Wednesday, December 17, 2014

प्रधानन्यायाधीशले नमानेपछि सम्मान रद्द

नारायण काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ३ पुस
प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्याय परिषद्को सिफारिस समितिका सदस्यबीच मत नमिलेपछि यो वर्षको उत्कृष्ट न्यायाधीश सम्मान कार्यक्रम नहुने भएको छ । प्रधानन्यायाधीश परिषद् अध्यक्षसमेत हुन् ।
न्याय परिषद् दिवसका दिन प्रत्येक वर्ष प्रदान गरिँदै आएको उत्कृष्ट न्यायाधीशको सम्मान परिषद्का पदाधिकारीको विवादका कारण नहुने भएको हो । सिफारिस समितिले यो वर्षका लागि उत्कृष्ट न्यायाधीश सम्मानका लागि पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र भक्तपुर जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको नाम सिफारिस गरेको थियो । तर, प्रधानन्यायाधीश साहले सिफारिस समितिको नामप्रति असन्तुष्टि जनाएका थिए ।

साहले प्रस्ताव गरेका नाममा पनि सिफारिस समितिले असहमति जनाएपछि अन्तत: सम्मान कार्यक्रम नै नहुने भएको हो । सिफारिस समितिमा सर्वोच्चका बरिष्ठतम न्यायाधीश तथा न्याय परिषद् सदस्य कल्याण श्रेष्ठ संयोजक छन् । यस्तै, सदस्यमा परिषद् सदस्यद्वय खेमनारायण ढुंगाना र उपेन्द्रकेशरी न्यौपाने छन् । परिषद् अध्यक्ष साह र बरिष्ठतम न्यायाधीश तथा सदस्य श्रेष्ठबीच त्यति असल सम्बन्ध छैन ।
स्रोतका अनुसार साहले विशेषगरी श्रेष्ठको नाममा असहमति प्रकट गरेका थिए । रुपाखेतीलाई सम्मान गर्ने विषयमा भने सहमति गर्न सक्ने जनाए पनि साहले श्रेष्ठलाई सम्मान नगर्ने अडान लिएका थिए । श्रेष्ठको सट्टा पुनरावेदन अदालत तुल्सीपुर (दाङ)का मुख्यन्यायाधीश शम्भुबहादुर खड्कालाई सम्मान गर्नुपर्ने साहको मत थियो ।
साहको वैकल्पिक प्रस्तावमा सिफारिस समितिका सदस्य खेमनारायण ढुंगानाले सहमति जनाए पनि सिफारिस समितिका संयोजक श्रेष्ठ र न्यौपानेले असहमति प्रकट गरेपछि नाम चयनमै विवाद भएको हो । साहले सिफारिस समितिले उत्कृष्ट न्यायाधीशको सम्मानका लागि सिफारिस गरेका श्रेष्ठको फैसला संख्यासमेत कम भएको परिषद् बैठकमा बताएका थिए । श्रेष्ठ पछिल्लो समय न्यायपालिकाको तेस्रो रणनीतिक योजना तर्जुमा समितिमा थिए ।
उत्कृष्ट न्यायाधीशको सिफारिसमा परेका श्रेष्ठ रणनीतिक योजना तर्जुमा समितिअन्तर्गतको योजना तर्जुमा कार्यसमूहका संयोजक थिए । रणनीतिक योजना तर्जुमा निर्देशक समितिका अध्यक्ष भने न्यायाधीश कल्याण श्रेष्ठ नै थिए ।
परिषद्ले पछिल्लो तीन वर्षयता उत्कृष्ट न्यायाधीशलाई सम्मान गर्दै आएको थियो । खिलराज रेग्मी प्रधानन्यायाधीश भएपछि सम्मान कार्यक्रम सुरु भएको थियो । पहिलोपटक ०६८ को न्याय परिषद् दिवसका दिन पुनरावेदन अदालत पोखराका तत्कालीन न्यायाधीश माधवप्रसाद चालिसेलाई सम्मान गरिएको थियो । यस्तै, जिल्ला अदालतबाट जगत श्रेष्ठलाई सम्मान गरिएको थियो । चालिसे तत्कालीन प्रधानन्यायाधीश रेग्मीका निकट नातेदार हुन् ।
यस्तै, ०६९ को परिषद् दिवसमा पुनरावेदन अदालत पाटनका तत्कालीन मुख्यन्यायाधीश केशरीराज पण्डित र मकवानपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई सम्मान गरिएको थियो । पण्डित हाल अवकाश पाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । लामो समय सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया अवरुद्ध हुँदा उत्कृष्ट न्यायाधीशको सम्मान पाएका पण्डितले पुनरावेदन तहबाटै अवकाश पाएका थिए ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...