातले समाउँदै उनी पम्पमा पुगे । पम्पबाट पानी ताने ।

पानी लान सघाइदिने कोही छन् कि ? उसले चारैतिर चिहायो । कम्पाउन्डमा कोही देखेनन् । गेट पनि बन्द थियो । गार्ड पनि थिएनन् ।

‘ए जे होस’ यति भनेर उनी चर्पीतिर उक्ले । दुई मिनेटमा पुग्ने चर्पीमा १० मिनेट समय लाग्यो । खुट्टामा असह्य पीडा भयो । बल्लबल्ल माथि पुगेर नुहाए ।

कपडा लगाएर तल झरे । गार्ड ढोका खोल्दै रहेछन् ।
‘यकर, कहाँ गएका थियौ, मैले कति बोलाएको,’ गार्डले ताला र चाबी जुधाउँदै भने, ‘कति मान्छे मरिसक्यो रे !’
‘मान्छे म¥यो रे ? कहाँ ? के भएर ?’ यकर अनभिज्ञ भए ।

‘भैचालोले नि, तिमीले थाह पाएनौं, त्यत्रो हल्लेको’ गार्डले यकरलाई समाउँदै भने, ‘फोनहरु केही लागिरहेको छैन, धन्न हाम्रो स्कुल केही भएको छैन, त्यही तल घर लडिसक्यो ।’

‘म ट्वाइलेटमा नुहाउँदै थिए, जिउमा साबुन लगाएकै बेला बाल्टीको पानी पोखिएछ । बाहिर आउन खोज्दा हात पनि काटियो, चिप्लेर लडे, त्यै भैचालोले गर्दा त होला नि,’ यकरले रुन्चे स्वरमा भन्यो, ‘खुट्टा पनि दुखिरहेको छ ।’

‘ओ हो, लु अस्पताल जानुपर्छ, त्यसो भए,’ गार्डले उनलाई समाएर बाहिर खुल्ला ठाउँमा ल्याए ।
अस्पताल पुग्दा भींड थियो । धेरै घाइतेहरु । उनी अस्पताल भर्ना भए । अस्पताल पुगेर थाहा पायो उनको देब्रे खुट्टा भाँचिएको रहेछ । त्यसपछि उनी धरधरी रोए ।

अस्पतालमै थाहा भयो भूकम्पमा परी गाउँमा धेरै मान्छे मरिसकेछन् । धेरै घर ढलिसकेछ । सहरका मान्छेहरु पनि भागाभागमा घाइते भएछन् । कति त घरभित्रै पुरिएका छन् रे ।

यकरले गाउँ सम्झे । आफ्ना काकाकाकी सम्झे । सानो बाहिनी सम्झे । त्यहीबेला प्रिन्सिपल आइपुगे । प्रिन्सिपलले गाउँमा फोन गरे । तर, फोन लागेन ।

‘बाबु यकर, काकालाई फोनै लागेन,’ प्रिन्सिपलले कपाल मुसार्दै भने । गाउँमा आफ्नो भन्ने काका र काकी अनि सानो बहिनी थिए । उही काकाले उनलाई यही स्कुलसम्म पु¥याउन ल्याएका थिए । उनका बाआमा उहिल्यै वितेका थिए । त्यसैले उनलाई सबैले यकर भनेर बोलाउथ्यो । यकर भनेको तामाङ भाषामा एक्लो मान्छे रे । स्कुलका प्रिन्सिपलले उनलाई पढाउने जिम्मा लिएका थिए ।

खुट्टामा प्लास्टर गरेपछि स्कुलमै फर्के  । स्कुलका प्रिन्सिपलले उनीहरुका लागि बाहिर फुटबल खेल्ने चौरमा क्याम्प खडा गरेका रहेछन् । गाउँमा काकालाई फोन प्रयास गरे । तर लागेन ।

एक दिन उनीहरुको क्याम्पमा क्यामरा लिएर धेरै मानिसहरु आए ।

यकरलाई पनि विभिन्न प्रश्नहरु सोधिए । उनले आफ्नो गाउँबारे जानकारी दिए । याकगाउँ निकै विकट भएको र आफुले गाउँबारे अहिलेसम्म जानकारी नपाएको बताए । केही दिनमै यकरलाई धेरै मान्छेले भेटन आए । टेलिभिजनमा समाचार हेरेर आएको भन्दै उनलाई गाउँबारे थप सोधे । यकरलाई एकजनाले भने, ‘तपाई पनि हामीसँगै जानुहुन्छ ? तपाई हामीसँग जानुभयो भने तपाईको गाउँ पुग्न हामीलाई सजिलो हुने थियो ।’


‘काकाकाकीलाई भेट्न भएपनि जानुपर्ने यस्तो बेला, तर के गर्नु खुट्टा यस्तो छ,’ उनले दुखेसो पोखे ।
‘हामी तपाईलाई गाडीको व्यवस्था गर्छौ,’ ती मानिसले भने ।

भोलिपल्ट गाउँ जाँदै गर्दा बाटैमा उनीहरुको गाडी रोकिए । त्यहाँ लाठी लिएर बसेका युवायुवती देखिए । उनीहरुले गाडी अगाडि बढ्न दिएनन् । सामान यही झार्न आदेश दिए ।

‘त्यो याकगाउँ गको गै छ राहत, यहाँ हामीलाई चै केही छैन,’ एकजना करायो ।
‘त्यो गाउँमा गाडी पनि जाँदैन, त्यसैले सामान यही बाँडे हुन्छ, नभए राम्रो हुदैन’, अर्कोले तर्क ग¥यो ।
यकरले विन्ति गरे, ‘दाई हो, गाउँको खबर केही थाह छैन । कसलाई के भयो, राहत पुगेनपुगेको हामीलाई केही थाहा छैन, तपाईहरुको यहाँ त यस्तो रहेछ । माथि झन विजोग होला । यसपटक हामीलाई छाडिदिनुस ।’
तर, कसैले मानेनन् । राहत दिन आएकाहरुलाई अघि नै ती युवाहरुले कब्जामा लिइसकेका रहेछन् ।
यकरले उनीहरुलाई एउटा शर्त राखे, ‘हुन्छ, राहत तपाईहरुसँगै राखे हुन्छ, तर, मलाई मेरो गाउँसम्म पु¥याइदिनुपर्छ ।’

‘कसरी लाने त ?’ युवाहरुबीच मुखामुख भयो, ‘यस्तो खुट्टाको बिरामी रहेछ ।’
‘तर, मेरो एउटा शर्त छ, दाइहरुमध्ये यहाँ लिडिङ गर्ने दाईले मलाई लानुपर्छ,’ यकरले भने ।
‘हुन्छ, हुन्छ यो फुच्चेलाई बाइकमा लगेर याकगाउँसम्म छोड्दिउला नि ।’ यति भनेर उनीहरुले राहतका सामान झार्न थाले । त्रिपाल, चामल, दाल, बिस्कुट, चाउचाउ, दालमोठ त्यही झारिए ।


उनलाई मोटरसाइकलमा राखेर गाउँ लगियो । काकाको घर छेवैमा पुगे । ती घरहरु लडेका थिए । माथ्ला घरे साइला बाजेको घर पनि लडेको थियो । तल्ला घरे डिलभरी बज्यैको घरको अवस्था त्यस्तै थियो ।
गाउँमा कोही थिएनन् । गाउँमा पुरै गन्ध फैलिएको थियो ।
‘हुन चाहि मेरो गाउँ यही हो, तर मेरा मान्छेहरु यहाँ रहेनछन्,’ अलि माथिसम्म जानुपर्छ तपाईहरु’ यकरले भने ।
‘अब मोटरसाइकल जाँदैन कसरी जाने ?’ उनी चढेको मोटरसाइकल चलाउनेले भन्यो ।
‘अलिकति उकालो छ दाइ । त्यसमाथि चौर छ । त्यही होलान् उहाँहरु । एकैछिनमा पुगिन्छ । तपाइहरुले बाइक यही राखेर मलाई अलिकति सहयोग गर्नुहोस न,’ यकरले विन्ति गरे ।

उनीहरुमध्ये एकजनाले यकरलाइ बोके । धेरै माथि उक्ले । चकमन्न अध्याँरो भएपछि बल्ल चौर पुगे ।
चौरमा उत्तरतिर आगोको भुंग्रो जस्तो देखियो ।
एकजनाले टर्च बालेर हेरे ।

‘को हो हँ,’ जुरुक्क उठेर एकजना करायो ।
‘चोर, चोर, चोर,’ अर्को करायो ।

‘यकर हो यकर, साथीहरु लिएर आएको,’ यकरले भन्यो ।
त्यसपछि उनीहरु चुप लागे । यकर कक्षा ७ मा पुग्दा पहिलो भएको थियो । यही खुसीयालीमा अघिल्लो साल गाउँ पुगेका थिए । अहिले कक्षा ८ पुगे । गाउँमा उनलाई सबैले असल र चलाख बालकका रुपमा बुझ्थे ।

‘यकर बाबु,’ एकैछिनमा काकी दौडेर आउनुभयो, अनि रुन थाल्नुभयो । पछिपछि बहिनी रुदैं काकीलाई पछ्याउँदै थिइन् । भूकम्पमा परी काका वित्नु भएछ । गाउँमा धेरै जनाको मृत्यु भएछ । अनि याक र चौरी पनि गोठ भित्रै मरेछ ।

अहिलेसम्म कतैबाट केही नआएकोले गाउँले सबै आलु पोलेर खाने रहेछन् । गाउँका सबैजना यही चौरमा बस्न थालेका रहेछन् । एकहप्ता अघि मात्र हेलिकप्टरले चिउरा र चामल खसालेको रहेछ । चौरमा सबै चामल चिउरा छरपस्ट भएको उनीहरुले सुनाए । ती पनि टिपेर उनीहरुले केही दिन खाएर बसेछन् । अहिले उनीहरुकहाँ खानको लागि केही छैन । त्यही आलु र वनमा फल्ने काफल, चुत्रो भोक मेटाउने खान भएको रहेछ ।
यकरसँग गएकाहरु घोरिएर बसे ।

एकैछिन्मा एकजनाले फोन गरे, ‘अघि झारेको सबै सामान लोड गर । अनि हामीले अस्ति एक ठाउँको राखेको सय बोरा चामल पनि हाल । अनि सबै केटाहरु लिएर भोलि याकगाउँ आओ ।’
भोलिपल्टमात्र ती सामान र राहत लिएर आएका टोली र युवाहरु गाउँ आइपुगेको खबर आयो । गाउँलेहरु खुसीले तल पुगे ।


उनीहरुले यकरको गाउँमा सबैलाइै त्यहाँ भएको सामान बाँडे । ती सामान पाएर खुसी हुदै चौरतिरै उक्ले । गाउँमा बस्ने ठाउँ थिएन । जमिन चिराचिरा परेको थियो । गन्धले बसी नसक्नु थियो । उनीहरुले पनि गाउँलेसँगै चामल, चिउरा, तरकारी, त्रिपाल चौरसम्मै ओसारे । एक दिनभरमा बल्ल राहत ओसारि सकियो । भोलिपल्ट सबै गाउँ ओर्ले । घरभित्र पुरेका अन्नहरु निकालिदिए । गोठमा पुरेका याक र चौरी पनि निकालेर पुरिदिए ।


त्यसपछि एकजना युवाले यकरलाई भने, ‘भाई तिमी धेरै साहसी मानिस रहेछौ, तिमीले हामीलाई यहाँसम्म नल्याएको भए, हामी फेरिदैनथियौ । दुःखमा सबै बराबर हुने रहेछ, तिमीलाई धेरै धेरै धन्यवाद छ ।’
र, यकरलाई गाउँलेले पनि धन्यवाद दिए ।

बालकथा संग्रह 'भूइँचालको कथा-२०७२' मा प्रकाशित

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...